आर.एल.श्रेष्ठ
विश्वका कयौं मुलुकहरुमा प्रतिबन्धित औषधीको रुपमा रहेको एन्टिबायोटिक औषधी नेपालमा सामान्य फार्मेसीमा समेत सहजै उपलब्ध हुन्छ र प्रयोग गरिन्छ । जसको दीर्घकालिन असरका बारेमा चासो दिएको पाइँदैन । जसबाट जटिल अवस्था सिर्जना हुन्छ तब चिकित्सकको निगरानीमा बिरामी आइपुग्छ । यसले नेपालको चिकित्सा क्षेत्रलाई नै आक्रान्त बनाएको छ । यसका पछिल्ला घटनाक्रमलाई लिने हो भने चिकित्सकको सिफारिसविना नै एन्टिबायोटिक औषाधि सेवन गर्नेको संख्या बढ्दै गएको छ । चिकित्सकले सिफारिस नगरी एन्टिबायोटिक प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेतापनि नेपालमा एन्टिबायोटिकको जथाभावी रुपमा बिक्री र प्रयोग हुँदै आएको स्वास्थ्यसँग सरोकार राख्ने विज्ञहरुको धारणा छ । स्वास्थ्य विज्ञहरुका अनुसार एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार जिवाणु प्रतिरोधी संक्रमणको कारण विश्वभर हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु एन्टिबायोटिकको गलत प्रयोगले हुने गरेको तथ्य सार्वजनिक गरेको छ । यही अवस्था रहिरहेमा सन् २०५० सम्ममा वर्षेनी एक करोड मानिसको मृत्यु हुने र करिब ६६ अर्ब पाउण्ड आर्थिक क्षति हुने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले दिएको छ । यो जोखिममबाट बच्नका लागि सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले प्रतिजैविक प्रतिरोधी न्यूनीकरण गर्न विश्वव्यापी कार्ययोजना अपनाएको थियो । यो योजनामा सन् २०१६ मा संयुक्त राष्ट्रसंघले प्रतिबद्धता जनाएको थियो ।
एन्टिबायोटिकका बारेमा जान्न आवश्यक छ । यो ग्रिक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो । अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जिवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ भन्ने बुझिन्छ । जिवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियो साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ । सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पेनिसिलिन नामक पहिलो एन्टिबायोटिक निकालेका थिए ।
मानव शरीरमा दुई तरिकाले एन्टिबायोटिक प्रवेश गर्ने बताइन्छ । पहिलो प्रत्यक्ष एन्टिबायोटिक सेवनबाट भने दोस्रो अप्रत्यक्ष बालीनाली वा पशुपक्षीको उपचार तथा वृद्धिका लागि दिइने एन्टिबायोटिक । जुन खाना, पशुपक्षीसँगको सम्पर्क वा वातावरण (हावा, पानी, माटो) बाट शरीरमा प्रवेश गर्छ ।
जथाभावी एन्टिबायोटिक प्रयोगका कारण पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको सरोकारवालाहरुको गुनासो छ । यस्तो अवस्थालाई मेडिकल भाषामा एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ । एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि चुनौतीको विषय बनिरहेको बेला हाम्रोजस्तो विकासोन्मुख देशका लागि चुनौती अझै भयावह अवस्थामा रहेको छ । यसको बारेमा सर्वसाधारणदेखि सरोकारवालासम्म चेतनाको खाँचो रहेको स्वास्थ्य विज्ञहरुको आग्रह छ ।
विश्व स्वास्थ्य सङ्गठनले एन्टिबायोटिक रेसिस्टेन्सका कारणहरुलाई तपसिल बमोजिम वर्गीकृत गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रिस्क्राइव गर्नु, बिरामीले उपचार बीचैमा छाड्नु, पशुपक्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु, अस्पताल तथा स्वास्थ्य केन्द्रमा सङ्क्रमण नियन्त्रण प्रणाली कमजोर हुनु, सरसफाइ तथा स्वच्छताको अभाव हुनु र नयाँ एन्टिबायोटिक उत्पादन नहुनुलाई लिएको छ ।
एन्टिबायोटिक रेसिस्टेन्स हुनुमा स्वास्थ्यकर्मीलाई आरोप लगाइन्छ । तर स्वास्थ्यकर्मी मात्र नभई उपभोक्ता, कृषक तथा पशुपालक, नीति–निर्माता सबै जिम्मेवार रहेका छन् । एन्टिबायोटिकको जथाभावी प्रयोग तथा कमजोर संक्रमण रोकथामको कारण एन्टिबायोटिक रेसिस्टेन्स बढिरहेको विश्व स्वास्थ्य सङ्गठनको ठहर छ । तसर्थ, यस किसिमको प्रयोगलाई निरुत्साहित गर्न नागरिक समाजको ठूलो भूमिका रहेको पाइन्छ । हामी विशेष गरी नेपालीहरु आफैं चिकित्सकझैं औषधी प्रयोग गर्ने संस्कार अन्त गर्न आवश्यक छ । तबमात्र यस्ता किसिमका जटिल समस्याहरु सहज रुपमा अन्त हुन सक्छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |