प्रभातफेरी अनलाइन१८२१ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ८, शनिबार(९ साल अघि)
चन्दा असुली नियन्त्रण गर्न सरकारले कडाईका साथ प्रक्रिया अगाडि बढाउनुपर्छ । चन्दा असुली गर्न राजधानीका विद्यालयहरुमा बुधबार बम राखेर आतंक मच्चाएको घटना बाहिर आएपछि बिहिबार दुई माओवादी घटकका ६ कार्यकर्ता जबरजस्ती चन्दा उठाउँदै गर्दा पक्राउ गरेका छन् ।कलंकीको क्याम्ब्रिज कलेजमा चन्दा रसिद प्याड बोकि राष्ट्रिय नाचघरमा हुने सामना परिवारको नामको कार्यक्रमको १० हजारका दरका १० टिकट भिडाउन खोज्ने माओवादी चन्द समूहका कार्यकर्तालाई प्रहरीले सूचनाको आधारमा पक्राउ गरी हिरासतमा राखेको छ । टेलिफोन सेवा प्रदायकको टावर जलाउने, चालक सहितको ट्याक्सी जलाउने, विद्यालय र व्यवसायीहरुसँग जबरजस्तस् चन्दा उठाउने घटनामा चन्द समूहका कार्यकर्ता पक्राउ गर्दा पनि सजिलै छुट्ने प्रक्रिया भएकोले सरकारले दण्ड सजायको प्रक्रियामा ल्याई दण्डित गराउनुपर्ने थियो । यस्ता आततायी शैलीको पहिलो निशाना शैक्षिक संस्थाहरु हुने गरेका र यस्ता किसिमका आतंक र त्रास बिस्तारै अन्य क्षेत्रमा विस्तारित हुने गरेको विगतको प्रवृत्तिलाई हेर्ने हो भने यसपटक पनि नदोहोरियला भन्न सकिँदैन । मुलुकले सुरक्षा स्थिति तत्कालै नियन्त्रण नगरे गृह प्रशासन असक्षम साबित हुनेछ । गृह प्रशासनले तत्कालै शैक्षिक क्षेत्रमा चन्दा आतंक र त्रासको स्थितिलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।
अपराधिक क्रियाकलापमा संलग्नहरुलाई कारवाहीको सट्टा राजनीति र गृह प्रशासनको दबाबमा उन्मुक्ति दिनुले यस्ता घटनाहरुलाई बढोत्तरी दिनेछ । संविधान कार्यान्वयन गर्नुपर्ने अहिलेको अवस्थामा गृह प्रशासनले दरो कदम चाल्नुपर्छ । शान्ति सुरक्षा कमजोर भएमा संविधान कार्यान्वयन गर्न नहुने संकेत देखापरेको त होइन, यत्रतत्र शंकाको विषय बन्दैछ । यस्ता घटनाहरुलाई गृह प्रशासनले रोकी नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिनु आवश्यक छ ।