ताराप्रसाद चापागाईं
साहित्यमा कविता एक सशक्त विधा हो । ‘कवि’ आधार पदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कविद्वारा रचित वा कविको कर्म भन्ने अर्थ बुझाउँछ । विश्लेषकहरुका अनुसार लोक जीवनसँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप हो । प्राचीनकालमा साहित्य भन्ने बित्तिकै काव्यलाई जनाएता पनि आधुनिक साहित्यमा काव्यले गद्यात्मक वा पद्यात्मक कृतिलाई मात्र जनाउँछ ।
मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुँदै आएको हो । आजको समयमा कविता विधालाई हेर्ने दृष्टिकोणमा धेरै विकास भइसकेको पाइन्छ । कवितामा कला र भाव मुख्य दुई पक्ष रहने गर्दछन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित हुन्छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ । हाल साहित्यमा समय सापेक्षरूपमा कवितामा लघु कविता र लघुत्तम कविताहरूको प्रयोग तुलनात्मक रूपमा बढ्दै गएको पाइन्छ । नेपाली साहित्यमा कविताको नव लघुत्तम उपविधाका रूपमा विकास भइरहेको टुक्का कविताको बारेमा केही चर्चा गर्नु यस लेखको मूल अभिप्रायः हो ।
टुक्का कविताको विकासक्रम
२०७७ श्रावण २५ गते गीत लेख्दै गर्दा एउटा नयाँ सोच जन्मियो समयानुकूल नयाँ प्रयोगमा छोटो कविता लेख्ने । नेपाली लोकोक्ति, लोक गीतहरु, असारे भाका तथा काठे भाकाहरूमा तुकान्त मिलाएर दुई लाइनमा चोटिलो भाव व्यक्त गरिने गरिएकोमा त्यसैलाई आधार मानेर प्रयोगवादी धारणाले समयानुकूल नेपाली साहित्यमा लघुत्तम विधाको खोज गरि नेपाली साहित्यमा नयाँ चौतारी थप्ने योजना बन्यो र तुक (अन्त्यानुप्रास) मिलाएर २ हरफका केही छोटा कविता लेखियो । त्यसपछि साहित्यको अन्य विधाहरूसँग नबाझियोस् भन्ने हेतुले २ हरफमा तुक मिलाएर लेखिने अन्य साहित्यिक विधाहरू केही छन् कि भन्ने विषयमा विभिन्न कृति, ग्रन्थहरू र इन्टरनेटको माध्यमबाट खोज सुरु गरियो । निश्चित कुराहरू बाँझिने अन्य विधाहरू भेटिएन । त्यसपछि लोकोक्तिहरू तथा गीतहरूको बारेमा खोज अध्ययन गर्दा तिनीहरूको मर्ममा कुनै असर नपर्ने गरि निश्चित नियममा बाँधिएर हामीले नवीन प्रयोगको सुरुवात गर्दा कुनै असर नपर्ने निष्कर्ष निस्कियो ।
सामाजिक सञ्जालको फेसबुकका भित्ताहरूमा २ लाइनका कविताहरू पोष्ट गरेर हेर्दा यसलाई मन पराएर फलो गर्नेको संख्या अपेक्षा गरिएभन्दा द्रुत गतिमा बढ्दै गयो यसले एक ऊर्जा र हौसलाको काम गर्यो । त्यसपछि केही साहित्यकाहरूसँग नयाँ प्रयोगको बारेमा फेसबुक, मेसिन्जर मार्फत छलफलहरू भए । सबैबाट सकारात्मक प्रतिक्रियाहरू बटुल्न सफल बनियो । आएका सुझावहरूलाई मध्यनजर गर्दै लेख्नको लागि केही नियमहरू तयार गरेर लेखन कार्य जारी नै रह्यो ।
सबै कुरा तयार भइसक्दा पनि त्यस उपविधाको नाम के दिने भन्ने अन्यौलता थियो । नामाकरणको बारेमा आपसी छलफल चलिरहेको थियो । फरक फरक नामहरूको बारेमा सोच आइरहेको थियो । सोही क्रममा नेपाली साहित्यका समिक्षक श्री अरूण नदी खत्रीले हामीले सङ्कलन गरेका सम्भावित नाम भन्दा फरक नाम “टुक्का” भनेर राख्नु उचित हुने प्रस्ताव गर्नुभयो। हाम्रो परम्परागत रूपमा चलिआएको टुक्का वा उखान टुक्काको मर्मलाई असर पर्छ कि भनेर टुक्का शब्दमा केन्द्रित भएर केही साहित्यकारहरूसँग छलफलहरू भयो । विभिन्न पुस्तकहरू, इन्टरनेट मार्फत तथा बृहत नेपाली शब्दकोषको अध्ययन गरियो, टुक्का शब्दको अर्थ सङ्कुचित नभएर वृहत रहेको पाइयो ।
तत्पश्चात प्राचीनमा चलिआएको टुक्का शब्दको अर्थलाई चोट नपुग्ने गरि लामो समयको अध्ययन, तथा अन्तरक्रिया पश्चात नेपाली भाषा सहित्यमा अनवरत खट्ने विद्वानहरूका रायलाई मनन गर्दै प्राचीन टुक्काको अर्थलाई मर्यादा गर्ने गरि तथा उखान टुक्काको मर्म र अर्थलाई जीवन्त राख्ने गरि करिब ६ महिनासम्मको खोज, अध्ययन र परिमार्जनबाट नयाँ अवधारणाको विकास गरि दुई लाइनमा समान अक्षर भइ पूर्ण अर्थ दिने तथा तुकान्त (अन्त्यानुप्रास) लाई मुख्य आधार मानेर निश्चित नियमहरू तयार गरेर २०७७ साल पौष १७ गते अर्थात् नेपाली टोपी दिवसको दिनदेखि टुक्का कविता लेखन औपचारिक रूपमा सुरु गरिएको थियो ।
टुक्काको अर्थ
टुक्का शब्दका विविध अर्थ हेर्ने हो भने बृहत् नेपाली शब्दकोशका अनुसार तुक शब्दको अर्थले शास्त्रीय पद्य रचनाका प्रत्येक पाउका अन्त्यमा पद वा अक्षरको समान आवृत्ति वा एकता, अन्त्यानुप्रासको एक रूप, तर्क वा बुद्धिसहितको सहमति वा सङ्गति भन्ने बुझाउँछ भने तुक्का शब्दले तुकबन्दियुक्त पदावलीलाई बुझाउँछ । त्यस्तै टुक्का शब्दले अन्त्यानुप्रास मिलेका कविता वा गीतको सानो अंशलाई बुझाउँछ । साथै अभिव्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक् पद्धतिलाई बुझाउँछ । कोशीय अर्थमा मात्र नभई यहाँ प्रयुक्त टुक्का कविता कुनै गीत वा कविताको अंश होइन । यो त दुई पंक्तिा भएर नि आफैँमा पूर्ण तुकबन्दीयुक्त अनुभूतिको एक झट्का कविताको लघुत्तम रूप हो ।
विधागत प्रवर्तनका हिसाबले हेर्दा टुक्का कविता विशुद्ध नेपाली माटोमा मौलिक शैलीमा हुर्किँदै गरेको नेपाली कविताको एउटा सुन्दर रूप हो । लघुत्तम संरचनामा आउने टुक्काले भावको एक झिल्कोदेखि सिङ्गो सङ्कथनलाई बहन गर्ने उच्च क्षमता राखेको हुन्छ । शब्दान्तरमा भन्ने हो भने छोटो भए पनि आफैँमा पूर्णात्माको धाराणासहित आविर्भाव भएको टुक्का र कवि कल्पनाको उच्चतम रूप हो ।
टुक्का कविताको संरचनात्मक स्वरूप÷आधारभूत सिद्धान्त ः
(१) टुक्का नेपाली माटोमा हुर्किएको सरल एवम् मौलिक कविता विधा हो ।
(२) टुक्काको संरचना
(क) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पंक्ति र दोस्रोलाई अन्त्य पंक्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर संख्या समान हुनुपर्छ । अक्षर संख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ । टुक्काको दुवै हरफको अन्तमा तुक (अन्त्यानुप्रास) मिलेको हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
(ख) टुक्काको भित्रि संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्ने ।
(३) टुक्कालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरि दुई भागमा वर्गीकरण गरिएको छ ।
(४) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्ने ।
(५) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।
(६) टुक्का सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ ।
(७) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरि लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दोहोर्याउनु उचित मानिँदैन।
(८) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएको टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुको प्रयोग गरिन्छ । टुक्का नेपाली मौलिक साहित्य विधा भएता पनि यो जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।
(९) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरि टुक्काहरू लेख्न पाइने छैन ।
(१०) टुक्कामा आवश्यकता अनुसार अल्पविराम, पूर्णविराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिन्हरूको प्रयोग गर्नुपर्दछ ।
(११) टुक्काले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्ने।
टुक्काको प्रवर्धनमा विशेष भूमिका तथा सुरुवाती १० पाइलाहरू
टुक्काका आरम्भकर्ता पंक्तिकार स्वयं ताराप्रसाद चापागाईं हुनुहुन्छ । टुक्का साहित्य समाज स्थापनाको लागि समेत उहाँको मुख्य योगदान रहेको छ ।
टुक्का कविता
(भुजङ्गप्रयात छन्द)
पिलायौ तिमीले नसामा जवानी
दिलायौ रचेको अनौठो कहानी ।
– ताराप्रसाद चापागाईं
धुनिबेशी न.पा. ९ धादिङ
हाल काठमाडौं ।
टुक्का साहित्य समाज स्थापनामा बिशेष भूमिका, टुक्काको सैद्धान्तिक पृष्ठभूमि निर्माण तथा सशक्त सङ्गठनात्मक स्वरूप दिने कार्यमा प्रवर्तकको साथमा श्रीकृष्ण शर्माले मुख्य भूमिका निभाउनुको साथै पहिलो पटक १ हजार टुक्का लेखेर टुक्काको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुभएको छ । उहाँले सुरुवाती समयमा टुक्का लेखनमा आठौं पाईला बढाउनु भएको थियो ।
टुक्का
(झ्याउरे छन्द)
बनेको छैन मुटुमा दल्ने शीतल मलम,
जे देख्छु त्यही भावना लेख्छु समाई कलम ।
श्रीकृष्ण शर्मा, पोखरा
निरन्तर टुक्का लेखन, विवध प्रयोग, सजावट, प्रकाशन तथा टुक्कालाई दुःखको झरीमा न्यानो छाता प्रदान गरि सल्लाह सुझाव, संरक्षण दिई हुर्काउनेमा साहित्यकार शर्मिला श्रेष्ठको नाम अग्रस्थानमा आउँछ ।
टुक्का
(भुजङ्गप्रयात छन्द)
अनेकौं ति रात्री भिजेको सिरानी,
अनौठो कुरो बस्दथ्यो प्राण धानी ।
शर्मिला श्रेष्ठ, ललितपुर,
हाल अमेरिका
निरन्तर टुक्का लेखन, टुक्काको नामाकरण तथा सल्लाह सुझाव दिई टुक्काको विकासमा विशेष भूमिका निर्वाह गर्ने कार्य साहित्य साहित्य समिक्षक अरुण नदी खत्रीबाट भइरहेको छ ।
टुक्का
दुईटा मुटु एक भए कस्ले गर्छ बाधा,
तिम्रो मेरो साझा मुटु नपारी देऊ आधा ।
– अरुण नदी खत्री, सामाखुसी काठमाडौं ।
टुक्का साहित्य समाज स्थापनामा विशेष भूमिका, निरन्तर टुक्का लेखनको साथै पहिलो पटक छापा पत्रिकामा टुक्का प्रकाशनमा संयोजकको भूमिका निभाई उषा के.सी. ले साथ दिई उल्लेखनीय भूमिका निभाउनु भएको छ ।
टुक्का
सधैँ त्रास दिई रहेछ पापी कालले,
मर्ने बाच्ने टुङ्गो भएन यस्तो चालले।
– उषा के.सी., ललितपुर
टुक्का साहित्य समाजको स्थापनामा विशेष भूमिका, सुरुवाती समयदेखि नै निरन्तर टुक्का लेखन, सल्लाह सुझाव दिने, संगठनात्मक समूह बिस्तार तथा टुक्का सम्बन्धी विभिन्न प्रत्यक्ष कार्यक्रमहरू संचालनमा विमुन्स पौडेलले विशेष भूमिका निभाउनु भएको छ ।
टुक्का
(झ्याउरे छन्द)
मनमा माया तनमा माया जोगाऊँ भनेर,
रगत बेची कमाएँ धन आँशुले गनेर ।
पौडेल विमुन्स पोखरा
निरन्तर टुक्का लेखन, टुक्का सजावट तथा समूहमा टुक्का लेखन अभ्यासमा प्रशिक्षकको रूपमा साथ दिई जगत थापाले विशेष भूमिका निभाउनु भएको छ, उहाँले टुक्का लेखनको सुरुवाती समयमा दशौं पाईला बढाउँनु भएको थियो ।
टुक्का
सयौँ जुनीजुनी तिम्रो हुँ म भन्नेले,
मर्नु न बाँच्नु पारी पराई बन्नेले ।
– जगत थापा बाबु
निरन्तर टुक्का लेखनको साथै टुक्का समूहमा टुक्का लेखन प्रशिक्षक तथा प्रशिक्षण सम्बन्धि व्यवस्थापनहरूमा समेत साथ दिई अनिल खग्रासले विशेष भूमिका निभाउनु भएको छ ।
टुक्का
(झ्याउरे छन्द)
मनमा माया भएछ गाढा आयौ नि सम्झेर,
आँखामा हेर अँगालो बेर दुनियाँ भुलेर।
अनिल खग्रास
निरन्तर टुक्का लेखनको साथै टुक्का प्रकाशनमा विशेष भूमिका निभाइ म्यामराज राइले साथ दिनु भएको छ ।
टुक्का
सुन्दरताको खानी देश यहीँ छ सगरमाथा,
विश्व सामु परिचित सुन्दर गोरखाली गाथा ।
– म्यामराज राइ, हतुवागढी–६, होम्ताङ्, भोजपुर
हाल जापान
निरन्तर टुक्का लेखनको साथै टुक्का प्रकाशनमा विशेष भूमिका निभाइ रचना मोक्तान ‘यात्री’ ले साथ दिनु भएको छ ।
टुक्का
यो चिठ्ठीलाई नठान तिम्ले सानोतिनो,
मुटु फुटी बगेको छ रगतको चिनो ।
– रचना मोक्तान तामाङ
नमोबुद्द नगरपालिका वडा नं. ५, काभ्रेपलाञ्चोक
निरन्तर टुक्का लेखनको साथै टुक्का प्रकाशनमा बिशेष भुमिका निभाई वसन्त अनुभवले साथ दिनु भएको छ ।
टुक्का कविता
(झ्याउरे छन्द)
डाँडा र काँडा दौडेर नाघ्दै मै भेट्न आउला,
दुनियाँ सारा भुलेर कान्छी पिरती लाउला ।
वसन्त अनुभव
घोराही, दाङ
टुक्का लेखनको सुरुवाती समयमा सल्लाह सुझाव दिइ टुक्काको दोस्रो पाईला बढाउँदै इश्वरी अधिकारीले साथ दिनु भएको छ ।
टुक्का
यादहरू संगालेर बाँच्न सिक्नु पर्छ,
जिन्दगीमा आइपर्ने दुखहरू टर्छ ।
इश्वरी अधिकारी, लमजुङ्ग
सुरुवाती समयमा टुक्काको तेस्रो पाईला बढाउँदै महेन्द्रमान वलामीले साथ दिनु भएको छ ।
टुक्का
खनी खोस्री बाहुहरु हातभरि ठेला,
परिश्रमी भर्छ सदा गाउँतिर मेला ।
– महेन्द्रमान वलामी, फर्पिङ्ग, काठमाडौं ।
सुरुवाती समयमा चौथो पाईला बढाउँदै टुक्का लेखनको साथै टुक्का सजावटमा नानीमाया सुनुवारले विशेष भूमिका निभाउनु भएको छ ।
टुक्का
नारी घरको लक्ष्मी हुन् गरौं बिचार,
नहोस् नारीमा सम्मनको हाहाकार ।
– नानीमाया सुनुवार, उदयपुर ।
टुक्का साहित्य समाज स्थापनामा विशेष भूमिका, सुरुवाती समयमा पाचौं पाईला बढाउँदै निरन्तर टुक्का लेखन, सल्लाह सुझावको दिनुको साथै टुक्का सजावटमा रचना शर्मा प्रतिक्षाले विशेष भुमिका निभाउनु भएको छ ।
टुक्का
बाबुको ज्ञान आमाको प्रेम बन्धन,
यही नै जीवनको अमूल्य चन्दन ।
– रचना शर्मा प्रतीक्षा, ललितपुर ।
सुरुवाती समयमा छैटौं पाईला बढाउँदै टुक्का लेखनमा रमेश प्रसाद भण्डारीले साथ दिनुभएको छ ।
टुक्का
गर्छाै यस्तो जानी जानी किन,
तिम्रो रुवाउने बानी किन ?
– रमेश प्रसाद भण्डारी, टिकापुर कैलाली ।
सुरुवाती समयमा सातौं पाईला बढाउँदै टुक्का लेखनमा दस्ता कौशिकले साथ दिनु भएको छ ।
टुक्का
अँध्यारोको धैर्यताले उज्यालो फर्किन्छ,
न्याय खोज्न अन्यायले समय पर्खिन्छ ।
– दस्ता कौशिक, पाँचथर
सुरुवाती समयमा नवौं पाईला बढाउँदै वकिल जप्रेलले टुक्का लेखनमा साथ दिनुभएको छ ।
टुक्का
मुनामदन जस्तै छ प्रेम हाम्रो,
कहिले पनि नहोस् है नराम्रो ।
– वकिल जप्रेल, बझाङ्ग
यी बाहेक प्रारम्भिक चरणमा टुक्कालाई हुर्काउने बढाउने मलजल गर्ने टुक्काकारहरूमा शरद प्रधानाङ्ग, मिलन माझी, पदमा शर्मा आँचल, नानिबाबा अधिकारी, डा.चन्द्र खत्री, लव खड्का, धनु शर्मा, रतन पाण्डे, अरुण कुमार भुजेल, निमा भोटीया, पूर्ण बहादुर श्रेष्ठ हृदयांकृत, रुपा रिसाल, हिउँकला खतिवडा, निरुविन्दु परियार, ऋषिराम खनाल, माधव पोख्रेल गोज्याङ्ग्रे, डम्बर थामी ‘अनुपम’, शोभा अर्याल, कान्छी विनिता विश्वकर्मा, दीपा मग्राती, साधना पौडेल, तारा घिमिरे, कमला पाण्डे पराजुली, नरेशलाल अमात्य, बिक्रम वली, सुशिल वियोगी घायल, शर्मिला कार्की लगायत धेरै कवि साहित्यकारहरूको विशेष भूमिका रहेको छ ।
धेरै कविहरूको आत्मीय छत्रछायाँमा यसको प्रवर्तनपछि स्थापना, विस्तार र उन्नयन भइरहेको छ । अहिले धेरै कवि साहित्यकारहरू सक्रिय रूपमा यसमा सिर्जनारत हुनुहुन्छ ।
अन्तमा,
टुक्का कविता अन्य साहित्यिक विधाहरूभन्दा फरक गहकिला भाव बोकेको समय सापेक्ष, थोरै समयमा लेख्न र पढ्न सकिने, छोटा दुई हरफका कविता हुन । टुक्का कविता तिहारमा माला उनेझैं, अक्षररुपी फूलहरूलाई छानेर तौलेर गुनेर उन्नु पर्ने उत्कृष्ट शब्द संयोजनको सुन्दर माला हो ।
टुक्का
व्यस्त अनि खुसी छु हिजोआज सधैँ तिहार छ मेरो,
अक्षररूपी फूल उनेर बनाउँछु टुक्काको घेरो ।
– ताराप्रसाद चापागाईं
जे जस्ता विधा उपविधामा लेखिएता पनि साहित्यका सबै विधाहरूले नेपाली भाषा साहित्यमा ईटा थप्ने हो । साहित्य भनेको सबैको भावनात्मक भण्डार हो, साझा चौतारी हो । पछिल्लो समय केही व्यक्तिहरूले आफ्ना मौलिक सृजनाभन्दा पनि अरूका बौद्धिक कुराहरू तथा लेख रचनाहरूलाई नक्कल गरेर आफ्नो नाम दिएर प्रचार प्रसार र प्रकाशन गर्ने गरेको पनि भेटियो । अरूका बौद्धिक कुराहरू तथा लेख रचना नक्कल गरेर देखावटी साहित्यकार बन्नुभन्दा आफ्नै अन्तरहृदयबाट उब्जिएका तरङ्गहरूलाई कलात्मक शैलीमा प्रस्तुत गर्न सिकेर नेपाली भाषा साहित्यको सेवा गरौँ, नेपाली साहित्यको चौतारीमा ईटाहरू थप्दै जाऔँ ।
जय टुक्का ! जय साहित्य !!
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |