प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे
काभ्रेको पनौतीका नरेन्द्रकुमार नगरकोटी नेपाली कवितामा परिचित नाम हो । कविता लेखनसँगै उनी बालसाहित्यको क्षेत्रमा पनि क्रियाशील छन् । यिनमा सम्पादनको अनुभव पनि छ । कवितामा इमानदार भएर पोखिनु उनको विशेषता हो ।उनी जति सरल देखिन्छन्,कवितामा पनि उतिक्कै क्षमतावान।वर्तमान पुस्तामा सक्रिय कवि नगरकोटी नेपाली समाजको पछिल्लो समयका कुरुपता, अन्योल र बेथितिविरूद्ध शान्त र सौम्य मुद्रामा प्रस्तुत हुने सामथ्र्य राख्छन् । वर्तमान विसंगत समाजको जीवन्त चित्रण गर्छन् उनी । नरेन्द्रमा कवितालाई कविता जस्तै बनाएर लेख्न सक्ने खुबी छ ।
नगरकोटीको पहिलो कवितासङ्ग्रह ‘सन्नाटाको लय’मा जम्मा २८ थान कविता सङ्ग्रहित छन् । छोटा कविता, सिर्जनात्मकताले भरिपूर्ण छन् ।कविताहरू गतिशील नदीजस्तै आफ्नै प्रवाहमा सलल बगेका छन् । नेपाली समाजको चित्र र नेपाली मान्छेका ढुकढुकी देखिन्छ कविताभित्र ।
सम्प्रेषण गरिएका कविता यथार्थजन्य भावमा बहन्छन् ।नगरकोटीका प्रत्येक कविता आफैंले भाव दिन्छन् । समकालीन यथार्थलाई मज्जैले उजागर गर्न सफल छन् कवि ।हाम्रा जनहरूका मार्मिक व्यथाहरू राम्रैसँग उधिनेका छन् आफ्ना कविताहरूमार्फत उनले । जीवनका अनेकौं मोडहरूमा खडा भएर इमान्दारपूर्वक लेखेका छन् ।
स्वार्थले घर गरेको यो युगमा निस्वार्थको हुन सक्ला, शान्तिको नारा जपेर अशान्तिको कुरूपतामा बास गरेको वर्तमान समयमा न्याय पनि बिकेको छ । समयको बहाव असामान्य भएको छ । शान्तिको नाम केवल जप्ने कुरा मात्र भएको छ । माटोको सुगन्धित वासना गन्हाउने दुर्गन्धमा परिणत भएको छ । स्वतंन्त्रतामा भ्रम छरिएको छ ।
शालीन शब्दहरूमा ‘सन्नााटाको लय’मा पोखिएका छन् खप्पीस कवि । कवितामा कवि निक्कै गहन र ओजपूर्ण भाषाको प्रयोग गर्न सिपालु देखिएका छन् । अर्काे कविता ‘मार्च ८ मा बा’को सम्झना’ कविको आफ्नै बुवाप्रति समर्पित भएर लेखिएको जस्तो भान हुन्छ । आफ्ना बालाई आँखाको नानीमा बिम्वित गरेर कवि सामान्य कखरा मात्र पढेका बा उतिबेला पनि सचेत थिए, जस्तै दुःखसँग पनि आफुलाई आत्मसमर्पण गरेनन् उनले भनेर बाको महानताको प्रशंसा गरेका छन् ।
किताब र कविताको उपादेयता नबुझ्नेहरूप्रति लक्षित छ,‘रापिलो कविता’।यो कवितामा राजनीतिको प्रभाव झल्किएको छ । उनले यस कवितामा किताब बाख्राको ओछ्यान बन्नुको दोष सत्तालाई लगाएका छन् न कि उनकी आमालाई कहिल्यै पढ्न बाध्य पारेन।गरिबी र भोकको कारण खानेकुरासँग भाइबैनीहरूले किताब साट्न परेको प्रसंग छ यस कवितामा । यो सब अवस्था सृजना हुनुमा राज्य नै दोषी भएकोले एक दिन कविता नै जल्दा त्यसबाट निस्केको राप निभाउन गाह्रो हुने कविको ठोकुवा छ । रापिलो कविताले प्रतिकात्मक अर्थ दिएको छ । यसले राजनीतिको विसंगत र विकृत पक्षलाई बिम्बित गरेको छ ।
‘तृप्ति’ कवितामा प्रेम र प्रणयलाई मुखरित गर्ने प्रयास गरेका छन् कविले । यो कविताको सौन्दर्यलाई थप मिठासपूर्ण बनाउन तारापुञ्ज, गुँरासे ओठ, प्रेमिल प्रतिबिम्ब, गालाका खोपिल्टा आदि प्रतीकहरू कवितामा प्रयोग भएका छन् ।‘ढुकढुकीको आवाज’ले सानु आकाशमुनि बसेकी पुरानो संस्कार र संस्कृतिमा हुर्केकी प्यारीले आफ्ना खसम बिहानी झिसमिसेमै ओछ्यान छोड्दाको परिस्थितिको चित्रण छ । यसमा गाउँ छोडेपछि आएका परिवर्तन झल्काइएको छ ।
‘अर्काे एउटा गीत’,‘स्खलित आस्थाको सन्झ्यालबाट’ आदि कविता क्रान्ति–बिम्ब प्रयुक्त लाग्छन् । यी कविता प्रतीकात्मक रूपले ब्यवस्थाका विसंगतिहरूको बारेमा बोल्छन् । अक्षरहरूको वकालत गर्छन् । गीतमार्फत क्रान्ति र आम मान्छेका दैनिकीमा परिवर्तन ल्याउने सपना बोकेको कुरा गर्छन् । विश्वास भत्किएको कुरा गर्छन् ।‘सपनाको अवशेषमाथि एउटा कविता’नेपाली समकालीन कवितामा देखिने स्वप्नबिम्बको यो कवितामा प्रशस्तै प्रयोग गरिएको छ । सपना देख्दा पनि सुन्दर देख्न सक्नुपर्छ । शीतल र उज्यालो देख्नुपर्छ । यो कवितामा स्वप्नप्रतीक दृष्टिकोण झल्किएको छ । केही भोलिप्रतिको आशावादी भाव ओकलेको छ यसले ।रोटीजस्तै बेलेर दुःखगरि गरि विदेशी भूमिमा केही कमाएर पठाएको पैसाबाट मोजमस्ती गर्नेहरूप्रति उनी रोष प्रकट गर्छन्,‘रेमिट्यान्स धुन’मा ।एउटा श्रमिकको मनको आँखाबाट बोलाइएको छ यहाँ ।कति यथार्थपरक छ यो कविता ।विदेशमा रेमिट्यान्सका लागि हरपल घोटिएको व्यक्तिको दुःख र पीडा बोल्छन् कवि ।
‘राष्ट्रवादको मौसम’मा कवि वर्तमान नेपाली समयको त्रासदीलाई औल्याँइरहेका छन् । छिमेकीले नेपाली भूमिमाथि गरेको बलात हस्तक्षेपलाई राजनीतिका बागडोर सम्हालेर बसेकाहरू मौनता साँधेर बसेकोप्रति लक्षित लाग्छ यो कविता ।यस्तो बेला कविको आफ्नो भूमिप्रतिको माया हृदयको स्पन्दनबाट निस्केर कापीमा गीतको रूपमा पोखिन्छ । किनकी कवि सचेत वर्ग हो ।
‘छोरीलाई बाको सम्बोधन’ मार्फत चरम भावुकतामा बहेर कविले एउटा आम नेपाली बाबुले छोरीका रहर, भविष्यप्रति आशावादीता पोखेका छन् । छोरीको भावी जीवनको गोरेटो खन्न सक्ने हो कि होइन चिन्ता छ उनलाई ।छोरीले बिहानीको झिसमिसेमै जाँतोमा आफ्ना कैयन सपना पिंधेकोप्रति एउटा बाबुलाई कठोर पीडाले भत्भती पोल्छ पो । तर पनि आशावादी हुन छोड्दैन एउटा बाबु ।
संग्रहमा ‘समयको एउटा स्केच’, ‘मेटामोर्फाेसिस’, ‘मई १ मा मजदुर’ ,‘माटोमाथि उभिएर’ जस्ता राम्रा कविताहरूले कविलाई वर्तमान समकालीन कविहरूको पंक्तिमा अग्रस्थानमा उभ्याएको छ ।उनी प्रगतिवादी चेतका कवि हुन ।कविको रचना उसको विचार हो ।भावना हो ।मनको स्पन्दन हो । अनुभूति हो । यसैले यस कृतिमा पनि कविले त्यही विचार,भाव,मनको स्पन्दन र अनुभूतिहरूलाई निर्वाध रूपमा अभिव्यक्त गरेका छन् ।
प्रायःजसो कविताको भाषा बिम्बात्मक र प्रतीकात्मक लाग्छन्।विद्रुप समाजको अवस्था,स्वार्थले विचारमा आएको स्खलन, नैतिक क्षति,जीवनका दुसाध्य, मानवमूल्यको पतन, गरिवीको कारूणिक अवस्था, समाजप्रतिको दायित्ववोधले भरिपूर्ण विषयहरूमा नरेन्द्रले कविताका विषयवस्तु बनाएका छन् । कविता खेतीमा जमेका नरेन्द्र वर्तमान पुस्ताका अग्रगामी चेतले भरिपूर्ण कविमा दरिएका छन्।मानवीय संवेदनशिलताका पाटाहरू उजागर गर्न सफल भएका छन् । कविताहरू सौन्दर्यचेतले भरिपूर्ण छन् ।
कवितामा उनी जीवनवादी बोल्छन् । समसामयिक विकृत यथार्थप्रति शालीन ढंगले प्रहार केन्द्रित गर्छन् ।देशप्रेमको नाममा गद्धारी गर्नेहरूप्रति धावा बोल्छन् ।जीवनका विभिन्न सप्तरंगी फूलहरू रोप्छन् । आफ्ना वरपरका परिवेश वरिपरिका असंख्य अनुभूतिहरू अभिव्यक्त गर्छन् शौम्यतापूर्वक। मानव जीवनका विभिन्न वृत्तिहरु उनले सचेततापूर्वक बाहिर ल्याएका छन् । हाम्रो सामाजिकतालाई मुल धरातलमा राखेर उनका कविता यहि भित्रका विविध पाटोमा रहेको प्रतित हुन्छ ।
भन्न सकिन्छ समकालीन जीवनका विभिन्न समसामयिक पक्षहरूलाई स्पष्ट चित्रण गर्न सन्नाटाको लयमा कवि सफल देखिन्छन् । उनलाई कवितात्मक उचाई चुलिने सम्भावना बोकेका कविको रुपमा मुल्याँकन गर्न सकिन्छ । शुभकामना ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |