पनौती । नेकपा माओवादी केन्द्रको वडा स्तरीय भेलाहरुलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले आजको आवश्यकता कम्युनिष्ट पार्टीबिचको एकता नै अपरिहार्य भएको मंगलबार पनौतीमा आयोजित विस्तारित भेलालाई सम्बोधन गर्ने क्रममा बताउनुभएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई माओवादी केन्द्रले अग्रगामी छलाङका साथ अगाडि बढाउने जमर्काे सहित कम्युनिष्ट एकताका लागि फराकिलो भएर त्याग गरेको यथार्थ हो तर उक्त त्यागलाई प्रतिक्रियावादी दलालहरुको नाइके ओलिले कमजोरीको रुपमा लिएको तितो यथार्थ पोख्दै नेता लालध्वजले अवसरवादीहरुबाट बच्दै समाजवादी आन्दोलनका लागि अग्रसर रहनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवालमा वामपन्थीहरु एकमत छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिलाई समेत हलचल पार्दै आएको एमसीसी नेपालको पक्षमा छैन । त्यो नितान्त प्रतिक्रियावादीहरुको चलखेलले नेपाललाई दास बनाउने अभिप्रायका साथ आएको हो । त्यसको माओवादी केन्द्रले डटेर सामना गरेको तथ्य जगजाहेर रहेको स्मरण गराउनुहुँदै आजसम्म नेपालीहरुले आफ्नो स्वाभिमान बेचेका छैनन् । केही अराष्ट्रियता तत्वहरुको अराजक गतिविधिको सिकार नेपाली जनता हुन सक्दैनन् । राष्ट्रिय स्वाभिमानका लागि फेरि पनि माओवादी योद्धाहरु जीवन बलिदान तयार छन् भन्ने सन्देश दिन आवश्यक छ । यदि माओवादीले मर्म तयार नभएको भए आज यो मुलुक जुन मुद्दामा छ, त्यो सम्भव थिएन ।
जति पनि राष्ट्रिय मुद्धाहरु छन्, तिनीहरुलाई केलाउने हो भने अनियमिततामा रम्नेहरुको कुनै अर्थ रहँदैन । यदि माओवादी योद्धाहरु मरेर यो परिवर्तन नल्याइदिएको भए आज उपमेयर आफूलाई महिला सदस्य भनेर समाजमा शिर ठाडो गरेर हिँड्ने आमा, दिदीबहिनीहरुको हैसियत कहाँ हुन्थ्यो भनिराख्न पर्दैन । यो सबैको श्रेय माओवादीले उठाएको १० वर्षे जनयुद्धको जग र १९ दिने जनआन्दोलन नै हो । जसलाई भ¥याङ्ग बनाएर भ्रष्टाचारमा लिप्तहरुले अब जनताको अगाडि शिर ठाडो गरेर हिँड्ने दिन गए । जनताका अगाडि छाती खोलेर भोट माग्ने हैसियत माओवादीको मात्र भएको नेता लालध्वजले खुलासा गर्नुभएको छ ।
पार्टी एकीकरणका नाममा माओवादी चुक्न पुगेको यथार्थ हो तर पनि यो मुलुकमा वाम एकताको खाँचो छ । त्यसका लागि जुनसुकै किसिमको सम्झौता र सहकार्य गर्न माओवादी तयार रहेको स्मरण गराउनुहुँदै पार्टीभित्र अन्तरविरोध हुनु स्वभाविक हो तर त्यही बहानामा पार्टीमा आँच आउने काम पार्टी कार्यकर्ताले गर्नुहुँदैन । समाज विकासको एउटा पाटो अन्तरविरोध पनि हो । जहाँ अन्तरविरोध हुन्छ, त्यहाँ द्वन्द्वात्मक भौतिकवादले प्रशय पाउँछ । त्यसैले हामी कम्युनिष्टहरु द्वन्द्वात्मक भौतिकवादमा विश्वास गरेर अगाडि बढ्नुपर्छ ।
अर्काे एक प्रसङ्गमा नेता लालध्वजको टिप्पणी थियो– जनताको बलिदानबाट प्राप्त सीमित हक, अधिकारमाथि अराजक गतिविधि र भ्रष्टाचारका नायकहरुले ७० करोडको हिसाब जनताको सामु एकदिन राख्नैपर्ने हुन्छ । सधैंभरि चुनाव चिह्न (सूर्य) लाई भजाएर राजनीतिक अविष्ट पूरा गर्छु भन्ने सपना देख्नु निरर्थक भएको टिप्पणी समेत नेता लालध्वजले गर्न पछि पर्नुभएन । उक्त भेलालाई सम्बोधन गर्ने क्रममा प्रत्येक कार्यकर्ताहरुले आफ्नो परिवारका सदस्यहरुलाई समेत राजनीतिक चेतना अभिप्रेरित गरेर सजक बनाउँदै फेरि एकपटक मुलुकलाई माओवादीमय बनाउन युवाहरुलाई आव्हान समेत गर्नुभएको छ ।
त्यसैगरी कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य अनुशिलले प्रत्येक युवाहरुबिना समाज रुपान्तरणका कार्यहरु अगाडि बढ्ने निष्कर्ष सहित संगठन निर्माणका लागि युवाहरुलाई आग्रह गर्नुभएको छ । पार्टीको परिमार्जित विधानअनुसार जुन संरचना बनेको छ, ३५ प्रतिशत महिला, २० प्रतिशत युवा सहितको प्रत्येक पार्टी कमिटीलाई पूर्णता दिनुपर्ने जिकिर गर्नुहुँदै आजको आवश्यकता भनेकै वाम एकता भएकोले त्यसका लागि हदैसम्मको लचकता अपनाउन माओवादी तयार रहेको चर्चा गर्नुहुँदै नेता अनुशिलको थप कथन थियो– पछिल्लो समय प्रतिगमन विरुद्धको गठबन्धनभित्र रहेका केही शक्तिहरुले नै माओवादी कार्यकर्ताबिचमा भ्रम सिर्जना गरी संगठनलाई धरासयी बनाउन खोजिएको तर्फ लक्षित गर्दै माओवादी त्यो शक्ति हो, आफू मरेर पनि राष्ट्र, राष्ट्रियता, जनजिविकाको सवालमा कटिबद्ध छ । त्यसैले माओवादीको लचकतालाई कमजोर नसम्झन चुनौती दिन पछि पर्नु भएन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सचिवालय सदस्य होमबहादुर खुलालको कथन थियो– माओवादी आत्म आलोचनासहित फेरि जनताको माझमा आएको छ । प्रतिक्रियावादीहरुले छरेको भ्रम चिर्दै समाजवादी आन्दोलनमा अग्रमोर्चामा आफूलाई उभ्याउन तयार छ । त्यसका लागि संगठन नै बल हो । संगठनबिना कुनै पनि आन्दोलन सफल हुँदैन । आज सिंगो मुलुक माओवादी एजेण्डामा चलेको छ । यो सबैको श्रेय तिनै १७ हजार योद्धाहरुको हो तर डाडु पन्यू तिनै पुरातनवादी संस्कार बोकेका प्रतिगामीहरुको पोल्टामा सुम्पिएका छौं । त्यसैले त्यस किसिमको कमी कमजोरीलाई अब हुन नदिन माओवादी फेरि एक पटक जनताको माझ आएको छ भन्नुहुँदै नेता खुलाल थप्नुहुन्छ– केही अवसरवादी तत्वहरुले माओवादी पार्टीलाई बदनाम बनाउने ढंगबाट यदाकदा प्रस्तुत भएको पाइएकोले त्यसका पछाडि नलाग्न इमान्दान कार्यकर्ताहरुलाई आग्रह गर्नुहुँदै पार्टीको नीति, विधिमा रहेर आफ्नो सदस्यता नविकरण र नयाँ सदस्यता वितरणमा आफूलाई प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।
पार्टीलाई भजाएर जुन किसिमको लाभ लिए, त्यसको हिसाबकिताब पनौतीका नागरिकले लिनेछन् भन्ने विश्वास आफूले लिएको स्मरण गराउनुहुँदै पार्टीको नीति र विधिमा रहेर आसन्न वडा सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आ–आफ्नो स्थानबाट लागिपर्न कार्यकर्ता माझ आग्रह समेत गर्नुभएको छ ।
उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य रमेश हुमागाईं, मनिता थिङ, यादव ढुंगेल ‘जमिन’, युवा नेता इन्द्रकुमार श्रेष्ठ लगायतका नेतृत्वले सम्बोधन गर्दै वडा भेलाको महत्व र भावी दायित्वको बारेमा प्रष्ट्याउनुभएको थियो । नेकपा माओवादी केन्द्रको परिमार्जित विधान बमोजिम आजसम्म वडा नं. १ देखि ६ सम्म ७ वटा वडाहरुको वडा सम्मेलन आयोजक कमिटी चयन भएको छ । पछिल्लो वडा नं. ४ मा सुशिला सुवालको संयोजकत्वमा २१ सदस्य सम्मेलन आयोजक कमिटी चयन भएको छ भने वडा नं. ५ मा सहदेव श्रेष्ठको संयोजकत्वमा २७ सदस्य वडा सम्मेलन आयोजक कमिटी चयन भएको छ ।
माओवादी केन्द्रको विधानअनुसार आगामी कार्तिक १३ गते मुलुकभर एकैपटक वडा सम्मेलनहरु हुनेछन् । जसको लागि निर्वाचन समिति समेत विस्तारित भेलाले प्रस्ताव गरेर सम्बन्धित जिल्ला कमिटीमा पठाउने कार्य भइरहेको छ । जसअनुसार पनौती नगरपालिका वडा नं. ५ को निर्वाचन संयोजकमा प्रदिप खड्का, सदस्यहरुमा प्रेम कुँवर र सुनिता प्रधान श्रेष्ठलाई चयन गरेको छ भने वडा नं. ४ को निर्वाचन संयोजकमा प्रल्हाद शर्मा हुमागाईं, सदस्यहरुमा सञ्जु सुवाल र रामकृष्ण बञ्जारा रहनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |