भगवती प्रधान
अब म विस्तारै ठुली हुदै थिएँ । पढ्नु, लेख्नु र ठुली मान्छे हुनुपर्छ भनेर आमा सँधै भन्नु हुन्थ्यो । छोरीले राम्रो र धेरै पढ्नुपर्छ भन्ने आमाको ठूलो इच्छा थियो । त्यो इच्छा पनि विस्तारै पूरा हुने भयो । किनकि आमाले बुलडाँडाबाट सधैं ओरालो झरिरहने सादा जीवन शैली । उच्च विचारको धनी सरसँग कुरा गरिसक्नु भएको रहेछ । बिहान ओरालो झर्ने र बेलुकी उकालो चढ्ने सारै पातालो जिउडालको सर हुनुहुन्थ्यो । आमाले सरलाई मेरो पढाइको बारेमा कुरा गर्नु भएपछि अब स्कुल जाने पक्का भयो । जिरी हाटडाँडामा साथीहरू पनि स्कुल जाने कुरा भयो । बिहानै आमाले सबेरै खाना र खाजाको व्यवस्था मिलाएर मेला जानुहुन्थ्यो । म र मेरो दिनचर्या फेरिईरहेको थियो । किनकि अरु बेला म बिहान मिर्मिरेमै साथीहरू बटुल्न थाल्थें । अब त्यो समय रहेन । म अबदेखि माथि डाँडाबाट मेरो गुरु, मेरो आदर्श र मेरो शिक्षाको अविभावक ईन्द्र वहादुर खड्का सर झरेको बाटो हेरिरहन थालें । जब हाम्रो घरको नजिक आउनु हुन्थ्यो र मेरो हात समाएर “काली आउ हिंड” भनेर सँगसँगै लैजानु हुन्थ्यो । जिरी हाईस्कुल ! धेरै जिल्लाहरुबाट पढ्न आउने हाई स्कुल । स्कुलको कम्पाउण्ड ठुलो । विद्यार्थीहरु पनि ठूला ठूला देख्दा डर पनि लाग्थ्यो । कहिलेकाहीँ विद्यार्थीहरु बीच झगडा पनि हुन्थ्यो । त्यतिबेला म सा¥है डराउँथें । स्कुल सकेर घर फर्कदा मेरो सरले सम्झाउनु हुन्थ्यो । म ढुक्क हुन्थे । बाटो उकालो थियो । हिड्न मलाई गा¥हो हुने थियो । त्यही बाटोमा ठुलो नाटक घर थियो । वेला वेला नाटक हेर्न जान्थें । बाटो निकै मनमोहक थियो । बाक्लो जङ्गल, सल्लाका पातमा चिप्लेटी खेल्नु । रातो माटोमा चिप्लिएर तलसम्म पुग्नु फेरि दौडिएर को ? पहिलो हुने होडवाजी चलिरहन्थ्यो । आफूले जित्दा कति खुशी हुने अरु हार्दा मजाक उडाउने सायद बच्पनको विषेशत नै थियो होला । कहिलेकाही आमाको पुच्छर बनेर जाँदा कोदो रोप्ने मेलामा नाङ्लोभरि राता राता ठुला ठुला पट्पटी फुटेको आलु र पिरो हरियो खोर्सानी मोही खाएको यादले अहिले पनि मुख रसाएर आउँछ । स्याउ, आरुवखडा, नास्पाति जस्ता फुलफुल कति खानु । आमा कतैबाट आउनु हुँदा पोल्टाभरी मिठामिठा खाना ल्याउनु हुन्थ्यो । त्यो पलको पनि सा¥है याद आउछ । आमाले आधा गाँस काटेर ल्याएको खाना खाएर नहुर्कने वच्चा हुन्न होला । आमाको मुखबाट ओकलेको गाँस अमृत समान हुन्छ । आफुले मेला गएर कमाउने उमेर थिएन । बसिबसी खाएर हुर्कन पाउनु मेरो भाग्यको कुरा थियो ।
आमा चहानु हुन्थ्यो । छोरीले धेरै पढोस । धेरै पढेपछि आमाले जस्तो दुख भोग्नु पर्दैन भन्ने आमाको बुझाइ थियोे । समय बित्दै गयो । आमाले सवै कुराहरु बिर्सेर शान्ति र आनन्दको सास फेरिरहनु भएको महसुस गर्थे । तीन छोरा लाखपाख लागीसकेकोले पीडा त थियो नै तर आमाले दुःखले हुर्काएको छोराहरु गाउँमा बाबासँग आफ्नो हक खोसेर लिने र आफैं मालिक हुने भनेर गाउँ जानू भएको पनि धेरै वर्ष भईसकेको थियो । त्यो झुपडीमा आमा र म मात्रै हुने नै भयौं । मलाई पढ्न, खेल्न, मन परेको लाउन, प्रशस्त भए पनि नरमाइलो लाग्थ्यो क्यारे ! कहिलेकाही आमालाई म भन्थे आमा ! हामी मात्रै भएका छौं । बिरानो ठाउँमा हाम्रो कोही छैन । गाउँ जानुपर्छ । गाउँमा भए आफु भन्दा ठूला मान्छेहरु हुँदा दुख सुख जे भए पनि दाईहरु सँगै हुन्छ । त्यसो भए खुशी र रमाइलो हुन्छ भन्थे म । तर मैले कुरा शुरु नगर्दै आमाको मुहारमा अँध्यारोले छोपिदिन्थ्यो । किन कि त्यो गाउँमा आमालाई फर्केर त के सम्झने मन पनि थिएन । त्यहाँ आमाले आफ्ने सारा खुशी र अधिकार गुमाउनु परेको थियो ।
आफ्नै श्रीमान दुश्मन जस्तो भएको थियो । छोराछोरीको भविष्य खोसिएको थियो । त्यस्तो नरक ठाउँमा कसको जाने मन हुन्छ र ?
मेरो कुराले आमाको मन रुन्थ्यो । “तँ आफैं जा म जान्न र जानू नि छैन ।” भनेर रिसाउनु हुन्थ्यो । यसरी वेला वेला मेरो कुराले आमा दुखी हुनुहुन्थ्यो । मलाई चाहिँ गाउँ जान पाए आमा बिरामी हुँदा र म बिरामी हुँदा दाईहरुसँगै भए देखि मलाई त चिन्ता कम हुने थियो भन्ने सोच्थे । फेरि पनि आमाको मन दुखाउन चहान्न थे । फेरि सम्झाउथे । बिरानो ठाउँमा आमा र छोरी मात्रै बस्नुपर्दा मन निकै आत्तिन्थ्यो । आमाको दुख देख्न सक्दिनथे । तर पनि केही गर्ने मेरो हेउ थिएन । आमाको दुख । सहनु परेको पीडा सम्झंदा बाउदेखि सा¥है रिस उठ्थ्यो मलाई । गाउँमा गएर मारिदिउँ झै लाग्थ्यो ।
पुरानो दिन र हामीलाई गरेको व्यवहार सम्झंदा झन् आक्रोस बढ्थ्यो । बाबाले सौतानी आमा नल्याएको भए हामी शहर आउन र देख्न पाउदैन थियौं । बाबाले आमाप्रति गरेको व्यवहार सुन्दा समेत सहन गा¥हो हुन्छ तर मेरा आमाले कसरी सहनु भयो ? यदि आमाले बाबालाई छोडेर हिंडेको भए हामी छोराछोरीको अवस्था झन नाजुक हुने रहेछ ।
मेरो जिवनको पहिलो गुरुआमा मेरी आमा र दोस्रो गुरु मेरो शिक्षक साधारण जीवन शैली उच्च विचार र कोमल मन भएको गुरु इन्द्रबहादुर खड्का सर उहाँ वास्तावमै दुखी र गरिबलाई निकै नजिकबाट सहयोग गर्नुहुन्थ्यो । काली स्कुल हिंड भनेर सँगसँगै लैजानु हुन्थ्यो । समय तिव्र गतिमा अघि बढिरहेको थियो । म झन झन ठुली हुँदै थिएँ । अब स्कुल जाने आउने साथीहरूसँग हुन थाल्यो । साथीहरू सबैको नाम त थाहै छैन । तर असाध्यै मिलनसार साथी राममाया तामाङ लगायत मिल्ने साथीहरू थिए । अब स्कुल बिदामा साथीहरूसँग मिलेर वनजंगल जाने । दाउरा खोज्न कलङ, खावाडाँडा, वुल्डाडातिर गईन्थ्यो ।
दाउराको भारी सडक बीचमा राखेर गाडीमा चढाएर घर ल्याउथ्यौ । गाडी चढेर कहाँ कहाँ जाने हामी । एकपटक गाडीमा मैनापोखरीसम्म म एक्लै गएर आमाको कामको हिसाब लिएर आउँदा आमा खुबै रिसाउनु भयो । यति लामो बाटो । नचिनेको मान्छे नदेखेको ठाउँमा यसरी एक्लै गएको आमालाई मन परेन । झण्डै मार्नु भयो । अबदेखि यस्तो नगर्ने भनेपछि आमाले छुट दिनुभयो । बल्लतल्ल सन्तोषको सास फेरें । हाटडाँडामा रमाइलो मेला अथवा हाट लाग्थ्यो । त्यो दिन गाउँबाट फलफुल, ताजा तरकारीहरु र सखरखण्ड, पिँडालु, घर तरुल, वन तरुल, केके धेरै कुराहरु राख्थे । बजारको बीचमा मान्छेहरुको घुइँचो लाग्ने हुनाले डराउनु पर्ने थियो । साना साना केटाकेटीहरुलाई किचिमिचि पारे भने कहाँ जानू ? मेरी आमाको मुटु म नै नभएपछि आमा के को लागि बाँच्नु र ? कहिले लिङ्कन, कहिले मालीडाँडा र कहिले रोसी ठाउँहरु घुम्ने र बेलुका घर फर्केपछि आमाको फेरि गाली खानु यसरी दिनहरु बितिरह्यो । गाडीको पछि पछि दौड्ने । रोडमा खै केके को गुड्ने बनाएर गुडिरहने । पाखा पखेरी सा¥है मनमोहक । कहिले लिङ्गेपिङ । कहिले रोटेपिङ् राति राति चोरेर खेल्न जान्थ्योै । जीवन होस त स्वतन्त्र आकाशमा उड्ने चरी जस्तै जसलाई केही कुराको रोकावट हुने छैन ।
मेरो जिवनको पहिलो गुरुआमा । आमाले जन्माएर बोल्न, हिँड्न, यो ठिक यो बेठिक भनेर बुझाउनु भयो । सिकाउनु भयो । यसको लागि म लाखौं लाख ऋणि छु । दोस्रो गुरु इन्द्रबहादुर सर वहाँले मलाई हात समाएर स्कुल नलानु भएको भए सायद म “म” हुने थिएन । मात्रै एउटा सामान्य छोरी । कसैको बुहारी हुन्थे । अनि हराउँथे कता कता । मेरो बुझाईमा इन्द्रबहादुर सर मेरो गुरु अनि अविभावक हुनुभयो । सर सर्वहारावर्गको कमान्डर र नेता हुनुहुन्छ । मैले अहिले बुझ्दा मानवीय चेतनाको खानी हुन उनी । वहाँको विचार र व्यवहार सच्चा मनको थियो । इन्द्रबहादुर सरको जिवनशैली र सोच्ने तरीका दुनियाँमा सायद कम हुन्छ र छ पनि ।
आमाको आँट, साहस र लगनशीलताले सबैको मन र विश्वास जित्नु भएको थियो । धेरै मान्छेहरुले वहाँको सा¥है तारिफ गर्थे । अर्कै अचिनारु ठाउँमा गएर चार चार जना बच्चाहरुलाई राम्रो पालन पोषन एक महिलाले कसरी सम्भव थियो ? तर मेरी आमाले त्यो हिम्मत गर्नुभयो । भर्खरैको भर्भराउदो आमाको जवानी । अग्लो मिलेको शरीर । हँसिलो मुहार, देख्दै एक कमान्डर लिडर हुनुहुन्थ्यो । आमाले यदि चाहेको भए वहाँको आफ्नो खुशी र सुखी जीवन रोज्ने वहाँको अधिकार थियो नि ? बाबाले अर्को बुढी पाउँदा भने आमाले पनि अर्को पुरुष पाउनु हुन्थ्यो । यस्तो बलवान् मेरी आमा जस्तो जीवनसाथी बनाउन चाहने कति कति थिए होलान । आमाको मनले कहाँ मान्यो र ? छोराछोरीलाई बिचल्ली बनाएर भविष्य अन्धकार बनाएर कतै जानुभएन । आफ्ने खुशी त्यागेर चार सन्तानको उज्यालो भविष्य बनाउने लक्ष्य लिनुभयो । यी सम्पूर्ण जिम्मेवारी पूरा गर्न महिलाको हिम्मतको सम्मान गर्ने व्यवस्था छैन । महिलामाथिको अन्याय, अत्यचार र हिंसा पूरानै चलन हो । पुरुषको मृत्यु हुँदा महिलाले सती जानुपर्ने कति काहालीलाग्दो श्रीमानको मृत्युमा श्रीमतिले जिवनभर शोकमा सेतो पहिरानमा जीवन बिताउनु पर्ने । कोहीसँग बोल्न, हाँस्न, हिड्न ,नाच्न पनि पाप लाग्ने भन्ने कुरा कति गलत छ ! कति विभेद छ ! श्रीमतीको मृत्युमा श्रीमानले एक छाक नुन बार्न नपर्ने । श्रीमतिको लास जलिरहदा देखि नै अर्को विवाहको कुरा चलाउने । र हिम्मत गर भनेर उकास्ने जस्तो संस्कार यो समाजमा रहेको छ । नियम त समान हुनुपर्छ नि । महिलामाथिको अन्याय र अपमानको अन्त्य मेरी आमा जस्तै सहासी महिलाहरु जन्मनु पर्छ । आमाको गुणगान जति गरे नि कम हुन्छ ।
जिरीको बसाई अब विस्तारै छोटिंदै थियो । आमाको हजार मेहनेतले हाम्रो जीवन सुखमय बन्दै थियो तर के गर्नु ? सँधै अर्कै गाउँमा सहज र सफल हुन्छ भन्ने हुन्न ! कहिले के समस्या आउँछ ठेगान छैन । हुन त आमाले जिरीलाई खुप्लुक्क खानुभएको थियो । मेहनेती र इमानदारीताको नमुना बनी सक्नु भएको थियो । जहाँ जहाँ मेरी आमा त्यहाँ मानिसको तारिफ सुन्थे । र म पनि मेरी आमाको बारेमा राम्रो कुरा सुन्दा मख्ख र दङ्ग पर्थे । मेरी आमा हाँसेको र नाचेको मलाई मन पर्दैन थियो । म रिसाउथे आमाको खुट्टमा छाँद हालि हालि रुन्थे । किनकि मेरी आमालाई कसैले आँखा लाउला कि भनेर म सा¥है डराउथे । मेरो बालापनको बुझाई त्यस्तै थियो होला सायद । तर मेरी आमा सिलस्वाभाव र अनुशासनको धनी हुनुहुन्थ्यो । हाम्रो झुपडी दरबारको कमान्डर मेरी आमा । बस भने बस ! उठ भने उठ ! वहाँकै आदेश पालन गर्नु पर्थ्यो । आमा कमान्डर भएकोले मैले सिक्ने संस्कार पनि आमाबाटै हुने भयो । महिलाले सम्पूर्ण कामको जिम्मेवारी संम्हाल्न सकिन्छ भन्ने उदाहरण आमाबाटै थाहा पाएँ । आँट, साहास र हिम्मतको खानी मेरी आमा । जसले जिवनको सारा इच्छा, चाहना र खुशीलाई लुकाएर हाम्रो निम्ति सारा जीवन बिताउन सक्ने कुरा चानचुने थिएन । त्यसैले आमा एक विराङ्गना, साहासी र कुसल कमान्डर योद्धा हुन् ।
आमाले छोराछोरीको निम्ति जीवन त्याग्नु भयो । तर मैले आमाको महान चाहना र भावना विपरीत गएर जिरीमा वस्नु हुन्न । हामी मात्रै छौं दुख हुन्छ । हाम्रो कोही छैन भनेर आमालाई मनोवैज्ञानिक रुपमा कमजोर बनाईरहें । परदेशको बसाई अन्ततः कठिनाइ हुन्छ भनेर हरेक बहाना बनाई बनाई आमालाई गाउँ फर्काउन सहमति गराएँ । हामी गाउँ जाने नै भयौ । आमाको ठूलो चाहना छोरीले जिरीमै राम्रो पढोस । राम्रो जागिरे होस् र शहरको रहनसहनमा जीवन बिताओस भन्ने थियो । जिरी हाईस्कुलको राम्रो स्कुलमा भर्न गराएर छोरीलाई असल मान्छे बनाउने आमाको चाहनालाई मैले मारिदिएँ । गाउँ त जाने भो तर कुन साल, कुन महिना र कसरी को को गाउँ गयौं याद छैन । अलि पछि गाउँतिर आफन्तहरुसँग भेटघाट गर्दै हिंडेको याद छ । आमाको पुच्छर बन्ने बानी अझै हराएको थिएन । गाउँ घरमा आमाप्रति हेर्ने दृष्टिकोण फरक भईसकेको थियो । यतिका छोराछोरीलाई एक्लैले सहास गरेर हुर्काई बढाई यस्तो राम्रो बनायो भनेर तारिफ नै गरेको पाउँथे । आमाले जिरीमा छोराछोरी पालनपोषण गरेर केही पैसा जोगाएर गाउँमा आफ्नै मेहनेतले बनाएको ठुलो तीन तले घर दरबार किन्नु भएको रहेछ । हाम्रो आमाको कमाण्डमा त्यही दरबारमा आमा, दाइहरु र म बस्न थाल्यौं । त्यहाँ दाइहरु पनि भएको कारण म कति खुशी भएँ । जो जिरीमा एक्लै बसेकी म त्यहाँ त सबैको माया र पुलपुल्याई मा हुर्कन बढ्न थाले । विगतमा आमाले अँधेरी रातमा चार छोराछोरीलाई अघि पछि लगाएर राँको बालेर रुँदै घर त्यागेर बसाई सारेको थियो । फेरि त्यही ठाउँमा आफ्नो किस्मतले आर्जेको घरमा शानकासाथ पुनः आमा हाम्रो घरको पु्र्ण कमान्डर । लिडर र नेता नै बनेर संसार चलाउनु भयो । यो महान अभियानमा निस्केर महान अभियानलाई सही गन्तव्यमा पु¥याउनु हुने हाम्रो कमान्डर आमा । विराङ्गना आमा र विशाल धर्ती आमा जनककुमारी श्रेष्ठप्रति उच्च सम्मान र रातो सलाम टक्र्याउन चाहन्छौं सबैको तर्फबाट ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |