ताराप्रसाद चापागाईं, धुनिबेसी
१. परिचय
टुक्का कविता अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली मौलिक प्रयोगवादी लघुत्तम नवकाव्यिक विधा हो । यसमा पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरिन्छ ।
२. टुक्का शब्दको अर्थ
टुक्का शब्दले विविध अर्थ हेर्ने हो भने बृहत् नेपाली शब्दकोशका अनुसार तुक् शब्दको अर्थले शास्त्रीय पद्य रचनाका प्रत्येक पाउका अन्त्यमा पद वा अक्षरको समान आवृत्ति वा एकता, अन्त्यानुप्रासको एक रूप, तर्क वा बुद्धिसहितको सहमति वा सङ्गति, तुक्का भन्ने बुझाउँछ भने तुक्का शब्दले तुकबन्दीयुक्त पदावलीलाई बुझाउँछ । त्यस्तै टुक्का शब्दले अन्त्यानुप्रास मिलेका कविता वा गीतको सानो अंशलाई बुझाउँछ । साथै अभिव्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक्यपद्धतिलाई बुझाउँछ । कोशीय अर्थमा मात्र नभई यहाँ प्रयुक्त टुक्का कविता कुनै गीत वा कविताको अंश होइन । यो त दुई पङ्ति भएर नि आफैँमा पूर्ण तुकबन्दीयुक्त अनुभूतिको एक झट्का कविताको लघुत्तम रूप हो ।
विधागत प्रवर्तनका हिसाबले हेर्दा टुक्का कविता विशुद्ध नेपाली माटोमा मौलिक शैलीमा हुर्किँदै गरेको नेपाली कविताको एउटा सुन्दर रूप हो । लघुत्तम संरचनामा आउने टुक्का कविताले भावको एक झिल्कोदेखि सिङ्गो सङ्कथनलाई बहन गर्ने उच्च क्षमता राखेको हुन्छ ।
३. टुक्का कविताको संरचनात्मक स्वरुप/आधारभूत सिद्धान्त ः
(क) टुक्का कविता नेपाली माटोमा हुर्किएको सरल एवं मौलिक कविता विधा हो ।
(ख) टुक्का कविताको संरचना
(१) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दोस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर संख्या समान हुनुपर्छ । अक्षर संख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ । टुक्काको दुवै हरफको अन्तमा तुक (अन्त्यानुप्रास) मिलेको हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
(२) टुक्काको भित्री संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्छ ।
(ग) टुक्का कवितालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरी दुई भागमा वर्गिकरण गरिएको छ ।
(घ) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्छ ।
(ङ) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्छ ।
(च) टुक्का कविता सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ ।
(छ) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरी लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दोहोर्याउनु उचित मानिदैन ।
(ज) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएको टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुको प्रयोग गरिन्छ । टुक्का नेपाली मौलिक साहित्य विधा भएता पनि यो जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।
(झ) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरी टुक्काहरू लेख्न पाइने छैन ।
(ञ) टुक्कामा आवश्यकता अनुसार अल्पविराम, पूर्ण विराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिह्नहरूको प्रयोग गर्नु पर्दछ ।
(ट) टुक्का कविताले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्छ ।
(ठ) टुक्का कविता वाचन गर्दा पहिलो वा दोस्रो हरफ मध्ये कुन बढी चोटीलो छ त्यसलाई मात्र वा दुवै हरफलाई दोहो¥याएर वाचन गर्ने गरिन्छ ।
टुक्का
मनभित्र गुम्सिएका भाव पोख्छु कलमले
भित्रि चोट निको हुन्न बाहिरिया मलमले ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |