डम्बर थामी “अनुपम”
पुनः स्मृतिपटलमा वर्गसंघर्षका तूफानी कथा तुन्ने प्रयास गर्दैछु । पीडा र वेदनाका मालाहरू उन्ने जमर्को गर्दैछु । अँध्यारा बस्तीहरूमा सुनबुट्टे बिहानी ल्याउन जनसमरमा होमिएका योद्धाहरूको कहानी बुन्ने प्रयास गर्दैछु । हुन त क्रान्तिका कथा–कुथुंग्रीहरू असँख्य छन । अनगिन्ती छन । र असरल्ल पनि । जति संगाल्दा पनि संगाल्न नसकिने । जति लेख्दा पनि कमै हुन जाने । तर पनि शनैः शनैः शब्दहरू बिनी बिनी जनयुद्धमा जिवनोत्सर्ग गर्ने योद्धाहरूको सम्झनामा केही शब्द हरफहरू कोर्न गईरहेको छु । जो अस्मेल याद बनेर छातीमा गडेका छन् । लामाले ढुंगामा कुँदेको अक्षर (हिगी) झैं कहिल्यै पनि नमेटिने गरी । युगौं युगसम्म रहने गरी । नेपाली धर्तीमा पोखिएका रगतका संवेद स्मृतिहरू अझै पनि मानसपटलमा घुमीरहेका छन् । वर्ग संघर्षको दावानलमा आफ्नो जिन्दगीको आहुती दिने थोरै सहयोद्धाहरूको बारेमा त उल्लेख गरिसकेको छु । लेखिसकेको छु । बाँकी योद्धाहरूको बारेमा पनि क्रमशः उल्लेख गर्दै जानेछु । (किनकी बाँचेकाहरूले केही गर्न नसके पनि सम्झनाका अक्षरहरू त कोर्न सकिन्छ नि ! तर “सहिद परिवार समाज” कहाँ लुकेर बसेको छ पत्तो छैन । सहिदहरूको बारेमा केही लेखोट पनि छैन । यो बिडम्बनापूर्ण अवस्था हो ।) जीवनीहरू, व्यक्तिगत विवरणहरू, दस्तावेजीकरण त गर्न सकिन्छ नि ! जसको नाम इतिहासको सुनौलो पानामा दर्ज भईसक्यो । बाँचेकाहरू कानमा तेल हालेर बसेको तीतो सत्य यथावतै छ । जे सुकै भए पनि मैले यहाँ फेरि पनि एक जना यस्तो जोदाहा योद्धाको बारेमा लेखनी बगाउँदै छु । उनी हुन तेन्जी शेर्पा (क.पासाङ) ।
२०५६ साल असोज महिनामा भयंकर चुनौतीका बाबजुद पनि काभ्रेपलाञ्चोक जिल्लाको भिमखोरी मोर्चा (रेड) सफल पा¥यौं । पूर्वको एक मात्र स्पेशल टास्क फोर्स (एस.टि.एफ.) ले सफल पारेको त्यो मोर्चा त्यतिबेलाको समयमा विषेश महत्वको थियो । त्यो मोर्चा विजयको सन्देश बोकेर हामी फेरि सिन्धुली, काभ्रे, रामेछाप हुँदै दोलखा आईपुग्यौं । (त्यतिबेला पूर्वी कमान्डमा पार्टीको सैन्य संरचना बल्लतल्ल एउटा मात्र एस.टि.एफ. बन्न सकेको थियो । कमिशार क. विशाल, कमान्डर क. सुरेश र सह कमान्डर क. सन्जीव थिए । र ईन्चार्जको भूमिका क. परवानाले निभाएका थिए । त्यतिबेला एस. टि. एफ सदस्य हुनलाई पनि पूर्णकालिन भएको दुई वर्ष पुग्नुपर्ने । कमसेकम पार्टी हैसियत जिल्ला कमिटी सदस्य हुनुपर्ने प्रावधान थियो । म पनि त्यही प्रावधानमा आधारित रहेर मुख्य फोर्समा समाहित हुने अवसर पाएको थिएँ । पूर्वी कमाण्डमा रहेका बाँकी अरु जिल्लाहरूको सवालमा छापामार दस्ताहरूले मात्र फौजी गतिविधि बढाउँथ्यो ।) एस. टि. एफ. को पनि आफ्नै खालको समस्याहरू थियो । फौजी अनुभव र मनोबल उच्च भए पनि केही अहमता र दम्भले घर गरेको थियो । एउटा जबर्जस्त खालको नोकरशाही प्रवृति जन्मेको थियो । फोर्सभित्र आफ्नै खालको अन्तर्संघर्ष यथावत थियो । यसले कतिपय ठाउँमा कार्यशैलीगत हिसाबले निकै अन्तरविरोध पैदा गरायो । तर जे जे भए पनि क्रान्तिको मक्सद पूरा गर्न जबर्जस्त अगाडि बढ्नु नै थियो । नियमित सेनाको फर्मेशन बनाएर मोर्चाका ढोकाहरू क्रमशः खोल्दै जानुपर्ने भएकोले सैन्य तालिम र गुरिल्ला ट्याक्टिसले निपुण हुनुपर्ने जरुरी थियो । नयाँ नयाँ युद्ध ट्याक्टिस अपनाउन जरुरी भईसकेको थियो । प्राविधिक रुपमा पनि निपुण हुनुपर्ने थियो । त्यही उद्देश्य पूरा गर्न हामी तत्कालीन श्यामा गा.वि.स. वडा नं ४ को बुंखर्क (पाथीभराको काख) मा सैन्य शिविर चलाउने भनेर पुगेका थियौं । हो त्यतिबेला नै हो पाथीभाराको काखमा अबस्थित माली, श्यामा र गर्जाङ चुचुरेका जनसमुदायसँग एकाकार र घुलमिल हुन पाएको । शेर्पा जाति बाहुल्य भएको गाउँहरू हुन ती । आँखामा राख्दा पनि नबिझाउने लालगेडी जस्तै सरल र ईमान्दार जाति हुन शेर्पा जाति । हिमाल चढ्न कसैले पनि उछिन्न नसक्ने हिउँ चितुवाको उपनाम पाएका र तेन्जिङ नोर्के शेर्पाको जस्तो गर्विलो र दर्विलो इतिहास बनाएका यी जाति जनयुद्धमा पनि निस्वार्थ भावले लागेका थिए । गौरवशाली इतिहास बनाएका थिए । पाथीभराको काखमा भएको “धर्म भीष्म” स्मृति सैन्य शिविरको व्यवस्थापनको पूरै जिम्मा लिने काम क. कृपाश्वरले गरेका थिए । (तत्कालीन एरिया सेक्रेटरी क. कृपाश्वर पनि एक सच्चा क्रान्तिकारी व्यक्ति थिए । र त्यो ईलाकाको चर्चित शिक्षक र नेता पनि । उनको बारेमा पहिले नै चर्चा गरिसकेको छु । विभिन्न प्रसंगहरूमा थप चर्चा गर्दै जानेछु ।) र अँध्यारी रातको समयमा जिरी बजारदेखि रसद पानी बोक्ने काम । शिविरलाई चाहिने सम्पूर्ण समाग्रीहरू बोक्ने काम क. पासाङ्कै गाउँको जनताहरूले गरेका थिए । सम्पूर्ण रुपमा अन्य किसिमका सहयोग गर्ने काम पनि यिनै समुदायले गरेका थिए । दिन रात नभनी खटेका थिए । हो त्यही बेलामा क. पासाङको घरमा सेल्टर लिएर बस्दा उनलाई चिनेको थिएँ । उनको बुबा आमासँग भलाकुसारी गरेको थिएँ । त्यही बेलादेखि नै उनले जनयुद्धलाई निस्वार्थ भावले सहयोग गर्दै आएका थिए । उनको पूरै परिवार नै जनयुद्धलाई नजिकबाट सहयोग गर्न लागिपरेको थियो । दिलोज्यान दिएको थियो ।
यसरी क्रान्तिका कठिन दिनहरूमा दिलोज्यान दिएर जनयुद्धलाई सहयोग गर्ने तेन्जी शेर्पा (क. पासाङ) को पूरै परिवार नै क्रान्तिकारी परिवार थियो । पार्टी संगठन र जनवर्गीय संगठनमा बसेर काम गर्दै आएका थिए । त्यही भएर नै क्याम्पस पढ्दापढ्दै उनी पनि स्वतः स्फूर्त रुपमा जनयुद्धमा सामेल भएका थिए । पढ्नमा पनि निकै तेज थिए । जिरीको एपार्ड बोर्डिङ स्कूलबाट औपचारिक शिक्षा हाँसिल गरेका थिए । क्रान्तिकारी विचार सहित जनयुद्धमा सामेल भएका क. पासाङ शुरुदेखि नै सैन्य फर्मेशनमा बसेर काम गर्ने ईच्छा गरेका थिए । पार्टी संगठनमा भन्दा सैन्य संगठनमा नै काम गर्ने रुचि राखेका थिए । शुरुमा उनी गुरिल्ला स्क्वायडमा बसेर काम गर्दै आए । प्रारम्भिक सैन्य तालिमहरू पनि गर्दै आए । गुरिल्ला स्क्वायडमा नै हुँदा २०५७ साल श्रावण महिनामा साविक लामीडाँडा गा.वि.स. वडा नं ५ चिउरीखर्कमा भएको एम्बुस नै क. पासाङको पहिलो फौजी कार्वाहीमा सहभागीता थियो । त्यतिबेला बेला हामी जिल्ला सेक्रेटरी क. प्रतापको कमान्डमा थियौं । क.दिनेश, क. रामजी सहित सहभागी सो मोर्चामा क. पासाङले बहादुरितापूर्वक लडेको सम्झना अझै पनि ताजै छ । (आखिर क. प्रताप, क. दिनेश र क. रामजीको पनि उच्च शहादत भईसकेको छ । इतिहासमा विडम्बना त यसरी आउने रहेछ ।) हामीले एम्बुस पड्काई सकेपछी पनि पछिसम्म हतियार खोस्ने भनेर क. पासाङले ३०३ राइफलबाट फायर गरिरहेका थिए । केही पुलिसहरू तामाकोसी नदीमा खसेका पनि थिए । तर पनि हतियार कब्जा हुन सकेन । हाम्रो उद्देश्य नै “हिट एण्ड रन” (हान र भाग) थियो । क. रामजीले रिट्रीटको कासन गरेपछि मात्र ब्याक भएका थिए । हो त्यतिबेलादेखि नै उनले बहादुरीता र फौजी कौशलता प्रदर्शन गरेका थिए । सादा जीवन, उच्च विचार भएका क. पासाङ अत्यन्तै मृदुभाषी थिए । मिलनसार थिए । पार्टी र क्रान्तिप्रति समर्पित थिए । पार्टीका योजनाहरू जसरी पनि पूरा गर्नुपर्छ भन्ने जिम्मेवारी बोध पनि थियो । उनको यही मोर्चाबाट नै फौजी कार्वाहीको ढोका खुलेको थियो । यसरी त्यो एम्बुसको मोर्चाबाट शुरूवात भएको फौजी कार्वाही क्रमशः अगाडि बढ्दै गयो । २०५७ साल कार्तिक २० गते रामेछाप जिल्लाको दोरम्बा ईलाका प्रहरी चौकी सफलतापूर्वक कब्जा भयो । सो चौकीका ईन्चार्ज दिलिप राई पनि कब्जामा परेका थिए । पछि उनलाई मानव अधिकारवादीहरूको जिम्मा लगाएर छाडियो । त्यसपछि २०५७ साल मंसिर महिनामा साविक लामीडाँडा गा. वि. स. वडा नं ९ सिसाचौरमा भएको पूर्वी कमान्डको सैन्य भेला पश्चात बनेको प्लाटुनहरू मध्य (सिन्धु+दोलखा) जिल्लाको प्लाटुनको बि सेक्सन मेरो कमान्डमा थियो । प्लाटुन कमान्डर क. मुक्ति, सह– कमान्डर क. पहल सेक्सन ए का कमान्डर क. अजित, सेक्सन बि को कमान्डर म र सेक्सन सि को कमान्डर क. दीपशिखा थिए । क. पासाङ मेरो सेक्सनमा परेका थिए । मेरो सेक्सनमा परेपछि उनलाई झन नजिकबाट चिन्ने अवसर पाएको थिएँ । विभिन्न ज्ञान गुणका कुराहरूमा चासो राख्ने क. पासाङ विज्ञान विषय लिएर पढेकाले उनमा प्राविधिक दक्षता पनि थियो । टाईम बम बनाउने । माईनहरू, बुबीट्र्याप्सहरू बनाउने सवालमा निकै सिपालु थिए । आस्था, विचार, राजनीति र दर्शनमा खुब दिलचस्पी राख्ने क. पासाङ काममा निकै भरोसाको पात्र थिए । उनी छोटो समयमा नै पार्टी पंक्ति र आम जनसमुदायमा स्थापित भईसकेका थिए । २०५७ साल माघ, फाल्गुन महिनामा श्यामा गा. वि. स. उनको गाउँ नजिक जनयुद्धको वार्षिकोत्सबको अवसरमा एरिया पार्टीले आयोजना गरेको भलिबल प्रतियोगिता पनि शानदार ढंगले सफल भएको थियो । त्यो बेला पनि क. पासाङले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिबेला हाँवा गा. वि. स. को टोलीले खेल जीतेको थियो । मेडल र ट्रफी हात पारेको थियो । त्यतिबेला पनि क. पासाङ दिन रात नभनेर खटेका थिए ।
त्यसपछि हाम्रो प्लाटुनले पार्टीका फौजी तथा गैर फौजी योजनालाई अगाडि बढाउँदै लग्यो । र फेरि पनि केन्द्रीकृत योजना अन्तर्गत २०५७ साल चैत्र १९ गते राति दोलखाको मैनापोखरी ईलाका प्रहरी चौकी (स्ट्राकिङ बेस) मा धावा बोल्दा एउटै एसाल्टमा बसेर लडेका थियौं । त्यहाँ पनि उनी बहादुरीतापूर्वक आफ्नो भूमिका निभाएका थिए । यसरी छोटै समयमा उच्च फौजी श्रेष्ठता हाँसिल गर्न सफल क. पासाङ एक कुशल योद्धा बनेका थिए । कुशल योद्धा बनेको हुनाले जिल्ला पार्टीमा उनको अभाव खड्किंदा पनि निरन्तर सैन्य फर्मेशनमै रहेर काम गरे । म मैनापोखरी मोर्चामा गम्भीर घाइते भएपछि उपचार पश्चात् जिल्लामै रहेर पार्टी संगठनमा काम गरे । त्यसपछि म उनीसँग छुटें । म छुटे पनि बेला बेलामा हाम्रो भेटघाट भईरहन्थ्यो । राजनीतिक र फौजी विषयमा भलाकुसारी भईरहन्थ्यो । त्यसपछि उनी ओखलढुंगा जिल्लाको खानीभन्ज्याङ मोर्चा, रामेछापको धोबीडाँडा मोर्चा, सोलु सल्लेरी सदरमुकाम कब्जा, काभ्रेपलान्चोक जिल्लाको भकुण्डेवेंशी मोर्चा लगायत दर्जनौं मोर्चामा सहभागी भएर लडे । यसरी मोर्चाहरू लड्दै जाने क्रममा २०५९ साल वैशाख २२ गते संखुवासभा जिल्लाको पूरानो सदरमुकाम चैनपुर स्थित सशस्त्र बेस क्याम्पमाथि धावा बोल्दाबोल्दै उच्च शहादत प्राप्त गरे । यसरी देश र जनताको लागि आफ्नो अमूल्य जिन्दगी क्रान्तिको बलीवेदीमा चढाउने क. पासाङ अविवाहित थिए । हाल उनको बुबा आमा र एक मात्र भाइ छन् । क्रान्तिको दौरानमा आफ्नो जिन्दगीको आहुती दिने महान
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |