डम्बर थामी “अनुपम”
“एउटा टुकीले अर्को टुकीलाई तबसम्म बाल्न सक्दछ, जबसम्म उसले आफूलाई बालीरहन सक्दछ ।” – रविन्द्रनाथ टेगोर
उल्लेखित जीवनोपयोगी, प्रेरणादायी, उत्साहमयी कथन रवीन्द्रनाथ टैगोर (सन् १८६१–१९४१) को हो । उनी प्रतिभाशाली साहित्यिक व्यक्ति (बंगला भाषाका प्रखर कवि, साहित्यकार, कहानीकार, संगीतकार, नाटककार, चित्रकार आदि) थिए । उनको जिन्दगीलाई हजारौं दुःख, अभाव र समस्याका तीखा–तीखा तीरहरुले आक्रमण गरिरहँदा पनि उनी नडगमगाई सतिसाल झैं उभिरहे । हजारौं चुनौतीहरुको सामना गरिरहे । आफ्नो कर्ममा दत्तचित्त रहिरहे । कत्ति पनि बिचलित नभई आफ्नो उद्देश्य र गन्तव्यमा निरन्तर अगाडि बढी नै रहे । फलस्वरूप उनले साहित्य सम्बन्धि नोबेल पुरस्कार पनि प्राप्त गरे । विद्यार्थी जीवनदेखि नै मलाई उनको कठोर संघर्षमयी जीवनीले निकै प्रभावित तुल्याएको थियो । केही पाउनको लागि अवस्य नै केही गुमाउनु पर्दोरहेछ भन्ने लागेको थियो ।
मैनबत्तीको शिखाले झैं आफू जलेर (खरानी भएर) मात्र दुनियाँलाई उज्यालो दिन सकिन्छ । दुनियाँलाई पनि बालीरहन सकिन्छ । दुनियाँलाई बाल्नु चानचुन कुरा होईन । अँध्यारोको साम्राज्यले छोपेको समाजलाई जबर्जस्त आफू बलेर उज्यालो पार्नैपर्छ । आफू बलेर खरानी हुने आँट गर्नैपर्छ । कठिन मोडहरुलाई पार गर्नैपर्छ । भद्रगोलको बीचबाट गोल गर्दै जानुपर्छ । जसरी भीर मह काड्नको लागि पहरामा झुन्डिनु पर्ने हुन्छ । मौरीको टोकाईको डर उत्तिकै हुन्छ । डोरी चुँडिन सक्छ । मौरीले टोकेर जिन्दगी नै खत्तम हुन सक्छ । यी सबै जोखिमहरु मोल्नैपर्छ । अनि मात्र मह काड्न र हात चाट्न पाईन्छ । क्रान्ति, आन्दोलन, युद्ध पनि त्यस्तै जोखिमपूर्ण काम हो । रहर गरेर मात्र क्रान्ति पूरा हुँदैन । पाईला–पाईलामा बलिदान दिन तत्पर रहनुपर्छ । त्यसैले क्रान्ति सरल रेखामा गुज्रने नभई बक्र रेखामा गुज्रने गर्छ । यो मेरो जिन्दगीको जीवन्त अनुभव हो । यसै प्रसंगमा मैले एक जना वीर सहिद क. दीपक दाहाल (विश्वास) को श्रद्धाञ्जलीस्वरुप केही महत्वपूर्ण र अविस्मरणीय यादहरु यहाँ पोख्न गईरहेको छु ।
२०५४ साल असोज २५ गते दशैंको टीकाको दिन क्रान्तिको यात्रामा पहिलो पाईला टेकेपछि छापामार (गुरिल्ला) जिन्दगी शुरु भयो । छापामार जिन्दगी शुरु भएपछि सा¥है कठिन दिनहरुको शुरुवात भयो । भूमिगत जीवन सा¥है दुःखद हुने रहेछ । तर पनि गुरिल्ला हुने आकांक्षाले घचेटीरह्यो । फौजी–गैरफौजी, साना–ठूला काम कार्वाहीहरुमा भाग लिंदै गईयो । कार्वाहीहरुको अनुभव पनि सँगाल्दै गईयो । युद्ध क्षमताको केही विकास पनि भयो । जनसंगठन गर्ने केही कला पनि सिकियो । केही साहित्यिक लेख रचनाहरु पनि लेख्न सक्ने भईयो । त्यतिबेलासम्म दोलखा जिल्लामा खासै क्रान्तिको उभार आईसकेको थिएन । सीमित मान्छेहरु मात्रै क्रान्तिमा आबद्ध थिए । पूर्णकालीन कार्यकर्ताहरु पनि कमै थिए । जनसंगठनहरु सीमित थिए । सेल्टरहरु पनि सीमित थिए । सिन्धुपाल्चोकको टेकनपूरबाट सेल्टर लिन दोलखा लापिलाङ हाम्रो घर । लापिलाङबाट सेल्टर लिन जुँगु । जुँगुबाट सेल्टर लिन पवटी या घ्याङ सुकाठोकरको मुकुने पुग्नुपर्थ्यो । एकै रातमा यति लामो बाटो हिंड्नु मामूली कुरा थिएन । अन्धकार रातमा भूत बनेर हिंड्नुको मजा पनि छुट्टै छ । त्यसैले हिम्मत नहारी हिंडिरह्यौं । जनसंगठन बनाईरह्यौं । क्रान्तिको आधारहरु बनाईरह्यौं । आधार इलाकाहरु बनाईरह्यौं । त्यसपछि २०५५ सालमा गिरिजा नेतृत्वको सरकारले चलाएको ’ किलो शेरा टू ’ अप्रेसनको बेला सिन्धुपाल्चोक जिल्लामा जिल्ला कमिटीको बैठक बस्यो । र नयाँ फौजी योजना (प्रतिरोध) को योजना लिएर आउँदै गर्दा २०५५ साल असार ५ गते नयाँपूल भिडन्तमा परेपछि हामी गैरीमुदी, भीरकोट, झुले, जफे, मालु, शहरे, हावा, च्यामा हुँदै जिरी माली पुगेका थियौं । र कमिशार क. कृपाश्वरको घरमा भेटघाट पनि गरेका थियौं । हो त्यतिबेलादेखि नै मैले क. कृपाश्वरको परिवारलाई चिनेको थिएँ । हामी सामान्य कुराकानी गरेर खाना खाएर कमिशारको घरबाट हिंडेका थियौं । त्यतिबेला क. कृपाश्वरको कार्यक्षेत्र सोलु, ओखलढुंगामा थियो । त्यतिबेला क. कृपाश्वरसँग भेट हुने कुरै भएन । क. कृपाश्वर पनि सैन्य–राजनीतिक (politico–millitary) दुबै क्षमता राख्ने सर्वहारावर्गका क्रान्तिकारी नेता थिए । (उनको बारेमा “आस्थापुन्ज” स्मृति ग्रन्थमा उल्लेख गरिसकेको छु ।) नेतृत्वको अब्बल क्षमता राख्ने क. कृपाश्वरका माईलो छोरा अत्यन्त चलाख, चतुर र साहसी स्वभावका क. दीपक दाहाल (विश्वास) सँग पहिलो पटक त्यही बेला घरमै भेट भएको थियो । त्यसपछि २०५७ साल फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर तत्कालीन श्यामा गा.वि.स. मा एरिया पार्टीको आयोजनामा भलिबल प्रतियोगिता गरिएको थियो । त्यतिबेलाको एरिया सेक्रेटरी पनि क. कृपाश्वर नै थिए । सो खेलको सुरक्षार्थ मेरो टोली खटिएको थियो । त्यतिबेला म सिन्धु+दोलखा जिल्लामा बनेको जिल्ला प्लाटूनको ‘बि’ सेक्सनको कमाण्डर थिएँ । सो खेलमा मालीकै टोलीमा क. विश्वास पनि खेलाडी भएर आएका थिए । अत्यन्तै राम्रो भलिबल खेल्ने क. विश्वासलाई त्यो बेलादेखि त झन् आत्मीय रुपले चिन्न थालेको थिएँ । त्यसपछि २०५८ सालमा स्कूलको पढाई छाडेर क. विश्वास पनि कलिलै उमेरमा क्रान्तिमा लामबद्ध भए । त्यसपछि हामीले एउटै कार्यक्षेत्रमा सँगसँगै काम गर्ने अवसर पायौं । पहिलो संकटकालमा हामीले जिल्लामा रहँदा थुप्रै ठाउँमा एम्बुशहरु, माईनिङ्हरु ग¥यौं । चरिकोट सदरमुकाम नजिकै पुगेर फौजी गतिविधि पनि ग¥यौं । सदरमुकाममै गएर पनि बम पड्कायौं । भि.जि. पि. हान्यौं । त्यत्रो उधूम मच्चाउँदा पनि त्यतिबेला दुश्मन डेग चलेन । दुश्मन ब्यारेकभित्रै खुम्चिन बाध्य भयो । हामीले संकटकालमा गैरफौजी गतिविधिहरु पनि सन्चालन गरिरह्यौं ।
यसरी साहस, सौर्य र वीरताको पर्याय क. विश्वास २०५९ सालदेखि नै जिल्ला प्लाटुन हुँदै जनमुक्ति सेनाको मुख्य फोर्समा आबद्ध भए । र फेरि पनि सँगसँगै काम गर्ने अवसर पायौं । जिल्लामा हुँदा पनि सेनाको ब्यारेकसम्म पुगेर रेक्की गरेर आउँथे । कुनै पनि बहाना बनाएर ब्यारेकको आँगनसम्मै पुग्थे । सबै कुराहरू डिटेलमा ल्याउँथे । र मुख्य फौजी फर्मेशनमा गएपछि त झन् दुश्मनको रिअर ग्रुप (Rear group) सँगै हिंडेर दुश्मनको फर्मेशनको पाई पाई रिपोर्ट (लाईभ रिपोर्ट जस्तै) गर्थे । यस्तो क्षमता बिरलै योद्धाहरुमा पाईन्छ । बिरलै मान्छेहरुमा पाईन्छ । यसको ज्वलन्त उदाहरण हो बन्दीपूर मोर्चा, नार्के फायरिङ एम्बुस, घर्तीछाप फायरिङ एम्बुश, बनेपा कमाण्डो लगायत अरु धेरै ठाउँ छन् । घनीभूत शहरी ईलाकामा रहेको चौकीको पनि आँगनको बंकरमै पुगेर रेक्की गर्ने क्षमता थियो । उनको यही अनुकरणीय क्षमताले गर्दा नै डिभिजन स्तरको ईन्टलीजेन्सको कमान्डर थिए । र लडाइँमा पनि बिना हिच्किचाहट हाम फालीहाल्थे । यसरी लडाइँ लड्दै जाने क्रममा क. विश्वासले दर्जनौं लडाइँहरु कुशलतापूर्वक लडे । (रुम्जाटार, गर्जाङ चुचुरे, ऐसेलुखर्क, भोजपुर, अमलेखगञ्ज, बन्दीपूर, सान्नाने, नार्के, घर्तीछाप, दधिकोट, झुरझुरे, खाडीचौर, काभ्रेभञ्ज्याङ् आदि) । बोत्ले हत्याकाण्डमा पनि दुश्मनलाई फायरिङ गर्दै साथीहरूलाई कभर फायर दिंदै घेरा तोड्न सफल भएका थिए । कभर फायर दिएर थुप्रै साथीहरूको ज्यान जोगाएका थिए । अन्य धेरै मोर्चाहरुमा ईन्टलीजेन्स विभागको जिम्मेवारी भए पनि एसाल्टमै बसेर लडाइँ लडे । नार्के फायरिङ एम्बुशमा तीन जना दुश्मनलाई एकैसाथ ढालेर हतियार कब्जा गरेका थिए । उनको यो साहस देखेर दुश्मन पनि चकित भएका थिए र कुलेलम ठोकेका थिए । यसरी क. विश्वास साहस, सौर्य, वीरताको पर्याय नै थिए । क्रान्तिका दरिलो खम्बा थिए । हरेक मोर्चाका नायक थिए । लडाइँ निकै पेचिलो बन्दै जाँदा चितवनको दारेचोकमा डिभिजन हेडक्वार्टरको प्रत्यक्ष कमान्डमा ठूलो फौजी कार्वाहीको तयारी गर्दै गर्दा योजना खुलेर रेन्जर बटालियनसँग भीषण भिडन्त भयो । सोही भिडन्तमा लड्दा लड्दै उनले उच्च शहादत प्राप्त गरे । शरीरमा असिनासरि गोली वर्षिरहँदा पनि “केही भएको छैन कमरेडहरु हानौं, हानौं” भन्दै फायरिङ गरिरहँदा अन्ततः दारेचोकको भूमीलाई कम्पायमान पार्दै आफैं ढलेका थिए । सो भिडन्तमा जनमुक्ति सेनातर्फ निकै ठूलो क्षति भयो । एक्काईस जना जनमुक्ति सेनाका योद्धाहरुको पनि शहादत भयो । त्यतिबेला क. मनोज बि. क. (प्रबल) लाई टाउकोमा गोली लागेर बेहोस हुँदा पनि साथीहरूको लासभित्र घुसेर बाँचेका रहेछन् । त्यसैले त युद्ध अति निर्मम हुन्छ ।
यसरी साहसिक क. विश्वासको जन्म २०४२ साल भाद्र १३ गते बुबा कृष्ण प्रसाद दाहाल (क.कृपाश्वर) र आमा चित्रमाया दाहालको कोखबाट साविक माली गा.वि.स. वडा नं ५ (र हाल जिरी नगरपालिका वडा नं ३) मा भएको थियो । उनको एक दाइ, एक भाइ र एक बहिनी छन । बिधिको विडम्बना भनें झैं बुबा कृष्ण प्रसाद दाहाल (क. कृपाश्वर) र दिदी कमला दाहालको पनि प्राणघातक रोग क्यान्सरबाट अल्पायूमै मृत्यु भईसकेको छ । यो कुरा सम्झँदा निकै भावुक तुल्याउँछ । समयले मान्छेको जिन्दगीलाई कता पु¥याएर हुत्त्याउने रहेछ भन्ने ठेगान नहुने रहेछ । जनयुद्धमा बगेको क. विश्वासको रगतको सम्मान गरौं । सहिदहरुको सपना साकार पारौं ।
साहसिक योद्धा दीपक दाहाल (क. विश्वास) प्रति शिर झुकाएर भावपूर्ण श्रद्धाञ्जली !!
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |