logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

युगका सचेत प्रतिनिधि साहित्यकार हुन् विजय मल्ल

प्रभातफेरी अनलाइन५३९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार(४ साल अघि)
युगका सचेत प्रतिनिधि साहित्यकार हुन् विजय मल्ल

मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक

शारदाका सम्पादक ऋद्धिबहादुर मल्लका सुपुत्र । प्रसिद्ध साहित्कार गोविन्दबहादुर मल्ल ‘गोठाले’का भाइ । कोही किन बर्बाद होस् जस्ता बालमनोविज्ञानमा आधारित नाटक लेख्न सफल नाटककाकारको नाम हो – विजय मल्ल । मनोविज्ञानलाई साहित्यमा प्रयोग गर्न रुचाउने साहित्यकार । यिनी कथा, कविता, उपन्यास र नाटकका फाँटमा आफ्नो कीर्तिमान देखाउन सफल छन् । नाट्यकलामा आफ्नै छुट्टै पहिचान छोड्न सफल नाटककारका रूपमा यिनी प्रसिद्ध छन् । बालकृष्ण सम र गोपालप्रसाद रिमालले प्रयोग गर्दै आएका नाट्यकलाका डोबहरूभन्दा पृथक डोबहरूमा रहेर यिनले आफ्नो नाट्य डोबहरू नेपाली साहित्य क्षेत्रमा प्रतिस्थापन गर्न सफल छन् । त्यसैले त भन्न सकिन्छ यिनी प्रतिभाशाली नाटककार हुन् । समसामयिक युगबोधका भाव धाराहरूलाई साहित्यमा समेट्दै, लागिपर्दै यिनले आफूद्वारा सिर्जित साहित्यमा शील्पसौन्दर्य भर्न परिश्रम खर्च गरेका छन् ।


विजयबहादुर मल्लबाट बहादुर कटाएर विजय मल्ल बनेका प्रसिद्ध साहित्यकार । साहित्यिक वातावरण व्याप्त भएको परिवारमा जन्मेर साहित्य लेखनमा सक्रिय हुँदै आफूलाई सफल साहित्यकारका रूपमा चिनाउन पाएका विजय मल्लले राजनीति छोडेर पछिल्लो समयमा साहित्यमा जीवन बिताएको देखिन्छ । एकताका राजनीतिमा सक्रिय यिनी पछि राजनीतिलाई मनको तृष्णा मात्रै बनाए । साहित्यबारे यिनले आफ्नो दृष्टिकोण यसरी व्यक्त गरेका छन् – मलाई जहाँसम्म लाग्छ साहित्यमा लाग्ने हर व्यक्तिहरू राजनीतिक दृष्टिकोणले पूर्ण हुन्छन् । फरक छ – सक्रिय राजनीति गर्नु र सक्रिय राजनीति नगर्नु । राजनीति नजानीकन, राजनीति थाहा नपाइकन लेख्नै सम्भव भयो होला जस्तो मलाई लाग्दैन । लेखक हुनलाई राजनीतिक ज्ञान पनि चाहिन्छ । समग्र सामाजिक ज्ञान विना लेखक नै हुन सक्दैन । सम्भव नै छैन । अब राजनीति खालि एक पक्ष मात्रै हो तर त्यही पक्षलाई नबुझिकन साहित्य रचनै हुन सक्दैन । त्यसैले राजनीति र साहित्यको सम्बन्ध अन्योन्याश्रित छ । (समष्टि, २०५० असोज–कार्तिक) यस खालको सोच बोकेर यिनी साहित्य सिर्जनामा लागे ।
वि.सं. २००१ सालतिर नै नाट्ययात्रा राधा मान्दिनन् लिई देखापरेका यिनका सबभन्दा पछिल्लो कृति सपनाका सन्तानहरू (२०४७) प्रकाशित छन् । आठ वटा पूर्णाङ्की नाटक र तीन दर्जनभन्दा बढी नाटकका रचनाकार विजय मल्लले कविता लेखनबाट साहित्ययात्र सुरु गरेका हुन् । कथामा पनि सामाजिकतालाई विभिन्न परिदृश्यमा प्रस्तुत गर्न सिपालु कथाकारका रूपमा चीर परिचित विजयबहादुर मल्लको जन्म वि.सं. १९८२ असार १० गते पाको न्यूरोड, काठमाडौंमा भएको हो । बाँचुञ्जेलसम्म साहित्यिक सिर्जनामा तल्लीन रही साहित्यिक गतिविधिमा संलग्न यिनी नेराप्रप्रका सह–सदस्य, सदस्य सचिव, उपकुलपति रही २०२६ देखि २०४६ सम्म करीब २० वर्ष प्रज्ञामा संलग्न रहेको देखिन्छ । उपन्यासमा अनुराधा जस्तो मनोवैज्ञानिक दृष्टिचेत भएको उपन्यास लेखेर चर्चामा आएका विजय मल्लले कुमारी शोभा जस्तो ऐतिहासिक सन्दर्भले व्याप्त उपन्यास पनि लेखेका छन् । उपन्यासमा यिनी आफ्नैपन र दृष्टि–चेत बोकेर कथावस्तु बुन्ने गर्छन् । त्यसैले भन्न सकिन्छ यिनी सफल उपन्यासकार पनि हुन् । पियानानी यिनीद्वारा लिखित लघु उपन्यास हो । यिनका प्रकाशित नाटककृतिहरूमा १. पत्थरको कथा, २. दोभान, ३. भित्तेघडी, ४. स्मृतिको पर्खालभित्र, ५. भूलैभूलको यथार्थ, ६. बौलाहाकाजीको सपना, ७. पहाड चिच्याइरहेछ, ८. जिउँदो लाश, ९. सात एकाङ्की (सम्पादन) रहेका छन् ।
शारदामार्फत् धेरै साहित्यकारहरू यिनले चिने, गोविन्द गोठाले दाइका सिर्जनामार्फत् उनी आफूलाई समृद्ध बनाउन सफल रहे । दौलतविक्रम विष्ट, रमेश विकल, पोषण पाण्डेका समकालीन मित्र विजय मल्लका दृष्टिमा भवानी भिक्षु, गोविन्द गोठाले, गोपालप्रसाद रिमाल राम्रा लेखक हुन् । विजय मल्ल नेपालका राम्रा साहित्यकारमध्ये पर्छन् । उनले थुप्रै विधामा लेखे । जुन जुन विधामा लेखे यिनले प्रसिद्धि कमाए । कथामा परिवेश भित्रका सान्दर्भिक विषयवस्तुहरू खोपेर सुन्दर सहज शैलीमा कथाहरू लेखे, नाटकमा बाल मनोविज्ञानका उत्कृष्ट बिम्बहरूमात्र खिचेनन् सामाजिक सम्बन्ध, अन्तर्वस्तुका चरित्रहरू स्वाभाविक ढंगले यिनले व्यक्त गरे । उपन्यासमा पात्रहरूको मनोवैज्ञानिकता नियालेर नयाँ शब्द शैलीमा आफूलाई उपन्यासकारका रूपमा पेश गरे, कवितामा जनताका पक्षमा विद्रोह बोले । यसैले त यिनी सबैका प्रिय लेखक बने ।
नाटक ः एक चर्चा समीक्षात्मक कृति पनि लेखेर आफूलाई साहित्यका प्रबुद्ध व्यक्तित्वका रूपमा देखाउन सफल यिनी कथामा पनि आफ्नो छवि देखाउन सफल छन् । कथामा पनि मनोवैज्ञानिकता प्रस्तुत गर्न सफल यिनका प्रकाशित कथासङ्ग्रहहरूमा १. एक बाटो अनेक मोड, २. परेवा र कैदी छन् । विजय मल्ल कविता पनि लेख्छन् । यिनी कवि पनि हुन् । तर कथा, उपन्यास, नाटकमा जति समीक्षा र कवितामा यिनी जम्न सकेको देखिँदैन । विजय मल्लका कविता पुस्तकमा ६१ वटा कविता सङ्ग्रहीत छन् । प्रकाशित कविताहरूमा छोरीलाई मानचित्र पढाउँदा निकै चर्चित कविता हो । उक्त कविताबाट केही हरफहरू ः
मेरी छोरी,
(कुनै दिन त्यस्तो आउला)
जब सबले मिलेर
हातमा हात गाँसेर,
अङ्कमालमा बाँधिएर –
हब्सी, आर्य, मङ्गोल
पलिनिशियन, द्रबिड, कोल
सबले पुछ्नेछन्
आँखाको प्याला घोप्ट्याएर
आँसुले त्यो रक्तरेखा ।
विश्वबन्धुत्व र मावनतामा साँधसीमाना नहुनुपर्ने दृष्टि बनाएर यिनले यसै कवितामा अगाडि लेखे – रातो रगतले कोरिएको साँध छ ÷ खेतमा डील लाएझ्ैं, हेर, हरेक राष्ट्रको फाँटमा । मानवीयतामा पशुत्व सुहाउँदैन । यिनी कवितामा लेख्छन् – मलाई त्यस बखत हाँसो उठ्छ – जब बाँदरले मनुष्यको मुकुण्डो लाएर । मानिसको नक्कल गर्दछ, स्वाङ भर्दछ । यिनका कवितामा यस्तै–यस्तै तरङ्गहरू छन् । विजय मल्ल नेवार भएर पनि नेपाली भाषा साहित्यलाई उच्चकोटिमा पु¥याउन सक्रिय रहँदै आएका एकजना जीवन्त स्रष्टा हुन् । उनले लेखेजस्तै आफू बाँचुञ्जेल साहित्य सेवा र लेखनमा लागिरहन सकूँकै रूप र बिम्ब भएर गए – विजय मल्ल । पारिवारिक वातावरणमा नै साहित्यको मनोरम भूमि पाएर हुर्केका यिनी शारदा यिनको प्रेरणाको स्रोत भयो । विजय मल्लले अन्तिममा साहित्यमा विजय प्राप्त गरे ।
साहित्यिक वातावरण पाएर साहित्यकार बनेका यिनी राणाकालीन शासन व्यवस्थाको विरोधी भएकै कारणले २००७ सालताका यिनी जेल पनि परे । राजनीतिक वातावरणमा राजनीति सोचे तर पछि बाबु र दाजु सक्रिय भएर साहित्यसेवा र सिर्जनामा लागेको परिवेश पाएर आफू पनि त्यही साहित्यिक वातावरणमा आफूलाई रमाउन दिए । साहित्यकारहरू देवकोटा, सम, लेखनाथ, रिमाल लगायतका धेरैजसो चर्चित साहित्यकारहरू आइरहने घर भएकै कारणले यिनको साहित्यमा मन गाँसियो । कविता लेखेर साहित्य लेखनमा प्रवेश गरेका यिनी कथा, उपन्यास, नाटकमा सशक्त ढंगले पछिल्लोपल्ट आफूलाई देखाए । तर कवितामा पनि यिनी होचो देखिँदैन । सामाजिक यथार्थवादी साहित्यकारका रूपमा प्रतिष्ठित हुन पुगेका यिनी समकालीन साहित्यका प्रतिनिधि साहित्यकार हुन् । यिनका साहित्यमा भाषाशैली सरल, कथानक सामाजिक, पात्रहरू परिवर्तनकामी हुनाका साथै परिवेश र पात्रहरू पनि स्वाभाविक देखिन्छन् । सामाजिक परिवेश, वातावरणभित्रका मूल समस्याहरू, अन्तरविरोधहरूलाई व्यक्त गर्न सिपालु यिनले मनोवैज्ञानिक ढंगले पात्र–पात्राहरूलाई उभ्याउन सफल छन् । सामाजिक यथास्थितिबाट सन्तुष्ट नरहेकै कारणले यिनी आफ्नो रचनाहरूमार्फत् सामाजिक, मानसिक, बौद्धिक परिवर्तनका हिमायती बने । सामाजिक समस्यामूलक विषय नै यिनका लागि रचनाको मूल विषय बन्यो । समग्रमा भन्नुपर्दा भन्न सकिन्छ यिनी सफल, प्रभावकारी प्रतिनिधि लेखक हुन् ।
बालकृष्ण सम र गोपालप्रसाद रिमालहरूभन्दा छुट्टै दृष्टिबिम्ब प्रयोग गरेर नाटकमा देखापरेका यिनी नेपाली साहित्यको नाट्यक्षेत्रमा अत्यन्त आदरणीय नाटककार हुन् । नयाँ शिल्प, सौन्दर्य, मनोविज्ञान व्यक्त गर्न सफल लेखक विजय मल्ल युगका सचेत प्रतिनिधि साहित्यकार हुन् । यिनको साहित्यिक सिर्जना र यात्रामा हरियाली व्याप्त छन् ।