मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
२०२७ सालमा बिगुल प्रगतिशील सामाजिक संकलनको पहिलो अङ्कको प्रकाशन हुँदाताका आदरयोग्य व्यक्तित्वका रुपमा नाम सुनेका गोविन्द भट्टको डिल्लीबजारस्थित घरमा सोधी खोेजी गर्दै पुगेको सम्झना अहिले पनि मनमा ताजै छ । अति शिष्ट, भद्र, शालीन दार्शनिकका रुपमा प्रख्यात साहित्यकार गोविन्द भट्टसँग पहिलोचोटिको भेटघाटमा नै म निकै प्रभावित भएको थिएँ । समय सन्दर्भ मिलाएर पछि उहाँसँग भेटिरहन पाउँदा एकजना प्रबुद्ध व्यक्तिसँग भेट्न पाएको जस्तो प्रतीत हुन्थ्यो ।बिगुलको पहिलो अङ्कको प्रकाशन गर्ने धोकोसँग चिनजान भएको आदरणीय गोविन्द भट्टले पहिलो अङ्कमा ‘मेरो हातको अखबारले यही भनिरहेछ’ कविता प्रकाशन गर्न दिएर विश्वमा चलिरहेको मुक्तियुद्ध, लोकयुद्धहरु थिचिएिका पिल्सिएकाहरुको पक्षमा हुनु नै जनताको विजय हुँदै जाने चेतना सम्प्रेषण गर्ने दृष्टिको पटाक्षेप भएको कविताका रुपमा त्यसताका नै स्वीकारेका हौं । राजभाइ प्रधान, जवाहर श्रेष्ठ, केदार प्रधानहरु मेरा त्यसताकाका बनेपाका आत्मीय मित्रहरु हुन् । विचार दृष्टिमा, साहित्यिक मर्म र कर्ममा, सामाजिक जागरण वितरण गर्ने अभियानमा हामी सँगसँगै नै थियौं । अझ राजभाइ प्रधान बिगुलका सम्पादक रहेर सँगसँगै साहित्यिक पत्रकारिता गर्ने अभियानका सहपाठी हुन् ।
प्रगतिशील र अन्य विचारका सामयिक संकलनहरु निकाल्ने त्यसताका लहर नै आएजस्तो वातावरण थियो । समालोचक तथा विचारक गोविन्द भट्टकहाँ देशभरका प्रगतिशील साहित्यकारहरुको भीड लागिरहन्थ्यो । त्यही भट्टसरको डेरामा थुप्रै प्रगतिशील साहित्यकारहरुसँग चिनजान भएको स्मरण छ ।बिगुलको दोस्रो अङ्कमा भट्ट सरले महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘सुपुत्रहरु ए चीनका !’ अंग्रेजीबाट अनुवाद गरी बिगुलबाट प्रकाशन गर्न दिएको हो । चीनबारे महाकवि देवकोटाले पोखेका कवितात्मक उद्गारहरु अहिलेसम्म पनि सान्दर्भिक छन् । जी.बी.का नामबाट प्रकाशित उक्त कवितामा देवकोटाले कोरेका केही पंक्तिहरु गोविन्द भट्टको अनुवाद शैलीलाई बुझ्न यहाँ उतार्न खोजेको छु ः
सुपुत्रहरु ए चीनका !
तिमीहरुले रगत बगाएका छौ र
गुलाफका फूलहरु फक्रेका छन्
पूर्व छ रातो रे कालो रात ढलिसकेको छ
जागृत मुटुहरु उज्यालो भएर चमचम गर्दै छन् ।
साहित्यिक पत्रकारिताको रहर बोकेर प्रगतिशील भावनाले मन प्रवाहित हुँदै गर्दाताका गुरु खोज्दै हिँड्दा साथ दिएका भरपर्दा प्रगतिशील साहित्यिक गुरु हुन् गोविन्द भट्ट । नेपाल–चीन मैत्री संघका यिनी पनि हर्ताकर्ता थिए, मात्र होइन माओत्से तुङका चर्चित दार्शनिक कृति अन्तर विरोधबारे चर्चित पुस्तकको अनुवाद पनि यिनैले गरेका थिए । यिनैको प्रभावले नेपाल चीन मैत्री पुस्तकालयमा धाउन जानेको मलाई सम्झना छ । पछि यिनी चीन पुगे, अलिक सम्पर्क टाढा भयो । पछि पुनः नेपाल भित्रिएपछि यिनीसँग ठाउँठाउँमा भेटघाट हुन थाल्यो । चीन अध्ययन केन्द्र मध्यपूर्वीय शाखाका म अध्यक्ष छँदा चिनियाहरुसँग भेटघाट हुने क्रममा, साहित्यिक मेलामा हाम्रो भेटघाट त भइरहन्थ्यो । तर मेरो सक्रियता नेपाली साहित्यिक अभियानमा जनमत मासिकको विस्तारमा लाग्दालाग्दै यिनीसँगको मेरो नजिकको सम्पर्क अलिक पातलिँदै गयो । तर पनि गोविन्द भट्टको दार्शनिक पाराको मुहार, झपक्क दाह्री जुँगाले छोपेको अनुहार, फूर्तिलो जीउडाल, चुरोटको सौखिन, जसको मनले सोचेर बोलेका कुराहरु मेरा मनभरि आज पनि छरपस्ट छन् । वि.सं. २०६४ चैत्रमा जनमत वरिष्ठ साधक सम्मानले बनेपामा यिनको सम्मान गर्न पाएको क्षण मेरा लागि सुखद थियो ।
जनकवि केवलपुरे किसाको चिता २०६८ असोज २१ गते पशुपति आर्यघाटमा ह्वार्ह्वार्ती जलिरहँदा एकछेउमा उभिएर खगेन्द्र संग्रौला, गोविन्द भट्ट र म चुरोटको सर्को तान्दै गर्दाको क्षण भुलिनसक्नु छ । लुनाले अमेरिकाबाट पठाएको चुरोट हामी तान्दै थियौं । आर्यघाटमा त्यो क्षण क्यामेरामा कैद गर्न पाएनौं । तर सम्झना मनभरि व्याप्त छ । केही दिनपछि उनै गुरु, पछिको मित्र गोविन्द भट्टको अवसान भएको खबर सुन्दा मेरो मन भक्कानिएको थियो । त्यही आर्यघाटमा चितामा जल्दै गरेका गोविन्द भट्ट हेर्नुपर्दा मेरो मनमा दुखेको मर्म कसलाई बताउने हो, म अन्यौलमा थिएँ त्यसताका । यिनै विद्वान् दार्शनिक, अनुवादक, समालोचक, धेरै थोकमा अग्रता कमाउँदै राष्ट्र–अन्तराष्ट्रमा प्रख्यात रहेका गोविन्द भट्टबारे संक्षेपमा मैले रुचाएको व्यक्ति–चित्र यहाँ उतार्न खोजेँ ।
माक्र्सवाद–लेनिनवादका व्याख्यानकार । प्रगतिशील साहित्य र दृष्टि बिम्ब व्याख्या गर्दै आएका एक चर्चित चिन्तक । थोरै लेखेर पनि धेरैमा तरङ्गित हुन सक्ने बौद्धिक व्यक्तित्व । दर्शनशास्त्रका विश्लेषक । माक्र्सवादी दर्शनलाई जीवनलाई दर्शनका रुपमा प्रयोग गर्न सकिन्छ भन्ने सोचका चिन्तक । यसको अलावा गोविन्द भट्ट एक चर्चित प्रगतिशील समालोचक पनि हुन् । वि.सं. १९९६ साउन २ गते पुरेनवा गौर नारायणी अञ्चलमा पिता रुद्रनाथ उपाध्याय र माता शैलपुत्री उपाध्यायका सुपुत्र भई जन्मेका व्यक्ति हुन् गोविन्द भट्ट । जीवनसँगिनी इन्दिरा भट्टको मायासँगसँगै राखेर हुर्काउन पाएका छोरीहरु हुन् – डा. लुना भट्ट र शिरीष क्षत्री । दर्शनशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका यिनले चीनको माटोमा चीन अन्तर्राष्ट्रिय रेडियोमा नेपाली विशेषज्ञ रही धेरै वर्ष सेवा पु¥याइसकेको र नेपालमा आएर पछिसगरमाथा राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुनाका साथै थुप्रै पत्रपत्रिकाको सम्पादन कार्यमा सहयोग पु¥याएका छन् । गोरखापत्र कर्पोरेशनका कार्यकारी अध्यक्ष समेत रहिसकेका यिनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यसम्म भई सेवा पु¥याएका देखिन्छ ।
साहित्यमा यिनी आफ्नो परिभाषा यसरी व्यक्त गर्दछन् –“साहित्य भनेको अलौकिक वा स्वतन्त्र विषय नभएर मनुष्यको सामाजिक अस्तित्वलाई आफ्नै विशिष्टतासहित प्रतिबिम्बित र उद्घाटित गर्ने सामाजिक चेतनाकै एक रुप हो । यो सर्वप्रथम समाजबाट उत्पन्न र प्रभावित हुन्छ र पछि गएर यसले समाजलाई पनि प्रभावित गर्दछ । विभिन्न वर्ग रहेको समाजमा साहित्य पनि स्वभावतः वर्गीय स्वभावको हुने भएकोले वैचारिक वर्गसंघर्षमा त्यसको भूमिका पनि तदनुसार नै हुने गरेको छ ।”युगवाणीमा वि.सं. २००८ मा नै ‘शोषित पुकार’ कविता प्रकाशित गराएर साहित्यिक क्षेत्रमा देखा परेका यिनका प्रकाशित कृतिहरुमा शान्ति सन्देश (खण्डकाव्य), नेपाललाई बुझ्ने समस्या यौटा लामो र कठिन प्रक्रिया (राष्ट्रिय चिन्तनमूलक लेखसङ्ग्रह), चीनका चार आधुनिकीकरण (अंग्रेजी भाषामा), गोविन्द भट्टका समालोचना, गोविन्द भट्टका दार्शनिक रचनाहरु, आधुनिक युग, आधुनिक साहित्य (नेवारी निबन्ध पुस्तिका), गोविन्द भट्टको माक्र्सवादी चिन्तन आदि छन् ।
कृष्णमणि साहित्य पुरस्कार, बगर सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार, गोकुल साहित्य पुरस्कार, देवकोटा स्मृति सभा सम्मान, साहित्य सन्ध्या पुरस्कार र जनमतबाट सम्मान भएका छन् । चीनबाट सर्टिफिकेट अफ अनरबाट सम्मानित गोविन्द भट्टका मनपर्ने स्रष्टाहरुमा श्यामप्रसाद, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, भूपि शेरचन, मोदनाथ प्रश्रित, चैतन्य, विमल निभा आदि हुन् । र विदेशीहरुमा सेक्सपियर, बनार्ड शा, वाल्ट ह्विटमैन, फैज अहमद फैज, टुफु, लू स्यून, गोर्की, पाब्लो नेरुदा, नागार्जुन, हरिशंकर प्रसाई, राहुल सांकृत्यायन आदि छन् । जीवनप्रति यिनले आफ्नो दृष्टि यसरी पोखेका छन् –“संसार जटिल छ, जीवन संघर्षपूर्ण छ । माक्र्सवादी दर्शनबाट जीवन र जगत्का सबै समस्याको समाधान गर्न सकिन्छ ।” यिनै स्रष्टा, चिन्तक, माक्र्सवादी दर्शनका व्याख्याकार प्रगतिवादी समालोचक गोविन्द भट्ट वि.सं. २०६८ असोज २५ मा अवसान भए पनि उनका कृतिहरु प्रगतिशील जनमनका लागि सधैं, सबैतिर व्याप्त रहिरहनेछन् – विश्वास गर्न सकिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |