logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

सम्झिरहनुपर्ने साहित्यकार कृष्णप्रसाद दुवाल

प्रभातफेरी अनलाइन६४५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १४, मंगलबार(३ साल अघि)
सम्झिरहनुपर्ने साहित्यकार कृष्णप्रसाद दुवाल

मोहन दुवाल

निरन्तर केही गरिरहन गाह्रो हुन्छ, निरन्तर एउटै उद्देश्य साँचेर अघि बढिरहन कठिन हुन्छ । तर कुनै पनि विषयमा आफूलाई निरन्तर क्रियाशील गर्न सके एउटा इतिहास निर्माण हुन्छ । राजनीति, समाजसेवा, धर्मकर्म, साहित्यलगायत कुनै पनि क्षेत्रमा निरन्तर लागिरहन सक्नेहरूले समाजमा आ–आफ्ना ढङ्गका डोबहरू छोड्छन् । समाजमा केही न केही डोबहरू छोड्न इच्छा गर्नेहरूले नै समाजमा नयाँ–नयाँ चिन्तनहरू बाँड्छन् । यसै सन्दर्भमा राखेर उल्लेख गरिँदा बनेपाका साहित्यिक योद्धा कृष्णप्रसाद दुवाल अर्थात् के.पी. दुवाल याने के.पी. सरलाई साहित्यिक वृत्तमा भुल्न गाह्रो हुन्छ ।


निःस्वार्थ सेवामा जीवनका क्षणहरू खर्च गर्नेहरू आर्थिक या भौतिक सुखभोगबाट टाढा हुन्छन् । जसले समाज, देश र जनताको लागि आफूलाई बालेर देखाउने प्रयास गर्छन् उनीहरू मैनबत्तीझैं बल्दै जान्छन् । यस्तै मैनबत्तीको स्थितिमा आफूलाई बालेर अरूलाई देखाएर प्रेरणा दिएर गएका एकजना साहित्यिक प्रतिभा अर्थात् कृष्णप्रसाद दुवाल ।
वि.सं. १९९६ भाद्र १५ गते बनेपा, भोलाखाटोलमा पिता स्व. गणेशबहादुर दुवाल र माता स्व. खिलकुमारी दुवालको कोखबाट साहित्यकार कृष्णप्रसाद दुवालको जन्म भएको हो । सानै छँदा नै साहित्य–सिर्जना र साहित्यिक क्रियाकलापमा संलग्न उनले निःस्वार्थ सेवाको भावनाले आफूलाई समाजमा समर्पित तुल्याएको देखिन्छ । जीवनपर्यन्त यिनले साहित्यकारका रूपमा आफूलाई चिनाएर गए । आर्थिक सङ्कटको चेपुवामा परेर पनि जीवन र जगत्प्रतिको मानवीय संवेदनालाई सरलताका साथ साहित्यमार्फत् गरेर गएका एकजना साहित्यकार नै हुन् कृष्णप्रसाद दुवाल ।
आजाद हाइस्कुल बनेपाबाट शिक्षा आरम्भ गरेका कृष्णप्रसाद दुवालले बी.एड. पहिलो वर्षसम्म मात्र शिक्षा पूरा गरेको देखिन्छ । पछि जीवनका क्षणहरूमा थुप्रै वर्ष आजाद हाइस्कुल, प्रौढ शिक्षा निकेतन, श्रीखण्डपुर स्कुल र चण्डेश्वरी मा.वि. नालामा शिक्षक भई सेवा गरेका यिनले राजनीति, समाजसेवा, पत्रकारिता, शिक्षणसेवा, साहित्यिक साधना र साहित्यिक यात्रामा आफूलाई समर्पित तुल्याउँदै विश्रान्ति दिएको देखिन्छ । साहित्यसेवा मण्डल, प्रभात नृत्यमण्डल लगायत थुप्रै साहित्यिक सङ्घसंस्थामा रही सेवा पु¥याइसकेका दुवाललाई २०५२ सालमा सुनकोसी साहित्य प्रतिष्ठानद्वारा जिल्लाकै एकजना राष्ट्रिय प्रतिभाका रूपमा अभिनन्दनसमेत भइसकेको देखिन्छ ।
कविवर सिद्धिचरण श्रेष्ठसँग निकै नजिकको सम्पर्क र उठबस गरेका कृष्णप्रसाद दुवालले साहित्यिक आकाश छुने भविष्यका इच्छालाई साकार पार्न निरन्तर कठिन साहित्यिक यात्रा गरेर आफूलाई समर्पित तुल्याएर गएको देखिन्छ । प्रतिभा नफुल्ने ठाउँमा, प्रतिभाको कदर नहुने बस्तीमा र प्रतिभाको खिसीट्युरी गर्ने परम्परा भएको यस परिवेशमा कृष्णप्रसादहरूको यात्रा यात्राजस्तो नदेखिनु आश्चर्य मान्नुपर्ने विषय होइन । उनले साहित्यका लागि जीवन नै समर्पण गरे । समर्पण नै बिताएर गए उनी । कृष्णप्रसादजस्ताको समर्पणको कदर नगर्ने र मान्छेको मान्यता अर्थमा सीमित राखी मान्छेको चेतना र ज्ञानलाई मूल्याङ्कन नगर्ने यस देशमा प्रतिभाको अर्थ र मान्यता कहाँनिर राखेर विश्लेषण गर्ने हो ? म बिम्ब खोजिरहेछु ।
जीवन बोकेर मान्छे कृयाशील हुन सिक्नुपर्छ, कृयाशीलताकै नाम हो मान्छे । बाँचुञ्जेल कृयाशील रहनु नै जीवन हो भन्नुहुने कृष्णप्रसाद दुवालले आफ्नो साहित्यिक आरोह–अवरोहमा थुप्रै प्रकारका कठिन यात्रा पार गरेर गएको देखिन्छ । आफ्नो जीवनक्रममा थुप्रै अनुभवहरू बटुल्न पाएका साहित्यकार दुवालले जीवनमा कटुताको थुप्रै क्षणहरू गुजारेर गए । तैपनि निराशामा मन नभुलाएर कवि दुवालले कटु सत्य र यथार्थलाई आफ्नै सम्झेर अँगालो मार्दै जीवनपथमा सङ्घर्ष गरेर गएको देखिन्छ ।
जीवनका थुपै्रै क्षणहरू राजनीतिमा गुजारेर पनि राजनीतिमा जम्न र सफलता पाउन नसकेका असफल राजनीतिज्ञको नाम भइदिएको छ कृष्णप्रसाद दुवाल । उनलाई राजनीति पटक्कै फापेन । साहित्यमा चाहिँ लगनशीलताले भरिएको समर्पण बिर्सिनसक्नु छ । बनेपाको सन्दर्भमा भन्ने हो भने उनी साहित्यिक इतिहासको धरोहर भएका छन्, इतिहासले यस्तै बताउने गर्छन् ।
कवि कृष्णप्रसाद दुवालको साहित्यिक यात्रा र जीवनका तरङ्गहरूबीच फुलेका साहित्यिक सिर्जनाहरूमा आफ्नै भाषा, आफ्नै भाव र आफ्नै सौन्दर्य जगमगाएका छन् । उनका कविताहरूमा देशप्रेमको भावना, मानिसका आँसु र हाँसोका व्यथा र उमङ्गहरू, मानिसकै बिम्ब–प्रतिबिम्ब, विश्वकै मानचित्र अनुभूति बनेर अभिव्यक्त भएको पाइन्छ । कवितामा कतै परिवर्तनको, कतै आशाको र कतै उज्यालोको सङ्केत दिने कवि दुवाल कविताबिम्बमा जीवन्त छन् ।
राजनीतिमा पहिले काङ्ग्रेस पार्टीका जिम्मेदार व्यक्ति भएर कार्य गरेका कारणले २०१७ सालको काण्डमा अराष्ट्रिय तŒवका रूपमा पक्राउ परी केही दिन उनी भक्तपुर खोरमा थुनिएको देखिन्छ । उनले रा.प.स.मा उम्मेदवारी दिए तर सफलता हात प्राप्त गर्न सकेनन् । नेपाल युवक सङ्गठन, काभ्रेको सभापतिसम्म भएका कृष्णप्रसाद दुवाल राजनीतिको आयामभित्र दिगो ढङ्गले स्थापित हुन सकेनन् । राजनीतिक क्रम र शिक्षणसेवाबाट आफूलाई पृथक् राखेर पछि साहित्य–साधना र सेवामा निरन्तर लागिरहेका उनले थुपै्र साहित्यिक कृतिहरू लेखिकन प्रकाशन गरेको देखिन्छ । सम्पादनको क्षेत्रमा संग (हस्तलिखित नेपालभाषा पत्रिका) देखि बालबाटिका, सिद्धिदास महान्, नेपाली र नेपालभाषाका पुस्तकहरूलगायत चिराक (मासिक) युवा सन्देश (साप्ताहिक) र प्रवद्र्धन (पाक्षिक), मैत्रीय सन्देश (मासिक) समेतको सम्पादक भई सेवा पु¥याएर गएको देखिन्छ । २०१४–१५ सालदेखि लेख्दै, सम्पादन गर्दे, गोष्ठी र सभा सञ्चालन गर्दै र कविता सुनाउँदै हिँड्ने कृष्णप्रसाद दुवाल जीवनपर्यन्त पनि यस्तै खालका साहित्यिक यात्रा गरेर गएको देखिन्छ ।
जीवनसँगिनी सूर्यमाया श्रेष्ठ याने गरमदेवीले आफूलाई छोडेर गएदेखि उनी आफूलाई कहिले छोराहरूसँग आत्मीयता साटेर, कहिले छोरी, बुहारी, नाति–नातिनाहरूलाई माया बाँडेर जीवनपथमा कठिन ढङ्गले यात्रामा भुलेर गएको देखिन्छ । मानवीय प्रेमबाट नै साहित्यिक अनुभूति पोख्न सुरु गरेका कवि कृष्णप्रसाद दुवालका हालसम्मका प्रकाशित पुस्तकहरूमा जिं हालागु म्ये (नेपालभाषा कवितासङ्ग्रह, २०१५), मेरो गाउ“घर (बालकवितासङ्ग्रह), कमिलाको ता“ती (बालकवितासङ्ग्रह, २०४८), पुरानो पहाडमाथि नया“ क्षितिज (कवितासङ्ग्रह, २०४९), बालबाटिका (बालकवितासङ्ग्रह), मुसाहरूको खेल (बालकवितासङ्ग्रह, २०५२), खोरभित्रको शेर (बालकविता– सङ्ग्रह, २०५२) र अन्य थुप्रै बालकविताा र बलाकथासङ्ग्रहहरु छोडेर गएका छन् ।
हाल उनी ट्युसन पढाउँदै, साहित्य–लेखनमा निरन्तरता दिंदै दिनचर्या बिताइरहेको देखिन्छ । विधागत योगदानको हिसाबले उनले कथा, निबन्ध, नाटक, कविताहरूका साथै थुपैै्र बालकविताहरू लेखेको देखिन्छ । विशेषतः बालकवितामा आफ्नै ढङ्गको सुन्दर भाषा र भावना अभिव्यक्त गर्न सिपालु कवि कृष्णप्रसाद दुवालका बालकविताको इतिहासमा आफ्नै डोब र आफ्नै आयाम छोडेर गए । नेपालका इनेगिनेका बालसाहित्यकारहरूको कोटीमा राख्न मिल्ने कृष्णप्रसाद दुवालका बालकविताहरू एकताका पाठ्यपुस्तकका रूपमा पनि पठनपाठन हुन्थे । पुरानो पहाडमाथि नया“ क्षितिज कवितामा आफ्नो अनुभूति उनी यसरी पोख्छन् ः
वर्तमान साह्रै दुब्लो–पातलो हुँदै गएछ
एक छाकमा छटपटाइरहेको छ
बाँदरले कोपरेको अनुहार बोकी
आफ्नो सृष्टि र कल्पना
स्पष्ट रेखामा कोर्न नसकी
ऊ त्यो क्षितिजमा
क्षितिज नै भइदिएको छ ।
यसै कवितामा कवि दुवालले जन्मने, मर्ने, बाँचुञ्जेल खानैपर्ने, लाउनैपर्ने प्रकृतिको नियम र मानिसको सभ्यता जस्ताको तस्तै रहेकोमा दार्शनिक पाराले आफ्नो विचार कवितामा यसरी पोखेका थिए ः–
यहाँ पुरुषले बच्चा जन्माएको छैन,
बाघले कुकुर जन्माएको छैन,
मुसाले बिरालो पनि खाएको छैन,
यो ईश्वरको खेल भनिन्छ
कसैले बदल्न पनि सकेको छैन
खोई तेरो नयाँ युग … ?
विचारका धनी, शब्दसंयोजन गर्न सिपालु दुवालले विश्वबारे आफ्नो कवितामा यसरी धारणा व्यक्त गरे ः–
ममा विश्व छ
विश्वमा म छु
नपत्याए हेर
मेरा छातीभरि विश्व छ
मेरो आँखाभरि विश्व छ … ।
अन्त्यमा हामीले भन्नुपर्छ, परिश्रमी साहित्यिक योद्धा कृष्णप्रसाद दुवाल बनेपाका लागि साहित्यिक धरोहर नै हुन् । जिल्लाको इतिहासमा यिनी प्रसिद्ध साहित्यकार हुनाका साथै राष्ट्रको मूल्याङ्कनमा यिनी सफल बालसाहित्यकारका रुपमा प्रसिद्धि कमाएर गएको देखिन्छ ।