मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
साहित्यलाई सत्यम्, शिवम् र सुन्दरम् बनाउनुपर्छ भन्ने सोच बोक्नुभएर साहित्य सिर्जना गर्दै आउनुभएका सत्यमोहन जोशी वि.संं. १९७७ वैशाख ३० गते बखुंबहाल, ललितपुरमा पिता शंकरराज जोशी र माता नुगलदेवी जोशीका सुपुत्रका रुपमा जन्मिनुभएको हो । १०३ वर्ष पुगेर पनि निरन्तर एकै खालको लवाइमा सजिएर डाकेको ठाउँमा ठीक समयमा पुग्नुभएर सत्यमोहनले आफूलाई भाषा साहित्य क्षेत्रका सत्यका पक्षपाती सावित गरेर जानुभयो । ज्योतिषी कुलमा जन्म पाएर ज्योतिषशास्त्रको प्रारम्भिक शिक्षा लिइसकेका उहाँका पिता शंकरराज अड्डा अदालतमा लेखनदास कारिन्दाका रूपमा जागीर खाएर जीवन सुरु गरेको देखिन्छ । आठ वर्षपछि यिनका बाबु राणाकालमा डिठ्ठासम्म भएर सेवा गरेको देखिन्छ । डिठ्ठाका जेठा छोरा भई जन्मेका उहाँलाई बाबुआमाले मायाले मोहन भनेर त्यसताका डाक्दा रहेछन् । तीनजना भाइहरू, तीनवटी बहिनीहरूका दाजु हुन् सत्यमोहन जोशी । आईएसम्म उत्तीर्ण गरेर घरैमा अन्य विशेष शिक्षा अध्ययन गर्नुभएको उहाँ नेराप्रप्रमा सदस्य सचिव, नेपाल साहित्य संस्थान, कला संस्थानका सदस्य रहनुभएर पनि सेवा पु¥याउनुभएको देखिन्छ । वि.सं. १९९८ सालतिर गो.प.मा परिचय कविता छापिएर साहित्यिक क्षेत्रमा देखापर्नुभएका उहाँ संस्कृतितर्फ विशेष दक्षता हासिल गर्न सफल लेखकका रूपमा पनि सुप्रसिद्ध हुनुभयो । नेपाल, भारत, श्रीलंका, बर्मा, चीन, न्यूजील्याण्ड, रुस आदि देशमा पुगेर आफ्नो नेपाली क्षमता र बर्कत् देखाइसक्नुभएका उहाँ जीवनको अन्तिम क्षणसम्म पनि नेपालकै एउटा ऊर्जाशील धरोहर भई आफूलाई देखाउन सफल रहनुभयो ।
नेपाली र नेपालभाषा दुवैमा त्यति नै सक्रिय, दुवै भाषाका सक्षम लेखकका रूपमा आफूलाई चिनाइसक्नुभएका उहाँका प्रकाशित कवितातर्फ नेपालभाषामा १. चखुंचां हाःगु म्ये (कवितासङ्ग्रह), २. जयप्रकाश (महाकाव्य), ३. अरनिको श्वेतचैत्य (महाकाव्य) र नेपालीमा १. लामा र पाचुके, २. क्रान्तिका लहरहरू प्रकाशित छन् । संस्कृतिविद् पछि नाटककारका रूपमा स्थापित भइसकेका उहाँका प्रकाशित दुवैभाषाका नाटक ग्रन्थहरूमा १. सिद्धार्थ गौतम, २. सिद्धिदास, ३. न्ह्यदँ लीपा, ४. वैद्यबा, ५. म्हगसय् नापलाम्हः ६. बाघभैरव, ७. चारुमती, ८. ध्वँच्वलेचा र नेपालीमा १. दैलाको बत्ती, २. मृत्यु ः एक प्रश्न, ३. फर्केर हेर्दा, ४. जब घाम लाग्छ, ५. सिपाही र रैती, ६. सपना ब्युँझन्छ ७. सुनकेसरी मैंचा ८. मजिपा लाखे ९. महर्षि याज्ञवलख्य छन् । नाटकमा उहाँको आफ्नै खालको दक्षता रहेको सन्दर्भ धेरैजसो समालोचकहरूले पोखेका छन् । न्यूजिल्याण्ड पुग्ने पहिलो नेपाली हुन् उहाँ । सन् १९५३ तिर अर्थात् वि.सं. २००९ सालमा सत्यमोहन जोशी युरोपको न्यूजिल्याण्ड पुग्नुभएको हो । त्यहाँ देखेको कौतुहलताका थुप्रै कुराहरूलाई उहाँले पुस्तकमा समेट्नुभयो । न्यूजिल्याण्ड पुग्नु भएपछि उहाँले त्यहाँ नेपाल र नेपालीको परिचय दिनुभयो । अनि न्यूजिल्याण्डमा पहिलो नेपाली नियात्राका पुस्तक लेख्नुभयो । पढ्नैपर्ने खालका यो पुस्तकले बताउँछ – त्यसताकाका उहाँ नेपालबाट जानुभएका पहिलो अनौपचारिक राजदूत हुनुभयो । यो पुस्तक नेपाल तथा न्यूजील्याण्डबीचको सम्बन्ध विस्तारको एउटा श्रृङ्खला नै मान्न सकिन्छ ।
नेपालभाषामा र नेपालीभाषा दुवैमा निरन्तर कलम चलाउनुभएर आफूलाई समर्पित लेखकमा रूपमा स्थापित गराइसक्नुभएका उहाँले कविता, महाकाव्य, नाटक, संस्कृतिका विविध पक्षका अध्ययन, अनुसन्धानका थुप्रै पुस्तकहरू प्रकाशित गराउनुभएको छ । नेपाल अधिराज्यभित्र छरिएर रहेका विभिन्न जनजातिका भाषा र लोकसाहित्यका विशेषताहरूलाई समेट्न सफल यिनका संस्कृतितर्फका पुस्तकहरूमा १. नेपाली चाडबाड, २. नेपाली लोकगीत एक अध्ययन, ३. हाम्रो लोक संस्कृति, ४. कर्णाली लोकसंस्कृति (भाग १), ५. पुरातत्व एक रोचक कथा, ६. सांस्कृतिक नीति ः एक अध्ययन, ७. नेपाली मूर्तिकलाको विकास क्रम, ८. नेपाली धातुमूर्तिको विकासक्रम, ९. नेपाली राष्ट्रिय मुद्रा, १०. नेपाली कलाकार अरनिको प्रकाशित छन् । साहित्य, भाषा र संस्कृतिकै माध्यमबाट बौद्धिक, नैतिकस्तरलाई माथि उठाई राष्ट्रोन्नतिको कार्यमा नवजागरण, परिवर्तन ल्याउन सकिन्छ भन्ने दृष्टि बोक्नुभएर वाङ्मयसेवामा लाग्दै गर्नुभएका सत्यमोहन जोशीले नेपालभाषा उत्थानका लागि जनस्तरबाट नै एकेडेमी स्थापना गर्नुभएर जातीय पहिचान देखाउन पनि सफल हुनुभयो । उहाँ नेपालभाषा एकेडेमीका कुलपतिसम्म हुनुभयो । कीर्तिपुरमा आफ्नै भवन स्थापना गर्नुभएर दिलोज्यानले भाषा उत्थानका लागि उहाँले आफूसक्दो समर्पित भएर देखाउनुभयो ।
००
सत्यमोहन दाईसँगको मेरो मित्र–भाव धेरै खालका साहित्यिक गोष्ठी–संगोष्ठीहरुमा, एकअर्काबीचमा हुँदा÷गरिंदाका सम्मान कार्यक्रमहरुमा, कुनै–कुनै साहित्यिक सङ्घ–संस्थाहरुको निर्णायक भूमिकाहरुमा, सत्यमोहन जोशी पदक÷ सत्यमोहन जोशी नामक सम्मान पाउँदाका क्रमहरुमा, दर्जनौं कार्यक्रमहरुमा उहाँ प्रमुख अतिथि छँदा मन्तव्य व्यक्त गर्दाका समयहरुमा म सधैं सत्यमोहनदाईको मोहनीलाग्दो व्यवहारबाट प्रवाहित भइरहेका पुराना सम्झनाहरु याद आइरहन्छ । सत्यमोहनदाईलाई माथि उल्लेख भएका सन्दर्भहरुमा केलाएर जनमतको एउटा अङ्कमा ‘सत्यमोहन जोशी विशेष’ निकालेको सम्झना भइरहन्छ । काम विशेषले यही भदौ २९ गते कृष्णा ताम्राकारसँग भेटघाट गर्ने क्रममा काठमाडौंमा गइरहँदा बाटोमा नै सत्यमोहनदाई कहाँ पनि एकपल्ट जान पाए हुन्थ्यो भनी भारतीले प्रस्ताव गरिन् । ‘लौ जाने’ भनेर गइयो । जगत् मानन्धरले चलाएको गाडीबाट ज्ञानकाजीसर र भारतीसँग गएको सम्झना आइरहने भयो । असोज २९ गते विहान ७ः०० बजेतिर उहाँ अवसान हुनुभयो । ठीक १ महिना १ दिन अगाडि सत्यमोहनदाई कहाँ पुगेको र त्यहाँ पुगेर उहाँलाई भेट्न पाएका, भलाकुसारी गरेको र उहाँकै प्रस्ताव अनुसार ‘चक्र संवर’ कोर्दै गरेको तेस्रो तल्लामा पुगेर कला हेर्दै फोटो खिँचेको र पछि उहाँ बसेको कोठामा पुग्दा उहाँलाई उपहार प्रदान गरेको खामबाट जनमत मासिकको २०७९ असारको आवरणमा प्रकाशित ‘जुरेली चरा’ को फोटो पाए हुन्थ्यो’ को आग्रह गरेको उहाँको आँखा र मन झलझली सम्झना आइरह्यो । लोकसाहित्य भवन बनाउँदाका कथा–व्यथाहरु, दोहोरो भत्ता जस्तै दुःख परे पनि नलिएको आदि–इत्यादि मनका कुराहरु खोल्नुभयो । उहाँको स्वास्थ्यस्थिति हेरेर उहाँसँग छिट्टै छुट्यौं । जब उहाँको दिवंगत भएको समाचार सुनें; निकै दुःख र नियास्रो लाग्यो । यति छिट्टै त नजानुपर्ने मनको प्रश्न थियो तर उहाँ आफ्ना मनोरम रचनात्मक कृतिहरु छोड्नुभएर भौतिक देह त्याग्नुभयो । नेपाली भाषा, साहित्य, संस्कृतिमात्र होइन नेपालभाषा साहित्यमा पनि उहाँले विशिष्ट खालको सेवा र सिर्जनाका अनेकौं कोसेलीहरु छोडेर जानुभयो । उहाँले नेपालभाषा एकेडेमीका कुलपति रहनुभएर कीर्तिपुरमा भवन ठड्याउन आफूसक्दो श्रम र बुद्धि खर्चिनुभएको, नेपालभाषा साहित्य र भाषाको समृद्धिका लागि निकै कठीन प्रयासहरु गरेको इतिहास बिर्सिदिनु हुँदैन ।
उहाँ धेरै कुरामा विशिष्ट हुुनुहुन्थ्यो । लेखाइमा मात्र होइन व्यवहारमा पनि उहाँ विशिष्ट नै हुनुहुन्थ्यो । समयको निकै ख्याल गर्नुहुने, आफ्नो अडान नछोड्ने, तर्कपूर्णढङ्गले आफ्नो विचार राख्न खोज्ने उहाँको बानी–व्यहोरा निकै लोभलाग्दो छ । कहिले पनि थाकेको र अनावश्यक कुराकानी गरेको मैले कतै कहिल्यै देखिनँ । मेरो सक्रियता, मेरो लगनशीलतालाई सम्मान गरेर सायद उहाँको पनि सिफारिस होला ‘नेवाः पत्रकार राष्ट्रिय दबू’ ले मलाई ‘सत्यमोहन जोशी’ को नाममा रहेको सम्मान र पुरस्कार दिएको र मलाई बधाई दिएको सम्झना आइरहन्छ ।
मेरा विद्यालयस्तरीय अंग्रेजीभाषाका शिक्षक हुनुहुन्थ्यो ज्ञानकाजी मानन्धर । उहाँ पनि हुनुहुन्थ्यो यस क्षेत्रका चर्चित संस्कृतिविद् । अहिले त उहाँ मेरा सहयोद्धाजस्तै सँगसँगै हिंड्ने, बरोबर भेट्ने, दुःख–सुखको कुरा बाँड्ने, अक्षर–यात्राका सुमार्गीहरुजस्तै भयौं । ज्ञानकाजीसरसँगसँगै रहँदा सत्यमोहन दाईले दुइटा कुरा सन्दर्भ मिलाएर भन्नुभएको सधैं–सधैंजसो याद आइरहन्छ – “तपाईंले ‘जनमत’मार्फत् ज्ञानकाजीलाई राष्ट्रमा जुन चिनाइदिनुभयो त्यो तपाईंको गुरुप्रतिको सद्भाव हो जुन उल्लेख गर्नलायकका छन् । तपाईंले ‘जनमत’ का तर्फबाट जुन साहित्यमा सेवाभाव पोख्दै आउनुभएको छ त्यो यात्रा ऐतिहासिक भइसक्यो; जुन तपाईंको जीवनको सार्थक कर्म भयो ।” यस्तै कुराहरु मसँग उहाँ गर्नुहुन्छ । “नेवार भएर नेपालभाषामा लेख्नुपर्छ तर उनले नेपालमा नै प्रभाव पार्ने कर्म र लेखन गरेको छ भने त्यस्ता व्यक्तिलाई सङ्कीर्णतामा थुन्न खोज्नु पनि हुँदैन । त्यसैले दुवालजीलाई नेपालभाषामा लेख्नुहोस् भनी खुम्च्याउन चाहँदिनँ – तपाईंको साहित्यिक यात्रा सुरम्य छ ।” बरोबर यस्तो भरोसालाग्दा कुराहरु गर्नुभएर मलाई हौस्याउनुभएका धेरै प्रसङ्गहरु छन् ।
एक महिना अगाडि उहाँलाई भेट्दा पनि आउन लाग्दा उहाँले मलाई सानो स्वरमा ‘दुवालजीको साहित्यिक यात्रा सुन्दर छ भन्नुभयो’ हौसला बोकेर भ¥याङ तल झरेको, लोकसाहित्य भवनको अगाडि उभिएर फोटो खिँचेको र सत्यमोहनदाईको भरोसालाग्दा वचन सुन्न पाएको उक्त क्षण बिर्सन नसकेर लिपिवद्ध गर्न खोजेको छु । अमेरिकाबाट आएकी छोरी पनि बिरामी, भाउजू पनि बिरामी र उहाँ पनि बिरामी हुँदाहुँदै भेट्न पाएको त्यो क्षण ऐतिहासिक मात्र होइन मेरो जीवनको सार्थक दिन रह्यो ।
तीनपटक मदन पुरस्कार प्राप्त गर्न सफल अहिलेसम्मका मदन पुरस्कारकै इतिहासको इतिहास बन्नुभएका सत्यमोहन जोशी साहित्य, इतिहास, संस्कृतिकै अथक यात्रीका रुपमा आफूलाई प्रमाणित गर्न सफल रहनुभयो । हाम्रो लोकसंस्कृति २०१३ मा नेपाली राष्ट्रिय मुद्रा २०१७ मा, कर्णाली लोकसंस्कृति २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका उहाँलाई र उहाँको सिर्जनात्मक कार्य र रचनालाई सम्मान गरेर नेपाल सरकारका तर्फबाट रु.२,५००।– का चाँदीको सिक्काको प्रकाशन गरेर, रु.१०।– को हुलाक टिकटमा सत्यमोहन राखेर, राष्ट्र गौरवको विभूषणले विभूषित गरेर, दिवंगत भइसकेपछि राष्ट्रिय शोकका लागि कार्तिक १ गते १ दिन विदा दिएर कदर गरेर उल्लेखयोग्य कार्य भएको छ ।
वाङ्मय शताव्दीपुरुषका रुपमा स्थापित सत्यमोहन जोशीले जीवनप्रतिको दृष्टिमा आफ्नै हस्ताक्षरमा लेख्नुभएको छ – “केवल म बोध मात्र ।” (अक्षरभित्रः स्रष्ट्राहरुबाट) जीवनलाई बोध गर्न सक्नु नै ठूलो कुरा हो, बोध गर्न नसक्नेहरु अप्ठ्यारोमा ढल्दै जान्छन् । सरल जीवन उच्च विचारका बलियो मान्छे, सत्यमोहन जोशीले आफूलाई सत्यमा लाग्न दिएर, सुन्दर कार्यमा लागिरहनुभयो । त्यो नै उहाँको सुन्दर र उच्च विचार भयो । युगले जन्माएको अनौठो मान्छे सत्यमोहन जोशीले जीवनभर नेपालको संस्कृति, भाषा र साहित्यको लागि अनवरत सेवा गर्नुभयो र अवसान भएपछि पनि आफ्नो शरीर दान दिने घोषणा गर्नुभएकोले राष्ट्रलाई शरीर दान दिनुभयो । धन्य हुनुभयो र उहाँ महामानव सावित हुनुभयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |