मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
हेमराज पहारी –शिक्षणसेवामा आदरपूर्वक पोखरामा लिइने नाम हो । पोखरामा जन्मेका र प्रसिद्ध कमाएका धेरैजसो चर्चित महानुभावहरूका उनी आदरणीय गुरू पनि हुन् । १६ वर्ष पोखराको माटोमा यिनले शिक्षणसेवा गरे । बी.एड.सम्म उत्तीर्ण गरेर शैक्षिक हैसियत बनाएका यिनले शिक्षणसेवामा मन भुलाउँदा आफूलाई योग्य शिक्षकका रूपमा चिनाउन सफल रहे । गम्भीर प्रकृतिका हेमराज पहारीले शिक्षणसेवा गर्न पाउँदाका उक्त क्षणहरू आफूलाई गौरवपूर्ण रहेको सन्दर्भ बताउने गथ्र्यो र पछिल्लो समयमा यिनी पर्यटक नगरी पोखरामा रमेर पर्यटन व्यवसायमा संलग्न रहेका हुन् । घरमा नै विदेशी पाहुनाहरूका लागि पाहुना घर खोली जीविकाको आधार बनाएर आफूलाई सक्रिय तुल्याइरहेका यिनी साहित्य सिर्जना र साधनामा पनि सक्रिय ढङ्गले क्रियाशील रहेर आफूलाई चिनाउन सफल रहेका हुन् ।
पोखरा बैदाममा पिता गोविन्दप्रसाद र माता फूलमाया पहारीका छोरा भई जन्मेका यिनी आफू जन्मेको पोखरालाई मन पराएर कतै जाने र बस्ने हैसियत रहेर पनि आफ्नो ठाउँ–थलोमा सेवा गर्न प्रयत्नरत रहेका संस्मरणहरू बिर्सिन गा¥हो छ । काभ्रेकी रीता यिनीकी जीवनसँगिनी बनिन् । दुवैजना खुसी रहेर आफ्नो सेवा र कर्ममा लीन भएर फुर्सदको समयमा साहित्यलाई साथी बनाएर साहित्य लेख्दै आएका एकजना स्थापित साहित्यकार हुन् ।
फेवातालको छेउमा अत्यन्त व्यस्त लालुपाते मार्ग, बैदाममा रमेर जीवन गुजारी रहेका यिनी साहित्य लेख्न पाएर, सोच्न पाएर, पढ्न पाएर र त्यस्तै साहित्यिक गतिविधिमा रम्न पाएर खुसी बाँड्दै थिए । एउटा असल व्यक्ति र लेखक हुन चाहना बोकेर उनी शिक्षक बने र त्यस्तै २०२० सालदेखि लेखनमा आफूलाई लगाए । भ्रम नामक कथा प्रकाशन गराएर साहित्यिक क्षेत्रमा देखापरेका यिनले देशको अभिभारा कवितासङ्ग्रह २०६१ असारमा सार्वजनिक गरे । उक्त कवितासङग्रहको भूमिकामा यिनले नयाँँ खालको साहित्यको परिभाषा यसरी व्यक्त गरेका हुन् – साहित्यलाई अक्सर समाजको दर्पण भन्ने गरिन्छ । तर दर्पणले साहित्यको व्यापकतालाई समेट्न सक्त्तैन । तसर्थ अब साहित्यलाई दर्पणमात्र नभनी समाजको पानी पनि भन्नुपर्ने भएको छ । किनकी साहित्यले समाजका गतिविधि र क्रियाकलापहरूलाई दर्पणलेझैंै प्रतिबिम्बित गर्नेमात्र नगरी धुने र पखाल्ने काम पनि गर्दछ । दर्पण नदीको धारझैं धारिलो, बाफझैं ऊर्जावान, सागरझैं गहिरो, हिमालझैं उच्च हुँदैन तर पानी हुन्छ । साहित्यमा सागरीय शालिनता, वाष्पीय सशक्तता र हिमालीय उच्चता हुन्छ र हुनु पर्दछ । दर्पणले तीर्खा मेट्दैन तर पानीले मेट्छ । दूुषित पानीले शरीरको अहित गरेझैं दूषित साहित्यले पनि समाजको अहित गर्दछ । साहित्यलाई पानी भन्न रूचाउने यिनी साहित्यकारले पानी+साहित्यलाई दूषित पार्न दिनु हुँदैन त्यसैले उनले लेखेका थिए – साहित्य देश, समाज र बहुसंख्यक जनताका हित र जीतका लागि हुनुपर्छ । उनको परिभाषामा साहित्य मानवोचित जीवनको कलात्मक वर्णन र खोजी हो ।
उत्तरी गोलाद्र्धको एक फन्को यात्रा संस्मरणको अर्को पुस्तक २०६३ पुसमा प्रकाशित भएको युरोप–अमेरिका भ्रमणको चर्चा गर्न लायक यात्रावृत्तान्तको पुस्तक हो । यस यात्रासंस्मरणको माध्यमबाट पहारीले दशवटा मुलुकहरू जर्मनी, होल्याण्ड, वेलायत, अमेरिका, क्यानाडा, मेक्सिको, जापान, हङकङ, थाइल्याण्ड र भारत भ्रमण गरेका अनुभवहरू रोचक ढङ्गले प्रस्तुत गरेका छन् । यात्रा साहित्यमा अत्यन्त महत्वपूर्ण कृतिको रूपमा देखापरेको यस ग्रन्थमा यात्रामार्फत बटुलेका आनन्दका क्षणहरू मनोरम किसिमले चर्चा गरेका छन् । उदाहरणका रूपमा केही पङ्त्तिहरू प्रस्तुत छन् –
० अमेरिकामा भान्छामा डकार्न, जुठेल्नोमा खकार्न, बालबच्चालाई हकार्न, वैयक्तिक स्वतन्त्रतालाई नकार्न र पुरूषहरूको प्रभुत्वलाई सकार्न पाइँदैन ।
० जर्मनी र जापानमा गोलीको वेगले गुडियो र बादल पारिको स्वप्न संसारमा हनुमानझ्ैं उडियो ।
० वेलायतमा अदुवाको बियर पिइयो र मेक्सिकोमा ४५३० पर्ने पाइन्टलाई ७ डलरमा लिइयो ।
० होल्याण्ड भन्ने देशमा चराहरू समुद्रमुनि उडेको देखियो र सुमेरूवृत्तको आसपासमा पुगेर छातीमा नेपालकै नक्सा लेखियो ।
० अलास्कामा मध्यरातमा दृश्यालोकन गरियो, लस एन्जेल्समा अलपत्र परियो र दिल्लीमा लुंगीमा झ्रियो ।
० यसरी माथि चर्चा गरिए जस्तै आफू पुगेका देशहरूका कोण–कोणको चर्चा गरिएको यस चर्चायोग्य पुस्तकले पहारीको लेखकीय व्यक्तित्व उजागर गरेको छ । यात्रा साहित्यमा देखा पर्दै आएका लैनसिंह बाङ्देल, डा.तारानाथ शर्मा, गंगाप्रसाद उप्रेती, घनश्याम राजकर्णिकार, प्रदीप नेपाल, श्रीकृष्ण गौतम, विजय चालिसे, कलाधर काफ्ले, इल्या भट्टराई आदिका नियात्राहरूभन्दा फरक प्रस्तुति लिएर देखापरेका यस सङग्रहको अध्ययनपश्चात मलाई लेख्न मन लाग्यो पहारीद्वारा लिखित उत्तरी गोलाद्र्धको एक फन्को नेपाली साहित्यमा नियात्रा विधाको एउटा उत्कृष्ट कृति हो । निबन्ध र प्रबन्धको विशेषता बोकेको यस ग्रन्थले पहारी सिद्धहस्त लेखकका रूपमा प्रमाणित गरिदिएको छ ।
० पोखरामा रही शिक्षणसेवामा उत्कृष्ट नाम बनाउन सफल पहारीले लेखन क्षेत्रमा पनि आफ्नो छवि देखाउन र आफूलाई सिद्धहस्त तुल्याउन सफल भएका छन् । पोखरामा रहेका थुप्रै लेखकहरूको हुलबाट एकजना ओझ्ेलमा परेका लेखकको चर्चा गर्न पाउँदा र परिचयका स्तम्भभित्र राखेर देखाउन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । ओझ्ेलमा परेका र उपत्यका भन्दा बाहिर रहेर सिर्जनामा मन दिँदै गरेको यस खालका सुशील लेखकहरूलाई राष्ट्रमा उजागर गर्न पाउँदा म हर्षले विभोर रहने गरेको छु । पोखरामा थुप्रै चर्चित लेखक–कविहरू छन् । त्यस्तै साहित्य क्षेत्रमा थुप्रै खालका गतिविधिहरू हुन्छन् । थुप्रै खालका साहित्यिक संघ–संस्था, प्रतिष्ठानहरू क्रियाशील छन् । अलिमियाँ, मुकुन्दशरण उपाध्याय, डा.रविलाल अधिकारी, सरूभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी, विश्व शाक्य, रमेश श्रेष्ठ, घनश्याम कँडेल आदि …….. आदिहरू । यी थुप्रै स्रष्टाहरूको माझ्बाट हेमराज पहारी आफ्नै गतिमा रमाउँदै पोखरामा साहित्यिक मति बोकेर देखापर्दै आएका हुन् ।
ग्रीनकार्ड पाई अमेरिका ४ वर्ष बसेका यिनी पछि अमेरिकासँग मोह भङ्ग भएपछि नेपालमा नै फर्के । पोखरा आफ्नै घरमा अतिथिगृह संचालन गरी साहित्यसेवा र सिर्जनामा रमाउन पाउँदा उनी खुसी भए । गण्डकी साहित्य संगममा रहेर साहित्यिक भावना बोकेर सेवामा रम्न पाउँदा गौरव गरे । प्रगतिशील लेखक संघ कास्कीमा मन दिएर लागे । योग, प्राकृतिक तथा वैकल्पिक चिकित्सा परिषदमा रमेर आफूलाई जीवन्त बनाउन सङ्घर्षरत रहे । पछि यिनी अखिल नेपाल लेखक संगठनमा पनि आवद्ध भए ।
कवितामा द¥हो विचार खोपेर कविता लेख्न मन पराउने प्रगतिशील कवि जस्को कवितामा जनताका धुकधुकी बोल्छन् , देशको अवस्था र अवस्थिति झ्ुल्किन्छन् त्यस्तै अन्याय, अत्याचार, शोषण विरूद्ध कवितामा आवाज बुलन्द छन् । कवितामा यिनै कवि यसरी आफ्नो भावधारा पोख्छन् –
किन हुन्छन् परिश्रमी सधैं सर्वहारा ?
हाम्रो काँधमा आएको छ देशको अभिभारा ।
लक्का जवानजति सबै विदेशमा सारा
हाम्रो काँधमा आएको छ देशको अभिभारा ।
संघ, संस्था र संगठन नहून् गरीबमारा
ती सबैले बहन गरून देशको अभिभारा ।
एउटा असल व्यक्ति र लेखक हुने चाहनाकै नाम हुन –हेमराज पहारी । जीवन एउटा इन्द्रेणीको नाम हो भन्न रूचाउने एकजना सरल भाषाका धनी कवि हुन –हेमराज पहारी । लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान र भूपि शेरचन मन पराउने एकजना परिमार्जित भाषा बोकेर देखा परेका एकजना नियात्राकार हुन –हेमराज पहारी । बेकन बनार्ड सा, गोर्की, लुसुन पढेर आफुलाई लेखक बनाउन प्रयत्नरत स्रष्टा हुन –हेमराज पहारी । हेमराज पहारीको साहित्यिक गन्तव्यमा हरियाली छहारी झ्ुल्किरहने छ –अविस्मृत लाग्छ मलाई; हेमराज पहारी ।
०००
भौतिक रूपको देह कतै गएजस्तो लागे पनि – मित्र हेमराज पहारीले एकै क्षणको भेटमा मलाई पारेको प्रभाव बिर्सिन गा¥हो भइरहेछ । मित्र गोविन्दराज पहारीले हेमराजसँग मेरो सम्बन्ध जोडी दिएको हो । बनेपाका युवाहरूको संस्था ‘लिधांसा’को बार्षिक कार्यक्रमको समुद्घाटन गर्न मलाई पोखरा लग्दा म बसेको होटल आएर गोविन्दजी र हेमराजजी र एक छाक खाना सँगै खान अनुरोध भएको र सँगै पुगेको सम्झना छ । दुइ घण्टा जतिको बसाईमा मित्रतामा न्यानोपन ल्याउन सफल भयांै । ‘जनमत’सँग सम्बन्ध गांँस्न लगायौं । ‘जनमत’को एउटा अङ्क हेमराज पहारी विशेष निकाल्ने मतो मिल्यो । २०६५ भाद्र अङ्क हेमराज पहारी विशेष प्रकाशित पनि भयो । त्यही बेला नै हो; रीता पहारीसँग परिचय भएको । बस्दै–खुल्दै जाँदा थाहा भयो; उनी त मेरै जिल्लाकी बहिनी पो रहिछन् । कोसीपारी नाग्रे गागर्चेमा जन्मिएकी रीता नारायणप्रसाद न्यौपाने र अम्बिकादेवी न्यौपानेकी छोरी पो रहेछन् । उनकी दिदी दीपा न्यौपाने अझ भनौ मेरा शिष्या पो रहेछन् । म जन्मेको रहेको ठाउँ बनेपास्थित आजाद मा.वि.बाट २०४२ सालमा एस.एल.सी. गरेकी रीता बहिनीसँग कुराकानी साटासाट हुँदा आफ्नै बहिनीजस्तो साइनो खुल्दै गएको त्यो क्षण बिर्सिन गा¥हो भइरहेछ ।
तर दुर्भाग्य’ २०६६ फागुन १७ गते नसुनिनुपर्ने घटना घट्यो । मोटरसाइकलको किचाइमा परेर मेरा मनमा अल्झिसकेको शालीन व्यक्तित्व हेमराज पहारीको दुःखद अवसान भएको त्यो दुर्घटनाले मेरो मनमा पनि दुघर्टना रोपिदियो । म सम्झिरहेछु; उनले मलाई दिएको सदासयता, बहिनी रीतासँग भएको क्षेत्रीय साइनो र माया–मोह !
आज पनि सम्झिरहेछु । २०६४ वैशाख २० गते उनले अभिवादनसहित पत्रमा लेखेका थिए – ‘तपाईंको लामो साहित्यिक योगदानको कदर गर्दै सुन्दर पर्यटकीय नगरी पोखराबाट उपहारस्वरूप दुवटा पुस्तकहरू पठाएको छु । एउटा साहित्यकारले अर्को साहित्यकारलाई यसभन्दा बढी अरू के पो दिन सक्छ र ?’ यसरी व्यहोरा लेखिएको सुन्दर हस्ताक्षरसहितको पत्र म आज पनि हेरिरहेछु । यसैगरी २०६५ माघको ‘जनमत रजत विशेष’, पूर्णाङ्क १३८ मा उनले ‘जनमत’लाई शुभकामना दिंदै शुभकामनामा लेखेका छन् – ‘जनमत साहित्यिक पत्रिकामार्फत् तपाईंले ओझेलमा परेका मोफसलका स्रष्टाहरूलाई आमपाठकहरू समक्ष ल्याएर ठूलो गुण लाउनभएको छ । यसरी स्रष्टाहरूलाई साझा मञ्च प्रदान गरेर अघि बढ्न हौस्याउने काम विगतमा मोतिराम भट्टले गर्नुभएको र हालमा आएर तपाईंले गर्नुभएको छ । मप्रति यस्तो खालको सदासयता राखेर मेरो साहित्यिक यात्रामा ऊर्जा थपि दिदै शब्द–अक्षरहरूमार्फत् बल थप्दै आएका उनी मेरा लागि र ‘जनमत’का लागि एकजना मर्मशील मित्र हुन् – जस्को सम्झनामात्रले ममा बल सिंचन हुन्छ ।
मान्छेका लागि मृत्यु अवश्यम्भावी हुन्छ; यस्तै अवश्यम्भावी मृत्यु भोग्न बाध्य भए हेमराज पहारी । सम्झना राखौं र उनको राम्रो कार्यबाट हामीले सिकौं । सत् कार्यमा मन द¥हो गरेर साहस जुटाऔं । रीता बहिनीलगायत सबै मित्रहरूले साहस मनमा राखेर हेमराज पहारीलाई उनको राम्रो कार्य र कृतिमा सम्झौं – भन्न रूचाइरहेछु । ०००
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |