दिलिप बान्तावा
भोजपुर
“थुक्क स्याला, ३० सेकेण्ड्ले गर्दा अब २ घन्टा जाममा फँसिने भो ।” खुर्कोटमा खाना खाएर तेर्सो लागेको केही क्षण मै ड्राईभरले फत्फताउँदै गाडी रोके । धरानबाट झिसमिसे मै हिँडेको हायस ईटहरी कटेपछि बिपि राजमार्गको सिन्धुली स्थित भिमान माथी एकछिन खाजा खाने गरि रोकिएको थियो । त्यसपछी एकै चोटि खुर्कोटमा खाना खान पुगेको थियो । धरानबाट आउने माईक्रो बसहरुले प्राय सेल्फी डाँडा माथिको सिन्धुलिगढी नजिकैका रेष्टुरेन्टहरुमा खाना खुवाउने गर्छन् । तर आजको गाडी सबेरै हिडेकोले खुर्कोट पुगेथ्यो खाना खान ।
२०७२ सालको भुकम्पपछीको बर्सातले बिपि राजमार्ग अन्तर्गत खुर्कोटबाट काभ्रेपलाञ्चोकपट्टि अलि अगाडि बढेपछी भेटिने भिरमा निक्कै लामो सडक पहिरोले बगायो । काठमाडौसंग पुर्बी नेपाललाई जोड्ने छोटो बैकल्पिक मार्गका रुपमा प्रयोग भईरहेको यो राजमार्ग अवरुद्ध भए पछि तत्काल अलि माथिबाट भिरालो ठाउँ नै अस्थाई कच्ची बाटोको ब्यबस्था गरियो । तर त्यो बाटो एक तर्फी मात्रै चल्थ्यो । दुबै तर्फ पालो लगाएर सवारी साधनहरु उभ्याईन्थ्यो । त्यो उभ्याई करिब २ घन्टा पर्थ्यो । धेरै समयसम्म यो अवस्था रहँदा स्थानिय मान्छेहरुले त्यसलाई ब्यापारिक प्रयोजनका रुपमा पनि प्रयोग गरे । लामो जाममा पर्खनुपर्दा यात्रुहरुलाई सुबिधा पनि भयो । पानी, चाउ चाउ, चट्पटे, आँप, काँक्रा, चुरोट, बिस्कुट, जुस लगायतका सामानहरु पनि बिस्तारै बिक्री हुन थाले ।
रबिना चढेको हायस गाडी ठिक त्यही डाईभर्सनको मुखमा रोकियो । अघि रोकिएका सबै गाडिहरु भर्खर गईसकेका थिए हेर्दा हेर्दै । ३० सेकेन्ड चाँडो आईपुगेको भए उनिहरुको गाडी नरोकी सरासर पार हुन सक्थ्यो । तर उनिहरु पुग्ना साथ त्यहा तैनाथ प्रहरिहरुको टोलिले यताको गाडिहरु रोक्न थाले ।
“ल अब आनन्दले दुई घण्टा हावा खानुस् सुनकोशिको ।” गाडिको कन्डक्टर ढोका खोल्दै बोल्यो । सबै जना एक एक गर्दै उत्रिए । त्यतिन्जेलमा निक्कै लामो ताँत लागिसकेको थियो । रबिना आफ्नो इलभ एयबिच झोला सिट मै राखेर पर्स मात्रै हातमा लिएर निस्किईन् । मध्य फागुनको समय, गर्मी बढिरहेको थियो । त्यसमाथी सुनकोसी नदिको किनार अर्थात बेँसी । रबिना महाभारत पर्वत श्रेणिभन्दा अझ माथी बस्ने मान्छेलाई त्यसै गर्मी भैहाल्ने भयो । सडकको छेउपट्टि रुखहरुको शितल थियो । त्यही एउटा चेप्टो ढुंगामा बसिन् । उनले चिनेको यात्रु कोहि थिएन ।
सुनकोसिको आवाज घरिघरी हावाले बोकेर ल्याईरहेको थियो । गाडिहरुको लस्कर थपिने क्रमसंगै मान्छेहरुको खल्याङ्बल्याङ् उस्तै थपिँदो थियो । सुनकोसी वारिपारी उराठ लाग्दो पखेराले रबिनालाई आफ्नै कहानी सम्झाईदिएको भान हुदैथियो । मनमनै सोँचिन्, “जिवन हिँडाउने बाटो पनि कतै भत्किहाले यसरी नै डाईभर्सनबाट जाँदा फेरि त्यही लक्ष्यमा पुग्न सकिने भए ! तर जिन्दगिको एउटा बाटो भत्किएपछी प्रयोग गरिने डाईभर्सनले त लक्ष्य नै अर्को बनाईदिन्छ ।”
उनी पारिपट्टिको पाखा हेर्दै टोल्हाउन थालिन् । त्यो त्यही पाखा थियो रामेछापको, जहाँ कुनै दिन उनलाई मृत्यूले नजिकैबाट सुम्सुम्याएर छोडेको थियो । सुनकोसिको किनार पच्छ्याउँदै पाखा लागेको बतास पात बिहिन रुखहरुमा ठोक्किएर स्वाँ….. आवाज निकाल्दै लेकतिर उक्लियो । रबिना त्यतै कतै अल्झिन् पारि रामेछापको निर्जन पाखातिर एउटा निर्मम यादको अँध्यारो सुरुङ्भित्र ।
२०६१ सालको शरदकालिन साँझमा रामेछाप गोगनपानी नजिकै एउटा स्कुलमा सानो प्रशिक्षण र साँस्कृतिक कार्यक्रम थियो । रबिना विद्यार्थी फाँट प्रमुख थिईन् । उनकै संयोजनमा पार्टिका ब्युरो स्तरिय नेताहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको थियो । केही नाचगान र प्रशिक्षणपछी मध्यराततिर कार्यक्रम सकियो । उनिहरु नेताहरुलाई लिएर सुनकोशी पारी सिन्धुली पुग्नु थियो । सबै मान्छेहरु आ–आफ्नो घर फर्किए । रबिनाहरुको टोलि मध्यरातमा बाटो लाग्यो । दिनभरिको भुमिगत हिँडाई, रातभरी शीतमा कार्यक्रम सकेर फेरि हिँडाई । सबै जना थकित थिए । तर थाक्ने सुबिधा थिएन । समय मै तोकिएको ठाउँमा नपुगे असुरक्षाको खतरा उस्तै । त्यसैले जसरी भए पनि उज्यालो हुनु अघि सुनकोसी पारी आधार ईलाका पुग्नु थियो ।
रबिना त्यो ठाउँको लागि नयाँ थिईनन् । विद्यार्थी मोर्चामा लामो समय रामेछाप कै विभिन्न ठाउँमा बसेर काम गरेकी थिईन् । त्यसैले बाटो डो¥याउने जिम्मा उनकै थियो । उनिसंग हतियार थिएन । दुई जना नेताका साथ आएका ३ जना सहयोगिसंग मात्रै हतियार थियो । यसरी रबिनाको दुई जना साथिहरु र बाँकी ५ जना पाहुना सहित ८ जनाको टोलि भाले बास्न लागेको बेला पकरबासको अन्तिमतिर झर्दै थिए । उनिहरु उज्यालो हुनु अघि नै बेनिघाटको पुल तरेर सिन्धुलिको आधार ईलाका पुग्नु थियो । तर त्यसो भएन । मन्थलिबाट गस्तिमा हिँडेको सेनाको टोलिसंग सुनकोसी र तामाकोसिको दोभानमाथीको भिर पुग्नै लाग्दा सानो दोबाटोमा जम्का भेट भयो । रबिना र दुई जना नेता तथा रबिनाकी एक जना सहकर्मी ३० सेकेन्ड जति अगाडि भएकोले अर्कै बाटो लागिसकेका थिए । बाँकी चार जना अलिकती पछाडी थिए । ती चार जनालाई सेनाको गस्तिले समात्यो । अगाडिका चार जना सेनाको घेरा बाहिरैबाट भागे । अन्धाधुन्ध गोलिको आवाज सुनियो । उनिहरु निरन्तर भाग्दै गए । अजंगको भिर थियो, सेनाहरु त्यो ठाउँसंग त्यति जानकार थिएनन् जति रबिनालाई जानकारी थियो । नदिको किनार तथा बिपक्षिका बारे अनभिज्ञताका कारण बिना क्षती ४ जना “आतंककारी” हात पारेर सेनाको टोलि फर्कियो । उता रबिनाको टोलि भिर र जंगल लुक्दै भागेर आफ्नो ज्यान त जोगायो तर चार जना साथिहरु गुमे । गोलि चलेका कारण तिनलाई जिवित लिएर गए वा मारिदिए अत्तोपत्तो भएन ।
रबिनाको टोलि पछाडी फर्किएर जाने अवस्था रहेन । रबिनाको जिम्मेवारी नेताहरुलाई सुरक्षित ठाउँमा पु¥याउनु थियो । उनले अर्कै बाटो लिएर गईन् । बिहानको झिसमिसे अँध्यारो बाँकी नै थियो । गाउँमा मान्छेहरु भर्खरै कल्याङ् मल्याङ् गर्दै उठ्दैथिए । त्यतिबेला रबिनाहरु पुछिघाटबाट सुनकोसी तरेर सिन्धुली टेक्दैथिए ।
त्यो संगिन ३० सेकेण्डले आफू बँचेको समय गुजारेको भित्तो रबिनाको ठिक पारिपट्टि थियो । उनका छुटेका चार सहकर्मिहरुसंग फेरि कहिल्यै भेट भएन । ती हराईरहेकै छन् वा अर्कै रुपमा जिवित छन् थाहा छैन उनलाई ।
रबिना अर्थात राम कुमारी राई । छ कक्षा पढ्दा बिज्ञान पढाउने यादव सरले उनको नाम राम्ररी उच्चारण गर्न नजानेर “राम कुम्री” भनिदिए । यति भए केटाहरुलाई के चाहियो र ! सबैले धुर्रिएर उनको नाम नै कुम्री भनेर बोलाउन थाले । उनलाई दिक्दार लागिरह्यो । कतिसंग झगडा गर्नु! वाक्क लाग्यो, आफ्नै नामसंग रिस उठ्न थाल्यो । कसैले “राम कुमारी” भनेरै बोलाउँदा पनि झर्को लाग्थ्यो । कसैले नामै नबोलाए हुन्थ्यो जस्तो लाग्यो । तर त्यस्तो हुने कुरै थिएन । ८ कक्षाको जिल्ला स्तरिय परिक्षाका लागि फर्म भर्ने बेलामा नाम फेर्न मिल्ने कुरा थाहा पाईन् । त्यही मौकामा उनले आफुलाई रबिना बनाईन्, रबिना राई ।
रबिनाको बाउ कोईलाखात ओहोर दोहोर गर्ने । आमा घर धन्दा, खेतिपाती, बस्तुभाउ, घर व्यवहार ब्यबस्थापन गर्ने । रबिनाको दुई जना बहिनी, दुई जना भाइ । खेतिपातिले बर्षभरी खान पुग्थ्यो । लत्ताकपडा, नुन, तेल मसला अनि केटाकेटिको कापी कलम आदिमा चाहिने खर्च कोईलाखातले धानिरहेको थियो । बेला मौकामा बोका बाख्रा, कुखुरा, गोरु पनि बेच बिखनले पनि आर्थिक पाटोलाई सघाईरहेको थियो । समग्रमा रबिनाको परिवार आफ्नो गतिमा आफ्नै स–साना सपनाहरुको किनारा पच्छ्याईरहेको थियो ।
२०५९ सालको दशैँ तिहार छुट्टिपछी स्कुल लाग्यो । रबिना ९ कक्षामा थिईन् । एकदिन स्कुलमा ठूलो हुल सहित माओबादिहरुको प्रबेश भयो । स्कुल वरपर गाउँमा उनिहरु बसेका रहेछन् । स्कुलमा विद्यार्थी फाँटका मान्छेहरु मात्रै आएका रहेछन् । स्कुलको ठूलो हलमा छ कक्षादेखी दस कक्षासम्मका सबैलाई भेला हुने उर्दि गरे । माओबादिहरुको बारेमा सुन्दै गरेको र फाट्ट फुट्ट देखेको भए पनि त्यति धेरै संख्यामा त्यसरी कसैले देखेका थिएनन् । सबै विद्यार्थी र शिक्षकहरु केही त्रास बोकेर हलमा उपस्थित भए । उनिहरुले पालैपालो भासन गरे । हलको अगाडि उभिएर सरहरुले पढाए जस्तै बोलिरहेका ती विद्यार्थी नेताहरुको जोस सरहरुको भन्दा धेरै थियो । सरहरुले पढाउँदा अल्छी र निन्द्रा लाग्ने रबिनालाई नेताहरुको बोलिले जाँगर चलाईदिन्थ्यो । कुरा राम्ररी नबुझे पनि बहुत चोटिलो लाग्यो उनलाई सुनिरहुँ जस्तो । धेरै कुराहरु सुनेर अचम्म पनि लाग्दैथियो । त्यही हलमा उनिहरुले विद्यार्थी संगठन पनि बनाए । रबिना संगठनको सदस्य बनिन् । भोलिपल्ट स्कुलको प्राङ्गनमा त्यो क्षेत्रभरिका मान्छे भेला गरेर कार्यक्रम गर्ने तयारी रहेछ उनिहरुको । भर्खरै बनेको विद्यार्थी कमिटिले स्वयंसेवकको काम गर्नुपर्ने भयो । रबिनाहरुले भोलिपल्ट बिहानै स्कुल पुगेर नेताहरुले अ¥हाएको काम गरे । दिउँसो भब्य कार्यक्रम भयो । जनमुक्ती सेनाले परेड खेले बन्दुक सहित । त्यो क्षेत्रमा पहिलो पटक त्यो दृष्य देखिएको थियो ।
नेताहरुको दुई दिनको भासनले रबिनाको दिमाग रन्थन्यायो । उनले सामान्य ठानिरहेका थुप्रै कुराहरु असामान्य रहेछन् । गाउँमा सबै महिलाहरु बिहानको राती नै पँधेरा पुगेर पानी ल्याउनु, घर सफा गर्नु, घर धन्दा सक्नु लाग्दा बल्ल लोग्ने मान्छेहरु ओच्छ्यानबाट निस्किनु रबिनाले सामान्य ठान्थिन् । तर त्यो अन्याय रहेछ । कसैको घरमा ४÷५ महिनामै खाने अन्न सकिन्थ्यो । कसैको घरमा कहिल्यै सकिदैनथ्यो । उत्तिकै दिनरात काम गरिरहने मान्छेहरु कोहि बर्षैभरी मीठो मीठो खाएर बस्थे, कोहि साँझ बिहानको छाक हम्मेहम्मे गरि टार्थे । रबिनालाई लागेको यो सामान्य बिषय उनले बुझे जस्तो होईन रहेछ । यो त ठूलो विभेद रहेछ अन्याय रहेछ । लुगा सिलाउने दर्जी काका रबिनाको घर आउँदा कहिल्यै घरभित्र पसेनन् । कहिल्यै खाटमा मात्रै होईन काठको पिरामा पनि बसेनन् । दुई दिनको भासनले यो त जातिय उत्पिडनले बनाईदिएको अन्यायपुर्ण ब्यबस्था हो भन्ने बुझाईदियो । साथै यी सबै कुराहरुलाई ठिक ठाक बनाउन र मिलाउन सकिन्छ त्यसका लागि यो ब्यबस्था हटाउनुपर्छ, सबै मिलेर बिद्रोहमा सहभागी हुनुपर्छ भन्ने कुरा रबिनाले बुझिन् । अझ महत्वपुर्ण कुरा त उनले पढिरहेको कुरा पनि त्यस्तो राम्रो होईन रहेछ । त्यो पढाईले पनि बिद्यमान अन्याय र असमानताहरु कै निरन्तरतामा बल प्रदान गर्ने रहेछ भन्ने कुरा बुझिन् ।
कार्यक्रम सकिएर आएदेखी नै उनको मन बेचैन थियो । कसैलाई केही भन्न सकिनन् । अब त जताततै गलत भईरहेको, अन्याय भईरहेको, हेपिएको, पेलिएको दृष्य मात्रै देख्न थालिन् । हिजोसम्म सबै कुरा सामान्य नै हो भन्ने ठानेका हरेक बिषयहरु कुनै पनि सहि लागेनन् अब । “यो सबै बदल्नैपर्छ । समानताको जरुरी छ ।” उनले मनमनै भनिन् । स्कुलमा कार्यक्रम भएको तेस्रो रात संगै सुतेकी बहिनिलाई घर छोड्ने कुरा सुनाईन् । रबिना १५ बर्ष टेक्दै थिईन् । उनिसंगै १० बर्षकी बहिनी सुतेकी थिईन् । जेठो भाइ ६ बर्षको थियो । कान्छो भाइ ३ बर्षको । कान्छी बहिनी भर्खरै ६ महिनाकी थिईन् । बाउ कोईलाखात जाने समय भएकोले गाउँलेहरुसंग अर्को हप्ता बाटो लाग्ने सल्लाह गर्दैथिए ।
भोलिपल्ट बिहान बहिनिले रुँदै दिदिले घर छोडेको कुरा सुनाईन् । कहाँ गईन्, के गरिन् कसैलाई थाहा भएन । “माओबादिमा जाने भन्दैथिई ।” सुँक्कसुक्क रुँदै बहिनिले सुनाईन् ।
किताब बोक्ने झोलामा अस्ति दशैमा सिलाएको कुर्ता सुरुवाल, विद्यार्थी संगठन बनाउँदा दिएको परिचयपत्र च्यापेको एउटा नोटबूक र डटपेन अनि रक्सी बनाएर बेचेको केही पैसा बोकेर हिँडेकी रबिनाको मनमा नेताहरुले गरेको भासनको हरेक शब्दहरु गुञ्जिरहेका थिए । ती प्रतिध्वनित आवाजहरुलाई महसुस गर्दै उनि त्यो मध्यरातमा हिँडिरहिन् । उनलाई राती वा दिउँसोको पर्बाह थिएन, थियो त सिर्फ आफुले देखेको र बुझेको अन्याय, असमानतालाई जरैदेखी उखेलेर फ्याँक्ने हुटहुटी । माओबादिहरुलाई कहाँ भेटिन्छ भन्ने थाहा थिएन । उनिहरु पारी धनकुटा तरेको सुनेकी थिईन् । त्यसैले लेगुवा पुल तरेर उनी उकालो चढिन् । लेगुवामाथिको गाउँ पुग्न लाग्दा बल्ल भाले बास्यो । रातभरिको हिँडाईले थकित थिईन् । तैपनी बिद्रोहको त्यो राँको समात्ने जोशले उनलाई फुर्तिलो बनाईरहेको थियो । आफू जुन उद्देस्यमा हिडेकी थिईन् त्यसमा हिँड्दा आफ्नो परिचय लुकाउनुपर्छ भन्ने चाहिँ सिकेकी थिईन् । मध्यान्हतिर एउटा स्कुल नजिकैको सानो दोकानमा पुगिन् । चाउचाउ उमाली मागेर चिउरासंग खाईन् । खुट्टा गलेका थिए । मन भने अझ मजबुत बन्दै थियो । उनले बुझिन् हिजो त्यही स्कुलमा माओबादिहरुको कार्यक्रम थिएछ । आफू लक्ष्य नजिक पुगेको महसुस गरिन् । खोज्दै हिँड्दै जाँदा साँझ हुने बेलामा उनले लक्ष्य भेटिन् । उनको सोधपुछ भयो । उनको कुरा पत्याईदिने उनलाई चिन्ने कोहि थिएनन् । एकछिनपछी उनलाई सदस्यता दिने विद्यार्थी नेता आईपुगे । कार्यक्रमको ब्यबस्थापनका बेला संगै काम समेत गरेका थिए उनिहरुले । त्यसरी रबिना उनिहरुको समुहको हिस्सा बनिन् ।
त्यो रात त्यही बसेर भोलिपल्ट उनिहरु संखुवासभा तरे । रबिना राम्रो नाच्थिन् । विद्यार्थी फाँट संगै साँस्कृतिक समुह पनि उनको जिम्मेवारीमा प¥यो । स्कुलमा भन्दा बढी किताब पढिन् । स्कुलमा कहिल्यै नपढेका कुराहरुबाट यति लामो समयमा नसिकेको, नजानेको थुप्रै बिषयहरु छोटो समय मै बुझे जस्तो लाग्यो उनलाई । उनिहरु दिनभरी सुरक्षित स्थलमा अध्ययन र छलफल गर्थे, नाचगानको तयारी गर्थे र रातको समयमा हिँड्थे, कहिले राती नै कार्यक्रम गर्थे । रबिनाले विभिन्न समयमा भोजपुर, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ्, उदयपुर, सिन्धुली, रामेछाप, ओखलढुंगा जिल्लाहरुमा पुगेर गाउँ गाउँमा संगठन बिस्तार गर्ने काम गरिन् । सुनेको, पढेको कुरालाई झट्टै बुझिहाल्ने भएकोले संगठनमा उनले महत्वपुर्ण जिम्मेवारिहरु पाईरहिन् र सोही अनुरुपको नतिजा पनि हासिल गरिन् । त्यसै बिचमा विभिन्न युद्धमोर्चाहरुमा कहिले “रेस्क्यु टिम” त कहिले “मेडिकल टिम” मा सहभागी भईन् । “फ्रन्ट्लाईन” मा भने जानू परेन । तर धेरै ठाउँमा हतियार भने चलाउनु प¥यो । सामान्य प्रशिक्षणका क्रममा हतियार चलाउने कला सिकेकी उनले साना तिना हतियार चलाउन जानिसकेकी थिईन् ।
यता गाउँमा भने रबिना हिँडेको दुई महिनापछी सेनाको गस्ती आयो । रबिना पार्टिमा लागेको खवर सुनेरै आएका थिए सेनाहरु । उनिहरुले घर खान तलासी गरे । डर धम्की देखाए । छोरी ल्याउन भने । तर आमा बाउलाई रबिना कहाँ कस्तो अवस्थामा छिन् थाहा थिएन । रबिनाको बाउलाई उनिहरुले दुबै हात पछाडी बाँधेर कुट्दै लगे । गाउँभरी त्रास फैलियो । कोईलाखात जान ठिक परेको बेला जेठी छोरी बेपत्ता भएपछी घरै बसेका बाउलाई सेनाले लगेपछी रबिनाको आमालाई सबै आपतहरुले एकै पटक छोप्यो । साना छोराछोरिहरु, श्रीमान र छोरिको पिर, घर व्यवहार सबै एक्लि उनकै काँधमा आईप¥यो । अनेक ठाउँ हार गुहार गरिन् श्रीमान छुटाउन । तर आस्वासन बाहेक अरु पाईनन् । १५ दिनपछी उनी छुटे । तर चार पाईला पनि रामरी हिड्न नसक्ने अवस्थामा । उनको हातका कुनै नङ् खाली थिएनन् पिनले घोचेर । शरिरभरी निलडाम लाग्न कतै बाँकी थिएन । पिँडुला र पासुलामा फलामे पाईपले पेलेर घोच्दा नि थाहै नपाउने भईसकेको थियो । छाला र हड्डिको आकृती लिएर खोपिल्टो परेको अनुहारमा गढेका आँखा सहित घर आईपुगेका उनलाई तङ्ग्रीन लामो समय लाग्यो । उनी बलको गह्रुङ्गो काम गर्न नसक्ने भए । उनका हातका सबै नङ् उक्किएर नयाँ पलायो, बिहान उठ्ने बेलामा जिउ चट्पटाउन नसक्ने गरि दुख्ने भयो । बेला बेलामा श्वास फेर्दा करङ् दुखेर हुरुक्कै हुने भए । अलिकती चिसो बढ्ना साथ शरिरका सबै जोर्निहरुमा फलामले हिर्काए जस्तो दुख्ने भए । श्रीमानको यस्तो हालत देख्दा रबिनाकी आमालाई छोरी सम्झेर गाली गर्न मन लाग्थ्यो । घर छोडेको दुई बर्षपछी रबिना एक पटक घर आएकी थिईन् । त्यही रामेछापबाट बँचेर सिन्धुली आएपछी उनको सरुवा भएथ्यो खोटाङ् । त्यतिबेला साथिहरुसंग एक रातका लागि घर आएकी थिईन् । आमा बाउ हाँस्नु कि रुनु भए । रबिना आफै पनि रुन चाहन्थिन् आमाको काखमा घोप्टिएर । तर उनलाई त्यसो गर्न मिल्दैनथ्यो । आमा बाउलाई सम्झाईराखेर अर्को बिहानको राती नै घर छोडेकी थिईन् ।
२०६२÷६३ को आन्दोलनपछी रबिनाले घर फर्किने बिकल्प रोजिन् । पार्टी राजनैतिक मुलधारमा आएपछी अब सबै कुरा ठिक हुन्छ भन्ने अपेक्षाले एक बर्ष बित्दै गर्दा अनेक कुराहरुले त्यो अपेक्षालाई खुईल्याउन थाले । रबिनासंग केही थिएन, न त सीप थियो न कुनै रोजगारी । घरमा बिरामी बाउ, हुर्कदो भाइ बहिनिहरु । आमा एक्लैले धान्नुपर्ने सबै थोक । बास्तबमा संसार परिवर्तन गर्छु भनेर हिडेकी रबिनाको घर त अझ पहिलाभन्दा रुग्न छ, परिवर्तन भयो भनिएको ब्यबस्था पनि उस्तै । यहाँ आएर रबिना रन्थनिन थालिन् । जहाँबाट छुटेको थियो त्यहिबाट शुरु गर्छु भनेर उनले फेरि स्कुल जाने निधो गरिन् । पुरानो किताब कापिहरु बटुलेर कच्याक कुचुक परेका युनिफर्म खोतलिन् । चार बर्षपछी उनको जिवन फेरि पुरानै लयमा फर्कियो तर समय धेरै पर पुगिसकेको थियो । पढ्दै गर्दा फेरि रक्सी बनाएर बेच्ने काम गरिन् । साग सब्जी लगाएर बजारसम्म पु¥याईन् । यसले घरमा सजिलो बनायो । उनलाई पार्टिको संगठन निर्माण गर्ने जिम्मा पनि दिईएको थियो । विभिन्न अवसरहरु आईरहेका थिए । तर उनिसंग शैक्षिक योग्यता थिएन । अचम्म लाग्यो, “त्यतिबेला बुर्जुवा शिक्षा भन्दै पढ्न दिएनन् । अहिले त्यही बुर्जुवा शिक्षाको सर्टिफिकेट चाहिने ?” ती अवसरहरु उनका लागि कागलाई बेल जस्तै भए ।
आफ्नो कारण परिवारको मुलखांत्बो टुटेको आभासले रबिनालाई छट्पटाहट हुन थाल्यो । शुरुमा त त्यस्तो लागेको थिएन । “चाहिएको परिबर्तन ल्याएका छौँ । अब पक्कै राम्रो हुनेछ ।” यस्तै सोँच्थिन् उनी । तर त्यस्तो होईन रहेछ । जे भनिएको थियो, जे उनले बुझेकी थिईन् त्यो त धेरै टाढा थियो अझै । त्यसपछी आफ्नो कारण परिवारमा परेको समस्यालाई छिचोल्नुपर्छ भन्ने दृढता उनको मनमा पलायो । भाइ बहिनिहरु पढिरहेका थिए । तिनको पढाइ जारी राख्नु थियो । बाउलाई समय समयमा औषधि उपचार गराउनु थियो । ती सबैका लागि घरमा नियमित अर्थोपार्जन जरुरी थियो । रबिनाले नजिकैको हाईस्कुलमा १२ कक्षासम्म पढिन् । त्योभन्दा माथी पढ्न शहर जानुपर्थ्यो । शहर गएर पढ्ने अवस्था थिएन ।
घरको आर्थिक अवस्थाले पिरोल्ने क्रम घटेन । बाउको नियमित औषधि उपचार र भाइ बहिनिको पढाइ लेखाईलाई निरन्तरता दिलाउनु रबिनाले आफ्नो कर्तब्य ठानिन् । घर नजिकैको स्कुलमा बाल बिकास केन्द्रको शिक्षिका भएर केही समय काम गरिन् । त्यो काम खास गरि स्वयंसेवक जस्तै थियो । मसिना केटाकेटिहरुसंग समय बिताउनु आनन्द थियो । तर उनको समस्या अर्कै थियो । आत्मिक सुख र आनन्दमा रमाउने समय नै कहाँ थियो र ? माईली बहिनिले पनि १२ कक्षा सकेपछी बिहा गरिसकेकी थिईन् । भाईहरु र एउटि बहिनी पढ्दैथिए । एक जना भाइ १२ पास भएर डिप्लोमा पढ्न शहर गएको थियो, कान्छो भाइ ११ पढ्दै थियो भने कान्छी बहिनी ८ कक्षामा थिईन् । आफुले राम्ररी पढ्न नसके पनि यी सबैको पढाईलाई एउटा लक्ष्यसम्म पु¥याईदिने अठोट थियो रबिनाको । त्यसैले उनले अन्तिम उपय निकालिन् बिदेश जाने ।
उनिसंग पासपोर्ट थिएन । बिदेश जाने चासो सहित बुझ्दा मलेशिया उनको छनौटमा प¥यो । केही साथिहरु गएर काम गरिरहेका थिए । उनिहरुकै आईडिया अनुसार उनी पनि जाने तरखरमा लागिन् । तत्काल पासपोर्ट बनाउनु पर्ने भयो । जिल्ला प्रशासन कार्यालय पुगेर सिफारिस बनाईन् । जिल्ला मै पार्टिको एक जना नेताले सहयोग गरे । काठमाडौमा पनि उनले चिनेको अर्को नेतालाई रबिनाको बारे भनिदिए । रबिनाले सिफारिस लिएर पुग्ने बित्तिकै भोलिपल्ट पासपोर्ट बनिहाल्ने आस्वासन लिएर जिल्लाबाटै धरान झरेकी थिईन् । धरानको गिता मन्दिरमा बास बसेर उनी काठमाडौ हिडेकी हुन् । उनिसंग यतिखेर उतिबेलाको संसार बदल्ने त्यो अदम्य साहस होईन आफ्नो परिवारलाई ब्यबस्थित बनाई बाउ आमाको मुहारमा खुसी ल्याउने अमिट चाहना छ ।
काठमाडौबाट आईरहेका गाडिहरुको लस्कर बन्द भयो । प्रहरिहरुले सञ्चार सेटमा कुरा गरेपछी यताको पालो आयो । सबै यात्रुहरु आ–आफ्नो गाडिमा चढे र धुलौटे अस्थायी बाटोमा रबिना चढेको हायस कुहिरो जस्तै धुलोले पुरिँदै गुड्न थाल्यो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |