परशु घिमिरे
केही सीमित गाउँ, खासै जंगल नभएका ठूल्ठूला बुट्यानले ढाकिएका क्षेत्र २०१८ सालतिर खजुरा र आसपासका क्षेत्र छिमेकी बर्दियाभन्दा बिल्कुलै फरक थिए । बीपी कोरालाइदेखि शुरु भएको पुनर्वासको प्रारम्भिक खाका राजा महेन्द्रसम्म आइपुग्दा ठोस नीतिमा परिणत भइसकेको थियो । सँगैको बर्दिया साल (सखुवा) का जंगलले ढाकिएका थिए भने बर्दियाको तुलनामा खजुरामा ठूला र घना जंगल थिएन । घना जंगल भारतसँगको सीमावर्ती क्षेत्रमा मात्र रहेको थियो । व्यवस्थित बसोबास कसरी गराउने भनेर रनभुल्लमा परिरहेको तत्कालीन श्री ५ को सरकारका लागि इजरायलबाट आएका विज्ञ डा. एभिगडोर केडेमको ठूलो सहयोग रह्यो । एभिगडोर केडेमले तराईका जिल्लाहरूको विस्तृत सर्वेक्षण गरे । यिनकै सर्वेक्षणपछि नवलपुरमा पाइलट प्रोजेक्ट शुरु गरेर त्यसको गुण र दोषका आधारमा अन्य क्षेत्रमा योजना विस्तार गर्ने निर्णय गरियो ।
इजरायलको मोसाभ शहरमा कृषिमा आधारित उत्कृष्ट पुनर्वासको नमुना प्रस्तुत गरिसकेका एभिगडोर केडेमकै नेतृत्वमा टोलीले नयाँ आधुनिक खजुराको खाका कोरेको हो । एभिगडोर केडेमकै नीतिअनुरूप खजुराको पुनर्वास कार्यक्रममा कृषि सिंचाई र खाद्यान्न वितरणलाई प्राथमिकतामा राखियो । केही गोप्य र केही सार्वजनिक कार्यक्रममार्फत खजुरामा कृषिको आधुनिकीकरण लागू गरियो । एभिगडोर केडेमले कृषि सहकारी, कपास खेती र दिगो सिँचाइका लागि समेत नेपाली टोलीलाई सहयोग गरे । यिनकै नेतृत्वमा इजरायली प्राविधिकहरूको टोलीले खजुरालाई कार्यक्षेत्र बनाएको हो । एभिगडोर केडेम नेपाल आउनुअघि कृषि आधुनिकीकरणको विशेष योजना लिएर तत्कालीन बर्मासमेत गएका थिए । सन् १९५५ मा बर्मा जाँदा यिनी जेविस एजेन्सीज सेटलमेन्ट डिपार्टमेन्टका सहायक निर्देशक थिए ।
२०१९ सालमा नेपाल आएका एभिगडोर केडेमले इजरायल फर्किएपछि नवलपुर सेटलमेन्ट प्रोजेक्ट नेपाल नामक पुस्तक २०२१ सालमा प्रकाशित गरेका थिए । नेपालको सीमा क्षेत्रको संवेदनशीलतालाई महसुस गरेका एभिगडोर केडेमले खजुरालगायतका आयोजनाको गुरुयोजना बनाउँदासमेत सीमा व्यवस्थापनको मुद्दालाई व्यवस्थित बसोबाससँग आबद्ध गराएका हुन् । परशु घिमिरेबाट ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |