गंगा दोङ/दुलही झैं सिँगारिएको मञ्च । मञ्चको ठीक पछाडि रातो ठूलो ब्यानर । ब्यानरमा सेतो रङ्गले बान्की परेको सुन्दर अक्षरमा लेखिएको थियो ‘जनवादी विवाह समारोह’ । लहरै मिलाएर राखिएको टेबुल, टेबुलमा तीन तीन वटा लहरै ठड्याएर राखिएको मैनबत्ती । बस्नका लागि लहरै प्लाष्टिकका पन्ध्र, बीस वटा जति कुर्सी । यस्तै झकिझकाउ मञ्चको अगाडि खुल्ला हरियो दुबोको चौेरमा हामी बसेका थियौं । संख्यात्मक हिसाबले हामी करिब १५० जति थियौं । न गर्मी न जाडो । समशितोष्ण हावापानी । शरद ऋतु संघारमै आईपुगेको । बारीको डिलहरुमा ढकमक्क फूलेका सयपत्री, मखमली, गोदावरी रंगीचङ्गी फूलहरू । जुन दृष्यले मनलाई आल्लादित तुल्याइरहेको थियो । छिप्पिएर पाक्दै गरेको सुन्तला, जुनार र मौसम देख्दा मुखमा गुलियो रस थपिदै गएको आभाष हुन्थ्यो ।
काभ्रे जिल्लाको ख्याकु डाँडागाउँ । खोपासीबाट करिब १०÷१५ किलोमिटरको फरकमा रहेको सुन्दर बस्ती । सदावहार हरियाली भईरहने । लेकाली चिसो हावाले छोएको तामाङ जाति र ब्राह्मण जातिहरु बसोबास गर्ने संयुक्त बस्ती । गाउँलाई बीच भागबाट चिरेर बनेको कच्ची सडक । सडक भन्दा अलि माथि केही हरिया रुखहरू। अलिअलि सम्म परेको चौर। चौरमा रहेको हरियो दुबोले कार्पेट ओछ्याएको जस्तो सुन्दर भान दिलाउथ्यो । यस्तै ठाउँमा भव्य कार्यक्रम हुँदै थियो । कमान्डर कमरेडको हातमा माइक्रोफोन थियो । टोलीलाई आवश्यक निर्देशन दिएर कार्यक्रम सञ्चालकलाई माइक्रो फोन हस्तान्तरण गरे । कार्यक्रम सञ्चालक ब्रिगेड सह कमान्डर कमरेड रमेशले केही भूमिका बाँधेर बोल्न थाले ।
“कमरेडहरू ! आज हामी जनवादी वैवाहिक समारोह कार्यक्रममा सहभागी हुँदैछौँ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सात जोडी कमरेडहरुले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्दैछन् ।”
यति भनि सक्दा आज विवाह क–कसको हुँदैछ भन्ने मनमा खुल्दुली लाग्यो । भविष्य र जिन्दगीको ठेगान नहुनेले किन बिहे गर्दैछन् होला भन्ने प्रश्न मनमा खेल्न थाल्यो । झट्ट कल्पनाबाट वास्तविक संसारमा आउन कोसिस गरेँ।
‘प्रेम शक्ति हो । प्रेम हौसला हो । प्रेम जीवन हो । प्रेमले बाँच्न सिकाउँछ । प्रेमले लड्न सिकाउँछ । प्रेमले एक हुन सिकाउँछ । ‘यस्ता यस्तै मीठा गुलिया शब्दहरू बारम्बार दोहो¥याईरहे । सञ्चालकले आफ्नो हातमा परेको प्रेमिल लाल जोडीहरूको लिष्ट पढ्दै मञ्चमा आमन्त्रण गर्न थाले । गगन–मेनुका, अनिशा
–लक्ष्मण, सीता–श्री लामा, अनुसा–विपिन, उदय–छ्योइसाङ, हिमाल–आकृति र सन्त–रचना । एवं रीतले नाम बोलाइ सकेपछि सात जोडी मञ्चमा गएर लजालु पारामा लहरै बसे । उनीहरूको अनुहार केही हँसिला र केही गम्भीर देखिए । नव लाल जोडीको आसन ग्रहण भइसकेपछि गडगडाहट तालि बज्यो ।
कार्यक्रम सञ्चालकको अनुरोधमा नव वर र वधुलाई स्वागत र शुभकामना मन्तव्य दिनको लागि बटालियन कमान्डर कमरेड सिर्जनालाई बोलाइयो । कमरेड सिर्जनाले सम्बोधन यथोचित भन्दै यसरी शुभकामना मन्तव्य राखिन । –
“प्रेम शक्ति हो भने बिहे परिवर्तनको एक शक्तिशाली संवाहक हो । सपना पूरा गर्ने एक बलियो बन्धन हो । सँगै जिउने सँगै मर्ने, एक अर्कामा गरिने वाचा हो । जसको साक्षी स्वरुप हामी उपस्थित भएका छौँ । जस्तोसुकै कठिन अवस्थामा पनि विचलित नहुनु । पार्टी र क्रान्तिको लागि घात कहिल्यै नगर्नु । आवश्यकतामा बारूद झैँ सल्किनु र डाइनमाइट झैँ पड्किनु । नव लाल जोडीहरूलाई वैवाहिक जीवनको लाख लाख शुभकामना धन्यवाद।“ प्रत्येक लालजोडीको अगाडि तीन तीन वटा मैनबत्ती ठडिएको थियो । कार्यक्रम सञ्चालकको निर्देशन अनुसार सबै जनाले बीचको मैनबत्तीलाई छोडेर छेउ छेउको मैनबत्तीलाई हातमा लिए । दुवै जोडीले हातमा लिएको मैनबत्ती सल्काएर टेबलमा बाँकी रहेको मैनबत्ती दुवैजनाले एकसाथ सल्काए । गडगडाहट तालीको पर्रा छुटिरहेको थियो । हल्लाखल्ला भईरहेको थियो । बेहुला बेहुलीले एक अर्कालाई माला लगाए । जसको हातमा जुन खालको बन्दुक थियो त्यही बन्दुक एक आपसमा साटासाट गरे । दरिलो किसिमले हात मिलाए । उपल्लो तहका कमान्डरहरुले रातो टीका लगाउँदै बधाई दिए । स्पिकरमा भने मधुर संगीत बजिरहेको थियो । गीतको बोल थियो –
‘तिमी झन आगो बन्नू, लक्ष्य नपुग्दै म ढलेछु भने
तिमी झन चट्टान बन्नू, बाजको पन्जामा म परेछु भने
तिमी झन आँधी बन्नू, यो यात्रा मैले भुलेछु भने ।’
नव वर वधुहरुलाई आफ्नो तर्फबाट प्रतिबद्धता जाहेर गर्न लगाए । उनीहरूले एक आपसमा पार्टी र क्रान्तिलाई धोका नदिने, जीवनको अन्तिम क्षणसम्म साथ दिने कसम खाए। एकले अर्कोको गल्तिमा सुध्रिने मौका दिने, सुधारेर लैजाने, वाचा गरे । क्रान्तिमा जो ढले पनि उसको हाटबाट खसेको बन्दुक अर्कोले उठाएर युद्ध जारी राख्ने शपथ खाए । यसरी नै सात जोडीको जनवादी विवाह समारोह समापन भयो । युद्ध लड्न हिँडेको योद्धा जसको जिन्दगीकै ठेगान छैन उनीहरूसँग पनि सपना र चाहनाको अतृप्त चाङ हुँदा रहेछन भन्ने लाग्यो । वर्गीय माया त छँदै थियो अब व्यक्तिगत माया पनि थपियो । महिला कमरेडबाट कसैको मेरो श्रीमतीमा झरियो भने पुरूष कमरेडहरु कसैको श्रीमानमा । विवाह हुनु भनेको त वर्गीय नाताबाट पारिवारिक सम्बन्धमा जोडिनु पनि रहेछ । युद्धको समयमा वैवाहिक सम्बन्धहरू यसरी जोडिएका थिए ।
एकले अर्कोलाई असाध्यै विश्वास गरेका थिए । पार्टी र क्रान्तिलाई मात्र हैन श्रीमान श्रीमतीलाई समेत कहिल्यै धोका नदिने । घात नगर्ने वाचा कसम खाएका थिए । थुप्रै लडाइमा सँगसँगै लडेका पनि थिए । सँगसँगै लडेर एउटै मोर्चामा सहिद पनि भईसकेका थिए । दुवैले दुवै जनालाई आँखा चिम्लेर अति नै विश्वास गरेका थिए ।
बिस्तारै समय बित्दै गयो । युद्धको स्वरुप फेरियो । युद्धको खुल्ला मैदानबाट साँघुरो क्यान्टोन्मेन्टमा थन्किन पुगियो । लाल जोडीहरूलाई अनेक समस्याहरूले घेर्न थाल्यो । फलस्वरूप एक आपसमा मनमुटावको शृङ्खला शुरु हुन थाल्यो । विचारमा फरकपन देखिदै आयो । हिजो महिला र पुरुष दुई जात बाहेक अन्य जात हुँदैन भन्नेहरू नै जातमा विभेद गर्न थाले । शिक्षित र अशिक्षित भनी छुट्याउन थाले । यतिसम्म भए कि श्रीमतीले बच्चा नपाएकै कारण श्रीमानहरुले विभिन्न मानसिक यातना दिन थाले । एक जना कमाण्डर कमरेडले आफ्नी त झन् अन्तरजातिय विवाह गरेकी आफ्नी श्रीमतीलाई दिएको मानसिक यातना यस्तो थियो– “टन्न खाएर मोटाएर बसेको छ । बच्चा जन्माउनु छैन । मौलामा बाँधिएको राँगो झै काट्नु पर्ने ।” सुन्दा पनि नमिठो लाग्ने । बरा ! उनको श्रीमती एकान्तमा चुपचाप आँसु झारेर रोईरहन्थिन् ।
शुरु शुरुको मनमुटावमा कमान्डरहरूले सम्झाइ बुझाई गर्थे । गरेको पनि के भन्नु गरेको जस्तो झारा टार्थे । मुस्किलले बाहिर मिलेको जस्तो देखिन्थे । मिलेको जस्तो देख्नु र मिल्नुमा आकाश पातलको फरक हो भन्ने कुराको कहिल्यै हेक्का राखिएन । अनि युगल लाल जोडीहरू पतनको संघारमा पुग्दै पुग्दै गए । सबैभन्दा ठूलो समस्या र विवाद अन्तरजातिय वैवाहिक सम्बन्ध भएका कमरेडहरुमा देखियो ।
एक दिन कुरैकुरामा सीमा परियारले आफ्नो पीडा यसरी सुनाइन्– “कमरेड अजय आचार्य र मेरो जनवादी विवाह तीन साल अगाडि युद्धकै बेला एक कार्यक्रमको बीचमा सम्पन्न भएको थियो । सम्बन्ध राम्रै चलेको थियो । बिस्तारै उसमा जातीय अहंकार देखापर्न थाल्यो । स–सानो कुरामा रिसाउने, झर्किने खालको स्वभाव देखायो । एक रात सुतिरहेको थिएँ । त्यही बेला उनको घरबाट फोन आयो । खुसी हुँदै फोनमा बोल्दै थिएँ । उताबाट “बाबु तैँले त बिहे गरिस् भन्ने सुनेको थिएँ । कुन जातको केटीसँग बिहे गरिस त बा ?” यताबाट छोरो बोल्यो “दमाई” करेन्टको ठूलो भोल्टेजको झट्का लागे झैँ तर्सेको आवाज आयो “दमाई ?“ “हो बा दमाई ।“ “तैंले त हाम्रो नाकै काटिस् । तेरो लागि हामी मरे तुल्य भयौ ।” उताबाट फोन काटियो । झगडाको वीजरोपण जातबाटै शुरु भयो । तिमी दमाईकी छोरी, मेरो घरमा तिमीलाई स्वीकार गर्दैन । म तिमीलाई घरमा लैजान पनि सक्दिनँ । यसरी नै सीमा परियार र अजय आचार्यको वैवाहिक सम्बन्ध टुट्यो ।
यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । यस आन्दोलन भित्र बिहे गरेका थुप्रै विवाहित जोडीहरूको सम्बन्ध टुटेका छन् । प्रायः जसो श्रीमानले छाडेका पीडित महिला साथीहरू छन । उनीहरू जो काखमा रहेको बच्चा च्यापी ज्यामी काम गर्न, नदी किनारामा बालुवा चाल्न, गिट्टि कुट्न, विभिन्न भवन निर्माणमा ज्यामी काम गर्न र सडक पेटिमा तरकारी बेच्न बाध्य भएका छन । हिजोका बहादुर पात्रहरूलाई आज जताततै देख्न सकिन्छ । अनि आफैलाई प्रश्न गर्छु खोइ त अधिकार ? कहाँ गयो त महिला पुरुष बराबरीको नारा ? यही दिन देख्नको लागि लडेका थिए म जस्तै नारीहरुले जनयुद्ध ? यो प्रश्नको जवाफ कसले देला ?
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |