आवाज शर्मा
अन्नपूर्ण गा.पा. १, कास्की
आचरणको सुव्यवस्थित शृङ्खलालाई लय भनिन्छ । क्रिया, चाल, ध्वनि, शब्द मात्रै नभएर विचारहरूमा पनि एक समान आवृत्ति हुँदा जुन कला सञ्चरण हुन्छ, त्यही नै लय हो । लय प्रकृतिको आचरण हो । यसको प्रकृष्ट अवस्था प्रलय हो । विनालय प्रकृतिका कुनै पनि व्यवहार सम्भव हुँदैनन् । यतिसम्म कि हाम्रो शरीरका नशा र धमनीहरूमा बगिरहने रगतको प्रवाहमा पनि लय हुन्छ, एउटा विशेष र समान आवृत्तिमा रगतको प्रवाह हुन्छ । स्वासप्रश्वासमा पनि लय हुन्छ । निश्चित आवृत्तिमा ग्रहण र त्याग हुन्छ । जब स्वाभाविक लय अवरुद्ध हुन्छ, प्रलय हुन्छ ।
प्रकृतिका हरेक क्रियाकलाप लयमा हुन्छन् र ती प्राकृतिक हुन्छन् । जे चीज हामी नसोची, विचार नगरी निर्माण गर्छौं, ती क्रियाकलापहरू कृत्तिम हुन् । तिनको कारणबाट प्रकृतिको लयमा अवरोध आइरहेको हुन्छ । जब हाम्रा क्रियाकलापले प्रकृतिको लय बिग्रने अवस्थामा पुग्छ, प्रकृतिले आफ्नो लय मिलाउन प्रलयको सहारा लिन्छ । प्रलय पश्चात सबै अप्राकृतिक कुराहरूको लय बिग्रन्छ । प्रकृतिको लयमा सन्तुलन आउँछ ।
हामीले बनाएका सोचेका विचारेका कुराहरू प्रकृतिसँग मिल्दा भएमा तिनको प्रभाव लामो समयसम्म रहिरहन्छ । तिनले पार्ने प्रभाव प्रकृति र तिनका अङ्ग जीवजगतमा सकारात्मक रहन्छ । त्यसले दीर्घकालीन प्रभाव पार्छ र सँधै सँधै आनन्द प्रदान गरिरहन्छ ।
विभिन्न प्रकारका लयहरू मध्ये आवाजको व्यवस्थित नियमनबाट हुने प्रवाह ध्वनिको लय हो । प्रवाह अव्यवस्थित भए त्यो हल्ला बन्छ । त्यसले हामी भित्रको लयलाई खलबल्याउँछ । चाहे जुनसुकै हिसाबले होस्, खल्बलिएको लयले चित्तलाई आकर्षण गर्न सक्दैन ।
ध्वनि शक्ति हो । दुई वा दुई भन्दा बढी वस्तुहरू आपसमा टकराउँदा त्यहीँ भित्रैबाट एकप्रकारको कम्पन पैदा हुन्छ । त्यही कम्पनबाट उत्पन्न हुने तरङ्गशक्ति ध्वनि हो । यो हाम्रो कानमा भएको विशेष चेतना प्रवाहक मार्फत मस्तिष्कसम्म पुग्छ । मस्तिष्कले सो तरङ्गको सूक्ष्म अध्ययन गर्छ र सोही अनुसारको प्रतिक्रिया विभिन्न अङ्गप्रत्यङ्ग मार्फत अभिव्यक्त गर्दछ ।
विचारको लय, विम्बको लय, भाषाको लय हरेक कला र साहित्यिक रचनाको मूलभूत शर्त हो । यिनै कुराहरूमा पाठकलाई बाँधेर सन्देश सम्प्रेषित भइरहेको हुन्छ । पद्यकाव्यको थप अपरिहार्य शर्त के पनि हो भने यसको वाचनमा ध्वनिको लय अर्थात उच्चारणको लय व्यवस्थित हुनुपर्दछ । जुन लयले मानिसको शब्द नबुझ्ने अवचेतन मनमा पुगेर तरङ्ग उत्पन्न गर्छ । त्यहाँ पुगेर सुखद अनुभूति सञ्चरण गराउँछ । अवचेतन मन चेतनाको त्यो तह हो, जसले थाहा पाई नपाई हरेकपल मानिसलाई मनोवैज्ञानिक रूपमा नियन्त्रण गरिरहेको हुन्छ ।
यही लयले नै कुनैपनि साहित्यलाई पद्य वा गद्य भनेर छुट्याइदिन्छ । त्यसैले पनि पद्य साहित्यको एउटा प्रमुख शक्तिको रूपमा लयलाई लिइन्छ ।
उच्चारणको शक्तिको भरपूर उपयोग गरेर मन्त्रहरू निर्माण गरिएका छन् । पूर्वीय विद्वानहरूको निश्कर्ष के थियो भने शब्द शक्तिमा ध्वनि शक्तिको उचित संयोजन (फ्युजन) बाट महाशक्तिको प्रादुर्भाव हुन्छ यसबाट चाहे अनुसारको काम सम्पन्न गर्न सकिन्छ । यही मान्यताले हजारौं मन्त्रहरू निर्माण भए । ती मन्त्रहरू आजपर्यन्त विभिन्न रूपमा जीवित छन् । उच्चारणको परिवर्तनले गर्दा पहिले जत्तिकै प्रभावकारी भने हुन सकेका छैनन् ।
विचार पु¥याउनु पर्ने अर्को महत्वपूर्ण कुरा के पनि छ भने उच्चारणले अर्थलाई अनर्थ बनाइदिन्छ । वेदमा उदात्त, अनुदात्त र स्वरितको व्यवस्था छ । जसले अर्थको पनि समीक्षा गर्छ ।
मन्त्रोहीनः स्वरतो वर्णतो वा,
मिथ्याप्रयुक्तो न तमर्थमाह ।
स वाग्वज्रो यजमानं हिनस्ति,
यथेन्द्रशत्रुः स्वरतोऽपराधात् ।
यहाँ इन्द्रशत्रु भन्ने एउटै शब्दलाई फरक तरिकाले उच्चारण गरेकै कारणले जसलाई मार्ने उद्देश्यले मन्त्र प्रयोग गरियो, उसैले मार्ने व्यक्तिलाई मारेको कथा छ ।
उच्चारणको लयलाई व्यवस्थित वा नियमित गर्नको लागि पूर्वीय विद्वानहरूले प्रशस्त खोज अनुसन्धान गरेका छन् । व्राह्मी लिपि र यसका शाखा लिपिहरू तिनै गहिरो खोज अनुसन्धानका नतिजाहरू हुन् । जसमा हामीहरूले करिब १२०० वर्ष अगाडिदेखि चलाउँदै आएको देवनागरी लिपि पनि पर्छ । यो लिपिमा प्रत्येक स्वर र व्यञ्जनलाई यसरी व्यवस्थित गरेर राखिएको छ कि जुन संसारका अरू कुनै लिपिमा छैन ।
उच्चारणको विज्ञानलाई मनन गरेरै पूर्वीय विद्वानहरूले लघु र गुरूको अवधारणा अगाडि सारेका हुन् । त्यसको हिसाब गर्न उनीहरूले लघुलाई एक र गुरूलाई दुईले जनाएका हुन् ।
सहजता, सरलता र सुलभता मानव आचरण हो । त्यसको प्रभाव मानिसहरूको शब्द उच्चारणमा पनि पर्न गयो । यसैले हिजोको समयमा एक मानिएको उच्चारण आज ट्याक्कै एक भार बराबरको नभै केही बढी हुन सक्छ र दुई मानिएको उच्चारण दुई बराबरकै नभएर केही कम हुनसक्छ । यसरी खल्बलिएको उच्चारणलाई व्यवस्थित गरेर आवृत्तिमय बनाउनु शब्द उच्चारणको लय हो ।
यही उच्चारणको लयलाई गहिरो अध्ययन र अनुसन्धान गरेर महर्षि पिङ्गलले छन्दशास्त्रको निर्माण गरेका थिए । जहाँ उनले उनीभन्दा धेरै पहिलेका वैदिक लय (छन्द) लाई व्यवस्थित गर्नुको साथसाथै अन्य केही प्रचलित छन्द र सम्भावित छन्दको वैज्ञानिक आधार पनि छर्लङ्ग पारिदिएका छन् । पूर्वीय सभ्यताको उपलब्धिलाई पूर्वाग्रही नभई मूल्याङ्कन गर्ने हो भने आजभन्दा दुईहजार वर्ष पहिलै गरिएको यो खोज मानव सभ्यताका महानतम खोज मध्ये एक मान्नैपर्ने हुन्छ ।
पद्यकाव्य रचनाका पङ्क्तिहरूमा शब्दहरूलाई विशेष वर्ण वा नियत अनुशासनमा राख्नाले वाचन गर्ने व्यक्तिमा शाब्दिकप्रवाह उत्पन्न हुन्छ । यसलाई लेखक, पाठक वा स्रोताले लयको रूपमा आत्मसात गर्छन् । यस्ता पङ्क्तिहरू पढ्नाले पाठक, वाचकका साथै स्रोताहरूलाई पनि भाव अभिव्यक्ति सहज, सरस र आत्मीय लाग्छ । यतिमात्रै नभएर ती पङ्क्तिहरू श्रोताहरूलाई पनि कण्ठस्थ हुन्छन् । आफूले बुझ्दै नबुझ्ने भाषाका गीतहरू पनि बालबालिकाहरूलाई कण्ठस्थ याद आउनुको कारण नै यही हो । यसरी एकपटक मनमा बसी सकेपछि कुनै कुरा लामो समयसम्म स्मृतिमा रहिरहन्छ ।
मानिसको स्मरण–क्षमता सुनिने ध्वनिलाई पनि चित्रमा परिवर्तित गर्ने किसिमको आधारमा काम गर्छ । पछिल्लो समयको अनुसन्धानबाट प्राप्त यो एउटा वैज्ञानिक तथ्य समेत हो । जुन चित्र हाम्रो मस्तिष्कले बुझ्छ त्यो मन पर्छ, जुन चित्र बुझ्दैन त्यो मन पर्दैन र स्मृतिमा पनि रहँदैन । कति चित्रहरू पटक पटकको साक्षात्कार पश्चात् मनपर्ने हुन थाल्छन् । सुरूमैँ आकर्षण गर्ने केही चित्र केही पटकको हेराइ पश्चात मन नपर्ने बन्न सक्छन् । केही चित्र जिन्दगीभर मन परिरहने हुन्छन् । मस्तिष्कमा बन्ने यिनै चित्रको आधारमा हामी कुनै गीत, कला, साहित्य आदिको प्रियता मूल्याङ्कन गर्छौं ।
हाम्रा ऋषिमुनिहरू तथा विद्वानहरूले यो तथ्यलाई धेरै पहिले नै महसुस गरिसकेका थिए । यसैले पनि उनीहरूले शब्दहरूलाई लयमा पंक्तिवद्ध गरे ता कि त्यसको प्रवाहमा चित्रात्मकताको आभाष होस् । लय वा प्रवाहलाई साँध्नको लागि अनेक प्रकारका विधानहरू निर्माण गरिए । पद्यकाव्यमा शब्दहरूलाई आवृत्तियुक्त प्रवाहमा सुसज्जित गर्ने तरिकाहरूलाई विभिन्न नामहरू दिए । तिनैलाई छन्द भनियो । छन्दको सङ्ख्या अनगिन्ति छ ।
जब वेदको प्रादुर्भाव भएको थियो त्यो बेला लेख्ने र सङ्ग्रहण गर्ने व्यवस्था थिएन । अतः त्यसको सारा ज्ञान वाचन तथा स्मरणकै आधारमा नयाँ पुस्ताहरूलाई हस्तान्तरण गरिएको थियो । वेदलाई श्रुति भन्नाको कारण पनि यही नै हो । यो सुनेर सम्झने विधामा आधारित व्यवस्था थियो । यदि वेदका ऋचाहरू लयवद्ध हुँदैनथे भने तिनीहरूको शुद्धता शतप्रतिशत रहँदैनथ्यो । वेदका ऋचाहरूलाई छन्दोवद्ध गर्नुको कारण नै यही थियो । आज पनि ऋचाहरू छन्दमा हुनु त्यसको शुद्धताको आश्वस्ति हो । किनभने छन्दमा हुनुको अर्थ त्यसका पङ्क्तिहरूमा रहेका शब्दहरू आफ्नो ठाउँबाट दायाँबायाँ नहुनु हो । अन्यथा त्यसको वाचनमा लय वा वाचन–प्रवाह खलबलिन्छ । आजसम्म पनि वेद आफ्नो पूर्व रूपमा उपलब्ध छ भने त्यो छन्दमा हुनुकै कारणले हो ।
लयको महत्व पूर्वीया विद्वानहरूले मात्र बुझेका हैनन् । हरेक सभ्यतामा कोही न कोही त्यस्ता विद्वानहरू जन्मेका छन् जसले लयलाई बुझेर आफ्नो क्षमताअनुसार त्यसको औचित्यता पुष्टि गरेका छन् । रोमन, ल्याटिन, फ्रेन्च, जर्मन, डच, रुसी, चिनिया, जापानी सबै भाषामा त्यहींको भाषा र लवज अनुसार लयलाई चर्चा गरिएको पाइन्छ । ती लयहरूलाई कतै वर्णको भारअनुसार, कतै शब्दको बनौट अनुसार त कतै वाक्यको संरचना अनुसार व्याख्या गरिएको पाइन्छ ।
मध्यपूर्व अर्थात अरबी भूमिमा पनि लयको व्यवस्थित खोज अनुसन्धान र निष्कर्षको दस्तावेज थियो इल्मे–अरूज । भनिन्छ, हजरत खलिलले इल्मे–अरूज पिङ्गल छन्दविधानकै पृष्ठभूमिमा रहेर निर्माण गरेका हुन् । उसो त यो भन्नको लागि पर्याप्त प्रमाण केही भेटिदैन तैपनि इल्मे अरूज र पिङ्गल छन्दविधानका धेरै कुराहरूमा समानता र केही कुराहरूमा मात्र अन्तर पाइन्छ ।
आर्यावर्त भूमिका बासिन्दाहरू शिक्षाको क्षेत्रमा धेरै अगाडि थिए । यहीँ तक्षशिला र नालन्दा जस्ता महाविद्यालयहरू दुईहजार साल पहिलै स्थापित थिए जहाँ विविध विषयहरू साथै काव्यको पनि अध्ययन अध्यापन हुन्थ्यो । काव्यको अध्ययन अध्यापन हुने विश्वविद्यालयमा लिखित सामग्रीहरू आवश्यक हुने नै भए । यही क्रममा काव्य श्रुतिपरम्पराबाट क्रमशः लेख्य–पाठ्य परम्परामा प्रवेश ग¥यो । लय वा छन्द पनि क्रमशः कथ्यभाषाबाट लेख्यभाषामा सर्दै गयो । उच्चारणको शुद्धताको लागि बेलगाम भाषाको परिवर्तनलाई रोक्न यो आवश्यक कदम पनि थियो ।
पहिले जहाँ इल्मे अरूज निर्माण भयो, त्यहाँ सभ्यताको विकास नै भएको थिएन, उनीहरू फिरन्ते कबिलाहरू थिए । जहाँ पहिलो पटक विस्तार भयो, त्यो ठाउँ अन्तरराष्ट्रिय व्यापारको केन्द्र थियो । संसारभरका व्यापारीहरू र ग्राहकहरूको जमघट हुने सो ठाउँको भाषाको प्रकृति द्रुतगतिमा बदलिई रह्यो । यो बदलाव लिखित भाषाको नियन्त्रणमा रहने अवस्थामा छँदै थिएन । यसैल इल्मे अरूजलाई लिखित भाषाको अनुशासनको रूपमा राख्न सम्भवै भएन । यो सातौँ आठौँ शताब्दी ताकाको कुरा थियो । जबकि संस्कृतसहित यसका शाखा भाषा–साहित्यमा पिङ्गल छन्दविधान एकछत्र विराजमान थियो । पछि भाषामा स्थिरता आइसकेपछि पनि इल्मे अरूजले कथ्यभाषालाई आधार बनाइरह्यो । भाषाको सचेततासँगै लिखित भाषाको अधीनमा कथ्यभाषा र कथ्यभाषाको अधीनमा लयलाई राख्नाले अरूजको मान्यता सँधै तरोताजा र चुस्त रहिरह्यो ।
लयको सम्बन्धमा एउटा भन्नै पर्ने कुरा के छ भने पूर्वीय छन्द विज्ञानले जसरी सबै प्रकारका लयलाई समेटको छ, त्यसरी अरू भाषाका लय विज्ञानमा व्यापकता पाइँदैन ।
अरूज विज्ञान वार्णिक र मात्रिक छन्दविज्ञानले समेटेका कुराहरूलाई समेटेर असाध्यै मिहिनताका साथ अगाडि बढेको पाइन्छ । इल्मे अरूजले गरेको लय (मौजुनियत) को व्याख्यामा प्रत्येक उच्चारण, शब्द, वाक्य र वाक्य संरचनालाई यसरी विश्लेषण गरिएको पाइन्छ कि यो कुनैपनि भाषाको बन्धनभन्दा धेरै माथि छ । यो अरबी भाषाको बन्धनबाट त आठौं शताब्दीमा नै मुक्त थियो, फारसी, तुर्की, उर्दू, पास्तो, दारी, हिन्दी कुनै भाषाको बन्धनमा छैन । यो जति उर्दूमा सुहाउँदो छ, त्यति नै अङ्ग्रेजी, डच, जर्मन, कोरियन, चिनियाँमा पनि सुहाउँदो छ । यसैले अरूज कुनै सामान्य शास्त्र नभएर विज्ञान बन्न पुगेको छ ।
हरेक सङ्गीत आफैमा एउटा लय हो, छन्द हो, बहर हो । गजल लेख्ने मानिसमा सबै बहरको ज्ञान सम्भव हुँदेन । उस्तादहरू भन्छन्, बहरको ज्ञान छैन भने पनि मौजुनियतको ज्ञान हुनु नितान्त आवश्यक छ । मौजुनियत भनेकै लयको स्पष्ट र मिहिन रूप हो । हामी लय शब्दले नै मौजुनियतलाई अभिव्यक्त गर्न सक्छौं । एउटै बहरभित्र कैयौं लय हुन सक्छन् । कम्तिमा गजलगोले आफूले प्रस्तुत गर्ने गजलको लयलाई स्पष्ट रूपमा जानेको बुझेको र अपनाएको हुनुपर्छ । जसरी भावमा, भाषामा, प्रक्षेपणको शैलीमा कुनै खोट हुनु हुँदैन, त्यसै गरी लयमा पनि कुनै खोट स्विकार्य हुँदैन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |