परशु घिमिरे
संक्रमण काल ः काठमाडौं क्षेत्रमा देखिएका यस कालका प्रमुख मूर्तिहरुमध्ये देवपाटनमा प्राप्त बुद्ध जन्मसँग सम्बन्धित आठौं नौं शताब्दीका मूर्ति, काठे सिम्भू नजीकको बोधिसत्व पद्यपाणिको मूर्ति, उभिएकी ताराको मूर्ति आदि उल्लेखनीय छन् ।
मल्लकाल ः लिच्छविकालीन कुनै पनिमूर्तिकला वा वास्तुकलाका कृतिहरुमा शिल्पकारको नाउँ कुँदिएको छैन तर मल्लकालमा पहिलो पटक यस्तो मूर्ति पाइएको छ– यो हो देवपाटन स्थित १.५ लामो अर्ध शैरीश्वर (वा हरिहर) शैलीमा बनेको कमलमाथि गौरीको लालित्यपूर्ण मूर्ति । वि.सं.१२६३ मा स्थापित सो मूर्तिका शिल्पकार नन्दपाल थिए । वि.सं.१४०६ मा समशुद्दीन इलियासको आक्रमणको क्रममा प्राचीन पशुपतिनाथको मूर्ति तीन टुक्रा पारिएको कुरा शिलालेख र वंशावलीमा उल्लिखित छ । त्यसपछि राजा जयस्थिति मल्लका सामन्त जयसिंह रामले वर्तमान पशुपतिनाथको मूर्ति स्थापना गरेको कुरा पनि शिलालेख उल्लेख छ । करीब २.५ हात अग्लो चतुर्मुखी शिवको उक्त मूर्तिलाई छुन वा त्यसको नजीक जान नपाइने भए पनि भावपूर्ण र सुन्दर चार चेहराहरुले टाढाबाट पनि एक सिद्धहस्त कलाकारको कृति रुपमा त्यसको परिचय दिन्छन् ।
काठमाडौंमा प्राप्त ज्योति मल्लकालीन शिलामूर्तिहरुमध्ये वि.सं.१४६५ मा स्वयंभूमा स्थापित दुई हात अग्लो चिन्तामणि लोकेश्वरको चिताकर्षक र सजीव मूर्ति उत्कृष्ट छ । ज्योति मल्लका छोरा यक्ष मल्लको समयमा (वि.सं.१५००मा) कान्तिपुर खावाबहाल स्थित विष्णुको मूर्ति आप्mना समकालीन मूर्तिहरुमा सुन्दरतम र अग्रगण्य छ । टेबहालस्थित सूर्य मूर्ति पनि उनकै पालाको हो । शिवसिंह मल्लको पालाको मूर्ति कलाको ज्वलन्त उदाहरण वि.सं.१६५७ मा स्वयंभूको विशाल देवावतार बोधिसत्वको मूर्तिसँग स्थापित १.५ हात अग्लो पद्यपाणि लोकेश्वरको मूर्तिले प्रदान गर्दछ । काठमाडौंमा पाइने सबैभन्दा ठूलो र भावपूर्ण मल्लकालीन बौद्ध मूर्ति लक्ष्मीनरसिंह र उनका छोरा प्रताप मल्लको संयुक्त शासनकालमा (वि.सं.१६९३) स्वयंभूको मनोहर जंगलभित्र उकालो लाग्ने ठाउँमा भूमि स्पस्पर्श मुद्रामा रहेका अक्षोभ्यका तीन विशाल मूर्तिहरुमध्ये माझको मनमोहक मूर्ति हो । टुक्रा टुक्रा ढुंगाहरुको कलात्मक संयोजनले सिर्जना भएको यो मूर्ति आसन बाहेक साढे पाँच हात अग्लो छ । मल्लकालका यस्ता मूर्तिकलाहरुमा दुईवटा उल्लेखनीय कुराहरु देख्छौं । एक कुरो, तिनताक काठमाडौंमा महायानी र अझ वज्रयानीहरुको प्रभाव जोडतोडले बढेको प्रमाण–स्वरुप जटिल तथा अश्लील जस्तो देखिने, धेरै टाउका र हात भएका बौद्ध मूर्तिहरु बन्न थालेको थियो । अर्को कुरा, शिला र धातुको मूर्ति बाहेक तिनताक मन्दिरको ढोका र टुँडालहरुमा बनेको मूर्तिहरु पनि प्राप्त भएकोले काष्ठ कलामा नेपाली शिल्पकारहरुको प्रवीणता पनि त्यो समयदेखि झल्केको आभास पाइन्छ । हनुमानढोका अघिल्तिर महेन्द्र मल्लबाट निर्मित मानिएको जगन्नाथ मन्दिरका टुँडालहरुमा अनेक प्रकारका यौन आलिंगनमा बद्धरुप तथा तिनै टुँडालमा कुँदिएका विभिन्न चर्तुभुज मूर्तिहरु यस कुराका साक्षी छन् ।
स्वयंभू डाँडाको धर्मधातु चैत्यका दाँया वाँया वि.सं.१७१२ मा प्रताप मल्लबाट निर्मित प्रतापपुर र अनन्तपुर बाहिरपट्टि वज्रयानका गुह्यो देवता सम्बरका द्धारपालहरुको मूर्ति वरिपरि कुँदेर राखिएका छन् । मनुष्य शरीरमा जीवजन्तुको शिर जडेर कुँदिएका यी द्वारपालहरुका कुनै एक मुखी र कुनै बहुमुखी मूर्तिले नेपाली मूर्तिकलाको क्षेत्रमा एक नयाँ परम्परा सिर्जना गरेका छन् । ती द्धारपालहरु काकास्य, उल्कास्या, शानास्या तथा सुकरास्य हुन् । तिनले क्रमशः कौवाको, लाटोकोसोराको, कुकुरको र सुगुरको मुखाकृति लिएका छन् । स्वयंभू स्थित विशाल वज्र पनि प्रताप मल्लले वि.सं. १७२५ मा स्थापना गरेका हुन् । यसको आधार पेटिकामा प्रथम पटक यहाँका कलाकारहरुले पशुपक्षीहरुलाई प्राधान्य प्रदान गरेको हुनु पनि एक विशेषता नै मान्नु पर्दछ । तिनताकका कलाकार मानव मूर्ति कुँद्नमा भैm पशु आकृति कुँद्नमा पनि सिद्धहस्त रहेछन् भन्ने प्रमाण त्यस पेटिकामा साँढे, बनेल, फडदार सर्प, घोडा, भेडा, बाँदर, हाँस र कुकुरको सजीव कलात्मताले प्रदान गरेको छ ।
बुद्ध जीवनको भार विजय घटना प्रदर्शित गर्ने अर्को तीन हात जति अग्लो प्रताप मल्लकालीन घतलाग्दो शिलामूर्ति पनि त्यसै वज्रको सामु छ र दर्शनीय पनि छ । त्यसको स्थापना वि.सं.१७१३ मा भएको हो । त्यसका दुई विशेषतामध्ये बुद्धको मूर्तिमा माला कुँदिएको हुनु एक हो । अर्को विशेषता त्यसका वरिपरि ब्रह्मा, विष्णु, महेश्वर र इन्द्रादि देवताहरुलाई आ–आप्mना बाहनमा प्रदर्शित गरी हिन्दू–बौद्ध धार्मिक एकात्म्यको भाव जागरण गर्न खोजिएको उद्देश्यलाई लिन सकिन्छ । पाटनमा सिद्धिनरसिंहबाट निर्मित कला मूर्तिहरुको भण्डार सुन्दरीचोकको प्रतिस्पर्धामा हनुमानढोका भित्र प्रताप मल्लले निजी संग्रहालय रुपको मोहन चोकको सिर्जना गरी त्यहाँ चोकको बीचमा धाराको वरिपरि पत्थर र काठमा कुँदिएका उत्कृष्ट र कलापूर्ण शैव र वैष्णव मूर्तिहरु साथै विकराल र भयावह तान्त्रीक मूर्तिहरुको पनि बेजोड संग्रह गरिएको छ । युरोपवासीसँग भेटघाट भए पछि त्यसको असर परी प्रताप मल्लले मानिसको मूर्ति निर्माण गर्न लाएको कुराले कलाको क्षेत्रमा ऐतिहासिक महत्व पनि राख्दछ ।
महायान–वज्रयान परम्परामा कुँदिएको बाह्रवटा हात भएको एक हात अग्लो नाम संगीतीको स्वयम्भू स्थित ह्दयस्पर्शी शिला मूर्ति नृपेन्द्र मल्लबाट वि.सं.१७३४ मा स्थापना गराइएको हो । पार्थिवेन्द्र मल्लको पालामा (वि.सं.१७३८) ठबहिल बिहारमा स्थापित एक मञ्जुश्रीको र अर्को सरस्वतीको मूर्ति र काठे सिम्भू स्थित भूपालेन्द्र मल्ल कालका वज्रयानी खण्डपाणि र खड्पाणि भैरवका दुई मूर्तिहरु दर्शनीय छन् । तर कला प्रियताको क्षेत्रमा भूपालेन्द्र मल्लको नाउँलाई प्रताप मल्लको टक्करमा पुर्याउन खोज्ने दुई विशिष्ट मूर्तिहरुमध्ये एउटा काठमाडौंको मुटुरुपी गद्दी दरवार सामु विष्णु मन्दिर अघिल्तिरको चार हात जति अग्लो एउटै छुस्याबहालभित्र स्थित वि.सं.१७५५ मा निर्मित एक स्वास्नी मान्छेको सालिकलाई नै मान्नु पर्छ । वास्तवमा उत्तर मल्लकालमा मूर्तिकलाको जुन ह्रास हुँदै गएको स्पष्ट देखिन्छ, जसलाई पुनरुत्थान र पुनर्जीवन प्रदान गर्ने चष्ट भैm यो चुल्ठो बाँधेकी, भक्ति भावमा निर्लीप्त र सुन्दर अंग प्रत्यांगहरु झल्किने तरुनीको एक हात जति अग्लो मूर्ति अत्यन्त सजीव र ललित्यपूर्ण छ । सामाजिक विषयमा कुँदिएको हुनु यो मूर्तिको अर्को विशेषता हो ।
वास्तुकला ः वास्तुकलाको क्षेत्रमा काठमाडौंमा प्राचीनकालदेखि नै प्रसस्त विकास भएको छ । इतिहासको विभिन्न कालमा यहाँ निर्माण भएका वास्तुकलाका उत्कृष्ट नमुनाहरु काठमाडौं जिल्लाको विभिन्न इलाकाहरुमा हालसम्म पनि संरक्षित छन् । यहाँको वास्तुकलालाई अध्ययनको लागि निम्न कालहरुमा विभक्त गर्न सकिन्छ ।
लिच्छविकाल ः माथि लिच्छविकालीन मूर्तिदकलाको सम्बन्धमा उल्लेख गरिएका मूर्तिहरु पनि कुनै बेला मन्दिर बनाएर ती भित्र प्रतिष्ठापन गरिएको देखिन्छ । तर १,५०० वर्ष जति अघि बनेका ती मन्दिरहरुका आज भग्नावशेष समेत बाँकी नभएकाले लिच्छविकालीन वास्तुकलाको सही रुप कस्तो थियो होला भन्ने राम्ररी अन्दाज लाउन हामीले सकेका छैनौं । तर अभिलेख आदिको अध्ययनको आधारमा काठ बढी तला तला पारी बनाउने नेपाली वास्तुशैलीको प्रचलन लिच्छविकालमै भइसकेको थियो भन्ने चाहिं देखिएको छ ।
मानदेवले निर्माण गरेका राजदरबार मानगृहको नाउँले इतिहासमा प्रसिद्ध छ तर त्यो पनि उपत्यकाको कुनै ठाउँमा थियो । र, कस्तो थियो सो हामीलाई कल्पनाको विषय हुन गएको छ । पशुपतिनाथ कै प्राचीन स्वरुप कस्तो थियो भनी निश्चित गर्न गह्रो छ । साँगास्थित वि.सं.६६५ को अंशुबर्माको शिलापत्रमा कैलाशकुट नामक भव्य महल हेर्न अपार दर्शकहरुको भीड लागिरहेको कुरा उल्लेख भएको छ । अर्को शिलालेखमा त्यसलाई क्षितितलतिलक भुवि विश्रुत आदि वर्णन गरिएको हुनाले त्यस भवनको प्रसिद्धी विदेशमा पनि पैmलिएको देखिन्छ । राजा नरेन्द्रदेवका पालामा आएका चिनियाँ वाङ हुएनत्सेको वर्णनको आधारमा ताङ वृतान्तमा उल्लिखित तामाको पाताले छोपिएको छाना भएको सात तले बुर्जाकारको दरबार, उक्त कैलाशकूट भवन नै थियो भन्ने अडकल विद्धानहरु गर्दछन् । तर कैलाशकूट भवन कहाँ थियो भन्ने थियो पनि निश्चित् हुन सकेको छैन । नरेन्द्रदेवका शिलापत्रमा उल्लेख गरिएका अर्को महल भद्राधिवास भवनको पनि यस्तै कथा छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |