मोहन दुवाल
सूर्यविक्रम ज्ञवाली (१९५५ असार), धरणीधर कोइराला (१९४९ माघ) र पारसमणि प्रधान (१९५५ माघ) कै अगाडिको तीन अक्षर जोडिएर अनौठोलाग्दो संस्था ‘सूधपा’ नाम बनेर नेपाली भाषा, साहित्य र शिक्षा क्षेत्रमा सक्रिय ढङ्गले क्रियाशील यी तीन रत्नहरु वाङ्मय क्षेत्रमा सधैं सम्झि नै रहनुपर्ने काम र नाम छाडेर गएका प्रतिभाहरु हुन् । रामेछापमा जन्मेका धरणीधर, वनारसमा जन्म पाएका सूर्यविक्रम र कालिम्पोङमा कर्मथलो बनाएका पारसमणि तीनै जनाले भारत भूमिमा रहेर नेपालीभाषा साहित्य उत्थानका लागि निकै परिश्रमका पसिनाहरु पोखे । तीनै जनाले स्नातकसम्म उत्तीर्ण गरेको देखिन्छ र तीनै जनाका साहित्यिक भाषिक क्षेत्रमा भएका कार्यहरु एकै खालका देखिँदा छन् । तीनै जना ८७ वर्षसम्म बाँचेर सेवा पु¥याएर गएको देखिन्छ । एकै खालका जस्ता देखिँदा यी वाङ्मयसेवीहरुका सेवा, सिर्जनाका हरफहरु आ–आफ्ना खालले महत्वपूर्ण देखिँदा छन् ।
पारसमणि प्रधान ओखलढुङ्गा, नेपालबाट कालिम्पोङ, भारतमा झरेका पूर्खाका सन्तति हुन् । कालिम्पोङ यिनको स्थायी बसोबास मात्र नभई वाङ्मयिक कर्मथलो पनि बन्यो । नेपालीभाषाको उत्थानमा भारतमा रहेर सेवा पु¥याएकै कारणले यिनको नाम नेपालमा पनि अत्यन्त आदरका साथ लिने गरिन्छ । जीवनभर यिनले नेपाली भाषाको अस्मिताका लागि लडे । विद्यालय, कलेजमा नेपालीभाषा पाठ्यपुस्तकमा राख्न लगाउन अभियान चलाए । आवश्यक पाठ्यपुस्तक आफूले लेखे । यिनका प्रकाशित पाठ्यपुस्तकहरुमा नेपाली साहित्य (भाग १–६), नेपाली सजिलो साहित्य (भाग १–४), नेपाली साहित्य कथा (भाग १–४), नेपाली साहित्य शिक्षा (भाग १–३), नेपाली साहित्य परिचय (भाग १–२), नेपाली व्याकरण नेपाली रचना भारती, भाषा प्रवेश (ई.सं १९२०), नेपाली व्याकरण (१९२०), पाँचपौखरी पुरुष, नेपाली–अंग्रेजी कोष आदि छन् । अन्य प्रकाशित भएका साहित्यिक कृतिहरुमा रोचक संस्मरण, टिपन टापन (निबन्धसङ्ग्रह २०२५), नेपाली मुहाबरा, बटुलबाटुल (काव्य ईसं. १९५७), बीरु ड्राइभर (काव्य, ईसं १९५५), बुद्धचरित्र (नाटक, ईसं १९५४), क्वाँटी, आफ्नो बारे (आत्मकथा), जपमाला (कवितासङ्ग्रह) आदि छन् ।
त्रिभुवन प्रज्ञा पुरस्कार धरणीधरले २०२२ मा, पारसमणि प्रधानले २०२५ मा र सूर्यविक्रम ज्ञवालीले वि.सं. २०२८ माप्राप्त गरेको देखिन्छ । २०२३ सालमा नै त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधि सम्मान प्राप्त गरेका यिनले जीवनका क्षणहरु अध्ययनमा नै बिताएको देखिन्छ । नाम प्रशमान प्रधान÷साहित्यिक नाम पारसमणि प्रधान । दार्जीलिङका त्रिमूर्तिमध्ये एक मूर्ति पारसमणिले टिपनटापनमा २०४२ सालमा नै मदन पुरस्कार पाएका हुन् । सम्पादन कार्यमा पनि आफ्नो पहुँच देखाउन सफल यिनले भारती र चन्द्रिका जस्ता स्तरीय साहित्यिक पत्रिकाको पनि सम्पादन गरेको देखिन्छ । अन्य महत्वपूर्ण सम्पादन कृतिहरुमा भानुभक्त ग्रन्थमाला, नेपाली भाषाको उत्पत्ति र विकास, नेपाली साहित्य कथामाला, नेपाली साहित्यको साउँअक्षर, कवि र कविता, आफ्ना बारेमा आदि छन् । यति मात्र नभई नेपाली भाषा, व्याकरणका लेख निबन्ध र व्यक्तिवृत्तका थुपैै्र रचनाहरु यिनका प्रकाशित छन् । जीवनका करिब सात दशक क्रम र क्षणहरु भाषा, साहित्य र शिक्षामा समर्पित गरेका यिनका जीवन भनूँ नै वाङ्मयको सेवा गर्नु रह्यो । समकालीन मित्रहरुका माझमा अत्यन्त आदरणीय बनेका पारसमणि नेपालीजन मनका लागि नाम जस्तै ‘मणि’ भई अवश्य चम्किरहने छन् । वाङ्मयका अथक सेवक, नेपाली भाषाका प्रचारक, अनुवादक, सम्पादक, शिक्षक । धेरै क्षेत्रमा आफूलाई समर्पित तुल्याउन सफल पारसमणि आफ्नो युगका चर्चित विद्वान् हुनाका साथै वरिष्ठ साहित्यकारका रुपमा आफूलाई प्रतिस्थापन गर्न सफल छन् । नेपाली भाषा र साहित्यलाई जीवन्त त्ुल्याउने अभियानमा लागेर यिनले भानुभक्त मोतिराम, लेखनाथका जीवनी अंग्रेजीमा लेखेर विश्वमा नेपाली स्रष्टाहरुलाई चिनाउने अभियानमा पनि लागेको देखिन्छ ।
पारसमणि साहित्यिक क्षेत्रका संगठक, व्याकरणवेत्ता, सफल अनुवादक, सक्षम सम्पादक, प्रकाशक, साहित्यिक सर्जक, प्रेसका संस्थापक । भारतीय भूमिमा नेपाली भाषालाई विद्यालय, कलेज, विश्वविद्यालयमा लागू गर्न सफल अभियन्ता । उत्तर बंगाल विश्वविद्यालयले १९७५ देखि नेपालीमा एम.ए. सम्म पढ्न पाउने मान्यता दिएको हो । उक्त मान्यता प्राप्त गर्न सङ्घर्षरत भारतीय–नेपाली स्रष्टा हुन् पारसमणि प्रधान । साहित्य एकेडेमी, नयाँ दिल्लीका विशेषज्ञ समितिका सदस्य समेत भई भाषा साहित्यका सम्बद्र्धन, प्रगति र विस्तारका लागि यिनी जीवनपर्यन्त लागिरहे । नेपाली मूलका भारतीय नागरिक भएकै कारणले हिन्दीमा पढ्नुपर्ने कुराहरु नेपालीमा पढ्न पाए हुन्छ भन्ने अभियानमा लागेर सर्वप्रथम कलकत्ता विश्वविद्यालयले सन् १९१८ मा माध्यमिकसम्म नेपाली पढ्न पाउने मान्यता दिएको हो । यस अभियानका मुख्य हस्ती पनि यिनै पारसमणि प्रधान हुन् । यिनी प्रेसका संचालक पनि बने, गोर्खा साहित्य समाज नामक पुस्तकालय खोले । समाजका प्रदर्शक पारसमणिले समाज रुपान्तरण गर्नका लागि धेरै खालका कार्यहरु संचालन गरेको देखिन्छ ।
अध्यापन सेवामा पनि आफ्नो अग्रसारिता देखाउन सफल यिनी समाजका भरपर्दो तपस्वी हुन् । शिक्षण सेवा यिनको कर्म बन्यो, विद्यार्थीहरुका लागि यिनी भरपर्दो शिक्षक हुन् । समाजका पहरेदार यिनी नेपाली भाषाका लागि यिनको सेवा अतुलनीय र उदाहरणयोग्य बन्यो । नेपाली भाषाका प्रखर सेवक यिनले भाषाको संचरनात्मक सेवा पनि पु¥याइदिएका छन् । भाषाको स्वरुप निर्धारण, एकीकरणमा पनि यिनले सक्दो सेवा र कार्य गरेको देखिन्छ । एउटै व्यक्तिले पनि धेरै थोक गर्न सक्छन् । संरचनात्मक मन बोकेर जीवनमा उत्सर्ग दिने कामहरु गर्न रुचाउनेहरु जोसुकै होउन् निरन्तर लागिरहन सकेको खण्डमा उनीहरुले विजय प्राप्त गर्न सक्छन् । पारसमणि प्रधान; एकजना विशिष्ट स्रष्टा हु्न् जसले सिर्जनामार्फत् युग चेतना बाँडे । पारसमणि एकजना उदाहरणयोग्य अध्यापक हुन् जसले विद्यार्थीहरुलाई उचित वैज्ञानिक ज्ञान वितरण गरे । पारसमणि एकजना नेपाली भाषाका कट्टर भारतीय–नेपाली हुन् जसले जीवनपर्यन्त भारतीय माटोमा रमेर नेपाली भाषाको प्रचारप्रसार गरे । पारसमणि एकजना वरिष्ठ साहित्यकार हुन् जसले कविता, निबन्ध, संस्मरणहरु लेखेर आफूलाई चिनाए । उनी साहित्यिक पत्रकार हुन्, चन्द्रिका र भारतीको स्तरीय प्रकाशनमा पनि यिनको योगदान रह्यो । बहुमुखी प्रतिभाका धनी व्यक्तित्व । सेवा, समर्पण र कार्यमा निरन्तर लाग्न सफल वाङ्मय सेवी पारसमणि युगले, समाजले अझ नेपाल र नेपालीले कहिल्यै बिर्सन नहुने नाम बनेर गए ।
साहित्यकार, व्याकरणकारका रुपमा प्रख्यात बनेका भाषा–साहित्यका विशिष्ट सेवक पारसमणि प्रधानको अवसान वि.सं. २०४२ मा कालिम्पोङमा भएको देखिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |