मोहन दुवाल, वरिष्ठ साहित्यकार
महाकवि लक्ष्मीप्रसाद देवकोटा । विद्रोही कवि । मान्छेका मनका कवि । कवितामा जे पनि लेख्न, देख्न र भोग्न सक्ने कवि । कवितालाई जीवन बनाउन सक्ने कविजस्तै कवि । कवितामा सपना देख्ने, कवितामा नै कुरा गर्ने कवि । कवितै कवितामा मर्म, दर्द, विद्रोह, प्रणय, प्रगति, क्रान्ति सबैथोक लेख्न सक्ने कवि । महान् कवि । महाकवि । यिनका कवितामा केमात्र छैनन् – चेतना छ, भावना छ, प्रगतिका पद्चापहरु छन् । क्रान्तिभित्र भ्रान्ति सोच्ने नेताहरुमा जस्तो भ्रम र अन्यौल मनमा राख्न नपाएका यी कविका आँखा र मनहरुमा समाज, देश र जनताका भावनाहरु हरफ–हरफमा छरपष्ट छन् । म त भन्छु युगले जन्माएका सबभन्दा बलिया कवि । अहिलेसम्म जन्मिन नपाएका शक्तिशाली कवि । समर्पित कवि । त्यागी कवि । मन्त्रीले किच्न नसकेका कवि । पद र पैसाले नबिकेका कवि । समाजका विरोधीहरुका लागि हुँकार खिँच्ने बहुला कवि । अवसरवादीहरुका लागि नपच्ने पागल कवि । सामन्तहरुका मनमा काँडा रोप्न सक्ने क्रान्तिकारी कवि लक्ष्मीप्रसाद देवकोटा ः मान्छेका मनका कवि । यिनै कविका कविताका हरफहरु मनमनमा राखेर गुनगुनाइ रहेछु ।
मर्नु त एकदिन अवश्यै पर्छ
पशुझैं नजिऊँ ।
मानिस हौं भने मानिसझैं जिऊँ
मानिसको हक लिऊँ ।
कविको चेतनाले भन्छन् – मनुष्यको सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन । हो त नि आजसम्म पनि निस्केको छैन । कस्तो सूक्ष्म–दृष्टि । यस्तै दृष्टिका थुप्रै विम्बका प्रसङ्गहरुलाई खिँचेर साहित्य लेख्न जानेका महाकवि देवकोटा अभावमा बाँचे, तर कहिल्यै लत्रिएनन् । यिनी भ्रष्टहरुका लागि उल्लु भए तर दास बनेनन् । त्यसैले उनी लेख्छन् – “आत्माविना माटो हुन्छ, किरण हुँदैन । किरण नभएपछि माटोको के अर्थ ?” यस्तै चेतना हुन् देवकोटा । सूक्ष्म अनुभूतिको प्राकल्पना हुन् देवकोटा । साहित्यका यिनी हिमाल हुन् । यिनका साहित्यिक दृष्टिहरु सुन्दर र मनोरम छन् । कला, साहित्य र संस्कृतिबारे यिनले सुन्दर अभिव्यक्ति पोखेका छन् – कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो । हो यिनी साहित्यका सुन्दर प्रकाशन हुन् । म आँखा र मनमा यिनको दृष्टि र सृष्टि राखिरहेछु । थुप्रै छन् यिनले साहित्यमा पोखेका सुन्दर अभिव्यक्तिहरु ।
अङ्ग्रेजी भाषाका ज्ञाता । प्रख्यात ट्युशन मास्टर । उनको दृष्टिचेत्लाई सम्मान गरेर मन्त्री दिए । तर मन्त्रीमा रम्न सकेनन् । संवेदनशील कवि । मनमा, आँखामा कविता खोजिरहने कवि । जता र जहाँ रहे पनि कवितामा आफूलाई साँचिरहन मन पराउने कवि । निरन्तर लेखिरहे, निरन्तर साहित्य सोचिरहे । त्यसैले त यिनका सिर्जनाहरु छ्याप्छ्याप्ती देखा परिरहे । दृष्टि बलियो – शैली प्रखर रहेकै कारणले देवकोटा बलिया महाकविका रुपमा सबैले आत्मसात गरे । आजपर्यन्तसम्म पनि देवकोटाजस्ता बलिया साहित्यकार नभेटिनुको कारण उनीजस्तो सधैं खटिइरहन सक्ने साहित्यकार नहुनुकै कारण प्रमुख हो । धाराप्रवाह कवितामा बोलिरहन सक्नु, कवितामा छलफल गर्न पाए सबैथोक बिर्सिदिने गर्नु यिनका अनौठा उल्लेखयोग्य बानीहरु हुन् ।
धेरै सङ्घर्ष गरे जीवनमा यिनले । शिक्षक भई साहित्य पढाए । प्राध्यापक भई विद्यार्थीहरुलाई कविता चिनाए । राजनीतिक सल्लाहकार भई साहित्यभित्रबाट राजनीति छामे । पत्रकार भई साहित्य प्रचार गरे । प्रज्ञा प्रतिष्ठानका सदस्य भई देशभरका साहित्यकारहरुका साहित्य बुझे । मन्त्री भएर पनि साहित्यिक मोहलाई व्यक्त गरिरहे । आफ्नै ढङ्गको यात्रामा रम्न खोज्ने यिनलाई परिवेश र समाजले बहुला बनाए । राँची पुगेर औषधि गरे । तर पनि साहित्यमा रमिरहे । चुरोटका अम्मली । चुरोट यिनको प्रिय र मोहनीस्पर्श बन्यो । यिनले कविताका साथै निबन्ध लेखनमा पनि आफ्नो उत्कृष्टता देखाउन सफल रहे । कथा, उपन्यास, समीक्षामार्फत् पनि यिनले आफ्नो लेखन–शक्ति देखाए । यिनी २००४ सालतिर नै बनारसमा पुगेर युगवाणी पत्रिका प्रकाशन गरेर आफूलाई कुशल सम्पादकका रुपमा देखाउन सफल भए ।
वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन डिल्लीबजार मैतिदेवी, काठमाडौंमा जन्मेका यिनी २०१६ भाद्र २६ गते करीब ५० वर्षको उमेरमा आफूलाई पागल भनाउँदै यस धरतीबाट विदा लिए । जरुर साथी म पागल भनेर कवितामा उद्घोषण फुकाउँदै उनले आफ्नो स्वाभिमानलाई कवितामा फुकाए । सजीव अनुभवको कलात्मक प्रकाशन साहित्य हो मात्र भनेनन् यिनले नेपाली नरहेका तर नेपाली बनेकाहरुले नेपाली साहित्य लेख्न नै सक्दैन भनी विचार फुकाए । प्रकृतिलाई मानवीय बस्तीमा कविता बनाएर सुनाउन सिपालु कवि भएकै कारणले यिनले प्रकृति, प्रेमका गहन अर्थ खुल्ने कविताहरु लेखे । मानवीय संवेदनाका प्रखर प्रवक्ता बनेका कवि देवकोटाले गाइने, किसान, गरीबका मात्र कविता गाएनन्, लुनी, मैना, म्हेन्दू, मुनामदन छाम्दै सुलोचना, शकुन्तला, पृथ्वीराज चौहान लगायत थुप्रै पात्र–पात्राहरुको कविता बनाए । मान्छेभित्र नै ईश्वर व्याप्त छ । मान्छे नै ईश्वर हो भन्ने धारणा भएका मानवतावादी कवि देवकोटाका सुन्दर लाग्ने केही कवि–बोलीहरु ः
ईश्वरको हाँसो पाएको फूल छोएर नमार
मानिसलाई बाटोमा काँढा मानिस छर्दिन्छ ।
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । (मुनामदन)
ईश्वरको मूर्ति मान्छे, मान्छे गर्छ हेला
एउटै मानिस, एउटै रगत एउटा अर्कै पेला । (दमाइदाइ)
ए माग्ने तँ रुन्छस् किन
मान्छे होस्
हकलेर गर्जी जा
करुणा हो देउताको दान, कलियुगमा
फलामको मर्जी बा ! (माग्नेसँग)
नेपाली साहित्यमा कवितामा बाढी ल्याउन सफल कवि । कवितालाई काव्यात्मकता भर्न सिपालु कवि । कविताको दृष्टिले बुझ्दा भन्न सकिन्छ उनी हुन् उत्कृष्ट महाकवि । धनले किन्न नसकेका, शक्तिले थिच्न नदिएका असाधारण प्रतिभाका धनी व्यक्तित्व महाकवि देवकोटा कवितामा आफ्नो दृष्टि–चेत् यसरी राख्छन् ः
हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
देवकोटा – नेपाली साहित्यिक जगत्का लागि साहित्यिक सगरमाथा हुन् । करीव चार दर्जन प्रकाशित पुस्तकहरुमा यिनले कवितासङ्ग्रह, गीतसङ्ग्रह, खण्डकाव्य, महाकाव्य, बालकविता, गीतिनाट्य, कथासङ्ग्रह, निबन्धसङ्ग्रह, समीक्षासङ्ग्रह, उपन्यासका साथै यिनका अङ्ग्रेजीमा पनि पुस्तकहरु प्रकाशित छन् । मरणोपरन्त त्रिभुवन प्रज्ञा पुरस्कार, साझा पुरस्कार पाएका यिनी जनस्तरबाट सर्वमान्य रुपमा ‘महाकवि’ उपाधि प्राप्त गर्न सफल एकमात्र महाकवि । नेपाल प्रज्ञा प्रतिष्ठानका संस्थापक यिनी नौवटा भाषाका विशिष्ट प्रतिभा पनि हुन् । यिनका साहित्यिक सिर्जना र हरफहरु सधैं जीवन्त रहनेछन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |