धुलिखेल । सूर्यविनायक– साँगा– धुलिखेल– खावा लगायत जिल्लामा निर्माणाधिन सडकहरुको बारेमा सरोकारवाला निकायहरुको सहभागितामा भएको छलफलमा काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गौरी पार्वती निर्माण सेवा प्रालिले गरेको कामप्रति असन्तुष्टि जाहेर गर्दै कारवाहीका लागि आवश्यक परे तयार रहेको अभिव्यक्ति दिनुभएको छ ।
छलफलमा उठेका जिज्ञासाहरु समाधान गर्ने क्रममा प्रजिअ शर्माको थप कथन थियो– जनताका दैनिकीसँग जोडिएका समस्याका बारेमा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण भएको छ । चाहे सूर्यविनायक–साँगा सडक अन्तर्गत पुरातात्विक महत्वका विषयमा होस् या मुआब्जाका विषयमा होस्, आफ्नो भूमिकाले कहाँसम्म भ्याउँछ, त्यहाँसम्म काम गर्ने प्रतिबद्ध रहेको बताउनुभएको छ । ट्राफिक समस्याका कारण कुनै पनि यात्रुले कष्ट खेप्नु नपरोस् भन्ने अभिप्रायले सुरक्षा निकाय प्रतिबद्ध छ । आयोजनाका नाममा प्राप्त ढुवानी पासहरुको दुरुपयोगतर्फ इंकित गर्दै आयोजना प्रमुखले ति पासहरु प्रयोग गर्ने निर्माण कम्पनीहरुमाथि अनुगमन र निगरानी राख्न समेत निर्देशन दिनुभएको छ । निकै चर्चामा रहेको निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम चरणमा आइपुगेको धुलिखेल–खावा सडकका बारेमा प्रजिअ शर्माले तिखो प्रतिक्रिया राख्दै गौरी पार्वती निर्माण प्रालिको कामबाट आफू मात्र नभई समग्र सरोकारवाला निकाय र काभ्रेली जनता समेत असन्तुष्टि रहेको खुलासा गर्नुभएको छ । हुनेसम्मका सबै विकल्पहरु खुल्ला राख्दै सञ्चार जगत, आयोजना, प्रमुख लगायतका पक्षले सडक बनोस् भन्नाका लागि धेरै कुराहरु थाँती राख्नुभयो र प्रत्येक पाइलामा समन्वय र सहकार्य गर्दै आउनुभएको छ तरपनि निर्माण पक्षले जुन किसिमको टालटुले र खेलाञ्ची गरेको तथ्य आज छलफलमा दिएको अभिव्यक्तिले निकै निराश बनाएको छ ।
प्रशासन प्रमुखको हैसियतमा मैले भन्नुपर्दा निर्माण कम्पनीको लाचारीपन हो यो । उसका प्रस्तुतीले आफूले सन्तुष्टी लिने कुनै ठाउँ नभएको र झारा टार्ने बाहेक केही नभएको महसुस गरेको छु । निर्माणको क्षेत्रमा यति धेरै लापरवाहीलाई के भन्ने ? यो त अति भो, यस किसिमको लापरवाहीलाई क्षम्मे गर्ने कुनै चर छैन । समस्याको बारेमा अन्तिम अवस्थामा आएर जुन टालटुले जवाफ दिएको छ, त्यो अत्यन्तै गैरजिम्मेवार पक्ष हो । सबै तह र तप्काबाट साथ र सहयोग पाउँदा पनि नभएको काम अब हुन्छ भन्ने आधार आफूले नदेखेको खुलासा छलफलमा गर्नुभएको छ । आयोजना प्रमुखतर्फ इंकित गर्दै निर्माण कम्पनीका मिठा–मिठा कुरामा नभुल्न आग्रह गर्ने क्रममा जनतालाई अब भुलाउन सकिन्नँ । काभ्रेली जनताको पनि धैर्यताका बाँध टुटिसकेको छ । निर्माण कम्पनीको लोभमा नफस्न सचेत समेत गराउनुभएको छ । त्यस किमिसका हर्कत भएमा आफूले जिम्मेवारी बहन गरेको निकायमा पत्राचार गर्न समेत पछि नपर्ने जानकारी गराउनुभएको छ । हामी जिम्मेवार तहले समेत निरिह भएर बस्नुपरेको अवस्थामा जनतालाई के भन्ने ? यसको जवाफ अब निर्माण कम्पनीबाट होइन, आयोजना प्रमुखको मुखबाट सुन्न चाहन्छौं । सडक विस्तारका क्रममा सडक आसपासका सार्वजनिक सम्पत्तिप्रति पुगेको क्षतिका बारेमा जिम्मेवारी निकायले दिएको जवाफ गैर जिम्मेवारीपूर्ण छ । आयोजनाले यस किसिमको गैर जिम्मेवारी ढंगबाट प्रतिक्रिया दिनु हाम्रा लागि समेत अस्वभनीय कार्य भएको आफूले महसुस गरेको बताउनुभएको छ । आयोजनाप्रति ध्यानाकर्षण हुन फेरि बाध्य पारेको छ । यदि यो विषयमा गम्भीर हुनुहुन्न भने यहाँबाट निस्कने जुनसुकै परिणामको जिम्मेवार स्वयं आयोजना प्रमुख हुनुपर्ने इंकित गर्दै अप्ठेरो व्यहोर्न सक्ने भएर रहन सचेत गराउनुभएको छ । मिठा कुरा होइन, तिता कुरा राखिदिनुस्, मिठा कुरा होइन काभ्रेली जनताले कामको अपेक्षा राखेका छन् । यो बिडम्बना भन्नुपर्छ, अहिले आएर निर्माण कम्पनीको कार्य क्षमतामाथि नै प्रश्न चिह्न उठेको छ । यो गम्भीर विषय हो, यस किसिमको त्रुटी गर्ने छुट कसैलाई छैन । यसतर्फ जिल्ला प्रशासन कार्यालय काभ्रे गम्भीर भएको छ भन्न प्रजिअ शर्मा पछि पर्नु भएन ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले छलफलमा उठेका विषयवस्तुका बारेमा निष्कर्ष राख्दै सहरी विकास र पूर्वाधार कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । साँगा–धुलिखेल सडक निर्माणको जिम्मेवारी लिएको लामा कन्स्ट्रक्सनको विरासतमा प्रश्न उठाउने काम केही स्थानीयले गराउने संकेत गरेतर्फ गम्भीर हुँदै यस्ता विषयहरुमा सहजीकरण गरेर मुद्दा फिर्ता लिन लगाएर कामलाई निरन्तरता दिन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सानो भुलबाट पनि नागरिकले ज्यान गुमाउन नपरोस्, त्यसतर्फ लामा कन्स्ट्रक्सन सचेत रहनुपर्ने धारणा राख्नुहुँदै धुलिखेल– खावा सडकका बारेमा पछिल्लो समय आफूले अनसन बस्दा भएका सहमतिहरुलाई कार्यान्वयन गर्नुको सट्टा निर्माण व्यवसायी कम्पनीले लत्याउने कार्य गरेकोमा आक्रोश व्यक्त गर्दै आयोजना प्रमुख नै यसको जिम्मेवार पात्र भएको तर्फ लक्षित गर्दै आयोजना प्रमुख मरासिनीको जिम्मामा रहेका जिल्लाका कुनै पनि योजनाहरुका बारेमा सन्तोषजनक नरहेको अभिव्यक्ति दिनुभएको छ । खावा–धुलिखेल सडक मात्र होइन, समग्र काभ्रे जिल्लाभरिका योजनाहरु प्रभावित भएका छन् । आयोजना प्रमुखको हैसियतमा यो कमजोरी स्वीकार्नु पर्छ कि पर्दैन ? अन्तिम अवस्थामा आएर उम्कने बाहना हाम्रा लागि पाच्य छैन । पानी प¥यो, मौसम अनुकूल भएन आदि बहानाहरुले अब अर्थ राख्दैन । २२ महिनासम्म के हेरेर बसियो ? आज आएर पानी, मौसमलाई देखाएर उम्किन खोज्नु बेइमानीको पराकाष्ट भन्दा अर्काे हुन सक्दैन । गौरी पार्वती निर्माण कम्पनीलाई १ दिनको समय मात्रै छ, म हजार गाली खान तयार छु । ४ किलोमिटर सडक निर्माण गर्न साँच्चै आत्मदेखि नै गर्नुपर्छ भन्ने लाग्ने हो भने ३ सिफ्टमा १ हप्ताको काम हो । यहाँ त बहानाबाजी मात्रै देखियो । यो दौरानमा घटेका घटनाहरुको तथ्यांक हेर्ने हो भने कति अंगभंग भए होलान्, कति घाइते भए होलान्, कतिले ज्यान पनि गुमाए होलान्, तिनको क्षतिपूर्ति व्यहोर्न सक्छौ ? के लेखाजोखा छ ? यो अपराध होइन ? किन निर्माण कम्पनी अझै पनि झारा टार्ने किसिमबाट काम गर्दैछ ? सडक निर्माणका क्रममा सार्वजनिक संरचनाका बारेमा डिपिआरमा उल्लेख भएकै हुनुपर्छ । यस किसिमको गैर जिम्मेवारीपूर्ण जवाफ दिएर उन्मुक्ति पाइन्छ ? समस्याबाट भाग्ने भन्दा नि समाधानतर्फ लाग्नुपर्नेमा त्यसतर्फ गम्भीर नभएकोले अनसनको विकल्प छैन । अघिल्लो अनसनमा भएका सहमती तुहाउने काम पाच्य हुन्न । त्यसका लागि आफू जुनसुकै कदम चाल्न पनि तयार रहेको सम्बोधनका क्रममा गौतमले खुलासा गर्नुभएको छ ।
अरनिको राजमार्ग धुलिखेल खावा सडक खण्ड निर्माण व्यवसायीको लापरबाहीले गर्दा भताभुङ्ग भएको छ । जसको कारण राजमार्गमा यात्रा गर्दा यात्रीहरूले चरम सास्ती खेप्न विवश भएका छन् ।
राजमार्गमा यात्रा गर्ने यात्रुहरू साथै सडकका आसपासका बासिन्दाहरूको समस्यालाई मध्यनजर राख्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले जनताले सास्ती भोग्दै गरेको अवस्थालाई टुलुटुलु हेरेर बस्न नसक्ने छलफलका क्रममा थपेका थिए ।
छलफलमा आयोजनाको म्याद थप्ने सवालमा आयोजना प्रमुख मरासिनीले सबै आयोजनाले पाउने सुविधा गौरी पार्वतीले नि पाउने संकेत दिएका छन् । म्याद थप्न पाउने ठेकदारको अधिकार हो, म्याद थपिन्छ, अब २ सय दिन म्याद थप्ने नै किसिमले आयोजना प्रमुख मरासिनीले अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्ति क्षति हुन नदिनतर्फ कुनै योजना नभएको बताएका छन् । “मान्छे मरोस् फरक परेन किरिया खर्च हेरौंला” भन्ने जस्ता जवाफ दिन पछि परेनन् प्रमुख मरासिनी ।
छलफल कार्यक्रममा जिसस उपप्रमुख रिमबहादुर तामाङ, धुलिखेल नगरका उपप्रमुख निराजन जंगम, बनेपा नगर उपप्रमुख विमला सापकोटा, बनेपा नपा वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द केसी, बनेपा वडा नं. १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, बनेपा वडा नं. १३ का वडा अध्यक्ष राम लाल दुवाल लगायत सञ्चारकर्मीहरुले जनताका दैनिक समस्यासँग जोडिएका विषयवस्तुका बारेमा निर्माण कम्पनी तथा सरोकारवाला निकायसँग जवाफ मागेका थिए ।
सोमबार जिल्ला समन्वय समितिको पहलमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख, जिल्ला समन्वय समिति सहितको सुरक्षा निकायहरूको उपस्थिति रहेको थियो ।
चार किलोमिटर सडक स्तर उन्नतीको लागि भ्याट र पि एस सहित २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रा.लिले २०७९।२।२० गते ठेक्का सकारेको थियो । ०८०।१२।१९ सम्ममा कार्य सम्पन्न गर्ने शर्तमा भएको उक्त सम्झौताको समय शतप्रतिशत सकिँदा १६ प्रतिशत मात्रै कार्य सकिएको साथै सडकको अवस्था तहस नहस भएकोले समस्या समाधानको लागि जिल्ला समन्वय समितिले छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
छलफल कार्यक्रममा अन्य ठेकदारले पाउने सुविधा गौरी पार्वतीले पनि पाउने संकेत मरासिनीले दिएका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |