Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनमत र साहित्यिक पत्रकार मोहन दुवाल

प्रभातफेरी अनलाइन ३४७ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलबार (९ महिना अघि)
जनमत र साहित्यिक पत्रकार मोहन दुवाल

मोहन दुवाल, जनमत र बनेपा मेरा आँखा, भाव, विचार तथा विश्वासमा पर्यायका रूपमा रहेका कुरा छन् । सधैँ हँसिलो मुहारमा प्रस्तुत हुने मोहन दुवाललाई जतिखेर भेट्छु त्यतिखेर मेरो हातमा जनमत मासिक खुसुक्क आइपुग्छ । जब म जनमतका पाना बिस्तारै पल्टाउन थाल्छु तब बनेपा त्यहीँ आईपुग्छ । म सोचमग्न बन्छु । मोहन दुवाल, जनमत र बनेपालाई अलगअलग बनाएर पूर्णता प्राप्त गर्न सकिँदैन । अर्थात् एकसाथ हेर्नुृपर्छ । बनेपाली मोहन दुवालले लामो समयदेखि निरन्तर जनमत प्रकाशित गरेर नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा विशिष्ट योगदान दिइरहनु भएको छ ।

बनेपाबाट प्रकाशन थालिएको जनमत यतिबेला देशभित्र मात्र हैन, देश बाहिर नेपाली बहुल परदेशी भूमीमा पनि पुगेको छ । त्यो क्रम निरन्तर छ । रोकिएको छैन हैन त्यस्तो छाँटकाँट पनि देखिन्न । यस्तो कामका लागि मोहन दाइ अर्थात् मोहन दुवाल अहोरात्र खटिरहनु भएको छ । कुनै अवरोधले पनि रोक्नछेक्न सकिरहेको छैन । वरपर वा तलमाथि कतै केही हुन सकिरहेको छैन ।

उहाँ जताततै केवल भाषा साहित्यको संवर्धनको आवश्यकता मात्र देखिरहनु भएको छ । वहाँले देखिरहनु भएको स्थान जनमत मासिक र यसको फराकिलो परिवेश हो । वहाँ त्यहाँ मजाले डुब्नु भएको छ । गहिराईमा पुगेर आफूलाई पूर्ण रूपमा बिर्सनु भएको छ । हजुर यही कारण जनमत ठम्ठम्ती हिँडिरहन सकेको हो । अन्यथा यो आजको अवस्थासम्म आईपुग्न सक्ने नै थिएन । मोहनदाइको उमेर पाको हुँदै गए पनि उहाँमा युवा जोश जाँगर र उमङ्ग छ । थकाईको महशुस पटक्कै गरिरहनु भएको छैन ।

थाक्नेहरू कहीँ पुग्दैनन् । जहाँको त्यहीँ र जस्ताको त्यस्तै हुन्छन् । यो भनिरहनु पर्ने कुरा हैन, आँखा खोल्दा यस्ता दृश्य कति देखिन्छन् कति । गनेर साध्य नै छैन । यसो भनौँ तपाई हाम्रा अगाडि पछाडि वा वर पर यस्ता दृश्य मनग्गे छन् । तीे अर्काको टाउको हालेर हलुङ्गो बन्छन् र आफूलाई बहादुर सम्झन्छन् । जाँगरीलाहरू आफैँ खोज्छन् । आफैँ खन्छन् । आफैँ रोप्छन् । आफैँ हिँड्छन् । आफैँ गन्तव्यमा पुग्छन् । कोही कसैको मुख ताकेर बस्दैनन् । यसो गर्नुलाई ती असक्षमतमाको पराकाष्टा सम्झन्छन् ।

 

खोज्नेहरूका हिँड्ने लक्ष्य र उद्देश्य धेरै हुन्छन् । धेरैले गर्ने काम धेरै नै हुन्छ । धेरैहरूकै माझमा पर्नुहुन्छ साहित्यकार तथा वरिष्ठ सम्पादक मोहन दुवाल पनि । उहाँ विगत ४२ वर्षदेखि मनमा र तनमा जनमत लिएर हिँडिरहनु भएको छ । उहाँभित्र ४२ वर्ष अघिकै जोश, उमङ्ग र जाँगर देख्न सकिन्छ । उमेरले कुनै छेकबार लगाएको छैन । त्यसैले त आफूमात्र निरन्तर हिँडिरहनु भएको हैन अरूहरूलाई पनि हिँड्न प्रेरित गरिरहनु भएको छ ।

जनमतले एउटा ठुलो नयाँ जनमत बनाईरहेको छ । जनमतको काम नै जनमत बढाउनु हो तसर्थ आफ्नो काम निरन्तर गरिरहेको छ । त्यही कामले जनमत धेरैतिर पुग्न सकिरहेको हो । पुग्ने काम अझै रोकिएको छैन । कहिलेसम्म हो त ? प्रश्न हुनसक्छ । प्रश्न हुनु स्वभाविक हो । यसो भन्दा अत्युक्ति नहोला मोहन दाइमा जोश, जाँगर र उमङ्ग रहेसम्म जनमतको यात्रा जारीरहनेछ ।

आज २०७९ साल कार्तिक १८ गते शुक्रवार । बिहानी आकाश छ्याङ्ग खुलेको छ । म आस्थामा रङ्ग खोज्दै सिङ्गो संसार चिहाइरहेछु । मन पोखिन खोज्दैछ । सम्झनाका तरङ्ग छ्यालब्याल बनिरहेछन् । अठोट तृष्णाको पर्खाल ठड्याउने र होच्याउने कार्यमा संलग्न छ । जाँगरहरू चुलिने क्रममा हरेक पटक ढल्दै गइरहेछन् । मनभित्र इच्छा बग्रेल्ती छन् । कल्पनाको क्रम तृष्णाको साङ्लोमा जकडिँदै गएको छ । चिन्तनका दृष्टिविन्दु असरल्ल छन् ।

म आकाङ्क्षा च्याप्प समाएर ठिङ्ग उभिएको छु । न विश्वासको पोखरीमा नुहाएर तृप्तीको चुचुरोमा मस्तसँग घाम ताप्न सकेको छु न त घाम घाम हैन भन्ने अवस्था छ । समय केवल बाँच्ने अभिव्यञ्जना रचिरहेछ । यो यथार्थको बाटो वा पाटो हुन र नहुन दुवै सक्छ । म समयको पछि पछि छु । त्यसैले मन केही खोज्न तल्लीन भएको हो । मन, भाव र भाखा अस्मिताका अग्ला मृगतृष्णाभित्र पल्लवित छन् ।

अनन्त आकाङ्क्षाको रास बोकेर एकहूल वैंश विश्वासको चुचुरो चुम्ने सङ्कल्प गरिरहेछन् । मान्छे केवल प्रयासको एक पाटो हो । सफलता–असफलता समष्टिमा जिन्दगीको पोयो हुन् । अठोट, विश्वास, विचार र आकाङ्क्षा लथ्यका सादा सीमारेखा हुन् । गन्तव्य पथमा त्यही प्राप्तीको निम्ति सिङ्गो जीवन प्रयत्नशील रहन्छ । समग्रतामा गन्तव्य फेलापार्न जिउँदो उत्साह र अठोट चाहिन्छ । नभेट्टाउन पनि सकिएला तर त्यसका निम्ति पहल अनिवार्य शर्त हो । सम्झनाको तरेलीमा अभिलाषा आस्था बोक्छ र विचार कोरल्छ । त्यसैमा बाँच्छ र मर्छ पनि ।

यो धरतीमा जन्म लिएका सबैले एक न एकदिन यहाँबाट अनिवार्य रूपमा जानैपर्छ । कोही कसैको पनि यहाँ स्थायी बसोबास हुनसक्दैन । अर्थात् कोही पनि बसिरहन पाउँदैनन् । यसर्थ आउनेहरूको कतिपयको राम्रो काम गर्ने ध्येय पनि हुन्छ । तर यस्ताहरू सानो सङ्ख्यामा हुन्छन् । मृत्युलाई प्रवेश निषेध भन्दै बस्तीभित्र छिर्नबाट रोक्न छेक्न सकिँदैन । यो जन्मसँगै आउने यथार्थ हो । अनि त्यो रहर पनि हैन हो त नभई वाध्यता नै । त्यसलाई न नङ्ग्याउन न त बङ्ग्याउन वा पर्गेल्नै सकिन्छ । उसले सधैँ जीवन हेरिरहेको हुन्छ । अन्य केही हेर्दैन ।

यतिखेर म आफैँभित्र हराइरहेको छु । खोज्ने प्रयत्न नभएको हैन भएको छ तर पूर्णरूपमा समर्थ हुन सकिरहेको छैन । तथापि प्रयास जारी छ । त्यो आफ्नै गतिमा हिँडिरहेछ । परिस्थिति बेमेल छ । किन त ? सम्झन सकिरहेको छैन । यथार्थ अगाडि ठिङ्ग उभिइरहेछ । ङिच्च दाँत देखाइरहेछ । वरिपरिको परिवेश खोजीरहेछ । तर पनि ओँठ खोल्न सकिरहेको छैन । जीवनको सार्थकता खोज्नेहरू धेरै छन् । मानवीय संचेतना पनि अचम्मको नै लाग्छ ।

मोतीराम भट्टद्वारा बनारसबाट शुरू गरिएको नेपाली साहित्यिक पत्रकारिताले सय वर्षको आयु पूरा गरेको पनि चार दशक हुनै लागेको छ । तर अझै यसका सामु चुनौतीहरू थाकका थाक छन् । समाचारमूलक पत्रकारिताको स्थान राम्रै भए पनि साहित्यिक पत्रकारिताको स्थिति घाट लगेको बिरामी भन्दा पृथक हुन सकिरहेको छैन । इतिहासमा जेठो भएर पनि यसको अवस्था अझै विषम हुनु एउटा सचेत नागरिकको निम्ति खड्किने विषय हो । समय जसरी अगाडि बढेको भएपनि साहित्यिक पत्रपत्रिकाहरू अहिले पनि असहज अवस्थामै छन् ।

नेपाल राष्ट्रभित्रकै सन्दर्भमा प्रसङ्ग कोट्याउँदा पनि वि.सं. १९५५ मा सुधारसागरको प्रथम प्रकाशन भएको समेत एकसय २५ वर्ष नाघिसकेको छ । तथापि साहित्यिक पत्रकारिताको स्थिति सुध्रन सकिरहेको छैन । अर्थात् हिजो जस्तो थियो आज पनि त्यस्तै छ । वितरणको समस्या हिजोदेखि आजसम्म उस्तै छ । एकातिर हुलाक व्यवस्था भरपर्दो छैन भने अर्कोतिर साहित्यिक पत्रपत्रिकाले पहुँच पनि पाएका छैनन् ।
आर्थिक कठिनाई मात्र हैन पाठकसमक्ष पुर्याउने समस्या पनि जिउँदो जाग्दो रूपमा छ । यसै पनि साहित्यिक पाठक पातलै हुन्छन् त्यसमाथि पत्रिका पु¥याउन झन् अप्ठेरो छ । त्यति असहज परिवेश र अमिल्दो समयमा पनि मोतीराम, सुधासागर र सुन्दरीबाट नेपाली भाषीहरूले पाएको सेवा, सद्भाव र स्नेहको अमूल्य थियो । उनीहरूको कहिल्यै तिरी नसकिने ऋण हामीले टाउकोमा बोकेका छौँ । तथापि उनीहरूले थालेको कामलाई निरन्तरता दिन आजका हामीलाई हम्मेहम्मे पररहेको छ ।

विगतभन्दा वर्तमान अझ उद्दण्ड छ । त्यति मात्र हैन विश्रृङ्खलित पनि छ । हरेक कामकुरालाई ऊ लाभसँग तुलना गरिरहेको छ । अर्थसँग जोडीरहेछ । मस्तिष्कमा अन्य कुनै पक्षले काम गरिरहेको देखिँदैन । यसमा पनि बहुमत र अल्पमत छन् । ती धेरै र थोरैमा विभाजित छन् । सङ्ख्यामै गन्न सकिने परिवेश छ । परिस्थिति, आस्था र विश्वास बेग्लाबेगलै छन् । सिमाना, सम्झौता, उपयोग र उपादेयता आआफ्ना छन् । साथमा विचार र विवेक पनि छ । तथापि वर्तमान नाङ्गिने क्रममा अगाडि बढिरहेको छ ।

एउटा विचार बोक्नेहरू वरपर कतै नहेरी आँखा चिम्लँदै आस्थाको बाटो खोजिरहेका छन् । तर हिँड्नेहरू डराइरहेका छैनन्, र डराउँदा पनि डराउँदैनन् । डराउनेहरू त नहिँड्नेहरू नै हुन् । हिँड्नेहरूले कहिल्यै खुट्टा कमाएका छैनन् । हाम्रो मुलुकमा मात्र हैन संसारमै खुट्टा कमाउनेहरू हिँड्दैनन् । हिँड्नेहरू खुट्टा कमाउँदै कमाउँदैनन् । नडराउनेहरूको सङ्ख्या सानो छ । यो स्वाभाविक पनि हो । थोरै नै सही, तर हिँड्नेहरू एउटा आँट बोकेर हिँडिरहेका छन् ।

सन्तोष प्रगतिको विरोधी तत्व हो । यसलाई पूणरूपमा आत्मसात गर्नेहरू हिड्न सक्दैनन् । बसेको बस्यै गर्छन् । तर मनभित्र चाहना बोकेर पाइला चालनेहरू गन्तव्य पुगिरहेका छन् । तिनीहरूमा जोश, जाँगर, उमङ्ग, उत्साह, हौसला र केही गरौँ भन्ने सोच छ । ती बलियो सोच बोकेर हिँड्छन् । अनि एकपटक हैन निरन्तर हिँडिरहन्छन् । हो, यसरी हिँडिरहेका पात्रमध्येका एउटा सुपात्र हुनुहुन्छ मोहन दुवाल ।
मोहन दुवाल जनमत लिएर गाउँ, बजार, सहर सबैतिर हिँडिरहनु भएको छ । देशको सिमानाभित्र मात्र हैन बाहिर पनि पुग्नु भएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा जनमतले बलियो जनमत बनाईरहेको छ । अनेकौँ सर्जक जन्माउन, हुर्काउन र बढाउन कम्मर कसेर लागिरहेको छ । दूरदराजमा बसेका तथा अवसर नपाएका स्रष्टा हरूलाई फक्रन, फैलन र मगमगाउँदोसँग फुल्न प्रोत्साहित गरिरहेको छ ।
जतिबेला मेरा आँखा, हात र भावमा जनमतको स्वरूप प्रतिबिम्बित हुन्छ त्यतिखेर म सिङ्गो बनेपा मुस्कुराइरहेको पाउँछु । आगन्तुकहरूलाई स्वागतको मन्दमुस्कान पस्केर आतिथ्य सत्कारको सद्भाव ओछ्याइरहेको भेट्छु । अनि मेरो मन जनमत र बनेपा एकै सिक्काका दुई पाटा रहेछन् भन्ने ठम्याइमा पुग्छ । जनमतले बनेपा र बनेपाले जनमतलाई हर हमेशा अँगालीरहेको महशुस गर्छु ।

जनमतले देशको सिमाभन्दा पनि धेरै टाढा आफ्नो सेवा पुर्याइसकेको छ । नेपाली भाषा साहित्यलाई माया गर्नेहरू धेरैले जनमतसँग साइनो गाँसेर माया साटासाट गरिरहेका देखिरहेको छु । मलाई जनमत, बनेपा र मोहन दुवाल पृथक पृथक नाम हुन झैं लाग्दैलाग्दैन । कताकता जनमत, बनेपा र मोहन दुवालको बिचमा पृथक अर्थ खोज्नु न्यायसङ्गत नहोला कि जस्तो लाग्छ ।

भाषा साहित्यलाई अत्यन्तै माया गर्ने जनमत र मोहन दुवालको नाम मेरो छातीमा अग्रस्थानमा छ । यी दुवै नामलाई सम्मान र आदर गर्छु । यी दुवैको अत्यन्तै आदर, सत्कार, सम्मान र प्रेम छ भाषा साहित्यप्रति । यसकारण म यी नाम कहिल्यै बिर्सन सक्दिनँ । यी मेरो मन मुटु र छातीमा सधैँ अमर र अजर बनेर बसिरहेका छन् ।

एकातिर भाषा साहित्य र संस्कृतिलाई बेकार जस्तै ठानेर वास्ता नगर्नेहरूको लामो फेहरिस्त बोक्दै सरोकारवालाहरू उघ्राइरहेका छन् भने अर्कोतिर बनेपा ती सबैलाई मौन भाषामा दुत्कारी रहेको छ । औँला ठड्याई रहेको छ । आफ्नो स्वभावजस्तै अरूलाई पनि बन्न आग्रह गरिरहेको छ । हौसला प्रदान गरिरहेछ । सहयोगमा बढेको हातमा सद्भावको पत्रपुष्प राखेर उत्साही पाइलालाई अझै अगाडि बढ्न उकासी रहेछ । र अगाडि, अगाडि अझै अगाडि प्रगतिपथतिर पाइला बढाउन सुझाव र सल्लाह दिइरहेछ ।

बनेपाकै सरल सहज सल्लाहमा बढिरहेछन् जनमतका पाइला । विषम सोच, चिन्तन र दृष्टिकोणमा पनि ऊ सयौं खुट्किला उक्लन सफल बन्यो । बनेपाको बलियो भरथेग नभैदिएको भए सायद यो सफलताको खुडकिलो उक्लँदै शिखरमा पुग्न पक्कै अप्ठेरो पथ्र्यो होला । तर बनेपाको सहृदयी हातको माया पाएको जनमतले त्यो असहज परिस्थिति आत्मसात गर्नु परेन । यो देखेर मेरो मन मस्तिष्क छाती र छाती गद्गद् बनिरहेको छ ।
जनमतले बनेपाबाट अझ धेरै माया, सम्मान र स्नेह आगामी दिनमा पाइरहने छ भन्नेमा शङ्का गर्ने ठाउँ छैन । अन्यथा सोच्नु बनेपामाथि न्याय नगरेको ठहरिन्छ । आफ्नो स्नेहील छत्रछायाँमा उम्रेको मुनालाई कसैले टेडो नजरले हेर्दैन । त्यसो भए सर्जकले विध्वंस स्वीकार्नुु पर्ने हुन्छ । बनेपाका स्नेहील हातहरू सधैं जनमतको साथमा रहनेछन् भन्नेमा सत्प्रतिशत आशावादी हुन सकिन्छ ।

सिद्धान्त र दर्शनको आदर्श बोक्दैमा कोही पनि महान बन्न सक्दैन । व्यवहारको सार्थकता खोज्नु नै असल पक्षको सही उद्घाटन हो । ती दुवैको व्यावहारिक पक्ष हेरेर मात्र कुनै कुराको पनि सग्लो परिक्षण गर्न सकिन्छ । यो नै सत्यको शाश्वत पक्ष हो । हामी आआफ्ना आदर्श बोकेर फूटवल मैदानका खेलाडीझैं दगुरी रहेछौं । अधिकार खोज्दा कर्तव्यको पनि ख्याल पुर्याउनु पर्ने हो, तर हाम्रा नजर त्यता गैरहेका छैनन् ।
कर्तव्य गर्नेहरू एकजुट भए कसैले पनि अधिकार काखी च्यापेर हिँडिरहन सक्दैन । यो सोचमा पुग्नु आजको आवश्यकता हो । हामी आफूलाई नेपाली हौं भन्ने ठान्छौं र छाती ठाडो पारेर हिँड्ने कल्पना गर्छौ भने हामो आँखा भाषा, साहित्य र संस्कृतिको विकास, उत्थान र प्रगतितिर लाग्नै पर्छ । यो कुरा धेरै अघि सोचिनु पथ्र्यो तर दुःखको कुरा त्यस्तो हुन सकिरहेको छैन । अब पनि जिम्मेवार निकाय र सचेत व्यक्तिहरूको ध्यान त्यतातिर मोडिन नसके हामीसँग भविष्यमा पछुताउनु भन्दा बढी केही बाँकी रहँदैन ।

हाम्रो हरेक क्षेत्रमा अतिक्रमण भैरहेको छ तापनि भाषा, साहित्य र संस्कृतिको क्षेत्र सबभन्दा बढी ग्रसित छ । विकृति र विसङ्गतिको थुप्रो लागिसकेको छ तर भित्रिने क्रम अझै रोकिइसकेको छैन । समयमै ध्यान पुर्याउनु पर्ने हो समयमै ध्यान पुर्याउन नसके पछि छिनोफानो गर्न अप्ठेरो पर्ने हुन्छ । अन्यथा भविष्यमा थाम्नै नसकिने परिस्थिति देखा पर्नसक्ब्छ भन्ने कुरामा शङ्का गर्ने ठाउँ छैन । यसर्थ जिम्मेवार निकायले आँखा चिम्लियो भन्दैमा समाजका सचेत प्रवुद्धवर्गले आँखा चिम्लेर बस्ने बेला छैन । त्यसो भए त्यो देशको निम्ति घातै गरिएको ठहर्छ ।

सम्भवतः अधिकार र कर्तव्यप्रति बनेपा सचेत भएकै कारण जनमत आफ्नो बाटो हिँडिरहेको हो । पाइला चाल्ने काम जनमत तथा इशारा गरेर डोर्याउने दायित्व बनेपाको हो । हिँड्दाहिँड्दै बाटोमा अलमलिए देखाउन काम स्वयम् बनेपाको हो यसैले ऊ अग्रसर बन्नु आवश्यक छ । सही मार्ग औँलै समातेर भए पनि देखाउनुपर्छ सह । विकासको वास्तविक अर्थ केवल आर्थिक प्रगतिमात्र होइन । उद्योगधन्दा र कलकारखानाको उच्चतम बृद्धिमात्र पनि हैन । त्यसो हुन्थ्यो भने आज हामीले विकसित र चेतनशील ठानेका राष्ट्रहरूभन्दा पनिअरू केही मुलुकहरू धनी छन् तर तिनीहरूको नाम आज अगाडि हैन पछाडिको पछाडि नै छन् । आर्थिक रूपले सम्पन्न भए कैयौँ राष्टङहरू सधैँ पछिाडिको पछाडि नैै छन् । अर्थात् मानवीय संशाधनको विकासमा पछाडि छन् । त्यसैले ती विकसित राष्ट्रको कोटीमा उक्लन सक्दैनन् ।

भाषा, साहित्य र संस्कृतिको विकासबिनाको आर्थिक उन्नतिले कुनै पनि देशको गरिमा अग्लो वा उँचो हुँदैन । मानवीय पक्षलाई पाखा लगाएर गरिएको प्रगति दिगो रहन सक्दैन । त्यसकारण विकासको अवधारणासँगै मानवीय उन्नतिको पाटोलाई समेट्नु आवश्यक छ । विचार, चिन्तन्, सोच र दृष्टिकोण पनि सदैव अगाडि बढाइनु पर्छ । तिनका मन मस्तिष्कभित्र भाषा, साहित्य, संस्कृति र कलाकोविचार शून्य छैन । त्यसैले निर्धक्क भई विविध वाधा, व्यवधान, अड्चन, अप्ठेरा र असजिला पन्छाउँदै निर्दिष्ट स्थानमा पुग्नको लागि पाइला चालिरहेछन् । यस्तै जनमत न्यूनसङ्ख्यामा भए पनि पाइला चाल्नेको सङ्ख्यामा रहेकाहरूको लाममा उभिएको छ । अनि जनमतलाई अझै अगाडि बढाउने प्रयत्नमा सार्थक सारथी बन्नु भएको छ मोहन दुवाल ।

हिजोदेखि आजसम्म नै देशको साहित्यिक पत्रकारिताको अवस्था अत्यन्तै नाजुक छ । कैयौं पत्रपत्रिकाले अल्पायुमै मृत्युवरण गरिसकेका छन् । कैयौं त्यही अवस्थासम्म आइपुगेका छन् । कतिपय चाहिँ मधौरोको रूपमा जीवित छन् । स्थिति दाँत देखाएर ट्वालट्वाल्ती हेरिरहेको छ । कुनै पनि सज्जनको दृष्टि यतापट्टि मोडिन सकिरहेको छैन । जिम्मेवार निकाय साहित्यिक पत्रपत्रिकालाई विज्ञापन दिनु वा सहयोग गर्नु फजुल खर्च सम्झिरहेछन् ।

उसका आँखा विगतका मेला पस्दैनन् । केवल आगत हेरिरहेछन् । त्यसैले विना सरम तथा सङ्कोच नकारात्मक सोच राखिरहेछन् । भाव बिना हिचकिचाहट र सन्देह आँखा तरिरहेछन् । यतिमात्र हैन धारेहातले मनमनै गाली गरिरहेका छने । किन यसको सखल्दो उत्तर छैन । विगत भूलेर वर्तमानमा रमाउनेहरूले गर्ने काम पनि यति मात्र हो ।

आजको हाम्रो पढेलेखेको र प्रबुद्ध भनिने शैक्षिक जमात् पनि भाषा साहित्यप्रति अनुदार छ । अर्थात् आवश्यक जति संवेदनशील छैन । उसको नजरमा वर्तमानबाहेक भूत र भविष्यका रेखाचित्र भेटिनु चारकोशे झाडीमा कस्तुरी तथा हिमालमा गैंडा, हात्ती उपलब्ध हुनु जत्तिकै हो । यो भन्दा बढी केही पनि हैन र पनि सक्दैन ।

हामी होटल रेष्टुँराभित्र छिरेर सयौँ अनि हजारौं रूपैयाँ खर्चन सक्छौँ तर भाषा, साहित्य, कला र संस्कृतिको विकास, संरक्षण अनि सम्बद्र्धनमा पाँच रूपैंया खर्चन पनि मन अमिलो तुल्याउँछौं । यही हो सबैले बुझ्ने र कोही कसैले पनि बुझ्दै नबुझ्ने कुरा । यो दिशामा हामीले कहिल्यै सोचेका छौं त ? छैनौँ । यही बुझ्नै नसकिने अवस्था ।

भाषा, जाति, राष्ट्र र राष्ट्रियताको नारा जति लगाए पनि त्यो खोक्रो आदर्शसिवाय अरू केही हुन सकिरहेको छैन । बातचित, छलफल, भेटघाट र वक्तव्यबाजीका क्रममा अमेरिका, जापान र चीन आदर्श बन्छन् तर ती राष्ट्रहरूले त्यहाँ पुग्न कति परिश्रम गरे, इतिहासको कालखण्डमा उनीहरूको जातिय, भाषिक र सांस्कृतिक आन्दोलनको स्थिति के कस्तो रह्यो, कति पाइला पछि हटेपछि अगाडि बढ्न सके यी र यस्ता कुरा हाम्रा मानसपटलमा अझै प्रतिबिम्बित हुन सकिरहेका छैनन् ।

करिब हजार वर्ष अघिदेखि प्रजातन्त्रको प्रयोग अनि उपयोग गर्दै आएको बेलायत तथा तीनसय वर्ष अघिदेखि त्यसकै प्रयोग र परीक्षणमा तल्लीन अमेरिका हाम्रा आदर्श बन्छन् । तर तिनीहरूले त्यहाँ पुग्न गर्नुपरेको सयौँ सङ्घर्षबाट पूर्ण रूपमा अनभिज्ञ छौं । छोटो अवधिमा प्रगति गरेका जापान, इजरायल, चीन तथा दक्षिण कोरियालाई समेत वर्तमान स्थितिमा पुर्याउन जनताले के कति परिश्रम गर्नु प¥यो यो यथार्थबाट पनि अत्यन्तै टाढा छौं ।

हाम्रो चिन्तन र मन मस्तिष्क खै किन हो किन दूरदराजमा पोखिएको छm । बिनापरिश्रम मेहनत र उत्साहले एकाएक सम्पन्न हुने दिवास्वप्न देखिरहेका छौं । यो मरूभूमिमा पौडने कल्पना भन्दाबढी केही होइन भन्दा सायद अत्युक्ति नहोला । तर पनि हामी कर्ममा विश्वास गर्न सकिरहेका छैनौँ । कर्ममा कहिल्यै विश्वास नगर्नेहरू सधैँ पछिको पछि नै पर्ने हा कनकि ती कहिल्यै अगाडि पुग्न सक्दैनन् ।

एउटा साहित्यिक पत्रिकाको सयौं अङ्क ? सम्भवत अरू मुलुकमा यो कुनै प्रसङ्ग नहोला तर हाम्रोमा यो कार्य सगरमाथा उक्लनु जत्तिकै कठिन हो । हुँदै नभएको र गर्दै नगरिएको कार्य पनि पक्कै होइन । तर यस्ता काम अत्यन्तै कम भएका छन् यो चाहिँ किटेरै भन्न सकिन्छ । नेपालमा सयौँ अङ्कको सगरमाथा चढ्ने पत्रिका कमसेकम दुइ हातको औँलामा गन्न सकिन्छन् होला । तीनसयभन्दा माथि पुग्ने साहित्यिक पत्रिका त एउटा पनि छैन ।

साहित्यिक पत्रिकामा सगरमाथाको आरोहीको लाममा उभिने जनमत मात्र हो । त्यति अङ्क निकाले जनमत सगरमाथाको शिखरमै पुग्न सफल भएको छ । मेरो पनि जनमतसँग मित्रता गाँसिएको तीन दशकभन्दा अलि बढी भयो होला । तिथिमिति चाहिँ यकिनका साथ भन्न सक्दिनँ । मैले पढेको पहिलो जनमत कतिऔं अङ्क थियो त्यो हेक्का पनि छैन ।

साहित्यिक पत्रिका कति अङ्कसम्म बाँच्ने होलान् कुन्नी ? जनमत सम्बन्धमा पनि अरूप्रति जस्तै पछिसम्म यस्तै सोच थियो । कल्पनाको पेटारो त्योभन्दा माथि पुग्ने साहसै गर्दैनथ्यो । यस खालका पत्रपत्रिकामा छापिएका रचनाबाट न कसैलाई हानी नोक्सानी हुन्छ न त असजिलो नै पर्छ । यसले कोही कसैलाई तलमाथि पार्न सक्दैन । अझ सान्दर्भिक प्रसङ्ग त कुनै नेतालाई चुनावमा हराउन न त जिताउनै सक्छ । यसैगरी न कसैलाई भष्टाचारी भन्दै डङ्का पिटाउन सक्छ न त कुनै भ्रष्टाचारीलाई निर्दोष सावित गराउन सक्छ । त्यसैले कसैको पनि साहित्यिक पत्रपत्रिकाको उत्थानमा ध्यान आकृष्ट नहुनुलाई अचम्म नमान्दा हुन्छ ।

म अन्यत्रको सन्दर्भ र प्रसङ्ग कोट्याइरहेको छैन । मेरो देश, मेरो माटो र मेरो यथार्थ वर्तमानको प्रसङ्ग पर्गेल्दै छु । यसको संरक्षण, विकास र प्रगतिको निम्ति सम्बन्धित निकाय र जिम्मेवारहरू यस विषयमा सोचेर आफ्ना मूल्यवान समय खेर फाल्दैनन् । आजको आर्थिक युगमा बिना कामको प्रसङ्गले मस्तिष्कमा स्थान पाउनु तिनीहरूको सोचभित्र पक्कै राम्रो होइन । साहित्य के हो, समाजलाई के दिन्छ र के अपेक्षा राख्छ, भन्ने सवालमा सत्तासिनहरूलाई कुनै वास्ता हुँदैन । आफ्ना स्वार्थमा देशको सपना भजाउनेहरूसँग सत्यको अपेक्षा गर्नु पनि किमार्थ राम्रो होइन । तर पनि हाम्रा बुद्धिजीवी र सचेत वर्ग अपेक्षा गरिरहेको छ । यो आवश्यकता र बाध्यता दुवै हो । स्थिति असहज र विकृत छ भन्ने जान्दाजान्दै पनि हामी विवशता अँगाल्न बाध्य छौं ।

ती अप्ठेरा, असजिला र असहज परिवेशबाट मुक्त होला त जनमत ? अहँ छैन होला । अरूहरू कुनै पत्रिका पनि छैनन् भने जनमत एक्लै हुने कुरै भएन । यसर्थ जनमत यात्रामा निरन्तर पाइला बढाइरहेछ । आफ्नो बाटो आफैं बनाइ रहेछ । फोहर कसिङ्गर पन्छाई रहेछ ! खोतलिरहेछ र हिँडिरहेछ । त्यसैको प्रतिफल यसले सयौँभन्दा कति हो कति माथि खुड्किला बनाईसकेको छ । उत्थानका निम्ति यथेष्ट कार्यहरू गरिनुपर्छ अनिमात्र विकासको परिभाषा पूर्ण हुन्छ । अन्यथा त्यसको अर्थ सत्य हुन सक्दैन ।

लिच्छवी र मल्लकालको कला संस्कृति भजाएर आज आफूलाई जीवित ठानिरहेका हामीहरू भोलिको सन्ततिका निम्ति के गरिरहेका छौं त, हाम्रा मानमस्तिष्क यतातिर गैरहेको छ त ? सोच्नुपर्ने बेला आइसकेको छ । अहिले नसोचे कहिले सोच्ने ? तर यतिखेरसम्म हाम्रो सोचाइ अगाडि बढिरहेझैँ लाग्दैन ।

यदि पुर्खाहरू चुपो लागेर बसिदिएको भए हामीले आफ्नो चिनारी कसरी दिन्थ्यौं ? तर दुर्भाग्य आज तिनै पुर्खाहरूले छाडेर गएका धरोहरहरूलाई समेत उचित सुरक्षा र संरक्षण गर्न सकिरहेका छैनौं । योभन्दा लाजमर्दो विषय अरू के हुन सक्ला र ? अरूले दिएको पनि जोगाउन नसक्नेहरूहरूले आफूले नवनिर्माण गर्न कहाँबाट गर्न सक्नु ? यो नै आजको वर्तमान हो । इतिहासका पाना पल्टाउँदा हाम्रो पुर्खा आफ्नो पहिचान जोगाउन जति सचेत थिए आजका अत्यन्त प्रबुद्ध मानिएका हामी स्वघोषित बुद्धिजीवी त्यति छैनौँ भन्दा कुनै सङ्कोच मान्नु पर्दैन ।
यतातिर कामै नभएको त पक्कै हैन । तर हुनुपर्ने जति चाहिँ नभएकै हो । सङ्ख्यामा न्यून नै सही आफूलाई यस क्षेत्रमा समर्पण गर्नेहरूको अभाव पनि छैन । जुन गतिमा भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा नयाँ कार्यको शुभारम्भ गरिनुपथ्र्यो, प्रोत्साहन प्रदान हुनुपथ्र्यो त्यतातिरचाहिँ कसैको ध्यान आकर्षित हुन सकिरहेको छैन । जति शासक फेरिए पनि यो क्षेत्रलाई सकारात्मक रूपमा हेर्नेहरू न्यून सङ्ख्यामा छन् । पहुँच बाहिर बस्दा सकारात्मक बन्नेहरू पहुँचमा पुग्नेबित्तिकै नकारात्मक बनेको वा सकारात्मक नै देखिए पनि एउटा सिन्कोसम्म नभाँचेको यथार्थ दिउँसोको घामझैं छर्लङ्गै छ ।

जिम्मेवार निकायहरूको सोच जस्तोसुकै भएपनि निजी पहल र सक्रियतामा काम हुन छाडेका छैनन् । सहृदयीहरू छन् । मनग्गे सोचहरू आइरहेका छन् । आवश्यकतानुसार चिन्तनहरू निर्माण गरिएका छन् । विचारमा विश्वासको सगरमाथा चढ्नेहरू अझै छन् । आफूलाई समर्पण गर्ने अनन्त मन पनि छन् । यथा स्थानबाट हामीले पनि क्यै न क्यै गरिरहनु पर्छ है भन्ने उर्वर भावहरू समेत छन् । त्यसैले त जनमतहरू हिँडिरहेछन् । मोहन दुवालहरू बाटो खनी रहनु भएको छ । सम्याइ रहनु भएको छ । अनि बनेपाहरू उत्साहका पाइलालाई तनमनले साथ दिइरहेछन् ।

बनेपालाई काँधमा बोकेर हिँडिरहनु भएका मोहन दुवाल नेपाली साहित्यका वरिष्ठ साधक हुनुहुन्छ । उहाँका दुईदर्जन बढी कृति प्रकाशित छन् । वरिष्ठ सर्जक दुवालको आस्था जनमत बनेको छ । साहित्यलाई बेकारको विषय ठान्नेहरूको माझमा बसेर पनि जनमत जनमत जितिरहेको छ । भन्नेहरू आफैँदेखि हारिरहेछन् । उहाँको छाती मात्र हैन मनमस्ष्कि सबैतिर उत्साहको सिङ्गो पाटो र चिन्तन छ । छातीको पटाङ्गिनीमा ऊर्जाशील मस्तिष्क र कल्पनाशील चिन्तन बोक्नु भएका दुवाल विचारको पर्खाल नाघिरहनु भएको छ । उहाँको यात्रालाई थुप्रै शुभचिन्तनका सहकर्मी र सहृदयीले सघाइरहेछन् । सदभाव पस्किरहेछन् । उहाँ निश्चिन्तभै आफ्नो बाटो हिँडिरनु भएको छ ।

आफूलाई एउटा अभियानमा समर्पण गर्नु भएका दुवाल हिँडिरहनुभएको छ । हिँडाइरहनु भएको छ । हौसला प्रदान गरिरहनु भएको छ । बाटाघाटामा भेटिएकाहरू समेत उत्साहित बनिरहेका छन् । उहाँको जोश र जाँगरले साहित्यिक पत्रकारिताको छर्लङ्ग भिजेको छ । आस्थाको फूलबारीमा कल्पनाको विरूवा रोपेर उहाँ गोडमेल गरिरहनु भएको छ । उहाँको प्रयासमा साथ दिने पहिलो काम बनेपाको माटोले गरेको छ । त्यसैको प्रेरणामा उहाँ दिलोज्यानले खटिरहनु भएको छ । मरिमेटी रहनु भएको छ । माटोको हौसलामा उहाँको यात्रा क्रमशः अगाडि बढिरहेछ । उहाँले पाइरहेको बनेपाको माया अझै चुलियोस । केही गरौं भन्ने पाइतालाले कहिल्यै थकाइको महसूस गर्न नपरोस् भन्ने शुभेच्छाको पुष्प गुच्छा अर्पण गर्नु म आफ्नो प्रथम कर्तव्य सम्झन्छु ।

मेरो सोचमा जनमत, बनेपा र मोहन दुवाल एक अर्कामा पर्याय बनेको छ । एकको अभावमा अर्काको पूर्णता खोज्नु सायद उपयुक्त नहोला कि ? तसर्थ भन्न मन लागेको छ त्यो साथ कहिल्यै नछुटोस् र आगामी दिनमा पनि जनमतको यात्रा निरन्तर निरन्तर रही रहोस् । हजारौं अङ्क प्रकाशित गर्ने आँट उम्रियोस् ।

बनेपाले अझ बढी माया पाउन सक्षम बनोस् र यात्रामा बाटो लर्बरिएछ यदि भनेपनि बाटो देखाउने कार्य गरोस् । अनि ती सबको तारतम्य मिलाउने काममा मोहन दुवालमा आजसम्म देखिएको जाँगर र जोशले निरन्तरता थपिँदै जाओस् भन्ने कामना गर्नु सान्दर्भिक ठान्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0