
प्रभातफेरी अनलाइन ३४७ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलबार (९ महिना अघि)
मोहन दुवाल, जनमत र बनेपा मेरा आँखा, भाव, विचार तथा विश्वासमा पर्यायका रूपमा रहेका कुरा छन् । सधैँ हँसिलो मुहारमा प्रस्तुत हुने मोहन दुवाललाई जतिखेर भेट्छु त्यतिखेर मेरो हातमा जनमत मासिक खुसुक्क आइपुग्छ । जब म जनमतका पाना बिस्तारै पल्टाउन थाल्छु तब बनेपा त्यहीँ आईपुग्छ । म सोचमग्न बन्छु । मोहन दुवाल, जनमत र बनेपालाई अलगअलग बनाएर पूर्णता प्राप्त गर्न सकिँदैन । अर्थात् एकसाथ हेर्नुृपर्छ । बनेपाली मोहन दुवालले लामो समयदेखि निरन्तर जनमत प्रकाशित गरेर नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा विशिष्ट योगदान दिइरहनु भएको छ ।
बनेपाबाट प्रकाशन थालिएको जनमत यतिबेला देशभित्र मात्र हैन, देश बाहिर नेपाली बहुल परदेशी भूमीमा पनि पुगेको छ । त्यो क्रम निरन्तर छ । रोकिएको छैन हैन त्यस्तो छाँटकाँट पनि देखिन्न । यस्तो कामका लागि मोहन दाइ अर्थात् मोहन दुवाल अहोरात्र खटिरहनु भएको छ । कुनै अवरोधले पनि रोक्नछेक्न सकिरहेको छैन । वरपर वा तलमाथि कतै केही हुन सकिरहेको छैन ।
उहाँ जताततै केवल भाषा साहित्यको संवर्धनको आवश्यकता मात्र देखिरहनु भएको छ । वहाँले देखिरहनु भएको स्थान जनमत मासिक र यसको फराकिलो परिवेश हो । वहाँ त्यहाँ मजाले डुब्नु भएको छ । गहिराईमा पुगेर आफूलाई पूर्ण रूपमा बिर्सनु भएको छ । हजुर यही कारण जनमत ठम्ठम्ती हिँडिरहन सकेको हो । अन्यथा यो आजको अवस्थासम्म आईपुग्न सक्ने नै थिएन । मोहनदाइको उमेर पाको हुँदै गए पनि उहाँमा युवा जोश जाँगर र उमङ्ग छ । थकाईको महशुस पटक्कै गरिरहनु भएको छैन ।

थाक्नेहरू कहीँ पुग्दैनन् । जहाँको त्यहीँ र जस्ताको त्यस्तै हुन्छन् । यो भनिरहनु पर्ने कुरा हैन, आँखा खोल्दा यस्ता दृश्य कति देखिन्छन् कति । गनेर साध्य नै छैन । यसो भनौँ तपाई हाम्रा अगाडि पछाडि वा वर पर यस्ता दृश्य मनग्गे छन् । तीे अर्काको टाउको हालेर हलुङ्गो बन्छन् र आफूलाई बहादुर सम्झन्छन् । जाँगरीलाहरू आफैँ खोज्छन् । आफैँ खन्छन् । आफैँ रोप्छन् । आफैँ हिँड्छन् । आफैँ गन्तव्यमा पुग्छन् । कोही कसैको मुख ताकेर बस्दैनन् । यसो गर्नुलाई ती असक्षमतमाको पराकाष्टा सम्झन्छन् ।
खोज्नेहरूका हिँड्ने लक्ष्य र उद्देश्य धेरै हुन्छन् । धेरैले गर्ने काम धेरै नै हुन्छ । धेरैहरूकै माझमा पर्नुहुन्छ साहित्यकार तथा वरिष्ठ सम्पादक मोहन दुवाल पनि । उहाँ विगत ४२ वर्षदेखि मनमा र तनमा जनमत लिएर हिँडिरहनु भएको छ । उहाँभित्र ४२ वर्ष अघिकै जोश, उमङ्ग र जाँगर देख्न सकिन्छ । उमेरले कुनै छेकबार लगाएको छैन । त्यसैले त आफूमात्र निरन्तर हिँडिरहनु भएको हैन अरूहरूलाई पनि हिँड्न प्रेरित गरिरहनु भएको छ ।
जनमतले एउटा ठुलो नयाँ जनमत बनाईरहेको छ । जनमतको काम नै जनमत बढाउनु हो तसर्थ आफ्नो काम निरन्तर गरिरहेको छ । त्यही कामले जनमत धेरैतिर पुग्न सकिरहेको हो । पुग्ने काम अझै रोकिएको छैन । कहिलेसम्म हो त ? प्रश्न हुनसक्छ । प्रश्न हुनु स्वभाविक हो । यसो भन्दा अत्युक्ति नहोला मोहन दाइमा जोश, जाँगर र उमङ्ग रहेसम्म जनमतको यात्रा जारीरहनेछ ।
आज २०७९ साल कार्तिक १८ गते शुक्रवार । बिहानी आकाश छ्याङ्ग खुलेको छ । म आस्थामा रङ्ग खोज्दै सिङ्गो संसार चिहाइरहेछु । मन पोखिन खोज्दैछ । सम्झनाका तरङ्ग छ्यालब्याल बनिरहेछन् । अठोट तृष्णाको पर्खाल ठड्याउने र होच्याउने कार्यमा संलग्न छ । जाँगरहरू चुलिने क्रममा हरेक पटक ढल्दै गइरहेछन् । मनभित्र इच्छा बग्रेल्ती छन् । कल्पनाको क्रम तृष्णाको साङ्लोमा जकडिँदै गएको छ । चिन्तनका दृष्टिविन्दु असरल्ल छन् ।
म आकाङ्क्षा च्याप्प समाएर ठिङ्ग उभिएको छु । न विश्वासको पोखरीमा नुहाएर तृप्तीको चुचुरोमा मस्तसँग घाम ताप्न सकेको छु न त घाम घाम हैन भन्ने अवस्था छ । समय केवल बाँच्ने अभिव्यञ्जना रचिरहेछ । यो यथार्थको बाटो वा पाटो हुन र नहुन दुवै सक्छ । म समयको पछि पछि छु । त्यसैले मन केही खोज्न तल्लीन भएको हो । मन, भाव र भाखा अस्मिताका अग्ला मृगतृष्णाभित्र पल्लवित छन् ।
अनन्त आकाङ्क्षाको रास बोकेर एकहूल वैंश विश्वासको चुचुरो चुम्ने सङ्कल्प गरिरहेछन् । मान्छे केवल प्रयासको एक पाटो हो । सफलता–असफलता समष्टिमा जिन्दगीको पोयो हुन् । अठोट, विश्वास, विचार र आकाङ्क्षा लथ्यका सादा सीमारेखा हुन् । गन्तव्य पथमा त्यही प्राप्तीको निम्ति सिङ्गो जीवन प्रयत्नशील रहन्छ । समग्रतामा गन्तव्य फेलापार्न जिउँदो उत्साह र अठोट चाहिन्छ । नभेट्टाउन पनि सकिएला तर त्यसका निम्ति पहल अनिवार्य शर्त हो । सम्झनाको तरेलीमा अभिलाषा आस्था बोक्छ र विचार कोरल्छ । त्यसैमा बाँच्छ र मर्छ पनि ।
यो धरतीमा जन्म लिएका सबैले एक न एकदिन यहाँबाट अनिवार्य रूपमा जानैपर्छ । कोही कसैको पनि यहाँ स्थायी बसोबास हुनसक्दैन । अर्थात् कोही पनि बसिरहन पाउँदैनन् । यसर्थ आउनेहरूको कतिपयको राम्रो काम गर्ने ध्येय पनि हुन्छ । तर यस्ताहरू सानो सङ्ख्यामा हुन्छन् । मृत्युलाई प्रवेश निषेध भन्दै बस्तीभित्र छिर्नबाट रोक्न छेक्न सकिँदैन । यो जन्मसँगै आउने यथार्थ हो । अनि त्यो रहर पनि हैन हो त नभई वाध्यता नै । त्यसलाई न नङ्ग्याउन न त बङ्ग्याउन वा पर्गेल्नै सकिन्छ । उसले सधैँ जीवन हेरिरहेको हुन्छ । अन्य केही हेर्दैन ।
यतिखेर म आफैँभित्र हराइरहेको छु । खोज्ने प्रयत्न नभएको हैन भएको छ तर पूर्णरूपमा समर्थ हुन सकिरहेको छैन । तथापि प्रयास जारी छ । त्यो आफ्नै गतिमा हिँडिरहेछ । परिस्थिति बेमेल छ । किन त ? सम्झन सकिरहेको छैन । यथार्थ अगाडि ठिङ्ग उभिइरहेछ । ङिच्च दाँत देखाइरहेछ । वरिपरिको परिवेश खोजीरहेछ । तर पनि ओँठ खोल्न सकिरहेको छैन । जीवनको सार्थकता खोज्नेहरू धेरै छन् । मानवीय संचेतना पनि अचम्मको नै लाग्छ ।
मोतीराम भट्टद्वारा बनारसबाट शुरू गरिएको नेपाली साहित्यिक पत्रकारिताले सय वर्षको आयु पूरा गरेको पनि चार दशक हुनै लागेको छ । तर अझै यसका सामु चुनौतीहरू थाकका थाक छन् । समाचारमूलक पत्रकारिताको स्थान राम्रै भए पनि साहित्यिक पत्रकारिताको स्थिति घाट लगेको बिरामी भन्दा पृथक हुन सकिरहेको छैन । इतिहासमा जेठो भएर पनि यसको अवस्था अझै विषम हुनु एउटा सचेत नागरिकको निम्ति खड्किने विषय हो । समय जसरी अगाडि बढेको भएपनि साहित्यिक पत्रपत्रिकाहरू अहिले पनि असहज अवस्थामै छन् ।
नेपाल राष्ट्रभित्रकै सन्दर्भमा प्रसङ्ग कोट्याउँदा पनि वि.सं. १९५५ मा सुधारसागरको प्रथम प्रकाशन भएको समेत एकसय २५ वर्ष नाघिसकेको छ । तथापि साहित्यिक पत्रकारिताको स्थिति सुध्रन सकिरहेको छैन । अर्थात् हिजो जस्तो थियो आज पनि त्यस्तै छ । वितरणको समस्या हिजोदेखि आजसम्म उस्तै छ । एकातिर हुलाक व्यवस्था भरपर्दो छैन भने अर्कोतिर साहित्यिक पत्रपत्रिकाले पहुँच पनि पाएका छैनन् ।
आर्थिक कठिनाई मात्र हैन पाठकसमक्ष पुर्याउने समस्या पनि जिउँदो जाग्दो रूपमा छ । यसै पनि साहित्यिक पाठक पातलै हुन्छन् त्यसमाथि पत्रिका पु¥याउन झन् अप्ठेरो छ । त्यति असहज परिवेश र अमिल्दो समयमा पनि मोतीराम, सुधासागर र सुन्दरीबाट नेपाली भाषीहरूले पाएको सेवा, सद्भाव र स्नेहको अमूल्य थियो । उनीहरूको कहिल्यै तिरी नसकिने ऋण हामीले टाउकोमा बोकेका छौँ । तथापि उनीहरूले थालेको कामलाई निरन्तरता दिन आजका हामीलाई हम्मेहम्मे पररहेको छ ।
विगतभन्दा वर्तमान अझ उद्दण्ड छ । त्यति मात्र हैन विश्रृङ्खलित पनि छ । हरेक कामकुरालाई ऊ लाभसँग तुलना गरिरहेको छ । अर्थसँग जोडीरहेछ । मस्तिष्कमा अन्य कुनै पक्षले काम गरिरहेको देखिँदैन । यसमा पनि बहुमत र अल्पमत छन् । ती धेरै र थोरैमा विभाजित छन् । सङ्ख्यामै गन्न सकिने परिवेश छ । परिस्थिति, आस्था र विश्वास बेग्लाबेगलै छन् । सिमाना, सम्झौता, उपयोग र उपादेयता आआफ्ना छन् । साथमा विचार र विवेक पनि छ । तथापि वर्तमान नाङ्गिने क्रममा अगाडि बढिरहेको छ ।
एउटा विचार बोक्नेहरू वरपर कतै नहेरी आँखा चिम्लँदै आस्थाको बाटो खोजिरहेका छन् । तर हिँड्नेहरू डराइरहेका छैनन्, र डराउँदा पनि डराउँदैनन् । डराउनेहरू त नहिँड्नेहरू नै हुन् । हिँड्नेहरूले कहिल्यै खुट्टा कमाएका छैनन् । हाम्रो मुलुकमा मात्र हैन संसारमै खुट्टा कमाउनेहरू हिँड्दैनन् । हिँड्नेहरू खुट्टा कमाउँदै कमाउँदैनन् । नडराउनेहरूको सङ्ख्या सानो छ । यो स्वाभाविक पनि हो । थोरै नै सही, तर हिँड्नेहरू एउटा आँट बोकेर हिँडिरहेका छन् ।
सन्तोष प्रगतिको विरोधी तत्व हो । यसलाई पूणरूपमा आत्मसात गर्नेहरू हिड्न सक्दैनन् । बसेको बस्यै गर्छन् । तर मनभित्र चाहना बोकेर पाइला चालनेहरू गन्तव्य पुगिरहेका छन् । तिनीहरूमा जोश, जाँगर, उमङ्ग, उत्साह, हौसला र केही गरौँ भन्ने सोच छ । ती बलियो सोच बोकेर हिँड्छन् । अनि एकपटक हैन निरन्तर हिँडिरहन्छन् । हो, यसरी हिँडिरहेका पात्रमध्येका एउटा सुपात्र हुनुहुन्छ मोहन दुवाल ।
मोहन दुवाल जनमत लिएर गाउँ, बजार, सहर सबैतिर हिँडिरहनु भएको छ । देशको सिमानाभित्र मात्र हैन बाहिर पनि पुग्नु भएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा जनमतले बलियो जनमत बनाईरहेको छ । अनेकौँ सर्जक जन्माउन, हुर्काउन र बढाउन कम्मर कसेर लागिरहेको छ । दूरदराजमा बसेका तथा अवसर नपाएका स्रष्टा हरूलाई फक्रन, फैलन र मगमगाउँदोसँग फुल्न प्रोत्साहित गरिरहेको छ ।
जतिबेला मेरा आँखा, हात र भावमा जनमतको स्वरूप प्रतिबिम्बित हुन्छ त्यतिखेर म सिङ्गो बनेपा मुस्कुराइरहेको पाउँछु । आगन्तुकहरूलाई स्वागतको मन्दमुस्कान पस्केर आतिथ्य सत्कारको सद्भाव ओछ्याइरहेको भेट्छु । अनि मेरो मन जनमत र बनेपा एकै सिक्काका दुई पाटा रहेछन् भन्ने ठम्याइमा पुग्छ । जनमतले बनेपा र बनेपाले जनमतलाई हर हमेशा अँगालीरहेको महशुस गर्छु ।
जनमतले देशको सिमाभन्दा पनि धेरै टाढा आफ्नो सेवा पुर्याइसकेको छ । नेपाली भाषा साहित्यलाई माया गर्नेहरू धेरैले जनमतसँग साइनो गाँसेर माया साटासाट गरिरहेका देखिरहेको छु । मलाई जनमत, बनेपा र मोहन दुवाल पृथक पृथक नाम हुन झैं लाग्दैलाग्दैन । कताकता जनमत, बनेपा र मोहन दुवालको बिचमा पृथक अर्थ खोज्नु न्यायसङ्गत नहोला कि जस्तो लाग्छ ।
भाषा साहित्यलाई अत्यन्तै माया गर्ने जनमत र मोहन दुवालको नाम मेरो छातीमा अग्रस्थानमा छ । यी दुवै नामलाई सम्मान र आदर गर्छु । यी दुवैको अत्यन्तै आदर, सत्कार, सम्मान र प्रेम छ भाषा साहित्यप्रति । यसकारण म यी नाम कहिल्यै बिर्सन सक्दिनँ । यी मेरो मन मुटु र छातीमा सधैँ अमर र अजर बनेर बसिरहेका छन् ।
एकातिर भाषा साहित्य र संस्कृतिलाई बेकार जस्तै ठानेर वास्ता नगर्नेहरूको लामो फेहरिस्त बोक्दै सरोकारवालाहरू उघ्राइरहेका छन् भने अर्कोतिर बनेपा ती सबैलाई मौन भाषामा दुत्कारी रहेको छ । औँला ठड्याई रहेको छ । आफ्नो स्वभावजस्तै अरूलाई पनि बन्न आग्रह गरिरहेको छ । हौसला प्रदान गरिरहेछ । सहयोगमा बढेको हातमा सद्भावको पत्रपुष्प राखेर उत्साही पाइलालाई अझै अगाडि बढ्न उकासी रहेछ । र अगाडि, अगाडि अझै अगाडि प्रगतिपथतिर पाइला बढाउन सुझाव र सल्लाह दिइरहेछ ।
बनेपाकै सरल सहज सल्लाहमा बढिरहेछन् जनमतका पाइला । विषम सोच, चिन्तन र दृष्टिकोणमा पनि ऊ सयौं खुट्किला उक्लन सफल बन्यो । बनेपाको बलियो भरथेग नभैदिएको भए सायद यो सफलताको खुडकिलो उक्लँदै शिखरमा पुग्न पक्कै अप्ठेरो पथ्र्यो होला । तर बनेपाको सहृदयी हातको माया पाएको जनमतले त्यो असहज परिस्थिति आत्मसात गर्नु परेन । यो देखेर मेरो मन मस्तिष्क छाती र छाती गद्गद् बनिरहेको छ ।
जनमतले बनेपाबाट अझ धेरै माया, सम्मान र स्नेह आगामी दिनमा पाइरहने छ भन्नेमा शङ्का गर्ने ठाउँ छैन । अन्यथा सोच्नु बनेपामाथि न्याय नगरेको ठहरिन्छ । आफ्नो स्नेहील छत्रछायाँमा उम्रेको मुनालाई कसैले टेडो नजरले हेर्दैन । त्यसो भए सर्जकले विध्वंस स्वीकार्नुु पर्ने हुन्छ । बनेपाका स्नेहील हातहरू सधैं जनमतको साथमा रहनेछन् भन्नेमा सत्प्रतिशत आशावादी हुन सकिन्छ ।
सिद्धान्त र दर्शनको आदर्श बोक्दैमा कोही पनि महान बन्न सक्दैन । व्यवहारको सार्थकता खोज्नु नै असल पक्षको सही उद्घाटन हो । ती दुवैको व्यावहारिक पक्ष हेरेर मात्र कुनै कुराको पनि सग्लो परिक्षण गर्न सकिन्छ । यो नै सत्यको शाश्वत पक्ष हो । हामी आआफ्ना आदर्श बोकेर फूटवल मैदानका खेलाडीझैं दगुरी रहेछौं । अधिकार खोज्दा कर्तव्यको पनि ख्याल पुर्याउनु पर्ने हो, तर हाम्रा नजर त्यता गैरहेका छैनन् ।
कर्तव्य गर्नेहरू एकजुट भए कसैले पनि अधिकार काखी च्यापेर हिँडिरहन सक्दैन । यो सोचमा पुग्नु आजको आवश्यकता हो । हामी आफूलाई नेपाली हौं भन्ने ठान्छौं र छाती ठाडो पारेर हिँड्ने कल्पना गर्छौ भने हामो आँखा भाषा, साहित्य र संस्कृतिको विकास, उत्थान र प्रगतितिर लाग्नै पर्छ । यो कुरा धेरै अघि सोचिनु पथ्र्यो तर दुःखको कुरा त्यस्तो हुन सकिरहेको छैन । अब पनि जिम्मेवार निकाय र सचेत व्यक्तिहरूको ध्यान त्यतातिर मोडिन नसके हामीसँग भविष्यमा पछुताउनु भन्दा बढी केही बाँकी रहँदैन ।
हाम्रो हरेक क्षेत्रमा अतिक्रमण भैरहेको छ तापनि भाषा, साहित्य र संस्कृतिको क्षेत्र सबभन्दा बढी ग्रसित छ । विकृति र विसङ्गतिको थुप्रो लागिसकेको छ तर भित्रिने क्रम अझै रोकिइसकेको छैन । समयमै ध्यान पुर्याउनु पर्ने हो समयमै ध्यान पुर्याउन नसके पछि छिनोफानो गर्न अप्ठेरो पर्ने हुन्छ । अन्यथा भविष्यमा थाम्नै नसकिने परिस्थिति देखा पर्नसक्ब्छ भन्ने कुरामा शङ्का गर्ने ठाउँ छैन । यसर्थ जिम्मेवार निकायले आँखा चिम्लियो भन्दैमा समाजका सचेत प्रवुद्धवर्गले आँखा चिम्लेर बस्ने बेला छैन । त्यसो भए त्यो देशको निम्ति घातै गरिएको ठहर्छ ।
सम्भवतः अधिकार र कर्तव्यप्रति बनेपा सचेत भएकै कारण जनमत आफ्नो बाटो हिँडिरहेको हो । पाइला चाल्ने काम जनमत तथा इशारा गरेर डोर्याउने दायित्व बनेपाको हो । हिँड्दाहिँड्दै बाटोमा अलमलिए देखाउन काम स्वयम् बनेपाको हो यसैले ऊ अग्रसर बन्नु आवश्यक छ । सही मार्ग औँलै समातेर भए पनि देखाउनुपर्छ सह । विकासको वास्तविक अर्थ केवल आर्थिक प्रगतिमात्र होइन । उद्योगधन्दा र कलकारखानाको उच्चतम बृद्धिमात्र पनि हैन । त्यसो हुन्थ्यो भने आज हामीले विकसित र चेतनशील ठानेका राष्ट्रहरूभन्दा पनिअरू केही मुलुकहरू धनी छन् तर तिनीहरूको नाम आज अगाडि हैन पछाडिको पछाडि नै छन् । आर्थिक रूपले सम्पन्न भए कैयौँ राष्टङहरू सधैँ पछिाडिको पछाडि नैै छन् । अर्थात् मानवीय संशाधनको विकासमा पछाडि छन् । त्यसैले ती विकसित राष्ट्रको कोटीमा उक्लन सक्दैनन् ।
भाषा, साहित्य र संस्कृतिको विकासबिनाको आर्थिक उन्नतिले कुनै पनि देशको गरिमा अग्लो वा उँचो हुँदैन । मानवीय पक्षलाई पाखा लगाएर गरिएको प्रगति दिगो रहन सक्दैन । त्यसकारण विकासको अवधारणासँगै मानवीय उन्नतिको पाटोलाई समेट्नु आवश्यक छ । विचार, चिन्तन्, सोच र दृष्टिकोण पनि सदैव अगाडि बढाइनु पर्छ । तिनका मन मस्तिष्कभित्र भाषा, साहित्य, संस्कृति र कलाकोविचार शून्य छैन । त्यसैले निर्धक्क भई विविध वाधा, व्यवधान, अड्चन, अप्ठेरा र असजिला पन्छाउँदै निर्दिष्ट स्थानमा पुग्नको लागि पाइला चालिरहेछन् । यस्तै जनमत न्यूनसङ्ख्यामा भए पनि पाइला चाल्नेको सङ्ख्यामा रहेकाहरूको लाममा उभिएको छ । अनि जनमतलाई अझै अगाडि बढाउने प्रयत्नमा सार्थक सारथी बन्नु भएको छ मोहन दुवाल ।
हिजोदेखि आजसम्म नै देशको साहित्यिक पत्रकारिताको अवस्था अत्यन्तै नाजुक छ । कैयौं पत्रपत्रिकाले अल्पायुमै मृत्युवरण गरिसकेका छन् । कैयौं त्यही अवस्थासम्म आइपुगेका छन् । कतिपय चाहिँ मधौरोको रूपमा जीवित छन् । स्थिति दाँत देखाएर ट्वालट्वाल्ती हेरिरहेको छ । कुनै पनि सज्जनको दृष्टि यतापट्टि मोडिन सकिरहेको छैन । जिम्मेवार निकाय साहित्यिक पत्रपत्रिकालाई विज्ञापन दिनु वा सहयोग गर्नु फजुल खर्च सम्झिरहेछन् ।
उसका आँखा विगतका मेला पस्दैनन् । केवल आगत हेरिरहेछन् । त्यसैले विना सरम तथा सङ्कोच नकारात्मक सोच राखिरहेछन् । भाव बिना हिचकिचाहट र सन्देह आँखा तरिरहेछन् । यतिमात्र हैन धारेहातले मनमनै गाली गरिरहेका छने । किन यसको सखल्दो उत्तर छैन । विगत भूलेर वर्तमानमा रमाउनेहरूले गर्ने काम पनि यति मात्र हो ।
आजको हाम्रो पढेलेखेको र प्रबुद्ध भनिने शैक्षिक जमात् पनि भाषा साहित्यप्रति अनुदार छ । अर्थात् आवश्यक जति संवेदनशील छैन । उसको नजरमा वर्तमानबाहेक भूत र भविष्यका रेखाचित्र भेटिनु चारकोशे झाडीमा कस्तुरी तथा हिमालमा गैंडा, हात्ती उपलब्ध हुनु जत्तिकै हो । यो भन्दा बढी केही पनि हैन र पनि सक्दैन ।
हामी होटल रेष्टुँराभित्र छिरेर सयौँ अनि हजारौं रूपैयाँ खर्चन सक्छौँ तर भाषा, साहित्य, कला र संस्कृतिको विकास, संरक्षण अनि सम्बद्र्धनमा पाँच रूपैंया खर्चन पनि मन अमिलो तुल्याउँछौं । यही हो सबैले बुझ्ने र कोही कसैले पनि बुझ्दै नबुझ्ने कुरा । यो दिशामा हामीले कहिल्यै सोचेका छौं त ? छैनौँ । यही बुझ्नै नसकिने अवस्था ।
भाषा, जाति, राष्ट्र र राष्ट्रियताको नारा जति लगाए पनि त्यो खोक्रो आदर्शसिवाय अरू केही हुन सकिरहेको छैन । बातचित, छलफल, भेटघाट र वक्तव्यबाजीका क्रममा अमेरिका, जापान र चीन आदर्श बन्छन् तर ती राष्ट्रहरूले त्यहाँ पुग्न कति परिश्रम गरे, इतिहासको कालखण्डमा उनीहरूको जातिय, भाषिक र सांस्कृतिक आन्दोलनको स्थिति के कस्तो रह्यो, कति पाइला पछि हटेपछि अगाडि बढ्न सके यी र यस्ता कुरा हाम्रा मानसपटलमा अझै प्रतिबिम्बित हुन सकिरहेका छैनन् ।
करिब हजार वर्ष अघिदेखि प्रजातन्त्रको प्रयोग अनि उपयोग गर्दै आएको बेलायत तथा तीनसय वर्ष अघिदेखि त्यसकै प्रयोग र परीक्षणमा तल्लीन अमेरिका हाम्रा आदर्श बन्छन् । तर तिनीहरूले त्यहाँ पुग्न गर्नुपरेको सयौँ सङ्घर्षबाट पूर्ण रूपमा अनभिज्ञ छौं । छोटो अवधिमा प्रगति गरेका जापान, इजरायल, चीन तथा दक्षिण कोरियालाई समेत वर्तमान स्थितिमा पुर्याउन जनताले के कति परिश्रम गर्नु प¥यो यो यथार्थबाट पनि अत्यन्तै टाढा छौं ।
हाम्रो चिन्तन र मन मस्तिष्क खै किन हो किन दूरदराजमा पोखिएको छm । बिनापरिश्रम मेहनत र उत्साहले एकाएक सम्पन्न हुने दिवास्वप्न देखिरहेका छौं । यो मरूभूमिमा पौडने कल्पना भन्दाबढी केही होइन भन्दा सायद अत्युक्ति नहोला । तर पनि हामी कर्ममा विश्वास गर्न सकिरहेका छैनौँ । कर्ममा कहिल्यै विश्वास नगर्नेहरू सधैँ पछिको पछि नै पर्ने हा कनकि ती कहिल्यै अगाडि पुग्न सक्दैनन् ।
एउटा साहित्यिक पत्रिकाको सयौं अङ्क ? सम्भवत अरू मुलुकमा यो कुनै प्रसङ्ग नहोला तर हाम्रोमा यो कार्य सगरमाथा उक्लनु जत्तिकै कठिन हो । हुँदै नभएको र गर्दै नगरिएको कार्य पनि पक्कै होइन । तर यस्ता काम अत्यन्तै कम भएका छन् यो चाहिँ किटेरै भन्न सकिन्छ । नेपालमा सयौँ अङ्कको सगरमाथा चढ्ने पत्रिका कमसेकम दुइ हातको औँलामा गन्न सकिन्छन् होला । तीनसयभन्दा माथि पुग्ने साहित्यिक पत्रिका त एउटा पनि छैन ।
साहित्यिक पत्रिकामा सगरमाथाको आरोहीको लाममा उभिने जनमत मात्र हो । त्यति अङ्क निकाले जनमत सगरमाथाको शिखरमै पुग्न सफल भएको छ । मेरो पनि जनमतसँग मित्रता गाँसिएको तीन दशकभन्दा अलि बढी भयो होला । तिथिमिति चाहिँ यकिनका साथ भन्न सक्दिनँ । मैले पढेको पहिलो जनमत कतिऔं अङ्क थियो त्यो हेक्का पनि छैन ।
साहित्यिक पत्रिका कति अङ्कसम्म बाँच्ने होलान् कुन्नी ? जनमत सम्बन्धमा पनि अरूप्रति जस्तै पछिसम्म यस्तै सोच थियो । कल्पनाको पेटारो त्योभन्दा माथि पुग्ने साहसै गर्दैनथ्यो । यस खालका पत्रपत्रिकामा छापिएका रचनाबाट न कसैलाई हानी नोक्सानी हुन्छ न त असजिलो नै पर्छ । यसले कोही कसैलाई तलमाथि पार्न सक्दैन । अझ सान्दर्भिक प्रसङ्ग त कुनै नेतालाई चुनावमा हराउन न त जिताउनै सक्छ । यसैगरी न कसैलाई भष्टाचारी भन्दै डङ्का पिटाउन सक्छ न त कुनै भ्रष्टाचारीलाई निर्दोष सावित गराउन सक्छ । त्यसैले कसैको पनि साहित्यिक पत्रपत्रिकाको उत्थानमा ध्यान आकृष्ट नहुनुलाई अचम्म नमान्दा हुन्छ ।
म अन्यत्रको सन्दर्भ र प्रसङ्ग कोट्याइरहेको छैन । मेरो देश, मेरो माटो र मेरो यथार्थ वर्तमानको प्रसङ्ग पर्गेल्दै छु । यसको संरक्षण, विकास र प्रगतिको निम्ति सम्बन्धित निकाय र जिम्मेवारहरू यस विषयमा सोचेर आफ्ना मूल्यवान समय खेर फाल्दैनन् । आजको आर्थिक युगमा बिना कामको प्रसङ्गले मस्तिष्कमा स्थान पाउनु तिनीहरूको सोचभित्र पक्कै राम्रो होइन । साहित्य के हो, समाजलाई के दिन्छ र के अपेक्षा राख्छ, भन्ने सवालमा सत्तासिनहरूलाई कुनै वास्ता हुँदैन । आफ्ना स्वार्थमा देशको सपना भजाउनेहरूसँग सत्यको अपेक्षा गर्नु पनि किमार्थ राम्रो होइन । तर पनि हाम्रा बुद्धिजीवी र सचेत वर्ग अपेक्षा गरिरहेको छ । यो आवश्यकता र बाध्यता दुवै हो । स्थिति असहज र विकृत छ भन्ने जान्दाजान्दै पनि हामी विवशता अँगाल्न बाध्य छौं ।
ती अप्ठेरा, असजिला र असहज परिवेशबाट मुक्त होला त जनमत ? अहँ छैन होला । अरूहरू कुनै पत्रिका पनि छैनन् भने जनमत एक्लै हुने कुरै भएन । यसर्थ जनमत यात्रामा निरन्तर पाइला बढाइरहेछ । आफ्नो बाटो आफैं बनाइ रहेछ । फोहर कसिङ्गर पन्छाई रहेछ ! खोतलिरहेछ र हिँडिरहेछ । त्यसैको प्रतिफल यसले सयौँभन्दा कति हो कति माथि खुड्किला बनाईसकेको छ । उत्थानका निम्ति यथेष्ट कार्यहरू गरिनुपर्छ अनिमात्र विकासको परिभाषा पूर्ण हुन्छ । अन्यथा त्यसको अर्थ सत्य हुन सक्दैन ।
लिच्छवी र मल्लकालको कला संस्कृति भजाएर आज आफूलाई जीवित ठानिरहेका हामीहरू भोलिको सन्ततिका निम्ति के गरिरहेका छौं त, हाम्रा मानमस्तिष्क यतातिर गैरहेको छ त ? सोच्नुपर्ने बेला आइसकेको छ । अहिले नसोचे कहिले सोच्ने ? तर यतिखेरसम्म हाम्रो सोचाइ अगाडि बढिरहेझैँ लाग्दैन ।
यदि पुर्खाहरू चुपो लागेर बसिदिएको भए हामीले आफ्नो चिनारी कसरी दिन्थ्यौं ? तर दुर्भाग्य आज तिनै पुर्खाहरूले छाडेर गएका धरोहरहरूलाई समेत उचित सुरक्षा र संरक्षण गर्न सकिरहेका छैनौं । योभन्दा लाजमर्दो विषय अरू के हुन सक्ला र ? अरूले दिएको पनि जोगाउन नसक्नेहरूहरूले आफूले नवनिर्माण गर्न कहाँबाट गर्न सक्नु ? यो नै आजको वर्तमान हो । इतिहासका पाना पल्टाउँदा हाम्रो पुर्खा आफ्नो पहिचान जोगाउन जति सचेत थिए आजका अत्यन्त प्रबुद्ध मानिएका हामी स्वघोषित बुद्धिजीवी त्यति छैनौँ भन्दा कुनै सङ्कोच मान्नु पर्दैन ।
यतातिर कामै नभएको त पक्कै हैन । तर हुनुपर्ने जति चाहिँ नभएकै हो । सङ्ख्यामा न्यून नै सही आफूलाई यस क्षेत्रमा समर्पण गर्नेहरूको अभाव पनि छैन । जुन गतिमा भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा नयाँ कार्यको शुभारम्भ गरिनुपथ्र्यो, प्रोत्साहन प्रदान हुनुपथ्र्यो त्यतातिरचाहिँ कसैको ध्यान आकर्षित हुन सकिरहेको छैन । जति शासक फेरिए पनि यो क्षेत्रलाई सकारात्मक रूपमा हेर्नेहरू न्यून सङ्ख्यामा छन् । पहुँच बाहिर बस्दा सकारात्मक बन्नेहरू पहुँचमा पुग्नेबित्तिकै नकारात्मक बनेको वा सकारात्मक नै देखिए पनि एउटा सिन्कोसम्म नभाँचेको यथार्थ दिउँसोको घामझैं छर्लङ्गै छ ।
जिम्मेवार निकायहरूको सोच जस्तोसुकै भएपनि निजी पहल र सक्रियतामा काम हुन छाडेका छैनन् । सहृदयीहरू छन् । मनग्गे सोचहरू आइरहेका छन् । आवश्यकतानुसार चिन्तनहरू निर्माण गरिएका छन् । विचारमा विश्वासको सगरमाथा चढ्नेहरू अझै छन् । आफूलाई समर्पण गर्ने अनन्त मन पनि छन् । यथा स्थानबाट हामीले पनि क्यै न क्यै गरिरहनु पर्छ है भन्ने उर्वर भावहरू समेत छन् । त्यसैले त जनमतहरू हिँडिरहेछन् । मोहन दुवालहरू बाटो खनी रहनु भएको छ । सम्याइ रहनु भएको छ । अनि बनेपाहरू उत्साहका पाइलालाई तनमनले साथ दिइरहेछन् ।
बनेपालाई काँधमा बोकेर हिँडिरहनु भएका मोहन दुवाल नेपाली साहित्यका वरिष्ठ साधक हुनुहुन्छ । उहाँका दुईदर्जन बढी कृति प्रकाशित छन् । वरिष्ठ सर्जक दुवालको आस्था जनमत बनेको छ । साहित्यलाई बेकारको विषय ठान्नेहरूको माझमा बसेर पनि जनमत जनमत जितिरहेको छ । भन्नेहरू आफैँदेखि हारिरहेछन् । उहाँको छाती मात्र हैन मनमस्ष्कि सबैतिर उत्साहको सिङ्गो पाटो र चिन्तन छ । छातीको पटाङ्गिनीमा ऊर्जाशील मस्तिष्क र कल्पनाशील चिन्तन बोक्नु भएका दुवाल विचारको पर्खाल नाघिरहनु भएको छ । उहाँको यात्रालाई थुप्रै शुभचिन्तनका सहकर्मी र सहृदयीले सघाइरहेछन् । सदभाव पस्किरहेछन् । उहाँ निश्चिन्तभै आफ्नो बाटो हिँडिरनु भएको छ ।
आफूलाई एउटा अभियानमा समर्पण गर्नु भएका दुवाल हिँडिरहनुभएको छ । हिँडाइरहनु भएको छ । हौसला प्रदान गरिरहनु भएको छ । बाटाघाटामा भेटिएकाहरू समेत उत्साहित बनिरहेका छन् । उहाँको जोश र जाँगरले साहित्यिक पत्रकारिताको छर्लङ्ग भिजेको छ । आस्थाको फूलबारीमा कल्पनाको विरूवा रोपेर उहाँ गोडमेल गरिरहनु भएको छ । उहाँको प्रयासमा साथ दिने पहिलो काम बनेपाको माटोले गरेको छ । त्यसैको प्रेरणामा उहाँ दिलोज्यानले खटिरहनु भएको छ । मरिमेटी रहनु भएको छ । माटोको हौसलामा उहाँको यात्रा क्रमशः अगाडि बढिरहेछ । उहाँले पाइरहेको बनेपाको माया अझै चुलियोस । केही गरौं भन्ने पाइतालाले कहिल्यै थकाइको महसूस गर्न नपरोस् भन्ने शुभेच्छाको पुष्प गुच्छा अर्पण गर्नु म आफ्नो प्रथम कर्तव्य सम्झन्छु ।
मेरो सोचमा जनमत, बनेपा र मोहन दुवाल एक अर्कामा पर्याय बनेको छ । एकको अभावमा अर्काको पूर्णता खोज्नु सायद उपयुक्त नहोला कि ? तसर्थ भन्न मन लागेको छ त्यो साथ कहिल्यै नछुटोस् र आगामी दिनमा पनि जनमतको यात्रा निरन्तर निरन्तर रही रहोस् । हजारौं अङ्क प्रकाशित गर्ने आँट उम्रियोस् ।
बनेपाले अझ बढी माया पाउन सक्षम बनोस् र यात्रामा बाटो लर्बरिएछ यदि भनेपनि बाटो देखाउने कार्य गरोस् । अनि ती सबको तारतम्य मिलाउने काममा मोहन दुवालमा आजसम्म देखिएको जाँगर र जोशले निरन्तरता थपिँदै जाओस् भन्ने कामना गर्नु सान्दर्भिक ठान्दछु ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |