logo
२०८३ भाद्र १०, बुधबार |
📰
🔍

जनमत वाङ्मय प्रतिष्ठानको सम्मान कार्यक्रम

प्रभातफेरी अनलाइन१३५ पटक पढिएको | २०८२ पौष ९, बुधबार
जनमत वाङ्मय प्रतिष्ठानको सम्मान कार्यक्रम

काठमाडौँ/ नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा आज जनमत वाङ्मय प्रतिष्ठानको २०८२ सालको पहिलो चरणको सम्मान कार्यक्रम सम्पन्न भयो । जनमतको आफ्नै स्वागतगानबाट सुरु भएको उक्त साहित्यिक कार्यक्रम जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका सचिव सिर्जना दुवालले सहभागी सबैको स्वागत गर्दै जनमत सबैको साहित्यिक छहारी रहेको कुरा बताउनु भयो । उक्त कार्यक्रममा जनमतको अभियानबारे आफ्नो राय राख्नुहुँदै दुवालले जनमतले सबै साहित्यकारहरुको सम्मान गर्दै, साहित्यकारहरुको परिचय गराउँदै, साहित्यिक पुस्तकहरुको प्रकाशन गर्दै, पुस्तकालय खोलेर साहित्यिक ज्ञान गराउँदै आएको र महिना–महिनामा निरन्तर नियमित साहित्यिक पत्रिका जनमत मासिक प्रकाशित गर्दै साहित्यिक सेवा पु¥याउँदै आएको विवरण सुनाउनुहुँदै ‘जनमत’ प्रत्येक महिना ६६ जिल्लामा पुग्ने गर्छ भन्नुभयो । हामी साहित्यिक क्षेत्रमा विभेद सोच्ने गर्दैनौं, साहित्यकार प्रगतिशील र प्रजातन्त्रवादीका रुपमा विभाजित हुननहुने आफ्नो विचार सुनाउँदै देशको समसामयिक विषयमा लेखेको कविता ‘सिंहदरबारहरु जलेको सुनिरहेछु’ सुनाउनुहुँदै देश दुखेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
जनमतको भव्य स्रष्टा सम्मान कार्यक्रमको समुद्घाटन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ‘जनमत’ साहित्यिक क्षेत्रको एक किसिमको चर्चित ‘ब्रान्ड’ बनिसकेको छ । ‘जनमत’ मासिक ३३८ अङ्क प्रकाशन हुनु, ४२औं वर्ष साहित्यसेवामा लागेर आफूलाई चिनाईरहन सक्नु जनमतको आफ्नै मौलिक पहिचान बनिसकेको छ । यसै सन्दर्भमा उहाँले भाषा, संस्कृति, साहित्य सबै वर्गको, सबै जातिको, सबै भाषीको बनाउने अभियानमा नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो भूमिका निभाइरहेको कुरा सुनाउनु भयो ।
उपसभामुख तथा समाजसेवी इन्दिरा राना मगरले साहित्यकार पारिजातसँगको सरसङ्गतले समाजसेवा गर्ने अवसर प्राप्त भएको र साहित्यप्रति लगाव बढ्दै गएको आफ्नो अनुभव सुनाउनुहुँदै जनमतले समाजसेवीका रुपमा साहित्यकारहरुमाझ चिनाईदिनु भएकोमा धन्यवाद दिनुहुँदै एउटा कर्णप्रिय गीत सुनाउनु भयो ।
नेपालभाषा एकेडेमीका कुलपति तथा लेखक मल्ल के. सुन्दरले “मोहन दुवाल जनमत र साहित्यिक क्रियाकलापमार्फत् साहित्यिकजगत्मा आफूलाई सक्रिय रुपमा चिनाउन सफल एकजना अभियन्ता हुन् । मेरा समकालीन मित्र मोहन दुवालले साहित्यमा पु¥याउनुभएको योगदान महत्वपूर्ण छ” भन्नुभयो ।
सम्मानितहरुका तर्फबाट मन्तव्य प्रकट गर्नुहुँदै साहित्यकार निर्मोही व्यासले जनमतका तर्फबाट गौरवपूर्ण साहित्यिक सम्मान प्राप्त गर्नपाएकोमा खुसी व्यक्त गर्नुहुँदै “अरु सम्मानहरुभन्दा छुट्टैखालको गौरवपूर्ण सम्मान प्राप्त गर्न पाएको छु – यस खालका गौरवपूर्ण जनमतको सम्मानले मेरो व्यक्तित्वलाई अझ उजागर गरिदिने काम भएको छ त्यसैले म जनमतप्रति विशेष आभार प्रकट गर्दछु” भन्नुभयो ।
उक्त कार्यक्रममा साहित्यकार निर्मोही व्यासलाई दीपा–जनमत सम्मानबाट ने.प्र.प्र.का कुलपति भूपाल राईले, गीतकार/ सङ्गीतकार श्याम तमोटलाई गणेश/ खिलकुमारी दुवाल–जनमत सम्मानबाट नेपाल भाषा एकेडेमीका कुलपति तथा लेखक मल्ल के. सुन्दरले, कला–समीक्षक तथा कलाकार ज्ञानेन्द्र विवशलाई जनमत–महेन्द्रलाल कलाकार सम्मानले वरिष्ठ कलाकार राधेश्याम मुल्मीले, साहित्यिक पत्रकार तथा लेखक बाजुराम पौडेललाई भारती–जनमत साहित्यिक पत्रकारिता सम्मानबाट समालोचक तथा लेखक कृष्ण प्रधानले सम्मानित गरिएको छ ।
यसैगरी कवि खेमराज निरौलालाई केवलपुरे–जनमत सम्मानबाट दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तले, साहित्यकार मोतिशोभा श्रेष्ठलाई कमला सैंजु–जनमत सम्मानबाट उपसभामुख तथा समाजसेवी इन्दिरा राना मगरले, बालसाहित्यकार ज्योति अधिकारीलाई जनमत–केदार/ सुदर्शना बाल साहित्य सम्मानले सिद्धिश्वरमान साहित्यिक केन्द्रका संरक्षक सावित्री श्रेष्ठले र कृष्णप्रसाद आचार्यलाई जनमत–राजभाई सहयात्री सम्मानबाट समाजसेवी तथा जनमतका मानार्थ संरक्षक राजभाई प्रधानले सम्मानित गरिएको छ ।
यसै कार्यक्रममा २०८२ मा जनमत वाङ्मय प्रतिष्ठान नेपालबाट प्रकाशित (१) अभिज्ञान (संस्मरण) – डा. अनोजा गुरुमाँ (२) दलित आन्दोलन र अबका कार्यदिशा (लेख) – विनोदकुमार वि.क. (विकास) (३) कविता क्षितिज (कविता) – कपिल अज्ञात (४) अलग कथा–वेदकुमारी न्यौपानेका कृतिहरु सार्वजनिक गरिएको थियो ।
उक्त कार्यक्रममा गीत÷कविता वाचन गर्नेहरुमा श्याम तमोट, खेमराज निरौला र कपिल अज्ञात थिए । उद्घोषण राजु सरकारले गर्नुभएको थियो ।