प्रभातफेरी अनलाइन९ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतबार(६ घण्टा अघि)
काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट दलित सङ्गठनको एकतापछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको नेपाल दलित मोर्चा घोषणा गरिएको छ ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा काठमाडौँमा सुरु भएको एकता बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम् दलित तथा सीमान्तकृत अल्पसङ्ख्यक विभाग प्रमुख परशुराम रम्तेलले ५३३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन् । उनका अनुसार बैठकले एकीकृत भएका सङ्गठनका पदाधिकारीलाई समेटेर ६७ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीलाई नवगठित नेपाल दलित मोर्चाको संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठनका अध्यक्ष राम औतार पासवान सहसंयोजक चयन भएका छन् ।
संयोजक श्रीपाली दोस्रो संविधानसभा सदस्य तथा पूर्व मन्त्री हुन् भने सहसंयोजक पासवान पनि दोस्रो संविधानसभा सदस्य रहिसकेका छन् । श्रीपाली संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक समेत हुन् । उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य थिए भने हाल नेकपाको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् ।
मोर्चा गठनका लागि सम्पन्न एकता प्रक्रियामा तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठन, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट श्रमिक समुदाय मोर्चा नेपाल, डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी निकट नेपाल समाजवादी दलित मुक्ति सङ्गठन तथा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा सहभागी भएका छन् ।
आइतबारदेखि सुरु भएको एकता बैठक सोमबारसम्म चल्ने जनाइएको छ । मोर्चाले दलित समुदायका अधिकार, प्रतिनिधित्व र सामाजिक न्यायका सवालमा साझा कार्यक्रममार्फत अगाडि बढ्ने योजना अघि सारेको संयोजक श्रीपालीले बताएका छन् । उनका अनुसार केन्द्रीय समितिलाई प्रशिक्षण दिने र सोमबार आगामी कार्ययोजनाबारे छलफल गरिनेछ ।
बैठकमा जन वर्गीय सङ्गठन समन्वय मोर्चाका उपप्रमुख बलराम बास्कोटा र गणेशमान पुन, मोर्चाका सदस्य तिलक परियार, दलित तथा सीमान्तकृत अल्पसङ्ख्यक विभाग प्रमुख परशुराम रम्तेल, नेपाल दलित मुक्ति मोर्चाका सह–इन्चार्ज तेजबहादुर मिजार, संरक्षक रणेन्द्र बराली र पदम सुन्दास, सल्लाहकार भुवन सुनार, पार्टीका केन्द्रीय सदस्य दुर्गा परियार, डा.मित्र परियार, कमला विक, गोपाल परियार, गोविन्द विकलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |