प्रभातफेरी अनलाइन१५ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार(९ घण्टा अघि)
काठमाडौँ, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथिको छलफल जारी रहेको छ। छलफलका क्रममा सांसदहरूले आ–आफ्ना मन्त्रालयगत शीर्षकमा खर्च कटौती प्रस्ताव समेत प्रस्तुत गरेका छन्।
बैठकमा सांसद पार्वती विकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बजेट शीर्षकमा खर्च एक सय रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव राख्दै कर्णालीका १० जिल्लाका लागि सिँचाइतर्फ विनियोजित तीन करोड रुपैयाँ अपर्याप्त भएको बताइन्। उनले चालु खर्चमा पनि एक सय रुपैयाँ कटौतीको प्रस्ताव गरेकी थिइन्।
त्यस्तै सांसद ऐनबहादुर महरले परराष्ट्र मन्त्रालयको बजेट शीर्षकमा खर्च घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव राख्दै बजेटले दूरदराजका क्षेत्रलाई उपेक्षा गरेको टिप्पणी गरे। उनले बुढानीलकण्ठ विद्यालयलाई १५ करोड रुपैयाँ छुट्याइएकामा आपत्ति जनाउँदै शिक्षा क्षेत्रमा असमानता भएको आरोप लगाए।
सांसद महरले कृषितर्फ ४६ अर्ब रुपैयाँ मात्र विनियोजन हुनु अपर्याप्त भएको उल्लेख गर्दै ठूलो लगानीका नाममा सीमित व्यक्तिलाई मात्र लाभ हुने कार्यक्रम ल्याइएको दाबी गरे। उनले सरकारले आन्तरिक तथा बाह्य गरी ६५७ अर्ब रुपैयाँको बजेट ल्याए पनि यसको वितरण न्यायोचित नभएको टिप्पणी गरे।
सांसद पुष्पराज कँडेलले अर्थ मन्त्रालयको शीर्षकमा खर्च एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्रालयले बजेट कार्यान्वयन गर्न नसक्ने अवस्थामा रकम थुपारेर राख्नुको औचित्यबारे प्रश्न उठाए। उनले कर्णाली राजमार्गका लागि अघिल्लो वर्षको तुलनामा अत्यन्त कम बजेट विनियोजन गरिएको भन्दै पुनरावलोकनको माग गरे।
त्यस्तै सांसद परशुराम तामाङले पनि अर्थ मन्त्रालयको शीर्षकमा खर्च एक सय रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव राख्दै बुढानीलकण्ठजस्ता विद्यालयमा बजेट बढाएर सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रमा कटौती गरिएको भन्दै बजेटलाई नवउदारवादको दोस्रो रूपको संज्ञा दिए।