logo
२०८३ अषाढ ६, शनिबार |
📰
🔍

सम्पादक समाजद्वारा ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ विषयमा अन्तरक्रिया

प्रभातफेरी अनलाइन५ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार(५ घण्टा अघि)
सम्पादक समाजद्वारा ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ विषयमा अन्तरक्रिया

काभ्रे / नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम शनिबार काभ्रेको पनौतीमा सम्पन्न भएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सञ्चार माध्यमप्रति नागरिकको विश्वास क्रमशः घट्दै गएको उल्लेख गर्दै पत्रकारहरू यस विषयमा संवेदनशील बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले कृत्रिम बुद्धिमत्ता तथा च्याटजिपिटी जस्ता प्रविधिको प्रयोगसँगै पत्रकारहरूको बौद्धिक क्षमता र सिर्जनशीलतामाथि चुनौती थपिएको बताउनुभएको छ । सम्पादक समाज नेपालको आयोजना तथा सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

विशेष अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष डा.महेन्द्र विष्टले पत्रकारिता क्षेत्र जिम्मेवारीपूर्ण हुनुपर्नेमा जोड दिँदै मिडियाको संख्या बढे पनि विषयवस्तुमा विविधता नआएको बताउनुभएको छ । पत्रकारहरू आचारसंहिता पालनामा कमजोर देखिएको र लोकतन्त्रमा मिडियाको भूमिकाबारे गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो। प्रविधिले कामलाई सहज बनाए पनि पत्रकारहरूको सिर्जनशीलता कमजोर हुँदै गएको भन्दै आफ्नो कर्तव्य र दायित्वप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।

सम्पादक समाजका महासचिव श्यामकाजी डोटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा प्रशिक्षक जगत नेपालले पत्रकारितामा सूचना स्रोतको पुष्टि अनिवार्य हुनुपर्ने बताउनुभयो। उहाँले सूचना, जानकारी र समाचारबीचको भिन्नता स्पष्ट पार्दै पत्रकारिता आवाजविहीनहरूको आवाज बन्नुपर्ने धारणा राख्नुभयो। सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा जनमत निर्माणमा परम्परागत मिडिया कमजोर बन्दै गएको उहाँको भनाइ थियो।

अध्ययनकर्ता तोया गौतमले मोफसल पत्रकारिताको अवस्थाबारे प्रस्तुति दिँदै विसं २००८ मा वीरगञ्जबाट ‘सेवा’ साहित्यिक पत्रिका प्रकाशन भएको इतिहास स्मरण गर्नुभयो। उहाँका अनुसार काभ्रेपलाञ्चोकमा हाल ४ दैनिक र ४३ साप्ताहिक पत्रिका दर्ता छन्, जसमध्ये १६ वटा साप्ताहिक नियमित प्रकाशनमा छन्। स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदा नागरिकको विश्वास बढ्ने उहाँले बताउनुभयो।

कार्यक्रममा लक्ष्मीप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल, नेपाल बार एसोसिएसन काभ्रेका अध्यक्ष हरिशरण दाहाल लगायतले धारणा राख्नुभएको थियो। अध्यक्ष दाहालले समाजका विकृति र विसङ्गतिबारे सत्यतथ्य सूचना दिन पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले पत्रकारिता क्षेत्रको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालको प्रभावले पत्रकारिताको गुणस्तर कायम गर्न चुनौती थपिएको बताउनुभयो। संघीयतापछि मिडिया हाउसहरूको आम्दानी घटेको र पत्रकारिता पेशामा नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको उहाँको भनाइ थियो।

सम्पादक समाज नेपालका संरक्षक किरण वैद्यले विगतका पत्रकारहरू बढी जिम्मेवार रहेको उल्लेख गर्दै केही पत्रकारका कारण समग्र पत्रकारिता क्षेत्र बदनाम भएको टिप्पणी गर्नुभएको छ । नागरिकले पनि पत्रकारलाई सचेत र जिम्मेवार बनाउन भूमिका खेल्नुपर्ने उहाँले बताउनुभएको छ ।

सहभागीहरूको तर्फबाट केशवराज पौडेलले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभएको छ । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पौडेलले पत्रकारिता अझै बिग्रि नसकेको तर आत्मसमीक्षा र सचेतना आवश्यक रहेको बताउनुभएको छ । पत्रकार ज्योति श्रेष्ठले महिला पत्रकारहरूको सहभागिता बढाउन पहल गर्न आग्रह गर्नुभएको छ भने अग्रज पत्रकार ईश्वरी राजकुमार मैनालीले पत्रकारिताभित्र रहेका कमजोरी सुधार्नुपर्ने बताउनुभएको छ । पत्रकार भिम गौतमले सामाजिक सञ्जाललाई पूर्णरूपमा रोक्न नसकिए पनि जिम्मेवार पत्रकारितामार्फत नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल , काभ्रे बारएसोसियसनका अध्यक्ष हरिशरण दाहाल लगायत ले सामाजिक संजाल र पत्रकारिताको बिषयमा आ-आफ्नो धारणा राख्नु भएको थियो ।

सम्पादक समाजका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका सम्पादक जुनारबाबु बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । सम्पादक समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सम्पादक समाजका कोषाध्यक्ष माधव दुलालले गर्नुभएको थियो । कार्यक्रममा काभ्रेपलाञ्चोकका सक्रिय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अन्तरक्रिया कार्यक्रममा डा.जगत नेपालले आजको पत्रकारितामा र सामाजिक संजालले पारेको प्रभावका बारेमा पत्रकारको भुमिका बारे प्रस्ट्याउनु भएको थियो भने वरिष्ठ संचारकर्मी तोया गौतमले छापा पत्रकारितामा काभ्रेपलाञ्चोक जिल्ला बस्तुस्थितीका बारेमा सु-शुचित गराउनु भएको थियो ।