प्रभातफेरी अनलाइन१ पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार(२० सेकेण्ड अघि)
अदालतमा न्याय मरेको अवस्था छ’— काभ्रे बार अध्यक्ष दाहाल
काभ्रे/ काभ्रेपलाञ्चोक बार एसोसिएसनका अध्यक्ष हरिशरण दाहालले वर्तमान अवस्थामा न्यायालय प्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्याय मुर्ति कै रुपमा अदालतहरूले निर्भीकताका साथ न्याय सम्पादन गर्न नसकेको टिप्पणी गर्नुभएको छ।
उहाँले न्यायालयभित्र बढ्दो भय र निष्क्रियताले न्याय प्रणालीप्रति नागरिकको विश्वास कमजोर बन्न गएको जिकिर गर्नु भएको छ ।
सम्पादक समाज नेपालद्वारा शनिबार पनौतीस्थित होटल डाइमण्डमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई नागरिकहरुको प्रतिनिधित्व गर्दै अध्यक्ष दाहालले सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्मको अवस्था हेर्दा न्यायिक प्रणाली चुनौतीपूर्ण मोडमा पुगेको धारणा राख्नु भएको हो ।
“आज अदालत आफैँ डराइरहेको अवस्था छ। न्यायाधीशहरूले न्यायिक मन प्रयोग गरेर निर्भीक ढंगले फैसला गर्न सकिरहेका छैनन्,” उहाँले थप्नु भयो, “आजको अवस्था हेर्दा न्याय मरेको जस्तो अनुभूति हुन्छ।”
उहाँले न्यायाधीश नियुक्तिको प्रक्रिया र न्यायालयभित्र देखिएका विभिन्न प्रवृत्तिले न्याय सम्पादनमा असर पुर्याएको दाबी गर्नुभएको छ ।
समाजमा विध्वंस र विद्वेष फैलाउने गतिविधिविरुद्ध न्यायालयले दृढतापूर्वक उभिनुपर्ने भए पनि त्यसो हुन नसकेको उहाँको तर्क छ ।
सम्बोधन कै क्रममा अध्यक्ष दाहालले काभ्रेपलाञ्चोकमा जेन्जी आन्दोलनका क्रममा भएको घर तोडफोड तथा आगजनीको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान र प्रमाण हुँदाहुँदै पनि अपेक्षित न्यायिक प्रक्रिया अघि बढ्न नसकेको गुनासो राख्नु हुँदै आफू कानुन ब्यायाबसायी भएर पनि कानुनको रक्षा गर्न चुकेको आभास भएको प्रतिक्रिया राख्नु भएको छ ।
यसले न्याय प्रणालीप्रति नागरिकमा निराशा बढाएको उहाँको थप भनाइ छ ।
कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्रभित्र देखिएका चुनौती र विकृतिमाथि तीखो टिप्पणी राख्दै ,दर्ताविहीन अनलाइन माध्यमहरू बढ्दै गएको तथा सत्य र तथ्यभन्दा ‘भ्युज’ केन्द्रित सामग्री उत्पादन गर्ने प्रवृत्तिले समाजमा नकारात्मक असर पारिरहेकोले त्यस तर्फ सचेत रहन आग्रह गर्नु भएको छ ।
आज “कुन शीर्षक राख्दा बढी भ्युज आउँछ भन्ने प्रतिस्पर्धा बढेको छ,” उहाँले भन्नुभएको छ , “सामाजिक सञ्जालमा केही हरफ पढेर सम्पूर्ण विषय बुझेझैँ गर्ने प्रवृत्ति पनि समाजका लागि चुनौती बनेको छ।”
प्रेस काउन्सिल नेपालले दर्ताविहीन तथा भ्रामक सामग्री प्रकाशन गर्ने सञ्चार माध्यमको प्रभावकारी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
देशको समग्र राजनीतिक तथा प्रशासनिक अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले जिम्मेवार पत्रकारिता र सत्य–तथ्यमा आधारित सूचना प्रवाहको आवश्यकता औँल्याउनुभएको छ । सञ्चार क्षेत्रले बेथिति, विकृति र संस्थागत कमजोरीहरूलाई उजागर गर्न सक्नुपर्ने उल्लेख गर्दै पुनः न्यायालय प्रती लक्षित गर्दै न्यायालयभित्रका समस्या र न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा समेत खोजमूलक पत्रकारिता भित्र राख्नु पर्ने आजको आवश्यक रहेको धारणा राख्नुभएको छ ।
सम्बोधनको अन्तमा नागरिक समाज र कानुन व्यवसायीहरूको तर्फबाट न्याय, सुशासन र उत्तरदायित्व प्रवर्द्धनका लागि काभ्रे बार एसोसिएसन सदैव सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत अध्यक्ष दाहालले व्यक्त गर्नुभएको छ ।