प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(२ घण्टा अघि)
काठमाडौं, सरकारले काठमाडौं उपत्यकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूमा हाल जडान गरिएका एलइडी र सिएफएल बत्ती हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विश्व सम्पदा क्षेत्रहरूको मौलिकता र सौन्दर्यलाई थप आकर्षक बनाउने उद्देश्यले सम्पदाअनुकूल वार्म लाइट जडान गर्न लागिएको हो। सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्यअनुरूप यो योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले केही दिनअघि सञ्चारकर्मीसँगको छलफलमा हाल प्रयोग भइरहेका बत्तीहरूले सम्पदाको वास्तविक सौन्दर्य झल्काउन नसकेको बताए। त्यसैले सम्पदाको ऐतिहासिक र सांस्कृतिक महत्वलाई सुहाउने वार्म लाइट जडान गर्ने तयारी गरिएको उनले जानकारी दिए।
सरकारको यो कदमले काठमाडौं उपत्यकाका प्रमुख सम्पदा क्षेत्रहरूको रात्रिकालीन दृश्य थप आकर्षक र पर्यटकमैत्री बन्ने अपेक्षा गरिएको छ।