प्रभातफेरी अनलाइन१ पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(१ घण्टा अघि)
काठमाडौं, काठमाडौं महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ताको माग गर्दै हालसम्म करिब ६ हजार बचतकर्ताले निवेदन दिएका छन्। ती निवेदनमा कुल ५ अर्ब २७ करोड रुपैयाँ फिर्ता गरिदिन माग गरिएको विभागले जनाएको छ।
विभागका अनुसार वैशाख १७ गतेदेखि बचत फिर्ताको माग गर्ने निवेदकहरूको संख्या निरन्तर बढिरहेको छ। विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार दैनिक औसत ३० जनाले उजुरी दर्ता गरिरहेका छन्, जसमा अधिकांश साना बचतकर्ता रहेका छन्। उनीहरूले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म बचत गरेका छन्।
महानगरपालिकाले प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। केही दिनअघि बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको एक लाख ५० हजार रुपैयाँसम्मको बचत रकम फिर्ता गरिएको थियो।
विभागले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम फिर्ता गर्ने लक्ष्य राखेको जनाएको छ। ठूला बचतकर्ताका हकमा भने ऋण असुली प्रक्रिया अघि बढाएर रकम फिर्ताका लागि समन्वय भइरहेको प्रमुख काफ्लेले बताए।
सहकारी विभागले उजुरी दर्ता गर्ने, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने काम गर्दै आएको छ। सहमति हुन नसके आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ।
हाल काठमाडौं महानगरपालिकामा एक हजार ९१२ सहकारी दर्ता छन्। तीमध्ये करिब ५० प्रतिशतले मात्रै नियमित रूपमा वार्षिक साधारणसभा सम्पन्न गरी प्रतिवेदन पेश गर्ने गरेका छन्। नियमित रूपमा साधारणसभा नगर्ने सहकारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ।