logo
२०८३ अषाढ २१, आईतबार |
📰
🔍

कोस्तियान्तिनिभ्का कब्जाको रुसी दाबी असत्य : जेलेन्स्की

प्रभातफेरी अनलाइन२० पटक पढिएको प्रकाशित मिति: २ घण्टा अघि (२ घण्टा अघि)
कोस्तियान्तिनिभ्का कब्जाको रुसी दाबी असत्य : जेलेन्स्की

काठमाडौँ, रुसले पूर्वी युक्रेनको रणनीतिक सहर कोस्तियान्तिनिभ्का कब्जा गरेको दाबीलाई युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले असत्य भन्दै खण्डन गरेका छन्।

युक्रेनी सेनाको जनरल स्टाफले पनि उक्त सहर अझै युक्रेनी सेनाकै नियन्त्रणमा रहेको जनाएको छ। यद्यपि, रुसले आफ्ना सेनाले कोस्तियान्तिनिभ्का नियन्त्रणमा लिइसकेको र बाँकी प्रतिरोधका केन्द्रहरू हटाउने अभियान जारी रहेको दाबी गरेको छ। साथै, युद्धमा मारिएका सैनिकहरूको शव आदानप्रदान गर्न पनि प्रस्ताव गरेको छ।

रुसी सैन्य कमान्डरहरूले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई डोनेत्स्क क्षेत्रको कोस्तियान्तिनिभ्का सहर कब्जामा लिइएको जानकारी दिएका थिए। त्यसको जवाफमा राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै, “यो पूर्ण रूपमा झुट हो। यो केवल समाचार बनाउन गरिएको अर्को रुसी प्रचार हो,” बताएका छन्।

जेलेन्स्कीले व्यङ्ग्यात्मक शैलीमा, “यदि कोस्तियान्तिनिभ्का साँच्चै रुसको नियन्त्रणमा भएको भए युद्ध अन्त्यका लागि कूटनीतिक समाधान खोज्न पुटिनलाई त्यहीँ भेट्न कुनै समस्या हुने थिएन,” पनि उल्लेख गरेका छन्।

युक्रेनी सेनाको जनरल स्टाफका अनुसार १९औँ आर्मी कर्प्सअन्तर्गत पूर्वी सैन्य समूहका इकाईहरूले सहरभित्र र आसपासका क्षेत्रमा प्रतिरक्षात्मक अभियान जारी राखेका छन्।

उता, रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्कीको टिप्पणीको जवाफ दिँदै कोस्तियान्तिनिभ्का अब रुसको नियन्त्रणमा रहेको दाबी दोहोर्याएका छन्। उनले पुटिनसँग भेट्न चाहे जेलेन्स्कीका लागि मस्कोको निमन्त्रणा अझै कायम रहेको पनि बताएका छन्।