logo
२०८३ अषाढ २३, मंगलबार |
📰
🔍

पहिरोले जाजरकोट–डोल्पा, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध

प्रभातफेरी अनलाइन१५ पटक पढिएको प्रकाशित मिति: ३६ मिनेट अघि (३६ मिनेट अघि)
पहिरोले जाजरकोट–डोल्पा, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ , अविरल वर्षापछि गएको पहिरो र बाढीका कारण जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग तथा भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार जाजरकोटको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।

त्यसैगरी, असार २२ गते रोल्पाको माडी गाउँपालिका–६ हार्निङमा पहिरो जाँदा रुकुम–घोराही सहिद मार्ग अवरुद्ध भएको छ।

यस्तै, असार १७ गते रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोर सडकखण्ड बन्द भएकोमा हालसम्म सञ्चालनमा आउन सकेको छैन।

प्रहरीका अनुसार वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग आंशिक वा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने बाँकी सडक खुलाउने प्रयास जारी छ।

पूर्ण रूपमा बन्द रहेका सडक सञ्चालनमा नआउञ्जेल यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा रहेका सडकमा अत्यधिक सावधानी अपनाएर मात्रै यात्रा गर्न नेपाल प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।