logo
२०८३ अषाढ २२, सोमबार |
📰
🔍

धनगढीमा १० वर्षीय बालक हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ, भारत भाग्दै गर्दा समातिए

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: ४१ मिनेट अघि (४१ मिनेट अघि)
धनगढीमा १० वर्षीय बालक हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ, भारत भाग्दै गर्दा समातिए

काठमाडौँ , धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ का २५ वर्षीय खेमराज कठायत (खगेन्द्र) रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार भारततर्फ भाग्ने क्रममा धनगढी–२ स्थित भन्सार रोडबाट उनलाई पक्राउ गरिएको हो।

प्रहरी नायब निरीक्षक (सई) सुशील चन्दको नेतृत्वमा खटिएको टोलीले कठायतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

१० असारदेखि घरबाट बेपत्ता भएका तनुज १२ असारमा स्थानीय बालिका सामुदायिक वनभित्र हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए।

बालकले लगाएको सुनको मुन्द्रा गायब भएकाले लुटपाटको उद्देश्यले हत्या गरिएको हुन सक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ। मुख्य अभियुक्त पक्राउ परेकाले घटनाबारे थप तथ्य खुल्ने विश्वास प्रहरीको छ।

यसअघि अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको भए पनि उनीहरू हाल रिहा भइसकेका छन्।