logo
२०८३ अषाढ २२, सोमबार |
📰
🔍

सरकारी जग्गामा बनेका कर्मचारी संगठनका भवन ३ दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
सरकारी जग्गामा बनेका कर्मचारी संगठनका भवन ३ दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ , भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी संगठन तथा ट्रेड युनियनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेसँगै साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका विभिन्न संगठनहरूले सरकारी जग्गामा निर्माण गरी प्रयोग गर्दै आएका भवन तथा संरचनाको कानुनी आधार समाप्त भएको छ। साथै, मन्त्रिपरिषद्को निर्णयअनुसार श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्ता पनि खारेज भइसकेको मन्त्रालयले जनाएको छ।

जारी सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात, सम्पत्तिको जिम्मेवारी तथा भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ। तोकिएको समयभित्र भवन खाली नगरिए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी मन्त्रालयले दिएको छ। मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयको रोहवरमा सम्बन्धित संगठनका भवनहरूमा समेत सूचना टाँसिएको छ।

भवन खाली गर्न निर्देशन दिइएका संगठनमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायत रहेका छन्।