logo
२०८३ अषाढ २४, बुधबार |
📰
🔍

नार्कको नेतृत्व अब कार्यसम्पादन र सुशासनका आधारमा छनोट हुन्छ : मन्त्री गीता चौधरी

प्रभातफेरी अनलाइन२६ पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
नार्कको नेतृत्व अब कार्यसम्पादन र सुशासनका आधारमा छनोट हुन्छ : मन्त्री गीता चौधरी

काठमाडौँ ,  कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को नेतृत्व अब कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र नेतृत्व दक्षताका आधारमा मात्रै चयन गरिने स्पष्ट पारेकी छन्।

नार्कद्वारा आयोजित नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिक कर्मचारीहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले इमान्दार, मेहनती र नतिजामुखी वैज्ञानिकले मात्रै संस्थाको नेतृत्व गर्ने अवसर पाउने बताइन्।

उनले कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमता नै अबको मुख्य मापदण्ड हुने उल्लेख गर्दै परिषद्लाई सक्षम र प्रभावकारी बनाउन योग्य व्यक्तिलाई नेतृत्वमा ल्याइने स्पष्ट पारिन्।

मन्त्री चौधरीले विगत केही वर्षदेखि नार्क आन्तरिक जटिलता र संरचनागत समस्याका कारण चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताइन्। परिषद् सुधारलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखे पनि संस्थाले अझै स्पष्ट मार्गचित्र तयार गर्न नसकेको र वर्तमान कार्यशैलीले अपेक्षित उपलब्धि दिन नसक्ने उनको भनाइ थियो।

परिषद् पछाडि पर्नुका वास्तविक कारणहरूको मन्त्रालयले गम्भीर रूपमा अध्ययन गरिरहेको उल्लेख गर्दै उनले संस्थाको गरिमा र प्रभावकारिता पुनः स्थापित गर्न व्यापक सुधार आवश्यक रहेको धारणा व्यक्त गरिन्।