प्रभातफेरी अनलाइन२० पटक पढिएको प्रकाशित मिति: ८ घण्टा अघि (८ घण्टा अघि)
काठमाडौँ, लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भारतको सीमावर्ती बजार जोकवनीबाट निजी कारमार्फत काठमाडौं ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा ललितपुरको हरिसिद्धिबाट धादिङका ३८ वर्षीय अनिल श्रेष्ठ, मोरङका ३५ वर्षीय जाबेद आलम र सप्तरीका ३४ वर्षीय बिकास भगत पक्राउ परेका हुन्।
प्रहरीका अनुसार, असार २५ गते अनिल श्रेष्ठलाई २९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेपछि गरिएको थप अनुसन्धानबाट भारतको जोकवनीबाट विराटनगर हुँदै निजी गाडी प्रयोग गरी काठमाडौंसम्म लागुऔषध ओसारपसार हुने गरेको खुलेको थियो। त्यसकै आधारमा असार २७ गते जाबेद आलम र बिकास भगतलाई पक्राउ गर्दा थप ३०० ग्राम खैरो हेरोइन बरामद गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट कुल ३२९ ग्राम खैरो हेरोइन, एक डिजिटल तराजु, ३० हजार रुपैयाँ नगद र चार थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।