प्रभातफेरी अनलाइन२८ पटक पढिएको प्रकाशित मिति: ५ घण्टा अघि (५ घण्टा अघि)
काभ्रे / पुर्णखोप सुनिश्चिता तथा दिगोपना स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले काभ्रेलाई पूर्ण खोप सुनिश्चितता जिल्ला बनाउन योगदान गर्ने सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, विकास साझेदार र नागरिकप्रति विशेष धन्यवाद व्यक्त गर्नु हुदै वागमती प्रदेशका १सय१९ वटै पालिकामा ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भएको छ ।
सम्बोधनकै क्रममा मन्त्री थापाले पछिल्लो समय विभिन्न रोगको जोखिम बढ्दै गएकाले सबै नागरिक सचेत रहनुपर्ने बताउनुभएको छ । प्रदेश सरकारले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न हवाई स्वास्थ्य सेवासमेत सुरु गरेको उल्लेख गर्दै अझै दुर्गम बस्तीका बिरामीले उपचारमा कठिनाइ भोग्नुपरेको स्वीकार गर्नुहुँदै अब बागमती प्रदेश सरकार यो बिषयमा सचेत रहेको स्पष्ट पार्दै भर्खर डाडापारिको घटनालाई स्मरण गराउदै प्रतिकुल वातावरणका कारण सेवापुर्याउन नसकेकोमा आत्माआलोचना समेत गर्नु भयो ।

कहिलेकाही सबै सेवा सुविधा हुदाहुदै पनि सेवाग्राही सेवा लिनबाट बन्चित हुनु बिडम्वाना भएको स्विकार्दै नागरिकको स्वास्थमा बिशेष चासो राखेर रातदिन ,झरिबादल नभनी निस्वार्थ भावले स्वास्थ सेवामा समर्पित स्वयमसेविकाहरुका लागि बिशेष कार्ययोजना ल्याएको स्मरण गराउनु हुँदै अब बागमती प्रदेशका नागरिका लागी स्वास्थ सम्बन्धि हरहालत समर्पित रहने चाहना हुदाहुदै पनि बार्षिक बजेटमा भएको पुर्वाग्रहले निरासा छाएको समेत सम्बोधनका क्रममा व्यक्त गर्न पछि पर्नु भएन मन्त्री थापा ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख अध्यक्ष दिपक कुमार गौतमले पूर्ण खोप सुनिश्चितता घोषणा केवल घोषणा मात्र नभइ उत्सव भएको बताउँदै काभ्रेपलाञ्चोकले खोप अभियान पूरा गरेर एउटा पुण्य कमाएको उल्लेख गर्नुभयो । अब यसको दिगोपना कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले खोपको महत्वबारे अझै जनचेतना बढाउन आवश्यक रहेको उल्लेख गर्दै नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सबै सरोकारवालाको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले खोपको महत्वबारे अझै जनचेतना बढाउन आवश्यक रहेको उल्लेख गर्दै नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सबै सरोकारवालाको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले पूर्ण खोप सुनिश्चितता गर्न सफल काभ्रे जिल्ला र सम्पूर्ण नागरिकलाई बधाई दिँदै सञ्चारमाध्यमबाट आवश्यक सहयोग गर्न पत्रकार महासंघ सधैँ तयार रहेको बताउनुभयो । पालिकाका तर्फबाट मन्तव्य राख्दै मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले आफ्नो नगरपालिकाले जिल्लामै पहिलो वातानुकूलित खोप केन्द्र सञ्चालनमा ल्याएको र पूर्ण खोप सुनिश्चित विद्यालय पालिका घोषणा गरिसकेको जानकारी दिनुभयो । साथै स्वास्थ्य सेवाको सहज पहुँच विस्तारका लागि सरकारसँग आवश्यक सहयोगको माग गर्नुभयो ।सामाजिक संस्थाहरुको तर्फबाट रोटरी क्लब धुलिखेलका अध्यक्ष मोहन कुमार श्रेष्ठ लगायतले जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले काभ्रेली जनतालाई पुर्याएको योगदानको उच्च सम्मान स्वरुप आजै स्वास्थ चौकिलाई गुणस्तरीय सेवा पुर्याउन कोशेढुंङ्गा सावित हुने बिश्वास व्यक्त गर्नु भयो । यत्ता काभ्रे जिल्ला बाल क्लबका अध्यक्ष आयुष न्यौपानेले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा काभ्रेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिती रहेको थियो । सो अवसरमा पूर्ण खोप सुनिश्चितता हासिल गरेका स्थानीय तह तथा उत्कृष्ट योगदान पुर्याउने स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलका खोप अधिकृत पार्थमणि न्यौपानेले गर्नुभएको थियो । सहभागी वक्ताहरूले पूर्ण खोप सुनिश्चिततासँगै यसको दिगोपना कायम राख्न सबै पक्षको निरन्तर प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए ।
काभ्रेपलाञ्चोकमा १६ देखि २३ महिनासम्मका ३ हजार १सय५५ जना बालबालिकामध्ये ३ हजार १सय५५ जनाले नै पूर्ण खोप प्राप्त गरेका छन् । तीमध्ये ३ हजार १सय५० जनाले समयमै खोप कार्डअनुसार सबै खोप पूरा गरेका छन् भने ५ जनाले खोप कार्ड नभए पनि पूर्ण खोप पाएको तथ्यांकमा उल्लेख छ । कुनै पनि बालबालिका छुटेका छैनन् ।
जिल्लामा सबैभन्दा पहिले गत चैत २५ गते नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको थियो भने अन्तिममा असार ८ गते बनेपा नगरपालिका घोषणा भएसँगै काभ्रेका १३ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित भएका हुन् । तथ्याङ्कअनुसार नमोबुद्ध नगरपालिकामा १ सय ८४, मण्डनदेउपुर नगरपालिकामा २ सय १२, भुम्लु गाउँपालिकामा १ सय २४, पाँचखाल नगरपालिकामा २ सय ८५, तेमाल गाउँपालिकामा ८३, रोशी गाउँपालिकामा १ सय ३०, पनौती नगरपालिकामा ५ सय ८४, चौरीदेउराली गाउँपालिकामा ५७, महाभारत गाउँपालिकामा १ सय ३४, खानीखोला गाउँपालिकामा १ सय ३६, बेथानचोक गाउँपालिकामा १ सय ३१, धुलिखेल नगरपालिकामा ३ सय १४ र बनेपा नगरपालिकामा ७ सय ८१ जना १६ देखि २३ महिनाका बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले काभ्रेलाई औपचारिकरूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता जिल्ला खोप समन्वय समितिका प्रमुख दिपककुमार गौतमले गर्नुभएको हो ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले कार्यक्रमको औचित्य सहित शब्दद्वारा स्वागत गर्नु भएको छ । स्मरण रहोस् उक्त कार्यक्रममा रोटरी क्लब धुलिखेलले १० वटा स्वास्थ चौकिलाई अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ ।