प्रभातफेरी अनलाइन८ पटक पढिएको प्रकाशित मिति: ५ घण्टा अघि (५ घण्टा अघि)
काभ्रे / बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले धुलिखेल अस्पताललाई केही महिनाभित्र प्रदेशस्तरीय स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्ने प्रक्रिया पूरा भएको घोषणा गर्नुभएको छ । उहाँले उक्त विश्वविद्यालय स्थापना भएपछि बागमती प्रदेशमा स्वास्थ्य शिक्षा, अनुसन्धान र विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारमा नयाँ युगको सुरुआत हुने बताउनुभएको छ । उहाँले काभ्रेको धुलिखेलमा काठमाडौ विश्व विद्यालय भएपनि प्रदेश स्तरीय विश्व विद्यालयको ढाचामा नयाँ विश्व विद्यालयका अवधारण बागमती प्रदेशले अघिसारेको बताउनुभएको छ ।
जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित ’पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा समारोह’ लाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि मन्त्री मगरले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले दीर्घकालीन सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिनु दिदै “खोप एक दिनको अभियान होइन, यो पुस्तौँसम्म निरन्तर सञ्चालन गर्नुपर्ने राष्ट्रिय दायित्व हो । खोपका कारण नेपालमा बालमृत्युदर उल्लेखनीय रूपमा घटेको छ । दादुरा, रुबेला, पोलियोलगायतका रोग नियन्त्रणमा आएका छन् । अब यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको निरन्तर सक्रियता आवश्यक छ ।
मन्त्री मगरले बागमती प्रदेश सरकारले आधारभूत अस्पताल सुदृढीकरण, विद्यालय नर्स कार्यक्रम, स्वास्थ्य बीमा विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर, हेलिकोप्टरमार्फत आकस्मिक उद्धार सेवा, ’एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ तथा ’एक जिल्ला–एक हेल्दी सिटी’ अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ । साथै “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि“ अभियानमार्फत योग, ध्यान र प्राणायामलाई संस्थागत गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गरिरहेको पनि उहाँले बताउनुभएको छ । कार्यक्रममा मन्त्री मगरले काभ्रेपलाञ्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव राघीश्री कक्षपति श्रेष्ठले जिल्लाका सबै वडा हुँदै १३ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरिएको जानकारी दिनुभएको छ । उहाँले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, विकास साझेदार संस्था तथा समुदायको सक्रिय सहभागिताका कारण यो सफलता सम्भव भएको बताउनुभएको छ ।