logo
२०८३ श्रावण ९, शनिबार |
📰
🔍

रगत अभाव घटाउन भरतपुर अस्पतालले सञ्चालन गर्‍यो आफ्नै रक्तसञ्चार केन्द्र

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
रगत अभाव घटाउन भरतपुर अस्पतालले सञ्चालन गर्‍यो आफ्नै रक्तसञ्चार केन्द्र

काठमाडौं, उपचारका लागि आउने बिरामीले रगत अभावको समस्या भोग्नुपरेपछि भरतपुर अस्पतालले आफ्नै रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ। केन्द्रमार्फत पछिल्लो एक वर्षमा तीन हजार ८३५ युनिट रगत सङ्कलन गरिएको अस्पतालले जनाएको छ।

रक्तसञ्चार केन्द्रका अनुसार विसं २०८१ जेठदेखि नियमित रूपमा प्रत्येक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ। केन्द्रका अधिकारी विष्णुप्रसाद बाँस्तोलाका अनुसार इच्छुक व्यक्तिले तोकिएको समयमा रक्तदान गर्न सक्नेछन्।

रक्तदाताालाई खाजाको व्यवस्था गर्नुका साथै प्रमाणपत्र पनि प्रदान गरिने गरिएको छ। खाजाको खर्च भरतपुर महानगरपालिकाले व्यहोर्दै आएको अस्पतालले जनाएको छ।

केन्द्रका अनुसार बिरामीका आफन्तबाट सबैभन्दा बढी रगत सङ्कलन हुने गरेको छ। साथै विभिन्न संघसंस्थाले विशेष अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् भने आवश्यकताअनुसार अस्पतालको टोली बाहिर गएर पनि रगत सङ्कलन गर्ने गरेको छ।

अस्पतालका बिरामीको माग पूरा गर्न सङ्कलित रगत पर्याप्त नभए पनि आकस्मिक अवस्थामा भने यसले उल्लेखनीय सहयोग पुर्‍याएको केन्द्रले जनाएको छ। हाल विष्णुप्रसाद बाँस्तोलाको नेतृत्वमा प्राविधिक र सहयोगीसहित पाँच सदस्यीय टोली रक्तसङ्कलन कार्यमा खटिएको छ।