प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रश्नपत्र बाहिरिएको समाचार सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरेका थिए। त्यसपछि घटनाको अनुसन्धान तीव्र पार्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
सिआइबीले पक्राउ परेकामाथि प्रश्नपत्र बाहिरिएको घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
घटनापछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले पनि अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरोलाई पत्राचार गरेको थियो।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्।
समितिलाई सात कार्यदिनभित्र छानबिन प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।