logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

गेटा अस्पताल तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण १०, आईतबार
गेटा अस्पताल तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्न सुझाव दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले विश्वविद्यालयको औचित्य पुष्टि गर्न र एमबीबीएस पठनपाठन सुरु गर्न अस्पतालको स्तरोन्नति अनिवार्य सर्त रहेको बताएका हुन् ।

उनले लेखेका छन्, “दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि सर्वप्रथम गेटा अस्पताललाई कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्नु अनिवार्य छ । प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई यसमा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा यो काम सम्पन्न गर्न सकिन्छ।हिजो, म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी रहँदा गेटा अस्पताल सञ्चालन गर्न तथा एमबीबीएस (MBBS) पठनपाठन सुरु गर्नका लागि आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नै स्रोत सुनिश्चितता गरेका थियौँ। त्यतिबेला पनि स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भयो; तथापि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न हाम्रो पूर्ण तयारी थियो। हाल डा. गोविन्द के.सी.ले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ। तर, पुनः विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्‍याउने खेल भइरहेको देखिन्छ । गेटा अस्पताललाई तत्काल ३०० बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै शुल्टो र व्यावहारिक बाटो हो। यसो नगरीकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ, न त एमबीबीएसको पठनपाठन नै सुरु हुन सक्छ ।”