मौनतामा पनि आनन्द छ,
मौनताका हरेक क्षण प्रिय
लाग्न थालेका छन् आजभोलि।
मौनताले सिकाएको अद्वितीय ज्ञान
जीवन जिउने कला बन्दै छ
आजभोलि।
मिर्मिरेको हरेक बिहानले
मौनताको बास बोकेर
आउन थालेका छन्, आजभोलि।
अतीतले ब्युँझाइदिँदा
तिक्तता बोकेर आउने गर्छन्
हरेक सम्झनाहरू।
ब्युँझाइ दिन्छन् हरेक पलहरू
उषाको किरणसँगै।
सादृश्यतामा मौलाउन थालेका छन्
मेरा हरपलहरू।
अन्तर्द्वन्द्वबीच जीवन
जिउने कला नै जिन्दगी रहेछ।
सादृश्यताका पर्दाहरू
छरपस्ट छरिँदा
जीवन जिउने कला बन्छ।
मौनताले सिकाएको पाठबीच
जीवन पनि सुन्दर हुँदो रहेछ।।














