logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलनको तयारी बैठक सुरु

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ श्रावण २६, मंगलबार
एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलनको तयारी बैठक सुरु

काठमाडौं / एभरेस्ट इन्जिनियरिङ कलेजमा आयोजना हुने ‘International Conference on Artificial Intelligence in Computational Science and Engineering 2026 (IC AICSE-26)’ को तयारी औपचारिक रूपमा सुरु भएको छ।

आगामी ७ अक्टोबर २०२६ (२१ असोज २०८३) मा काठमाडौंमा आयोजना हुने सम्मेलनको तयारीका क्रममा आज सम्मेलन सल्लाहकार समितिका सदस्यहरूबीच बैठक बसेको हो। बैठकमा हालसम्म भएका तयारीको समीक्षा गर्दै आगामी कार्ययोजना बारे छलफल गरिएको थियो।

बैठकमा कृत्रिम बुद्धिमत्ता, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ, सफ्टवेयर, सूचना प्रविधि र इलेक्ट्रोनिक्स लगायतका क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहेको थियो। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयका विषयविज्ञहरूले सम्मेलनलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए।

एभरेस्ट इन्जिनियरिङ कलेजले हिष्ट इन्जिनियरिङ कलेजको सह–आयोजनामा उक्त अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। नेपाल इन्जिनियरिङ परिषद्ले सम्मेलनलाई आफ्नो Continuing Professional Development (CPD) मूल्याङ्कन प्रणाली अन्तर्गत मान्यता प्रदान गरेको छ। सम्मेलनमा शोधपत्र प्रस्तुत गर्ने प्रत्येक प्रस्तोताले एक घण्टाको CPD बराबरको क्रेडिट प्राप्त गर्नेछन्।

आयोजकका अनुसार सम्मेलनका लागि हालसम्म ५० भन्दा बढी शोधसार प्राप्त भइसकेका छन्। भारत, नाइजेरिया, पाकिस्तान, सिंगापुर, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालगायतका देशबाट समेत शोधसार प्राप्त भएको जनाइएको छ।

सम्मेलनमा प्रस्तुत उत्कृष्ट शोधलेखहरू DOI सहित एभरेस्ट इन्जिनियरिङ कलेजबाट अर्धवार्षिक रूपमा प्रकाशित हुने पेशागत जर्नल EAST मा प्रकाशन गरिनेछ। सम्मेलनसम्बन्धी थप जानकारी कलेजको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।