logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

जनअपेक्षा पूरा गर्न सरकार केन्द्रित हुनुपर्नेमा सांसदहरूको जोड

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
जनअपेक्षा पूरा गर्न सरकार केन्द्रित हुनुपर्नेमा सांसदहरूको जोड

काठमाडौं / राष्ट्रिय सभाका सांसदहरूले सामाजिक सद्भाव कायम, सङ्घीयता सुदृढीकरण तथा निर्वाचनमा जनतासामु व्यक्त प्रतिबद्धता पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले महँगी नियन्त्रण, एलपी ग्यासको सहज बिक्री–वितरण, कालोबजारी अन्त्य तथा भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिएका छन्।

सांसद सुरेश आलेमगरले जनताको भावना र मर्मअनुसार सङ्घीयता सञ्चालन गर्नुपर्ने बताए। सम्झना देवकोटाले आत्महत्या तथा जनताको सुरक्षाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् भने विष्णुदेवी पुडासैनीले हिंसात्मक घटना रोक्न पूर्वसावधानी र संयमता अपनाउनुपर्नेमा जोड दिइन्।

त्यस्तै, जयन्तीदेवी राईले एलपी ग्यासमा भइरहेको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न माग गरिन्। रोश्नी मेचेले सुकुम्बासी तथा भूमिहीन नागरिकलाई राज्यले अभिभावकत्व दिनुपर्ने बताइन् भने धर्मेन्द्र पासवानले भूमिहीनलाई हाल बसोबास गरिरहेकै स्थानमा जग्गा उपलब्ध गराउन माग गरे।

नरबहादुर विष्टले वर्तमान सरकारसँग जनताको ठूलो आशा र अपेक्षा रहेको भन्दै जनअपेक्षा पूरा गर्न विशेष योजना ल्याउन सरकारलाई सुझाव दिए।