प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काभ्रे / काभ्रेको बनेपा नगरपालिका–७ चारदोबाटो चोक नजिक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ११ः१५ बजे शुभकामना हल अगाडि बनेपा–पनौती सडकखण्डमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.३ ख २०१४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटरको पछाडि सवार पनौती नगरपालिका–८ मल्पीका ६९ वर्षीय देवेन्द्रबहादुर खत्री घाइते भएका थिए। उनको दुवै हातमा चोट लाग्नुका साथै छातीमा भित्री चोट लागेको थियो। उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा पठाइएका खत्रीलाई चिकित्सकले दिउँसो १२ः२२ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
स्कुटर चालक पनौती नगरपालिका–८, मल्पीका ४१ वर्षीय सन्तोष खत्री भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस र स्कुटरसहित बस चालक पनौती नगरपालिका–३ कुशादेवीका करिब ४० वर्षीय सुरेश सापकोटालाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ।
ठक्करका क्रममा सडकमा पार्किङ गरेर राखिएको बा.५१ प ३२० नम्बरको मोटरसाइकल र ‘अन टेस्ट’ लेखिएको TVS मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।