प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
नवलपरासी / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नवलपरासीको त्रिवेणीधामस्थित श्री गजेन्द्रमोक्ष संस्कृत परिषद्ले १ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

अनन्त श्री विभूषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा रहेको परिषद्ले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
परिषद्का अध्यक्ष सुदर्शन प्रपन्नाचार्यले राष्ट्रिय संकटको यस घडीमा सरकारको आलोचना र टिकाटिप्पणीभन्दा माथि उठेर राष्ट्रिय एकता, समन्वय र सहकार्यका माध्यमबाट विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक उत्तरदायित्व भएको बताएका छन्।
परिषद्ले विपद्पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यले अघि बढाएको अभियानप्रति संस्थागत ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको जनाएको छ। परिषद्का स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार तत्काल उद्धार तथा राहतमा राज्यलाई सहयोग गर्नु सबै नागरिकको साझा दायित्व हो।
‘सेवा नै धर्म हो’ भन्ने भावनासहित गरिएको सहयोगले धार्मिक तथा आध्यात्मिक संस्थाहरूले पूजा–अनुष्ठानसँगै मानवीय सेवा, विपद् व्यवस्थापन र सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको परिषद्ले जनाएको छ।