logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

बनेपामा २०–२५ किलो गोरुको मासुसहित तीन जना पक्राउ

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र २१, आईतबार
बनेपामा २०–२५ किलो गोरुको मासुसहित तीन जना पक्राउ

काभ्रे / काभ्रेको बनेपा नगरपालिका–१ टुकुचामा गोरुको मासु काटी बिक्रीवितरण गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी नालाका अनुसार भदौ २१ गते बिहान करिब ८ः५५ बजे टुकुचास्थित एक घरमा गोरुको मासु काटी बिक्री भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी नाला र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले बनेपा–१ टुकुचामा यज्ञकुमार श्रेष्ठको घर भाडामा लिएर बसेका व्यक्तिहरूबाट करिब २०–२५ किलो गोरुको मासु बरामद गरेको हो।

प्रहरीका अनुसार मासु बरामद भएको कोठाबाट करिब १.५ किलोमिटर उत्तरतर्फ रहेको खेतमा गोरुको मासुबाहेक अन्य भागहरू माटोमा गाडिएको अवस्थामा समेत फेला परेको थियो। सोही स्थानबाट छाला पोल्ने गनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा बर्दियाको राजापुर नगरपालिका–२ का ३० वर्षीय रमेश चौधरी, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ का २२ वर्षीय सोमराज तामाङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भई हाल बनेपा–१ टुकुचा बस्ने ६० वर्षीय ज्ञानबहादुर मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद मासु तथा अन्य सामग्रीसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ। घटनाबारे थप अनुसन्धान तथा मुचुल्काका लागि प्रहरी निरीक्षक धिरजकुमार पटेलको कमाण्डमा SOCO अधिकृतसहितको प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।