logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न रास्वपा काभ्रेको प्रशासनसँग आग्रह

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र २४, बुधबार
ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न रास्वपा काभ्रेको प्रशासनसँग आग्रह

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकले जिल्लामा देखिएको ग्यास अभाव तथा कालोबजारीप्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि ठूला ग्यास बुलेट तथा हेभी सवारीसाधनको आवागमन प्रभावित हुँदा काभ्रेपलाञ्चोकमा ग्यास आपूर्तिमा समस्या देखिएको र यसको प्रत्यक्ष असर उपभोक्ताले भोग्नुपरेको रास्वपाले जनाएको छ।

आपूर्ति व्यवस्थामा आएको समस्यालाई बहाना बनाएर केही व्यवसायी तथा बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने गरेको गुनासोप्रति रास्वपाले आपत्ति जनाएको छ।

विपद् तथा विषम परिस्थितिमा आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु ग्यासमा कृत्रिम अभाव र कालोबजारी कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै रास्वपाले तत्काल वास्तविक आपूर्ति अवस्था पहिचान गरी सहज आपूर्ति सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरेको छ।

साथै, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने जो–कोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न पनि माग गरिएको छ। रास्वपाले विपद्को समयमा उपभोक्तालाई थप समस्या नपर्ने गरी तोकिएको मूल्यभन्दा बढी रकम नलिन र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।