प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र २६, शुक्रबार
काठमाडौँ / रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौंमा रहेका १३२ बालबालिकालाई डल्लुस्थित गीतामाता स्कुलमा विद्यालय पठाउन सुरु गरिएको छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्का कारण मानसिक रूपमा प्रभावित बालबालिकालाई वचन र व्यवहारबाट थप चोट पुग्न सक्ने भन्दै उनीहरूसँग आत्मीय व्यवहार गर्दै शिक्षण गर्न आग्रह गरेकी छन्।
नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रय लिइरहेका विद्यार्थीलाई प्रोत्साहित गर्न महानगरका कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए।
विद्यालयमा अध्ययनरत केही विद्यार्थीले बुबाआमा दुवै गुमाएका छन् भने केहीले आमाबुबामध्ये एक जना गुमाएका छन्। बालबालिकाका लागि कोशिस नेपालले विद्यालय पोशाक र झोलाको व्यवस्था गर्नुका साथै मनोसामाजिक परामर्शसमेत उपलब्ध गराएको छ।
त्यस्तै, आश्रयस्थलबाट विद्यालयसम्म बालबालिकालाई ल्याउन–लैजान एलआरआई स्कुलले सवारीसाधन उपलब्ध गराएको छ।
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा रहेका विद्यार्थीलाई जबर्जस्ती विद्यालय आउन बाध्य पार्नुको सट्टा परामर्शमार्फत विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जानकारी दिए।