logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली, ३०० भन्दा बढी सहभागी

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली, ३०० भन्दा बढी सहभागी

ललितपुर / संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावित नागरिकलाई सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं शिक्षालय ललितपुरले भव्य साइकल र्‍याली आयोजना गरेको छ।

‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’ भन्ने नाराका साथ आयोजित र्‍यालीमा ३०० भन्दा बढी साइकलप्रेमी सहभागी भएका थिए।

इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको र्‍याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार तथा महालक्ष्मी नगरपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गरी पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो।

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उद्घाटन गर्नुभएको र्‍यालीमा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। र्‍यालीलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट तथा १५० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको थियो।

र्‍यालीको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले प्राकृतिक विपद्का बेला पीडितप्रति ऐक्यबद्धता जनाउँदै युवापुस्तामा सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना अभिवृद्धि गर्ने विद्यालयको पहल प्रशंसनीय रहेको बताउनुभयो।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइक्लिङलाई खेलकुदमा मात्र सीमित नराखी मानवीय सेवा, व्यावहारिक शिक्षा र वातावरणीय चेतनासँग जोडेर अभियानका रूपमा अघि बढाइएको बताउनुभयो।

उहाँका अनुसार र्‍यालीको दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। विद्यालयले यसअघि नै भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको उहाँले जानकारी दिनुभयो।

जलवायु परिवर्तनका असरबारे विद्यालय तहबाटै चेतना अभिवृद्धि गर्ने उद्देश्यले संविधान दिवसका दिन आयोजना गरिने साइकल र्‍यालीलाई हरेक वर्ष निरन्तरता दिइने पाण्डेले बताउनुभयो।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठ, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्षहरू छिरिङ लामा र अमृत केसी, नगर शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेललगायतको उपस्थिति रहेको थियो। सहभागीहरूलाई विद्यालयका तर्फबाट टी–सर्ट, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।